Tuesday, March 8, 2022

म एक छोरीकी आमा

 

-किरण गौतम



गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो ।

हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दुराचार, किशोरी वा किशोरमाथि हुने यौन हिंसा वा बलात्कारका कुरा धेरै सुनिन्छन् । कहाली लाग्छ त्यस्ता कुरा थाहा पाउँदा । अनि छोरीको अनुहार हेर्छु, यस्तो माहोलमा बालबालिकाको भविष्य सम्झिँदा रन्थनिन्छु पनि । यी सबै कुराबाट छोरीलाई जोगाउँदै सक्षम र इमानदार नागरिक बनाउनु पर्ने चुनौती सम्झन्छु ।

यी समाचारहरू पढ्दा म आफ्नै बाल्यकाल सम्झन्छु । अवाक लाग्छ । 

दुर्व्यवहार सधैँ नचिनेका मान्छेले गर्छन् भन्ने हुँदैन । नजिकका, विश्वास गरिएका मान्छेबाटै दुर्व्यवहारमा पर्न सकिन्छ ।

म आफैँ पनि सानो छँदा थुप्रै पटक दुर्व्यवहारमा परेकी छु । 

नातामा नजिकको हजुरबुवा पर्नेले जबर्जस्ती आफ्नो काखमा बसाउने, गाला मुुुसार्ने, दारी शरीरभरी दलिदिने, नितम्ब मुसार्ने गर्नुहुन्थ्यो । हजुरबुवाको त्यस्तो व्यवहार मलाई पटक्कै मन पर्दैनथ्यो । आजकल पनि जबजब मलाई ती घटना याद आउँछन्, भित्रभित्रै एकदमै रिस उठ्छ । हजुरबुवाको त्यस्तो व्यवहारबारे एकपटक त मैले मेरो ममीसँग पनि कुरा गरेकी थिएँ । “मलाई हजुरबुवाको काखमा जान मन लाग्दैन । हजुरबुवाले शरीरमा कता कता छुनुहुन्छ ।” मैले डराउँदै भनेकी थिएँ ।  

“त्यो त हजुरबाले तँ सानी भएर तँलाई माया गरेको हो नि ।” ममीले हजुरबुवाको व्यवहारलाई खासै वास्ता नगरी मलाई बुझाउन खोज्नुभयो । सायद, त्यतिबेला ममीको कुरा सुनेर मैले पनि बुझेजस्तो गरेँ कि । तर, मलाई हजुरबुवाको त्यस्तो माया कहिल्यै पनि मन परेन ।

हजुरबुवाले माया गरेजस्तै मन नपर्ने माया स्कुलमा सरहरूले पनि गर्थे । "स्याबास..." भन्दै ढाड मुसार्थे । माया गरेजस्तो देखाउन घुरेर अस्वाभाविक तरिकाले हेर्थे । हजुरबुवा र सरहरूको मायामा थोरै मात्र फरक थियो । घरमा हजुरबुवाले मलाई मात्रै माया गरेजस्तो गर्नुहुन्थ्यो भने स्कुलमा सरहरूले मेरा केटी साथीहरू सबैलाई गर्नुहुन्थ्यो । त्यस्तो माया मलाई मात्रै होइन, साथीहरूलाई पनि मन पर्दैनथ्यो ।  

हजुरबुवा र सरहरूले गरेजस्तो मन नपर्ने माया अरू धेरैले पनि गर्थे । कहिले बाटोमा हिँड्दा नचिनेका मान्छेले, कहिले घरभित्रै, घर वरपरका चिनेकै मान्छेले, कहिले साथी सोचेका केटाहरूले, कहिले आफ्ना सोचेका नजिकका आफन्तले । तर, त्यस्तो माया मलाई कहिल्यै मन परेन । मन पर्नका लागि त्यो माया पनि त थिएन । अहिले बल्ल बुझ्दैछु, ती त सबै दुर्व्यवहार रहेछन् । 

त्यो समयमा मलाई सिकाउने र मेरा बारेमा बोलिदिने कोही थिएन । जे परेपनि चुपचाप सहेर बस्थेँ । तर, सहनु पनि गलत रहेछ भन्ने कुरा बिस्तारै बुझ्दै छु ।

मेरी चार वर्षकी छोरी अहिले नर्सरीमा पढ्छिन् । मैले आफू हुर्किँदै गर्दा भोगेका दुर्व्यवहारका तीता घटना छोरीले भोग्नु नपरोस् भनेर अहिलेदेखि नै उसलाई सिकाउन थालेकी छु । कस्तो छुवाइ राम्रो, कस्तो छुवाइ नराम्रो भनेर उसलाई थाहा पाउन सजिलो हुनेगरी बुझाउन थालेकी छु । 

घरमा आउने जो कोहीसँग काखमा नबस्नू, कसैले तिमीलाई मन नपर्ने कुनैपनि व्यवहार गर्छ भने तुरुन्त मलाई वा बाबालाई बताउनू भनेर बारम्बार सिकाइरहन्छु ।

अहिले दुर्व्यवहारका स्वरूप फेरिएका छन् । त्यस्ता दुर्व्यवहारको जोखिममा सबैभन्दा धेरै बालबालिका छन् । माया गरेको देखाउन बच्चाबच्चीलाई देख्ना साथै बोकिहाल्ने, ओठमा, गालामा, निधारमा चुम्बन गर्ने, जस्ता गतिविधिहरू गर्छन् । तर, ती तरिका मलाई एकदम गलत लाग्छन् । कतिले त झन् चिन्दै नचिनेको बच्चालाई पनि “तिमी कति राम्रो, कति राम्री” भन्दै मुसार्ने, गाला तान्ने, आदि गर्छन् । 

त्यस्तो अवस्थामा कतिपय आमाहरूले त “मेरो बच्चालाई माया गरेको” भन्ने ठानेर मख्ख पर्नुहुन्छ । तर त्यस्तो सोच राख्नु हुँदैन भन्ने लाग्छ । किनभने, हामीले ख्याल नगर्ने र ससाना ठान्ने यस्तै यस्तै घटनाले बालबालिकालाई दुर्व्यवहारको जोखिममा धकेल्छ । त्यसैले आफ्ना बालबालिकाले नचिनेको वा चिनेकै व्यक्तिसँग पनि कस्तो महसुस गरिरहेका छन्, उनीहरूसँग बोल्न, खेल्न बालबालिकालाई सहज भइरहेको छ कि छैन वा थाहा नपाएरै उनीहरू दुर्व्यवहारमा त परिरहेका छैनन् भनेर आफैँ सचेत हुन एकदमै आवश्यक छ ।  

अहिले पनि कति विद्यालयमा किशोरीहरू आफनै शिक्षकको दुर्व्यवहारमा परेका थुप्रै समाचार सुन्नमा आउँछन् । समाज परिवर्तनको संवाहक शिक्षकहरूबाटै त्यस्ता दुर्व्यवहार हुनु एकदमै लाजको विषय हो । त्यसैले अभिभावकले आफ्ना बालबालिकाको ध्यान घरमा मात्रै दिनु पर्याप्त हुँदैन । विद्यालयमा पनि अभिभावकले बेलाबेलामा शिक्षकसँग आफ्नो बालबालिकाका बारेमा चासो राख्ने, उनीहरूको मनोभावना बुझिरहन शिक्षकहरूलाई अनुरोध गर्ने गर्नुपर्छ । 

आफूले स्कुलमा भोगेको दुर्व्यवहारबारे खुुलेर बोल्न पाउने बातावरण शिक्षकले विद्यार्थीका लागि सृजना गर्नुपर्छ । अनि सबैभन्दा मुख्य कुरा, हामीले आफ्ना बच्चालाई उनीहरूलाई मन नपरेको कुरा तथा व्यवहारलाई ‘नो’ अर्थात ‘नाइ’ भन्न सिकाउनुपर्छ । यस्तो सिकाइले बालबालिकालाई आत्मरक्षा गर्न सिकाउँछ । चाहे मनोवैज्ञानिक होस् वा शारीरिक नै किन नहोस् । 

आजभोली फेसबुक, इन्स्टाग्राममा धेरै बच्चाको पहुँच छ । आफनो बच्चाको साथीहरू कस्ता छन्, उनीहरूले कस्ता पोस्ट तथा भिडियो हेर्छन्, साथीहरूको कस्ता म्यासेज आउँछन् भन्ने जस्ता कुरामा सचेत हुनुपर्छ । यसैपनि हिजोआज धेरै बच्चाहरू आफनो अभिभावकसँग खुलेर कुरा गर्दैनन्, गर्न चाहँदैनन् । त्यसैले अभिभावक नै उनीहरूको मिल्ने साथी बन्नुपर्छ ।

आफू उनीहरूको उमेरमा हुँदाका घटनाहरू सेयर गर्ने, आफ्ना साथीहरू कस्ता थिए, आफूलाई कस्तो कुरा राम्रो लाग्छ, कस्तो लाग्दैन लगायतका अनुभवहरू बाँड्न सकिन्छ । मैले यसरी नै हरेक दिन मेरो छोरीसँग कुराकानीको प्रयास गर्छु र उसको सबैभन्दा मिल्ने साथी बन्ने प्रयास गर्छु । छोरीले पनि आफ्नो अनुभव, आफ्ना कुरा सबै मलाई सुनाउने गर्छिन् । हामी दुवैको यस्तो बानीले एकअर्कालाई बुझ्न सजिलो भएको छ । अझ भन्दा मेरो छोरीले भोग्न सक्ने सम्भावित जोखिमबारे सजग रहन मलाई प्रोत्साहन मिलिरहेको छ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, February 22, 2022

मिसजस्ती ममी भए...

–पार्वता भण्डारी 



  Photo Source: bebodywise.com

पहिलो पटक महिनावारी हुँदा म १४ वर्षकी थिएँ । महिनावारी हुँदा के हुन्छ भनेर मलाई राम्रोसँग थाहा थिएन । हुन त, मसँगै पढ्ने मेरा धेरै साथी मभन्दा पहिले नै महिनावारी भइसकेका थिए । उनीहरूले, “मिन्स भएको छु, एकदम पेट दुखेको छ” भन्थे । कसैले, “धेरै गाह्रो भएकाले स्कुल आउन सकिनँ भनेर निवेदन पठाएका हुन्थे । कति जना त चार पाँच दिन नै स्कुल आउन नसकेर घरमा नै बसेका हुन्थे । मैले उनीहरूकै कुरा सुनेर जति जानेकी थिएँ, मेरा लागि त्यही नै सही थियो । किनभने, घरमा आमाले मलाई कहिल्यै पनि महिनावारीबारे केही कुरा पनि सिकाउनु भएको थिएन ।

जब म पहिलो पटक महिनावारी भएँ, तब मलाई मेरा साथीहरूले भनेजस्तो केही पनि भएन । सुरुको दिन न त मलाई बेस्सरी पेट दुख्यो, न धेरै रगत नै बग्यो । मैले थाहा पाएँ, म महिनावारी भएँ भन्ने । तर, कुनै पनि किसिमको अप्ठ्यारो भने भएन । यतिसम्म कि, मैले प्याड पनि लगाउन परेन । किनभने, मैले लगाएको भित्री लुगामा मात्रै थोरै रगत लागेको थियो । त्यही भएर पनि मैले घरमा केही भनिनँ । 

भोलिपल्ट, अलि धेरै रगत आएपछि बल्ल मलाई डर लाग्यो । घरमा भनौँ भने म पनि साथीहरूजस्तै सात दिनसम्म आफ्नो घर छोडेर अरूको घरमा जानु पर्छ, मेरो स्कुल छुट्छ भन्ने डर लाग्यो । तर, नभन्दा पनि मेरा लागि यो सबै कुरा नयाँ थियो । प्याड कसरी लगाउने रु कस्तो कपडा लगाउने रु भन्ने पनि थाहा थिएन । त्यही भएर दोस्रो दिन मैले ममीलाई आफू अघिल्लो दिन महिनावारी भएको कुरा बताएँ । मेरो कुराले ममीलाई रिस उठ्यो । उहाँ रिसाउँदै कराउनुभयो, “पहिल्यै भन्नु पर्दैन १ यतिका समयपछि बल्ल भन्ने हो रु अब के हुने हो १”

मलाई गाह्रो भएको बेला ममीले मायाले सम्झाउनु हुन्छ होला जस्तो लागेको थियो । तर, उहाँ त उल्टै रिसाउनुभयो । ममीको व्यवहार देखेर मलाई त्यतिबेला अचम्मै लाग्यो । मेरो कुरा बुझेर सहज वातावरण बनाउनुको सट्टा उहाँले मलाई गाली गर्न थाल्नुभयो । 

हाम्रो चालचलन अनुसार पहिलो पटक महिनावारी हुँदा घरको धुरी हेर्नु हुन्न भन्ने चलन रहेछ । परिवारका केटा मान्छेलाई पनि हेर्न नहुने भन्ने रहेछ । तर, मलाई ममीले यो कुरा पहिले कहिल्यै भन्नुभएको थिएन । यतिसम्म कि, “तिमी कुनै दिन महिनावारी हुन्छ्यौ, त्यतिबेला तिमीले यस्तो यस्तो गर्नुपर्छ” भन्ने सम्मपनि ममीले मलाई बताउनु भएन । तर, त्यतिबेला ममीले मलाई मायाले सम्झाउनुको सट्टा गाली गरेको, मलाई कहिल्यै नसिकाएको कुरा पहिल्यै थाहा पाउनुपर्छ भनेजसरी कुरा गरेको सुनेर नमज्जा लाग्यो । मलाई आफ्नै ममीसँग रिस उठ्यो । 

महिनावारी भएको तेस्रो दिनमा अलि(अलि पेट दुखेको थियो । अनि रगत पनि बगेको थियो । खै किन हो त्यो दिन मलाई बिहानैदेखि मान्छे बोलेको सुन्दा झ्याउ लागेको थियो । त्यसमाथि ममीको व्यवहारले खिन्न भइरहेकी थिएँ । केही बेरको गनगनपछि ममीले मलाई भन्नुभो, “अब यतिका दिनपछि भनिस् कतै जानु पर्दैन आफ्नै कोठामा ढोका लगाएर बस् ।’ मलाई यसरी कोठामा जान अर्डर दिनुभयो । म आफ्नो कोठामा गएँ । मेरो एउटा पुरानो सल थियो त्यही च्यातेर सानो सानो टुक्रा बनाएँ अनि त्यसैलाई पट्याएर कट्टुभित्र राखेँ । 

एकदमै अप्ठ्यारो भइरहेको थियो । उठ्न पनि मन लागेन । ममीले सिकाउनुभएको भए मलाई कति सजिलो हुन्थ्यो होला जस्तो भइरह्यो । तर, ममी त मलाई अर्डर दिएर कता जानुभयो थाहा पाइनँ । म दिनभर सुतिराखेँ । एकपटक पनि मलाई कस्तो छ भनेर ममी सोध्न आउनुभएन । त्यतिबेला मलाई पेट दुखेर भन्दापनि मन दुखेर गाह्रो भयो । मलाई पेट दुखेर गाह्रो हुँदा, कपडाको टालो लगाउन नजान्दा, के गर्ने र के नगर्नेमा छटपटिँदा, ममीले वास्ता नगर्दा, मन यसैयसै गह्रुङ्गो भयो । ममीले कस्तो छ भनेर छिनछिनमा आएर सोधेको भए सायद मेरो छटपटी कम हुन्थ्यो होला । तर के गर्ने, ममीले त हेर्नु पनि भएन । म सुतेको कोठामा आउनु पनि भएन । “कस्तो छ नानी तँलाई” भनेर सोध्नु पनि भएन । म छटपटिएरै बसिरहेँ । 
त्यसपछि मलाई हरेक महिना नियमित रूपमा महिनावारी हुन थाल्यो । पहिलोपटक महिनावारी हुँदादेखि नै मैले स्कुल छुटाइनँ । दोश्रोपटक महिनावारी हुँदा स्कुलमा मिसलाई भनेँ । मिसले मलाई कपडाको टालो कसरी प्रयोग गर्ने, स्यानिटरी प्याड कसरी प्रयोग गर्ने भन्ने बारेमा सबै कुरा राम्रोसँग सिकाउनुभयो । महिनावारी भएको बेला धक नमानी आफ्नो कुरा सेयर गर्न सुझाउनुभयो ।

“तिमीहरूको पढाइ नछूटोस्, तिमीहरूलाई असजिलो नहोस् भनेर स्कुलमा सित्तैमा स्यानिटरी प्याड दिन्छौँ । अप्ठ्यारो नमान है” मिसले बारम्बार भनिरहनुहुन्थ्यो ।  

त्यति मात्रै हैन, “महिनावारी प्राकृतिक प्रक्रिया हो, कहिलेकाहीँ रगत धेरै बग्छ, कहिलेकाहीँ धेरै पेट पनि दुख्छ । त्यस्तो अवस्थामा आत्तिनु हुँदैन, घरमा छौ भने आमा बुवालाई भन्नू । स्कुलमा छौ भने मलाई या अन्य सर मिसलाई भन्नू” सम्झाउनु भयो । मलाई मिसको कुराले एकदम आनन्द भयो । सायद मिसजस्तै मेरो ममी भएको भए पहिलोपटक महिनावारी हुँदा, म त्यसरी छटपटिएर बस्नु पर्दैनथ्यो होला । सायद त्यति फोहोर कपडाको टालो प्रयोग गर्नु पर्दैनथ्यो होला । 

तर, जे होस्, मैले अहिले महिनावारीको बारेमा धेरै कुरा बुझिसकेकी छु । ममीलाई पनि यसको बारेमा केही कुरा सिकाउन सक्ने भएकी छु । ममीलाई पनि मेरो पहिलो महिनावारीको बेला मलाई गाली गरेको, सहयोग नगरेको कुरामा नराम्रो लागेको रहेछ । ममीले पनि यो सबै कुरा नबुझेर गर्नुभएको हो । महिनावारीलाई लिएर हाम्रो समाजमा भएका नराम्रा कुरा, डर, भगवानको भयका कारण पनि यस्तो भएको हो भन्ने मैले बुझेकी छु । पहिले ममीसँग रिस उठे पनि अहिले ममीको कुरा बुझेकी छु । त्यही भएर पनि महिनावारीजस्तो सुन्दर कुरालाई नकारात्मक तरिकाले हैन, सकारात्मक तरिकाले स्वीकार गरेर मीठो अनुभूति गरिरहेकी छु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, February 8, 2022

किशोरावस्थाको डर र उत्सुकता


–बबिता मैनाली

इलाम ६, बाह्रबस्ती



जब म मानसिक अनि शारीरिक रूपमा परिपक्व हुने क्रममा थिएँ, मेरो शरीरमा आउन थालेका परिवर्तन देखेर आफैँ छक्क पर्थेँ ।

डर पनि लाग्थ्यो ।

मलाई के भएको होला, किन यस्तो भएको होला...यस्तै यस्तै प्रश्न मेरो मनमा खेलिरहन्थे । 

किशोरावस्थामा प्रवेश गर्दा मेरो स्तन बढ्न थाल्यो । स्तन विकास हुने प्रक्रिया जब सुरु भयो, तब मलाई भित्रैबाट दुखेजस्तो महसुस हुन थाल्यो । म केही बिरामी त भइनँ भन्ने कुरा सम्झेर मनमा एक किसिमको डर पनि लागेको थियो । त्यतिमात्रै होइन, शरीरका अन्य अंग पनि बिस्तारै विकास भइरहेका थिए । शरीरका विभिन्न भागमा रौँहरू देखा परिरहँदा मलाई एकदम डर लागेको थियो ।

अरूलाई पनि यस्तै हुन्छ कि हुन्न होला, कि मलाई मात्रै यस्तो भएको हो, यदि मलाई मात्रै यस्तो भएको रहेछ भने के गर्ने, यस्तैयस्तै प्रश्न मेरो मनमा बारम्बार आउँथे । ती प्रश्नले मलाई उत्सुकता त जगाउँथे नै, भित्रभित्रै डर पनि लाग्थ्यो । आफूमा भइरहेका परिवर्तन स्वाभाविक हुन् कि होइनन् भनेर थाहा पाउन मन लाग्थ्यो । आफू बिरामी भएको हो कि होइन भनेर कसैलाई सोध्न पाए पनि हुन्थ्यो भन्ने भाव पटकपटक आइरहन्थे । किशोरावस्थामा हुने यस्ता अनेक खुल्दुलीका कारण म धेरै आत्तिएकी थिएँ । 

तर जब ७, ८ मा पढ्दा किशोरावस्थामा आउने परिवर्तनका बारेमा थाहा पाउन थालेँ, मन बिस्तारै हल्का हुन थाल्यो । विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षिकाले किशोरावस्थामा आउने यस्ता परिवर्तन त सामान्य हुन्, स्वाभाविक हुन् भनेर पढाउनुभयो । यस्ता परिवर्तन हुनु भनेको आफू स्वस्थ छु भनेर थाहा पाउने तरिका हो भन्ने कुरा पनि उहाँले नै सिकाउनुभयो । अनि यस्ता परिवर्तनका बारेमा प्रश्न सोध्न, आफूमा आएका परिवर्तनलाई देखेर डराउनु हुँदैन भनेर पनि थाहा दिनुभयो । 

उहाँकै कारण मेरो मनमा भएको डर र लाज कम हुँदै गयो । हिजोआज त, आफूलाई केही स्वास्थ्य समस्या पर्‌‍यो, शरीरमा केही नयाँ अनुभव गरेँ भनेपनि म लाजडर नमानी सोध्न सक्छु । मभन्दा साना भाइबहिनी वा अरू कसैलाई किशोरावस्था सम्बन्धि त्यस्तै उत्सुकता वा डर छ भनेर अप्ठेरो नमानी आफ्ना आमा, दिदी, बहिनीहरूसँग सेयर गर्न सल्लाह दिन्छु । त्यतिमात्रै होइन, त्यस्ता किशोवास्थामा केही अन्य जटिल स्वास्थ्य समस्या देखियो भने, स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोला भनेर पनि सुझाउँछु । 

किशोरावस्थामा आउने यस्ता परिवर्तनबारे हामीले खुलेर कुरा गर्न नसक्दा विभिन्न प्रकारको दुर्व्यवहार, हिंसा तथा जोखिममा पर्ने डर पनि हुन्छ । हामीले त्यस्ता परिवर्तनका बारेमा आफ्ना अभिभावकलाई वा भनौँ शिक्षकशिक्षिकालाई सेयर गर्न सकेनौँ भने गलत तरिकाबाट ज्ञान लिन खोज्ने जोखिम पनि हुन्छ । जसले गर्दा, आफूसँगसँगै अरूलाई पनि समस्यामा पार्न सक्छौँ । 

मैले कति जनाले आफ्नै दाइ अनि अरू मान्छेले दुर्व्यवहार गरेको, विभिन्न गलत क्रियाकलाप गरेको कुरा सुनेको छु । मेरै साथीहरूले पनि मलाई यस्ता कुरा बेलाबेलामा सेयर गरिरहेका हुन्छन् । कतिपय ठाउँमा नराम्रो घटना हुने गरेको पनि हामीले सुनिरहेका हुन्छौँ ।

त्यसैले यो विषयमा कुरा राख्नुपर्दा, आफ्नो नजिकैको साथी वा परिवारका सदस्य, आमा, दिदीहरूसँग बुझ्न आग्रह गर्छु । किनभने, हामीलाई अप्ठ्यारो परेको बेला कसैले दुर्व्यवहार गर्न नसकोस् । हामी आफैँ चनाखो भन्यौँ भने मात्रै पनि, हामीलाई आइपर्न सक्ने दुर्व्यवहारका विभिन्न घटनाबाट जोगिन सक्छौँ र अरूलाई पनि जोगाउन सक्छौँ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, January 25, 2022

“नो मिन्स नो”

 

–नाम प्रकाशित नगर्ने सर्तमा

धादिङ

 

  Photo Source: nomeansno.eu

स्कुल पढ्दाको समय नै बेग्लै । चकचक । उपद्रो । छेडखानी । धेरैथोरै अश्लिल । चढ्दो उमेरमा सबै कुरा नयाँ लाग्थे मलाई । स्कुलका प्रत्येक केटी गजबका । गाउँमा देखिने नयाँ केटीको अनुहार वा कहीँ कतै घुम्न जाँदा बाटोमा देखिने केटीहरू पनि उस्तै । ती सबैलाई एकसरो हेरिभ्याउँथे मेरा आँखाले । अहिले जस्तो फेसबुकको जमाना पनि कहाँ थियो र रु केटीका तस्बिर आँखाले खिचेर मनमा राखे मात्रै हेर्न पाइन्थ्यो । आँखाबाट ओझेल परेपछि मनले खिचेका तस्बिर सम्झेर म र मेरा केटा साथीहरू मनमनै अनेक समपना बुन्न थाल्थ्यौँ । मन त्यसैत्यसै रङ्गिन भइदिन्थ्यो । थाहै नपाइ काउकुती लाग्थ्यो अनि आफैँसँग अलिअलि लाज पनि ।

अझै सम्झन्छु, त्यतिबेला उपद्रो खुब रुचाउने मेरो साथी थियो । ऊ आफूपनि केटी जिस्क्याउँथ्यो र मलाई पनि उसै गर्न खुब उस्काउँथ्यो । उसले फुर्ती लगाउँदै भन्थ्यो, “हेर् मेरो त तीनतीन वटा गर्लफ्रेन्ड छन् । एउटीलाई दिउँसो सम्झिने, अर्कीलाई राती सम्झिने, अनि अर्कीलाई सम्झने पालो बिहानको झिसमिसेमा ।” उसका यस्ता कुरा सुनेर म अचम्मै पर्थेँ । उसका कुरा अनौठा लाग्थे । उसले सुनाउने केटीका किस्सा, गर्लफ्रेन्डका किस्सा अचम्मैका हुन्थे । 

केटीहरूका कुरा मनैभित्र पसेर थाहा पाएजसरी ऊ मलाई गफ लगाउँथ्यो । म पनि चनाखो भएर उसका कुरा सुन्थेँ अनि पत्याउँथे पनि । ऊ भन्थ्यो, “केटीहरूले भित्र भित्रै तँलाई जति मन पराएपनि बाहिर त्यो कुरा भन्दैनन् । उनीहरूका आँखाका भाका हेरेरै कुरा बुझ्नुपर्छ ।” यसलाई कसरी यस्ता कुरा थाहा भएको होला ? म सोचेरै दङ्ग पर्थेँ । 

आँखाको भाका बुझ्ने भनेको के होला रु कसरी सम्भव होला रु कसरी थाहा पाइन्छ होला रु प्रश्न धेरै थिए । बुझ्नलाई मैले धेरैपटक लुकीलुकी धेरै केटीहरूको आँखामा एकोहोरो हेर्ने गरेको अझै सम्झना आउँछ । त्यत्तिमात्रै कहाँ होर, त्यसरी लुकेर हेर्दा कतिजनासँग त मेरा आँखा नै जुधेका छन् । म त्यतिबेला लाजले रातो हुन्थेँ । अनि मनमनै मुस्कुराउँथेँ । 

साथीले भन्थ्यो, “हेर् केटा...त्यसरी हेर्दा केटीहरू लजाएको देखिस् भने बुझ्, त्यसले तँलाई मन पराउँछे ।” उसले मलाई यसैगरी केटीहरूका बारेमा धेरै कुरा सिकाउँथ्यो । अनि एउटा कुरा भने सधैँ जोड दिएर भन्थ्यो, “केटीले सुरुमा भन्ने नै ‘नो’ हो । यदि तँलाई कोही केटीले ‘नो’ भनी भने त्यो ‘एस’ हो, बुझिस् नि ?” ऊ प्रश्न सोधेजसरी मलाई कडक स्वरमा सम्झाउँथ्यो ।

उसले कहिले कुनै केटीको पाखुरा समातेको, कहिले भने हुलमुलमा कुनै केटीको स्तनतिर हात पुर्‍याएको, कहिले कुनै केटीलाई थाहा नदिइ उसका कपाल मुसारेको, यस्तै यस्तै सुनाएर हामीलाई उत्तेजित बनाउँथ्यो ।

एकदिन उसले हौसिँदै भनेको कुरा पनि मेरो सम्झनामा अझै ताजा छ । उसले रसिक पारामा भनेको थियो, “मैले त्यसको हात च्याप्प समातेँ । उसले पन्छाउन खोज्दै थिई, तर, म अघि सरेर उसको गालामा म्वाइ खाइदिएँ । अनि उसको दुधमा हात पुर्‍याउनै लाग्दा ऊ कराउन थालेजसो गरी अनि म गुटुटु भागेँ हाहाहा... ।” यति भनेर उसले ठूलै काम गरेजसरी खिलखिलाएर हाँस्यो ।

समय बितिरहेको थियो । मेरो पढाइ पनि चलिरहेकै थियो । पछि मैले ब्याच्लर तहमा जेन्डर स्टडिज विषय लिएर पढ्न थालेँ । लैङ्गिकता, यौन अधिकार, महिलाका मुद्दाहरू मैले पढ्नुपर्ने हुन्थ्यो । यस्ता विषय पढ्न थालेपछि, यौन हिंसा, यौन अधिकारजस्ता विषयमा साथीहरूसँग छलफल र कुराकानी हुन्थ्यो । केटी साथीहरू पनि थिए । उनीहरू आफूले भोगेका त्यस्तै घटना समूहमा छलफल गर्थे । ती घटनालाई तीता र घिनलाग्दा अनुभवका रूपमा व्याख्या गर्थे । 

छलफलहरूमा सहभागी हुन थालेपछि मात्रै बोध भयो मलाई, त्यो साथीले त मलाई स्कुले जीवनमा, प्लस टु जीवनमा कस्ता कुराहरू सिकाएको रहेछ । त्यही साथीको लहैलहैमा लागेर मैले पनि कति धेरै केटीलाई उनीहरूले मन नपर्ने व्यवहार गरेँ । रमाइलोका लागि हुलमुलमा कति केटीलाई छोएको थिएँ । उनीहरूको अप्ठेरो परिस्थितिको फाइदा उठाउँदै उनीहरूको गोप्य अङ्गहरूतिर हात बढाएको थिएँ । 

त्यतिमात्रै होइन, माया र आकर्षणलाई छुट्याउन नसक्ने उमेरमा प्रेमका नाम पारेर बलजफ्ति शारीरिक सम्बन्धका लागि उक्साएको थिएँ । किनभने, मेरो मनमा त कुनै केटीले “नो” भन्नुको मतलब “एस” हो भन्ने बुझाइ गहिरो गरी गढेको थियो । मलाई लाग्थ्यो, मेरो साथीले भनेको एकदमै सही हो, केटीहरूले कहिल्यै एस भन्दैनन् । नो भनेकै एस हो ।

तर, पछि जब यस्ता विषयमा जान्ने, बुझ्ने प्रयास गरेँ, यसका बारेमा विभिन्न व्यक्तिका कुरा सुन्न थालेँ, अनि बिस्तारै थाहा पाउँदै गएँ, “नो” भनेको त “नो” नै रहेछ । कसैको अप्ठेरो र असहज परिस्थिति, कसैको मौनता, कसैको विवशताको फाइदा उठाएर उसलाई नराम्रो लाग्ने गरी छुनु, अश्लिल अर्थ लाग्ने गरी शब्दले, सङ्केत वा भावले जिस्क्याउनु पनि एकप्रकारको दुर्व्यवहार रहेछ । 

मैले बल्ल बुझेँ, म त आफ्ना उमेर समानका  कैयौँ केटीलाई दुर्व्यवहार गर्दै हुर्किएको रहेछु । मजस्तै मेरा साथीले पनि धेरै केटीलाई दुर्व्यवहार गर्दै सस्तो मनोरञ्जन लिइरहेका रहेछन् । हामीले थाहै नपाइ यौन दुर्व्यवहार त हाम्रो बाल्यकालको एउटा अभिन्न अङ्ग पो बनिसकेको रहेछ ।

अहिले ती दिन सम्झिँदा मलाई आफैँसँग लाज लाग्छ । अतितका आफ्ना व्यवहार सम्झेर आफैँदेखि घिन लागेर आउँछ । स्कुलको त्यो साथीसँग आजभोलि कुनै सम्पर्क छैन । तर, अन्य साथीहरू मार्फत सुनेको थिएँस उसले बिहे गरिसक्यो रे अनि उसका २ वटी छोरीहरू पनि छन् रे । 

साँच्चै उसले आफ्ना छोरीहरूलाई यौन दुर्व्यवहारबारे, राम्रो छुवाइ र गलत छुवाइबारे के कुरा सिकाउँछ होला ?

उसले आफ्ना छोरीहरूमा पहिले आफूले दुर्व्यवहार गरेका केटीहरूको अनुहार देख्छ कि देख्दैन होला ?

यी प्रश्नको जवाफ त उसँगै छ । बस्, मलाई त्यो साथीलाई आफू अगाडि राखेर उसका छोरीहरूलाई भन्न मन छ, “नो मिन्स नो ।”

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, January 11, 2022

रमाइलो मेलाको नरमाइलो सम्झना



-नाम प्रकाशित नगर्ने सर्तमा

प्यूठान

  Photo Source: newbusinessage.com

सामान्य भाषामा, यौन दुर्व्यवहार भन्नाले कसैले कसैमाथि नराम्रो तरिकाले हेर्नु, छुनु वा छुन खोज्नु, नराम्रो ९अश्लिल० शब्दहरूको प्रयोग गर्नु, नराम्रा चित्र देखाउनु या अहिले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् देखाउनु हो । कतिपय मानिसहरू यस्ता हुन्छन् कि, आफूप्रति नराम्रो व्यवहार भइरहेको छ भन्ने थाहा पाउँदा पाउँदै पनि अत्याचार सहेर, चुप लागेर बस्ने गर्छन् ।

हो त्यसरी सहेर बस्ने, चुप लाग्नेमा म पनि पर्छु । मलाई मैले माथि भनेका ९यौन दुर्व्यवहारबारे० सबै कुरा थाहा छ । स्कुलमा नै मैले दुर्व्यवहारका बारेमा थाहा पाएकी हुँ । मलाई कुन कुरा दुर्व्यवहार हो, कुन होइन, कस्तो हेराइ राम्रो हो कस्तो होइन, कस्तो छुवाइ राम्रो हो, कस्तो होइन भन्ने थाहा छ । अझ कुनकुन ठाउँमा कसले कसले दुर्व्यवहार गर्न सक्छ र आफू त्यसबाट कसरी बँच्नुपर्छ भन्ने पनि थाहा छ । तर, थाहा भएर पनि आफूमाथि भएको दुर्व्यवहारका बारेमा चुप लाग्ने मान्छे मै हुँ ।

एकदिनको कुरा हो, म अनि मेरा साथीहरू मिलेर गाउँभन्दा अलि पर लाग्ने मेला हेर्न जाने सोच बनाएका थियौँ । हामीले घरमा पनि भन्यौँ अनि घरबाट पनि, “जाऊ न त स्कुल छुट्टि भएका बेला”, भनेर अनुमति दिनुभयो । योजना अनुसार हामी सफल भयौँ । हामीहरू सबैजना एकदमै एक्साइटेड थियौँ । किनकि, त्यो मेला हाम्रा लागि एकदमै नौलो थियो । हामी पहिलोपटक त्यहाँ जाँदै थियौँ । पहिले नै सल्लाह गरेअनुसार हामी सबैजना बस चढ्ने ठाउँमा जम्मा भयौँ र त्यहीँबाट बस चढ्यौँ । हामी बसमा पनि नाच्दै, गाउँदै रमाइलो गरिरहेका थियौँ । त्यस्तैमा हामी झर्ने ठाउँ आयो । हामी आफ्नो बस भाडा तिरेर बसबाट ओर्लियौँ । 

बसबाट ओर्लिएर केही बेर हिँडेपछि बल्ल मेला लाग्ने ठाउँमा पुगिने रहेछ । हामी मेलामा जान लागेका अन्य सबै मान्छेहरू गएतिर गइरहेका थियौँ । अलिकता अगाडि पुगेपछि मलाई लाग्यो, हामीलाई कसैले पछ्याइरहेको छ । तर, फेरि अर्को मनले तुरुन्तै सोचेँ, “उनीहरू पनि हामीजस्तै मेला हेर्न जाने लागेका त होलान् । बाटो एउटै भएपछि कहिले अघि कहिले पछि त भैहाल्छ नि ।” मैले उनीहरूलाई वास्ता गरिनँ । साथीहरूलाई पनि भनिनँ । हामीहरू अन्ताक्षरी खेल्दै हिँडिरहेका थियौँ । 

हामीहरू केही अगाडि बढिसकेका थियौँ । त्यतिकैमा, “ओ मैयाँ” भन्दै एकजनाले सिट्ठी बजायो । हामीले वास्ता गरेनौँ । हामी आफ्नै तालमा हिँडिरहेका थियौँ । फेरि, दुई तीन जनाले एकैपटक सिट्ठी बजाउँदै, “ओ मैयाँहरू” भने । त्यसपछि भने मलाई अलि डर लाग्यो । हुन त हामी पनि पाँच जना थियौँ । तरपनि, त्यो हाम्रा लागि नयाँ ठाउँ, नयाँ माहौल थियो । त्यतिकैमा मेरो नजिक आएर एकजनाले मेरो कपाल चलाउँदै भन्यो, “के सारो हो मैयाँ, यति हत्ते गरेर बोलाउँदा पनि वास्ता नगर्ने १” मेरो मुटुले ठाउँ छोड्यो । अर्को एकजनाले मेरो साथीको हात तान्दै, “हामीलाई पनि अन्ताक्षरी खेलाऊ न, हामी पनि अन्ताक्षरीको मजा लिन्छौँ”, भन्दै जिस्काइरहेको थियो । मलाई एकदमै डर लाग्यो । बेकारमा मेला हेर्न आइएछ जस्तो लाग्यो । उनीहरूले हामीलाई अनेक नराम्रा नराम्रा इसारा गरिरहेका थिए ।  

मैले हिम्मत गरेर भनेँ, “के गर्नुभएको यस्तो लाज लाग्दैन तपाईँहरूलाई रु” मैले यति भनेपछि उनीहरू अझ धेरै जिस्किन थाले । हामीलाई एकदम नराम्रो इसारा गरिरहेका थिए । एकजना केटा जसले मेरो कपाल चलाउँदै जिस्काइरहेको थियो, ऊ त मेरो यति नजिक थियो कि उसको सास पनि मैले महसुस गरिरहेकी थिएँ । उसको मुखबाट ह्वास्स रक्सीको गन्ध आएको थियो । अगाडि(पछाडि त्यति धेरै मान्छे हुँदा पनि उनीहरूले हामीलाई जिस्काउन, छुन छोडेका थिएनन् । उनीहरूलाई कसैको डर पनि थिएन । 

हामीहरू हिँडी नै रहेका थियौँ । ती केटाहरू पनि हामीसँगै घरि टाँस्सिदै, घरि हामीलाई इसारा गर्दै वरिपरि हिँडिरहेका थिए । त्यत्तिकैमा त्यही केटा जो मेरो एकदम नजिक थियो, उसले मेरो गालामा हात राख्दै भन्यो, “यति नरम गाला टोक्दै बेलुन खेलाउन पाए त”। उसले मेरो स्तनमा हात लग्यो । मैले उसको हात झट्कारेर हटाएँ । उता अर्की साथीको हालत पनि उस्तै थियो । उसलाई पनि कताकता छुने जिस्काउने गरिरहेको थियो । दुईजना केटा हामी पाँच जना केटी हुँदा पनि हामीले उनीहरूलाई केही गर्न सकेका थिएनौँ । न त मेला हेर्न जान मन लागिरहेको थियो, न त घर फर्किन सक्ने हिम्मत नै आएको थियो। घर फर्किँदा पनि हाम्रै पछि लागेर झन् नराम्रो केही गर्छन् कि भनेर मन एकदमै अत्तालिएको थियो । बरु, मेलामा गएपछि भिडभाडमा हामी उनीहरूभन्दा टाढा हुन्छौँ जस्तो लाग्यो र फटाफट हिँड्यौँ र मेलाको भिडभाडमा भित्र पस्यौँ । 

मान्छेहरू सबै आफ्नै धुनमा मस्त थिए । कसैलाई कसैको मतलब थिएन । कोही पिङ खेल्दै थिए, कोही नाच्दै थिए । कोही भने जुलेबी खाने ठाउँमा भिड लागिरहेका थिए । हामी पाँचजना भने एक अर्काको नजिकै बसेका थियौँ । हामीलाई मेलाको मजा लिने भन्दापनि ती केटाहरूको आँखा छलेर एकछिन बस्ने र घर फर्किनको लागि निस्किने दाउमा थियौँ ।

अचानक पछाडिबाट कसैको हात मेरो कम्मरभन्दा माथिको भागमा सल्बलायो । जाडो महिना भएकाले चिसो हात मेरो शरीरमा परेको उत्तिखेरै थाहा पाएँ । यसो हात तान्दै पछाडि फर्केर हेरेको त अघिकै केटा रहेछ १ मैले उसको हात बेसरी टोकिदिएँ । ऊ “पख् तँलाई” भन्दै त्यहाँबाट निस्कियो । मैले साथीलाई पनि केही भन्न सकिनँ । त्यत्रो भिडमा त्यसरी हातपात गर्ने मान्छेलाई मैले अरू केही गर्न सकिनँ । त्यही भिडमा यो केटाले यस्तो नराम्रो व्यवहार गर्‍यो भनेर चिच्याएको भए पनि कोही न कोही मान्छेले त हामीलाई मद्दत गर्थे होला । ती केटाहरूलाई उनीहरूले गरेको कुकर्मको सजाय दिन्थे होला । तर, मैले केही गर्न सकिनँ । मिसले स्कुलमा त्यति राम्रोसँग सिकाउनुभएको थियो– सुरुमा नराम्रो व्यवहार गर्दै छस् भनेर भन्ने, मानेन भने चिच्याएर अरूको सहयोग लिने, पुलिसलाई भन्ने भनेर ।

तर मेलामा सुरक्षा दिन आएका पुलिसहरू त्यहीँ हुँदा पनि हामीले केही कदम चाल्न सकेनौँ । त्यही दिन हो, म पहिलोपटक रमाइलो मेला हेर्न गएको । तर, रामाइलो मेलामा नरमाइलो अनुभूतिबाहेक अरू केही गर्न सकिनँ ।

आजसम्म पनि त्यो घटना सम्झियो भने एकदमै नरमाइलो लाग्छ । उसले मलाई दुर्व्यवहार गर्दै छ, ममाथि गलत भइरहेको छ भन्ने थाहा पाउँदा पाउँदै पनि चुप लागेर बसेँ ।

उसको हात टोक्दिनुको सट्टा चिच्याएर कराएको भए, वा सुटुक्क साथीलाई भनेर पुलिसको सहयोग लिएको भए सायद मेरो मन शान्त हुन्थ्यो होला । ती बदमास केटाहरूले पनि अर्को पटक म जस्तै अर्की केटीलाई केही गर्नुभन्दा पहिले दश पटक सोच्न बाध्य हुन्थे होला । तर अहिले सोचेर के गर्ने रु धेरै समय बितिसक्यो । त्यो समय सम्झेर पनि खासै काम छैन ।

तर, त्यो दिनको घटनाले मलाई ठूलै पाठ सिकाएको छ । दुर्व्यवहार सहनु भनेको झन् त्यसलाई बढावा दिनु हो भन्ने मैले बुझेकी छु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, December 28, 2021

चुपचाप सहेका दुर्व्यवहार

 

श्री खड्गेश्वरी माध्यमिक विद्यालय

प्यूठान

 

       Photo Source: florinroebig.com

केही समय पहिलेको कुरा हो, स्कुल छुट्टी भएकाले म मेरो मामाघर जान लागेकी थिएँ । सानैदेखि एक्लै मामाघर जाने आउने गर्थेँ । त्यसैले, यसपालि पनि एक्लै नै जाँदै थिएँ । मेरो घरबाट बस आउने बाटोसम्म पुग्न आधा घण्टा हिँड्नु पर्छ । बाटोसम्म पुऱ्याउन आमा आउनुभयो । अनि, “यहीँ बसेर बस कुरिराख म अलिअलि किनमेल गर्नुछ”, भन्दै मलाई त्यहीँ छोडेर पसलतिर लाग्नुभयो । सधैँ आइराख्ने बजार भएकाले मलाई केही नयाँ लाग्दैनथ्यो । त्यसमाथि, सँगै पढ्ने केही साथीको घर पनि त्यही बजारमा नै थियो । केही बेर कुरेपछि बस आयो । मैले आमालाई यताउता हेरेँ । तर, आमालाई देखिनँ । अनि म बसभित्र पसेँ ।

म बस चढेको केहीबेरमा एक हुल केटा बसमा चढे । उनीहरूले एकदमै नराम्रो शब्दहरू बोलिरहेका थिए । उनीहरूलाई कसैको केही मतलब थिएन, कसैले केही भन्छ कि भन्ने कुरामा पनि रत्तिभर डर थिएन । मुखमा जे मन लाग्यो त्यही बोल्ने गरेका थिए । उनीहरूलाई देखेर मलाई अलि कस्तो कस्तो लागेको थियो । त्यत्तिकैमा त्यही समूहको एकजना केटाले मलाई धकेल्दै जिस्काउन खोजिरहेको थियो । मैले उसलाई वास्तै गरिनँ । किनभने, बसमा मैले चिनेका कोही पनि थिएनन् । उनीहरू घरि के भनिरहेका थिए घरि के । मलाई पहिलोपटक मामाघर एक्लै जाँदा त्यति धेरै डर लाग्यो । म मामाघर पुग्नुभन्दा केही वर नै बसबाट ओर्लेँ । अनि हिँड्दै मामाघर गएँ । 

मामाघरमा केही दिन बसेपछि घर फर्किने तयारी गरेँ । मामाले मलाई बस चढ्ने ठाउँसम्म पुऱ्याउन जानुभयो । त्यहाँ पुग्दा स्करपियो लागिरहेको रहेछ । चढ्नै लागेकी थिएँ, काउन्टरको मान्छे आएर, “टिकट काट्नुपर्छ, टिकट काटेको मान्छेले मात्रै जान पाउँछ”, भन्यो । अनि मामाले मेरो टिकट काटिदिनुभयो । मलाई गाडीमा बसाएर मामा घर फर्किनुभयो । म पनि गाडी हिँड्ने समय कुरेर बसेँ । एकैछिनमा स्करपियो भरियो अनि गाडी हिँड्ने तयारी गऱ्यो । त्यत्तिकैमा एकजना मान्छे आएर, “तिम्रो सिट यो हैन, तिमी ड्राइभरको छेउको सिटमा बस्नुपर्ने यहाँ बसिछौ नानी” भनेर मलाई म बसिरहेको सिटबाट उठायो । अनि म अगाडि गएर ड्राइभरको छेउको सिटमा बसेँ । त्यसपछि गाडी हिँड्यो ।

गाडी हिँडेको केहीबेरमा ड्राइभरले मेरो नाम सोध्यो । मैले आफ्नो नाम भनेँ । उसले मसँग अनेक थरि कुरा गर्न थाल्यो । मलाई उसको कुरामा वास्तै लागेको थिएन । म त झ्यालबाट बाहिर हेर्दै गीतको मजा लिइरहेकी थिएँ । ऊ भने मलाई अनेक कुरामा अल्झाउन खोजिरहेको थियो । तर, मैले उसलाई वास्तै नगरी झ्यालबाट बाहिर हेरिरहेकी थिएँ । त्यतिकैमा मेरो कम्मरमा चिसो महसुस भयो । लाग्यो, कसैले पानी पिउन खोज्दा झुक्किएर पोखियो । तुरुन्तै पछि फर्केँ, म त झसङ्ग भएँ । ड्राइभरको हात पो मेरो कम्मरमा सलवलाइरहेको थियो । मलाई एकदमै डर लाग्यो । त्यही पनि, मैले हिम्मत गरेर, “दाइ यो के गर्नुभएको छोड्नुस् हात”, भनेर उसको हात निकालिदिएँ । तर, पनि उसले हर्कत दोहोऱ्याउन छोडेन । मैले बारम्बार भनिरहेँ तर पनि उसले मानेन । गाडीमा सबै मान्छे गीतको तालमा मस्त थिए । मेरो सानो स्वर कसैले पनि सुनेन । उसको हात कहिले कम्मरमा त कहिले भर्खरभर्खर बढ्दै गरेको मेरो स्तनमा बारम्बार पुगिरहेको थियो । मलाई एकदमै उकुसमुकुस भयो, वान्ता आउला जस्तो, ट्वाइलेट लागेको जस्तो भो । मनमा डर एकातिर थियो भने अर्कोतिर कसरी फुत्किने होला भन्ने पनि भइरहेको थियो । तर, म सहाराविहीन बनिरहेँ । उसले आफ्नो घिनलाग्दो हर्कत दोहोऱ्याइ नै रह्यो । मेरो आँखाबाट आँसु झरी नै रह्यो ।

घर फर्केपछि मलाई कसैसँग पनि बोल्न मन लागेन । म सीधै कोठामा गएर बेसरी रोएँ । आफ्नै शरीर पनि भारी भएको फिल भइरहेको थियो । उसैको हात सलबलाइरहेको जस्तो लागेको थियो । मेरो गल्ती केही थिएन । तर, पनि मनले भने म आफैँलाई दोषी मानिरहेकी थिएँ, आफैँलाई नराम्रो भनिरहेकी थिएँ ।

मैले आजसम्म पनि यो कुरा कसैलाई भन्न सकेकी थिइनँ । गुलाबी संवादको ब्लगमा दु्र्व्यवहारका बारेमा मजस्तै साथीहरूको लेख पढ्न मिसले क्लासमा सुझाउनुहुन्थ्यो । त्यही मौका आज मिलेको छ, त्यसैले मैले आफ्ना कुरा गुलाबी संवादलाई लेखेर पठाएँ ।

यो कुरा लेख्दै गर्दा मेरो मन हल्का भएको छ । महिनौँदेखि मनमा गडेर बसेको पीडा पखालिएजस्तो भएको छ । मिसले सुरुमा गुलाबी संवादको बारेमा भन्दैगर्दा मलाई पनि आफ्ना कुरा राख्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यो कार्यक्रमले मजस्तै किशोर किशोरीले भोगेका कुराहरू पनि अनलाइनमा छाप्छ रे भन्दा कता कता फेरि डर पनि लाग्यो । अनि मैले मिसलाई, “मेरो नाम नआउने भए त म पनि लेख्छु नि मिस”, भनेपछि मिसले, “नाम आउँदैन, खाली तिमीले भोगेका कुराहरू लेख”, भन्नुभयो । अनि आफूमाथि हुने यौन दुर्व्यवहारको बारेमा बोल्नुपर्ने कुरा गरेपछि मैले आफूले भोगेको दुर्व्यवहारको बारेमा लेखेँ र आफूलाई हल्का बनाएँ । मलाई दुर्व्यवहार गर्ने ड्राइभरलाई कारबाही त गर्न सकिनँ तर पनि आफूले भोगेका दुर्व्यवहारका बारेमा बोलेर अरूलाई बोल्नुपर्छ भन्ने कुरा सिकाउने मौका पनि पाएँ ।यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

 

 

Tuesday, December 14, 2021

एउटी मिसको बयान

संगीता आचार्य

श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान


किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकालाई स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा अध्यापन गर्दा समस्या र चुनौती पहाड जस्तै बनेर खडा भएको नमीठो अनुभव छ मसँग । मैले कक्षा सात र आठमा स्वास्थ्य शिक्षा पढाउँदा सुरुका एकदुई वर्ष म आफैँमा पनि केही कमी कमजोरी रह्यो होला जस्तो लाग्छ मलाई । किनभने, म आफैँ पनि विद्यार्थीहरूसँग सजिलो गरी खुल्न सकिनँ या भनौँ यौन तथा प्रजनन स्वास्थ्यको विषय लाजको विषय होइन भन्ने जान्दा जान्दै पनि कहीँ कतै मेरो मनले हिच्किचाहट मानिरह्यो । अप्ठ्यारो महसुस भइनै रह्यो । 

स्वास्थ्य तथा शारीरिक शिक्षा पढाउने शिक्षक म, मैले नै अप्ठ्यारो मानेपछि, म नै खुल्न नसकेपछि पाठ पढाउने बाहेकको अन्य छलफल विद्यार्थीहरू र म बीच हुने कुरै भएन । अनि विद्यार्थीले सिक्ने र व्यवहारमा उतार्ने भन्दा पनि परीक्षामा कसरी पास हुने गरी लेख्न सकिन्छ भन्ने बारेमा मात्रै ध्यान भयो र मेरो पनि विद्यार्थी कसरी पास हुन सक्छन् भन्ने कुरामा मात्रै बढी केन्द्रित भयो । 

त्यसपछि भने मलाई, मैले पढाउँदै गरेको राम्रो भइरहेको छैन, यसरी त स्वास्थ्य तथा शारीरिक शिक्षाको बारेमा विद्यार्थीमा रहेको जिज्ञासा कम गर्न सकिँदैन, उनीहरूमा गलत कुराको सिकाइ पो हुने हो कि भन्ने लाग्न थाल्यो । मलाई बिस्तारै आफ्नो कमजोरी छ, मैले यसलाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेँ । फलस्वरूप विद्यार्थीहरूसँग छलफल गर्ने प्रयास गरेँ । तर, अन्य विषयमा मजाले मसँग छलफल र अन्तरक्रिया गर्ने, केही समस्या भएमा, अलमल भएमा उठेर प्रश्न गर्ने, कक्षामा सबैका अगाडि निर्धक्क छलफल गर्ने विद्यार्थीहरू यौन तथा प्रजनन स्वास्थ्यका कुरा आयो भने कक्षामा एकदमै शान्त बस्ने, मुन्टो निहुराउने गर्न थाले, मानौँ त्यो छुट्टिको दिनको विद्यार्थी बिनाको कक्षा कोठा हो, जहाँ कुनै विद्यार्थी छैनन् ! मैले केही भन्न खोज्दा सबैका टाउका झुकेका, आँखामा लाज, मौनता र चुपचाप हुन्थे । एक जना विद्यार्थी पनि बोल्दै नबोल्ने ! यस्तो अवस्थामा कसरी सिकाउनु विद्यार्थीलाई !

तर, सिकाउन एकदमै जरुरी थियो । उनीहरूमा भएका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अनेक सवाल, अनेक जिज्ञासा र कौतुहल त मेटाउनु जरुरी नै थियो । तर, उनीहरू एक शब्द नबोलिदिँदा उनीहरूले केही सिके वा सिकेनन् ? केही जाने कि जानेनन् कसरी थाहा पाउने मैले ? कसरी उनीहरूलाई बुझाउने ? यौन रोग, शारीरिक परिवर्तन, यौन इच्छा र यसले पार्ने प्रभाव अनि त्यसको व्यवस्थापनका बारेमा पढाउन, उनीहरूलाई सिकाउन चुनौती नै बन्यो । त्यसपछि म अझ गम्भीर भएर सोच्न बाध्य भएँ । यिनीहरूलाई कसरी बुझाऊँ र खुलेर कुरा गर्न सक्ने बनाऊँ भन्ने कुराले पिरोल्न थाल्यो । 

त्यसपछि, मैले वैयक्तिक भिन्नता अनुसार विद्यार्थीको रुचिलाई ख्याल गर्न थालेँ, विद्यार्थीहरूलाई नियाल्न थालेँ, विद्यार्थीको पारिवारिक पृष्ठभूमि पत्ता लगाउन थालेँ । त्यसपछि कक्षामा पढाउन पर्ने विषयवस्तु पढाउँदै गर्दा आफूमा आएका जिज्ञासा र समस्याबारे म जहाँ भए पनि, जुन सुकै अवस्थामा भए पनि कुरा गर्न सक्छौ भनेँ । त्यसपछि विद्यार्थी मसँग कुरा गर्न आउन थाले । कसैका केही समस्या कसैका केही । उनीहरूले आफूमा भएका जिज्ञासा एकान्तमा मलाई बोलाएर पोख्न थाले । तर, त्योभन्दा पहिले आफूले भनेका कुराहरू अरूलाई नभन्ने सर्त उनीहरूको हुन्थ्यो । मैले कसैलाई नभन्ने बाचा पनि गरेँ । त्यसपछि भने उनीहरूले आफ्ना कुरा निर्धक्क भन्न थाले ।

कुनै कुराले यति धेरै समस्यामा पार्न सक्छ, मैले कहिले कल्पना पनि गर्न सकेकी थिइन । विद्यार्थीले मसँग सेयर गर्ने कुराहरू मेरो सोच भन्दा बाहिरको कुराहरू हुन्थे । उनीहरूमा यौन तथा प्रजनन स्वास्थ्यलाई लिएर हुने जिज्ञासा, कौतुहलहरू सुनेर म अचम्मित हुन्थेँ । शारीरिक परिवर्तनलाई हामीले सामान्य ठानेका कतिपय कुराहरूले विद्यार्थीहरूलाई दिएको पीडा मैले बुझ्न थालेँ । एक जना विद्यार्थी बारम्बार स्पप्नदोषको कारण नै विद्यालय आउन मन नलाग्ने, पढाइमा ध्यान नगएको र समस्याको समाधान नभए आफू आत्महत्या गर्न पनि पछि नपर्ने कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ । मलाई उसको माया लाग्न थाल्यो । हामी कस्तो समाजमा छौँ ? कस्तो शिक्षा लिइरहेका छौँ ? हामीले कस्तो शिक्षा दिइरहेका छौँ भन्ने कुराले मलाई पिरोल्न थाल्यो । 

मैले उसलाई कसरी स्वप्नदोषको बारेमा सजिलो गरी बुझाउन सक्छु भन्ने बारेमा सोच्न थालेँ । एकैपटक सबै कुरा बुझाउन सम्भव थिएन, किनभने ऊ एकदमै विचलित भएको थियो स्वप्नदोषका कारण । त्यसपछि मैले बिस्तारै बिस्तारै स्वप्नदोषको बारेमा बुझाउन थालेँ । किशोरावस्थामा प्रवेश गर्दा सबैलाई हुने कुरा पनि बताएँ । तिमीले जस्तै मैले पनि यो सबै भोगेर आएकी हुँ । ढिलो चाँडो तिम्रो साथीहरूले पनि यो कुरा भोग्छन् । यो एउटा सामान्य प्रक्रिया हो भनेर विभिन्न उदाहरण दिँदै सम्झाउँदै गरेपछि बिस्तारै उसको मनको डर हट्दै गयो । त्यसको केही समयपछि कक्षामा उसलाई एक्टिभ देख्न थालेँ, आफूले नजानेको कुरा मसँग सोध्ने र जानेको कुरा साथीलाई सिकाउँदै गरेको देखेपछि मेरो मन शान्त भयो । 

यसरी यस्ता धेरै विद्यार्थीबाट मैले सिकाउन भन्दा पनि धेरै कुरा सिकेँ । आफूलाई निखार्दै विद्यार्थीलाई सहज बनाउँदै  सिकाउन थालेँ । यौन तथा प्रजनन स्वास्थ्यको विभिन्न विषय पनि सामान्य विषयवस्तु सरह नै कक्षामा सबैका सामु मजाले छलफल गरी पढ्न पढाउन थालेँ । विद्यार्थीलाई एक्लै एक्लै राखेर उनीहरूको समस्या, जिज्ञासा र कौतुहलमा छलफल गरिसकेपछि तिनै विद्यार्थी माझ कक्षामा प्रश्नोत्तर तयार गरेर छलफलमा सहभागी गराउन थालेँ । 

त्यसपछि भने पहिले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठमा भएका कुरा पढाउँदा मुन्टो निहुराउने, आँखा लुकाउने परीक्षामा पास हुनको लागि मात्रै पढ्ने विद्यार्थी छलफलमा सहभागी हुन थाले, आफूमा आएका परिवर्तन र समस्यालाई व्यवस्थापन गर्न र आफूलाई सिर्जनात्मक बनाउन, परिवर्तनलाई सामान्यीकरण गर्न थाले । व्यक्तिगत सरसफाइमा सतर्क र चनाखो बन्न थाले । मैले पनि उनीहरूलाई परीक्षामा पास हुने भन्दा पनि मेरो विद्यार्थीको व्यवहार परिवर्तनको फड्कोलाई आफ्नो सफलता ठान्न थालेँ । र, आज म मेरा विद्यार्थीमा आएको परिवर्तनलाई देखेर खुसी छु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, November 30, 2021

त्यो परालको थुप्रो...त्यो दुर्व्यवहारको चोट !

नाम गोप्य राख्ने सर्तमा प्रकाशित

गोरखा


  Photo Source: mymodernmet.com


घरआँगनै मगमगाउने गरी फुल्ने मखमली, सयपत्री गुरदौलीको मगमगले पनि तिहारको छनक दिइरहन्थ्यो । प्रत्येक तिहारमा यस्तो लाग्छ, यिनै फूलका वासनाले डोऱ्याएर मलाई मामाघरसम्म लैजान्छ । किनभने, म सानो छँदा पनि तिहारको छेको पारेर यसैगरी फूलहरू फुल्थे, अनि म मामाघर जान आतुर हुन्थेँ । 

फुलेका फूलहरू उस्तै थिए, अनि मन पनि उस्तै छ । चन्चल र उत्साहित । तर, मामाघर जाने कुरा सम्झियो भने मेरो मनमा एकतमासको उदासी छाउन थाल्थ्यो । नसम्झिरहन पनि सक्दिनँथे, बिर्सन पनि सक्दिनँथे ।

हाम्रो घर गोरखा बजारमा हो, अनि मामाघर चाहिँ गोरखा जिल्लाकै आरुघाट भन्ने ठाउँमा । तिहारका बेला प्रायजसो मेरो दाइ र म ममीको पछि लागेर मामाघर जान्थ्यौँ । अनि उतै तिहार मनाउँथ्यौँ ।

त्यतिबेला मेरो उमेर त्यस्तै नौ वर्षको थियो होला । दशैँमा बाबाले किन्दिनुभएको गुलाबी जामा लगाएर, ममी, दाइ अनि म भएर तिहार मनाउन मामाघर गयौँ । कार्तिक महिना थियो । त्यसैले पनि मामाघरको आँगन दाइँ गर्न ठीक्क पारिएको परालले भरिएको थियो । 

हजुरआमा गोठ छेउको भान्सामा सेलरोटी पकाउँदै हुनुहुन्थ्यो । हजुरबा पिँडीमा बसेर तमाखु तान्दै, आँगनभर फुलेका सयपत्री र मखमली हेर्दै हुनुहुन्थ्यो । माइजूहरू तिहार मनाउन आआफ्नो माइत गइसक्नुभएको थियो । मामाहरू भने घरमा हुनुन्थेन । सायद तास खेल्न जानुभएको थियो कि ? किनभने, तिहारमा तास खेल्नेको जमात हाम्रो मामाघरतिर अझै पनि बाक्लै हुन्छ ।

हामी पुगेको देखेर हजुरबा हजुरआमा खुसी हुनुभयो । उहाँहरूको अनुहार पनि मखमलीजस्तै उज्यालो देखियो । हामी पुगेको एकाध घण्टामा दुवै मामा सँगै आइपुग्नुभयो । अनि मलाई पनि साँच्चिकै मामाघर पुगेको अनुभूति भयो ।

अँ साँच्चै त, मेरो मामाघरमा दाइ दिदी पनि हुनुहुन्थ्यो । ठूलो मामाको छोरा र कान्छो मामाकी छोरी । उहाँहरू दुवै उमेरले मेरो दाइभन्दा सानो र मभन्दा ठूलो हुनुहुन्थ्यो । हामी चारैजना खुब मिल्थ्यौँ । सँगै खेल्थ्यौँ, अनि सँगै रमाउँथ्यौँ । चारजना मध्ये सबैभन्दा सानी भएर होला, मलाई सबैजनाले धेरै माया गर्नुहुन्थ्यो । 

तिहारको बेला भएर होला, त्यतिबेला मामाका छोराछोरीसँग पटाका थियो । हामीले आँगनको छेउमा गएर पटाका पड्कायौँ । हजुरबाले सतर्क गराएझैँ गरेर भन्नुभयो, “यता परालमा छोइएर आगो लाग्ला...अलि पर गएर पड्काओ ।” 

हामीले स्वर मिलाएझैँ गरेर परबाटै भन्यौँ, “लाग्दैन हजुरबा लाग्दैन ।” 

पटाका पड्काएपछि, त्यो दिन बेलुकासम्मै हामी लुकामारी खेल्यौँ । मेरो लुक्ने पालो थियो । दाइ दिदी, घरभित्र, आँटीतिर कताकता लुक्न जानुभयो । म भने कसैले भेट्टाउन नसक्ने ठाउँमा लुक्छु भन्दै परालको थुप्रो पछाडि गएँ । 

साँझ झमक्कै भइसकेको थियो । परालको थुप्रोपछाडि लुक्दा मामाघर पनि अलिअलि मात्रै देखियो । त्यतिबेला लोडसेडिङ धेरै हुन्थ्यो । बिजुली बत्तिको उज्यालो थिएन । लालटिन र टुकीको उज्यालो अलिअलि देखिन्थ्यो । मलाई “डुम” बनेको दाइले नभेटोस् भनेर सतर्क भएर लुकिरहेकी थिएँ । 

केहीबेरमा मेरो छेउमा अग्लो छाया देखियो । दाइले भेट्नुभएछ क्यार भन्ने सोचेँ । तर, त्यो छाया ठूलो मामाको रहेछ । “दाइदिदीले लुकामारी खेल्न छोडेर भात खाँदै छन्, बरु आउ तिमी र म परालमा खेलौँ । मामाले भन्नुभयो । परालमा खेल्न मलाई अति मनपथ्र्यो । म सानी भएकाले र खाना खान किचकिच गर्ने भएकाले, ममीले पहिल्यै खाना खुवाइसक्नुभएको थियो । त्यसैले परालमा खेल्न मलाई केसैले छेकेन । मामा मसँगै परालमा खेल्न थाल्नुभयो । परालले मेरा हात र तिघ्रामा पाछ्न थालेको थियो तर पनि परालमा उफ्रेर खेल्न रमाइलो भइरहेको थियो । 

मामाले मलाई दुवै हातले उचालेर परालको थुप्रोमा फालिदिनुहुन्थ्यो । परालको थुप्रो रबरझैँ लचक्क गथ्र्यो । अनि म खुसी हुँदै मामालाई फेरि पनि त्यसरी नै उचालेर फालिदिन भन्थेँ । मामा आज्ञाकारी भएर मेरो कुरा मान्नुहुन्थ्यो । 

एकैछिनपछि मामाले भन्नुभयो, “म घोडा बन्छु, तिमी मेरो माथि चढ ।”

मैले मामाले भनेको मानेँ । एकैछिन मामाको कान बटारेजस्तो गरेँ । मामा घोडाजसरी परालमा हिँड्नुभयो । मलाई झनै रमाइलो भयो । 

घरमा अरू सदस्य खाना खाँदै हुनुहुन्थ्यो क्यार । मामासँग खेलिरहेको थाहा पाएर होला, खासै कसैको ध्यान मतिर थिएन । 

एकैछिनपछि मामाले भन्नुभयो, “अब गुफा बनाई खेलम ।” 

ममाले परालको थुप्रो लगाउनुभयो । अनि बिस्तारै परालभित्र गुडुल्की मारेर बस्न मिल्नेजस्तो ओडार बनाउनुभयो । ओडार अँध्यारो थियो । म ओडारभित्र बसेँ । मामा पनि मेरो छेउमा आउनुभयो । 

त्यतिबेलासम्म मलाई रमाइलो लागिरहेको थियो । तर, त्यतिबेला मेरो रमाइलोको सुर भत्कियो, जतिबेला मेरो सुसु गर्ने ठामतिर केही चलेजस्तो लाग्यो । 

मैले एकैछिनमा थाहा पाएँ, त्यो मामाको हात थियो । मामाले किन त्यसो गर्नुभयो ? जानेर गर्नुभयो कि अन्जानमा गर्नुभयो । मैले थाहा पाइनँ । मामाको हात बल गरेर ताने । झ्वाट्ट मामालाई हुत्ताएझैँ गरेँ । थाहा छैन त्यतिबेला मामाको हात पन्छाउने र मामालाई घचेट्ने बल मभित्र कहाँबाट आयो । म त्यो गुफाबाट निस्केर बेजोडले दौडिँदै घरभित्र छिरेँ ।

“रहर पुग्यो परालमा खेलेर ?” मायालु पारामा ममीले सोध्नुभयो र ओछ्यान बनाउने तरखरमा लाग्नुभयो । 

म केही बोलिनँ । मामाले गरेको हर्कत के थियो थाहा पाउन सकिरहेकी थिइनँ । तर, मलाई कताकता डर लागिरहेको थियो । ममीलाई भन्ने सोच पनि आएन । सायद, के भन्ने भनेर मलाई थाहा थिएन होला । मैले लामो लामो सास मात्रै फेरिरहेँ ।

कामको सुरुमा व्यस्त ममीले मलाई के भइरहेको छ भन्ने थाहा पाउनुभएन । आजसम्म पनि उहाँलाई त्यो घटनाबारे थाहा छैन । मैले भन्नै सकेकी छैन । मलाई धेरैपछि मात्रै, मामाले अन्जानमा गरेको भएपनि, जानजान गरेको भएपनि नराम्रो गर्नुभएको रहेछ, त्यसलाई दुव्र्यवहार भन्दोरहेछ भन्ने थाहा भयो । 

त्यसपालाको तिहार मामाघरमा मनायौँ । तर, त्यसपछिका वर्ष मलाई मामाघर जान खासै उत्साह आएन । दाइ र म घरै बाबासँग बस्थ्यौँ । कहिलेकसो मात्रै मामाघर जान्थ्यौँ । ठूला भएर मामाघरलाई हेला गरेँ भनेर हजुरबा हजुरआमाले भन्ने गर्नुहुन्थ्यो । तर, मनमा गडेको ठूलो चोटले आफ्नाहरूलाई पनि बिरानो बनाउँदै लैजाने रहेछ । 

जबजब तिहार आउँछ, जबजब धान भित्राउने बेला हुन्छ, दाइँ हाल्न ठीक्क परेको त्यही परालको थुप्रो सम्झिन्छु, अनि मनभित्र गडेको दुर्व्यवहारको चोट !

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।




Tuesday, October 19, 2021

त्यो पहिलो हस्तमैथुन...

–नाम प्रकाशित नगर्ने शर्तमा

धनुषा


Photo Source: dreamstime.com

हस्तमैथुनबारे साथीहरूबाट धेरै सुनेको थिएँ । उनीहरू हरेक दिनजसो नयाँनयाँ किस्सा सुनाउँथे । मलाई भने खासै वास्ता लाग्दैनथ्यो । तरपनि, उनीहरू आफूले हस्तमैथुन गर्दा के के भयो भनिरहन्थे । कहिलेकसो त स्कुलमा नै पोर्न भिडियो हेर्थे । कहिले भने सपनामा फरक फरक केटीसँग रोमान्स गरेको देखेँ भनेर आआफ्ना अनुभव र सपनाहरू सुनाउँथे । 

मैले उनीहरूको कुरामा चासो दिइनँ भनेर मलाई नराम्रोसँग जिस्काउँथे पनि । तरपनि, मैले उनीहरूको कुरा बेवास्ता गर्थेँ । किनभने, न त मैले सपनामा कसैसँग उनीहरूले भनेकोझैँ रोमान्स गरेको थिएँ, न त मैले उनीहरूले जस्तो हस्तमैथुन नै गरेको थिएँ । मलाई थाहा पनि थिएन कि, सपनामा कसरी रोमान्स हुन्छ र हस्तमैथुन गर्दा के हुन्छ भनेर ।

तर, एकदिनको कुरा हो । साथीले मलाई हस्तमैथुन गर्दा के के हुन्छ भनेर भन्दै थियो । मसँग कुरा गर्दैगर्दा ऊ निकै हौसिएको थियो । ऊ हौसिएको मात्रै थिएन, हस्तमैथुन पनि नगर्ने भनेर बेलाबेला मलाई होच्याउँदै पनि थियो । उसको कुराले मेरो मनमा हिनताबोध बढ्दै थियो, इगो पनि थपिँदै गयो ! उमेरले म त्यतिबेला सानै भएपनि, मेरो मनमा एकदिन म पनि एकदिन गर्छु, पोर्न मुभी हेर्छु अनि यसलाई सुनाउँछु भन्ने भाव तीव्र भइरहेको थियो । 

भर्खर आठ कक्षा सकेर नौ कक्षाको पढाइ सुरु भएको थियो । साथीहरू फलानो फलानोको लभ प¥यो रे, फलानोले हिजो पोर्न मुभी हे¥यो रे, सपनामा सेक्स गरेको देख्यो रे भन्दै ग्रुपग्रुप बसेर कुरा गरिरहेका हुन्थे । उनीहरूलाई देख्दा म आफूलाई एक्लो महसुस गर्न थालेको थिएँ । त्यसैले मैले पनि निश्चय गरेँ, अब म पनि हस्तमैथुन गर्छु, साथीहरूले जस्तै राम्रा राम्रा हिरोइनहरूसँग रोमान्स गरेको सपना देख्छु अनि बुवाकै फोनमा भएपनि लुकेर पोर्न मुभी हेर्छु । 

त्यो दिनदेखि मैले पढ्नु छ भनेर बुवाको फोन माग्न थालेँ । बुवाको फोनमा राखेर हेर्न बजारबाट मेमोरी कार्डमा पोर्न मुभी ल्याउन थालेको थिएँ । 

मैले रातीको समयमा ट्वाइलेट गएर, सानो आवाज बनाएर पोर्न मुभी हेर्न थालेँ । सपनामा साथीले जस्तै रोमान्स गरेको देख्छु कि भनेर पोर्न मुभीका हिरोइनहरूलाई सम्झेर सुत्न थालेँ । त्यतिबेलासम्म हस्तमैथुन गरिहाल्ने हिम्मत आएको थिएन । हस्तमैथुन गर्दा के हुन्छ र मजा आउँछ भन्ने पनि थाहा पाउन सकेको थिइनँ । तर, पोर्न मुभी हेर्दा भने केही दिनदेखि आफूलाई पूर्ण भएको महसुस गरेको थिएँ । 

त्यसपछि साथीले मोबाइलमा नयाँ नयाँ पोर्न भिडियोहरू सेयर गर्न थाल्यो । मैले पनि हेर्न थालेँ । साथीहरूसँग छिल्लिएर, जिस्किएर कुरा पनि गर्न थालेँ । मलाई अझै सम्झना छ, त्यति मात्रै गर्दा पनि मलाई अर्कै किसिमको फिलिङ्ग्स आउन थालेको थियो । 

एकदिनको कुरा हो । स्कुलबाट घर फर्केर, होमवर्क सबै सकेर बसेको थिएँ । साँझको खाना खाने बेला भएको थियो । त्यति नै बेला टिभीमा कण्डमको प्रचार आयो । त्यो कण्डमको प्रचारमा देखाइएका सिन खासै राम्रा थिएनन् । त्यही भएर बुवाले फ्याट्ट टिभी बन्द गरिदिनु भयो । मलाई भने त्यो प्रचार हेर्दा कताकता काउकुती लाग्न थाल्यो । टिभी बन्द गरेकोमा मनमनै बुवासँग रिस पनि उठ्यो । अनि सोचे,ँ आज ल्याएको नयाँ पोर्न मुभी हेर्छु र आजै हस्तमैथुन पनि गर्छु । 

त्यो दिन मैले छिटो छिटो खाना खाएँ । पढ्छु भनेर बुवासँग फोन मागेँ अनि कोठामा गएर ढोका बन्द गरेर बुवाको फोनबाट मेमोरी कार्ड निकालेर मैले ल्याएको मेमोरी कार्ड राखेँ । अनि त्यही फोनमा पोर्न मुभी हेरेँ । अनि एकछिन आँखा बन्द गरेँ, त्यही मुभीको हिरोइनलाई सम्झेँ, जो हिरोसँग नाङ्गै रोमान्स गर्दै थिई । मैले ऊ, मैसँग मेरो कोठामा भएको महसुस गर्न थालेँ अनि बिस्तारै बिस्तारै हात मेरो लिंग तलमाथि गर्दै चलाउन थालँे । म जति छिटो छिटो आफ्नो हातले लिंग सुम्सुम्याउथेँ त्यति नै उत्तेजना बढ्दै थियो । त्यतिबेला मलाई लाग्दै थियो कि, संसारमा यो जति ठूलो मज्जा अरू केही कुरामा छैन । 

त्यसपछि मैले नियमित रूपमा हस्तमैथुन गर्न थालेँ । तर, बिस्तारै पोर्न मुभि हेर्न चाहिँ बन्द गरेँ । किनभने, पोर्न मुभी हेर्न थालेपछि मेरो अरू कुरामा ध्यान जान छोडेको थियो । त्यही भएर पनि मैले बजारबाट मेमोरी कार्डमा पोर्न मुभी ल्याउन र बुवासँग फोन माग्न बन्द गरेको थिएँ । साथीहरूले कहिलेकसो देखाएको बेलामा मात्रै हेर्थेँ । 

तर, हस्तमैथुन गर्न भने छोडिनँ । साथीहरूले भन्थे, हस्तमैथुन गर्न थालेपछि मेरो हाइट बढ्यो, मेरो लिंग अलि बाङ्गो भएको छ, आँखा कम देखेजस्तो हुन्छ भनेर । तर, मलाई त्यस्तो केही पनि महसुस भएन । तर, कता कता डर भने लाग्थ्यो कतै मलाई पनि त्यस्तै हुने हो कि भनेर । 

म हस्तमैथुन गर्दा हात राम्रोसँग धोएर मात्रै गर्थेँ । अनि गरिसेकपछि पनि राम्रोसँग हात धोएर मेरो लिंग सफा गर्ने र अन्डरवेयर चेन्ज गर्ने गरेको थिएँ । हुन त, मलाई यो कुरा त्यो समयमा कसैले सिकाएको थिएन म आफैँले गरेको थिएँ । अहिले आएर सम्झिँदा लाग्छ, सरसफाइमा ध्यान दिएर मैले राम्रो गरेको रहेछु । साथीहरूले भनेजस्तो हस्तमैथुन गर्दा आँखा कमजोर हुने, हाइट बढ्ने या नबढ्ने, लिंग बाङ्गो हुने भन्ने कुरा भ्रम रहेछ । स्वस्थ र स्वच्छ तरिकाले हस्तमैथुन गर्नु नराम्रो हैन रहेछ भन्ने कुरा पछि थाहा पाएँ । 

हुन त कति जनाले एकैदिनमा थुप्रै पटक हस्तमैथुन गर्छु भनेको पनि सुनेको छु । तर, यसो गर्दा त अरू कुरामा ध्यान नै कम हुनसक्छ । पढाइ र परिवारसँगको सम्बन्ध, अनि आफ्नो करियर नै पनि बिग्रिन सक्छ । तर, मैले एकदमै सानैदेखि हस्तमैथुन गरेको भएपनि सरसफाइमा ध्यान दिँदै कहिलेकाँही मात्रै गरेको भएर मलाई कुनै पनि समस्या भएन । अनि मलाई हस्तमैथुन गर्नु भनेको नराम्रो हो भन्ने पनि लाग्दैन ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, October 5, 2021

के इज्जत छोरीको योनिमा टाँसिएको हुन्छ ?


–नाम प्रकाशित नगर्ने शर्तमा


मलाई उड्न हौसला दिनेहरू किन मैले हिँडेको देख्न सक्दैनन् ?

म त हिँड्न जन्मिएकी, म त हिँड्न चाहन्छु । जमिन मेरो अस्तित्व हो, अनि आकाश मेरो कल्पना । मेरा आफ्नैहरू मेरो अस्तित्व मेटाउन खोज्छन् । कल्पनामा रमाऊ भन्छन् । तर, म कसरी रमाउन सक्छु र ! किन बुझ्दैनन् कल्पना त एक क्षणिक आनन्द मात्रै हो ! 

क्रान्तिकारी बनी उभिएको बाटोमा जब मेरा पैताला सुत्छन्, तब गिद्धहरूको नजरले मेरो शरीरको हरेक अङ्गलाई एक एक गरी नियाल्छन् ! घर फर्किएर जब ऐनामा आफैँलाई हेर्छु, तब शरीरभर भेट्छु गिद्धे डामहरू । म केही बोल्न सक्दिनँ । बस्, चुपचाप नियालिरहन्छु ती डाम । 

अब भन्नुहुन्छ होला, यस्तो विषय उठाउनुपर्छ, बोल्ने तिम्रो अधिकार हो, आफ्ना लागि आवाज आफैँ उठाउनु पर्छ । किन चुप छौ ? भनेर ।

म बोल्न नसक्ने होइन । अनि बोल्न नचाहेको पनि होइन । आवाज उठाउनु पर्छ, बोल्नुपर्छ, आवाज उठाउनुपर्छ, बोल्नुपर्छ भन्दै चर्को चर्को स्वरमा नारा मात्र लगाउने नारावादीहरूको भीडमा मेरो आवाज नसुनिएको मात्र हो । यहाँ समय बदलिरहन्छ । बदलिएको समयसँगै बदलिएको यो संसारमा, बदलिएका छन् पात्रहरू । अनि बदलिएको छ पात्रहरूको जीवन । यहाँ पात्रहरूको जीवनको पृष्ठभूमी बदलिएको छ, अनि बदलिएको छ अनेक आवरण । तर, कथा भने पुरानै दोहोरिइ रहेको छ । पीडा पुरानै, परिस्थिति पुरानै, अनि जीवनका कहानी, लय र ताल पुरानै । 

आज पनि मानिसहरू जीवनभर आफ्नो इज्जतका लागि मर्छन्, र इज्जतकै लागि मार्छन् पनि ।  आफूले भोगेका पीडा मनमा नै दबाएर, आफैँलाई आफूभित्र दबाएर, आफ्नो स्वतन्त्रताको इज्जत लुट्छन् । र अन्यमा बली चढाउँछन् आफैँले आफूलाई । 

इज्जत भनेको के हो ? इज्जत कहाँ कहाँ टाँस्न मिल्छ होला ? शरीरका कुन कुन अङ्ग इज्जत टाँस्नलाई योग्य छन् होला ? के इज्जत छोरी मान्छेको योनिमा टाँस्नलाई मात्र बनेको चिज हो ? आखिर के हो त इज्जत ?

मेरा प्रश्नहरूको उत्तर यहाँको सज्जन मानिसहरूको जमातसँग छैन । मैले बुझेको समाज र समाजले नबुझेको म उस्तै नै छौँ । मौन !

नारीहरू हिजो पनि इज्जतको आगोमा जलेकै थिए । र, आज पनि उनीहरू जलिरहेका छन् । यो जल्ने श्रृंखलामा सानो मात्रै फरक छ । त्यो फरक के हो भने, हिजो जल्नेहरू इतिहास बनेका छन् अनि आज जलिरहेका र अबका दिनमा जल्नेहरू इतिहास बन्न बाँकी छन् । 

तर, मलाई कदापी त्यस्तो इतिहास बन्नु छैन । मलाई त हिँड्नु छ । कुद्नु छ, मज्जाले उफ्रिनु छ, दिल खोलेर हाँस्नु छ अनि हँसाउनु छ । मलाई लड्न मन छ, लडेर आफै उठ्नु छ, अनि फेरि लडेर फेरि उठ्नु छ र त्यहि लडाईबाट धेरैकुरा सिक्न छ, सिकाउन छ । निरन्तर हिँडिरहनु छ । 

परिवर्तनका लागि मलाई चरा बन्नु छैन । तपाई मानिस बन्नूस् ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

 

Tuesday, September 21, 2021

त्यो दुर्व्यवहार थियो कि किशोरावस्थाको कौतूहल...?

–नाम प्रकाशित नगर्ने सर्तमा


Photo Source: iconfinder.com

त्यो के थियो मलाई आजसम्म पनि थाहा छैन । 

म सानी अनि नबुझ्ने बालिका पनि थिइनँ जसले त्यो व्यवहार के थियो भनेर आजसम्म पनि छुट्याउन नसकूँ । 

म पोखरास्थित मामाको घरमा बसेर क्याम्पस पढ्थेँ । मामाका तीन छोराहरू, मामा, माइजू र म थिएम् । मामाका दुई जना छोराहरू (मेरा दाइ) विदेशमा हुनुहुन्थ्यो भने एकजना ममाथिका दाइ घरमा नै । 

म मामाको घरमा बसेर पढ्न थालेको धेरै समय भैसकेको थियो । घरबाट क्याम्पस आउनजान गाह्रो हुने भएकाले म मामाघरमा बसेर पढेकी थिएँ । शुक्रबार या अन्य कुनै छुट्टीमा फुत्त घर गइहाल्थेँ । हुन त मामा माइजूले मलाई कुनै कुराको कमी हुन दिनुहुन्नथ्यो । मामाहरूको छोरी नभएकाले उहाँहरूको लागि छोरी भनेपनि, भान्जी भनेपनि म नै थिएँ । तैपनि, किनकिन विदा भयो या शुक्रबार आयो भने घर जान मन लागिहाल्थ्यो ।

तर, एकदिनको कुरा हो, क्याम्पस छुट्टी हुँदा पनि म घर गएकी थिइनँ । कारण, मेरो परीक्षा आउन धेरै दिन बाँकी थिएन । शनिबारको दिन कलेज जान नपर्ने भएकाले म बिहानै नुहाउन आँगनको बाथरुममा पसेँ । माइजू भान्सामा खाना बनाउँदै हुनुहुन्थ्यो । मामा भने करेसाबारीमा हुनुहुन्थ्यो । अनि दाइ आफ्नै कोठामा । म बाथरुममा पसेर गीत गाउँदै नुहाउँदै थिएँ । एक्कासि बाथरुममा अँध्यारो छायाजस्तो देखियो । मैले सोचेँ बाहिर बादल लागेछ । त्यही भएर घाम छेकियो अनि अँध्यारो भयो होला । तर, बाहिर चकमन्न घाम लागेको थियो । 

बाथरुमको भेन्टिलेटरबाट हेर्न खोजेँ । तर, केही देखिएन । अनि म आफ्नै सुरमा गीत गाउँदै नुहाउन थालेँ । फेरि, एकैछिनमा केही स¥याक्क गरेको आवाज आयो । आवाजसँगै मलाई डर लाग्न थाल्यो । अनि बिस्तारै निहुरिएँ र बाथरुमको ढोका तलपट्टि रहेको खाली ठाँउबाट आँखा बाहिर पु¥याएँ । मेरो आँखा ठाँउको ठाँउ रोकिए । म स्तब्ध भएँ । मैले केही सोच्नै सकिनँ । त्यो समयमा कस्तो प्रतिक्रिया जनाउने भन्ने पनि थाहा भएन । म मूर्तिजस्तो भएँ । कारण, ढोकाको तलबाट मेरो मामाको छोरा, अर्थात दाइले म नुहाउँदै गरेको हेर्दै रहेछ ! केही बेरपछि म बल्लतल्ल बाहिर निस्केर कोठामा गएँ र ढ्याम्म ढोका लगाएर धेरैबेरसम्म रोइरहेँ । 

योभन्दा पहिले उसले कहिल्यै पनि त्यस्तो व्यवहार गरेको थिएन । कहिल्यै नराम्रो शब्द पनि बोलेको थिएन । न त कहिल्यै मैले मेरा प्राइभेट अंगहरूमा उसका आँखा पुगेको देखेकी थिएँ । उसले त मलाई एकदमै माया गथ्र्यो । म त उसकी एकलौती बहिनी थिएँ । तर, त्यो दिन उसलाई के भयो म आफैलाई थाहा छैन । किन उसलाई मेरो शरीर हेर्न मन लाग्यो ? किन उसले त्यसरी लुकेर म नुहाएको हे¥यो ? पहिले पनि त्यसरी हेथ्र्यो वा त्यो दिन मात्रै हो ? मैले कुनै कुराको उत्तर पाउन सकिनँ । मलाई यो कुरा मनमा लिइराख्नु भन्दा बिर्सनु नै राम्रो होला जस्तो लाग्यो ।  मैले यो कुरा बिर्सने प्रयास गर्न थालेँ । मामा माइजूलाई केही पनि भनिनँ । भन्न पनि मन लागेन । 

केही समयपछि मेरो परीक्षा सकियो । सबैकुरा नर्मल चलिरहेको थियो । एकदिन साथीहरूसँग घुमेर साँझ घर फर्किएर कोठामा लुगा फेर्दै थिएँ । कोठाको पर्दा ज्यादै नै पातलो भएका कारण बत्ति निभाएँ । बत्ति निभाउँदै गर्दा झ्याल बाहिरबाट एउटा कालो छाया फुत्त भाग्यो । मलाई अँध्यारोमा पनि लुगा फेर्न डर लाग्यो । मैले त्यो कालो छाया प्रस्टसँग चिनेँ । छायामा देखिएको आकृति त्यही दाइको थियो ! मलाई अब भने एकदमै डर लाग्यो । ऊ बारम्बार किन लुकेर मैले नुहाउँदै गर्दा, लुगा फेर्दै गर्दा, म सुतेको बेला हेर्छ ? मैले बुझ्नै सकिनँ । म डरले लत्रिएकी थिएँ । कसैलाई भन्न सकिनँ । भन्नको लागि अरू त को थियो र, सिवाय मामा माइजू । तर, मैले हजुरको छोराले मलाई यस्तो गर्छ भनेर भन्न सकिनँ ।

तर, मामा माइजूले यो कुरा थाहा पाउनु भएको रहेछ ।

एकदिन, मामा माइजूले रोएर, मेरो खुट्टा ढोेगेर माफी माग्नुभयो । अबदेखि त्यस्तो गर्दैन भान्जी भनेर मलाई सम्झाउनुभयो । दाइलाई बेस्सरी गाली गर्नुभयो । अब फेरि, त्यस्तो गरेको थाहा पाए पुलिसकोमा लैजाने समेत भन्नुभयो । मामा माइजू रोएको देख्दा मलाई एकदमै नराम्रो लाग्यो । त्यसको केही दिनसम्म माइजू मलाई देख्ने बित्तिकै रुनुहुन्थ्यो । 

आज यत्तिका वर्ष हुँदा पनि मेरो दिमागबाट ती कुराहरू हट्न सकेका छैनन् । आखिर किन दाइले त्यस्तो ग¥यो भन्ने कुराले अझै पनि मलाई सताउँछ । उसको घरमा आमाबाहेक अरू कोही केटी मान्छे नभएका कारण केटी मान्छेको शारीरिक बनावट कस्तो हुन्छ भनेर उसले बारम्बार म नुहाउँदा, लुगा फेर्दा त्यसरी हेर्न खोज्यो ? उसको कौतूहल मेटाउनका लागि मात्रै थियो या अन्य केही कारण थियो । उसलाई मात्रै त्यस्तो भएको हो कि उसका उमेरका अरू केटाको व्यवहार पनि त्यस्तै हुन्थ्यो ?

आखिर त्यो के थियो ? जानाजान गरेको  दुर्व्यवहार या किशोरावस्थाको कौतूहल ? 

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, September 7, 2021

ओहो ! त्यो ब्लु फिल्म !

–नाम प्रकाशित नगर्ने सर्तमा

रितेशका दाजुभाइ नै जाडो बिदा मनाउन काठमाडौँबाट गाउँ फर्किएका थिए । प्रत्येक साल बिदामा गाउँ आउँदा उनीहरू अनेकन नयाँ नयाँ कुरा ल्याएर आएका हुन्थे । गाउँमा खेल्न उतिसाह्रो नमिले पनि कहिलेकसो स्केटिङ ल्याएर आएका हुन्थे । कहिले भिडियो गेम त कहिले चेस । यसपाला भने उनीहरूले भिडियो हेर्न मिल्ने डेक नै ल्याएका थिए । 

त्यो बिहान रितेशका बाआमा, हजुरबा र हजुरआमालाई लिएर मन्दिर जानुभएको थियो । रितेशले बोलाएपछि हामी तीन जना उनको घर गयौँ । ब्ल्याक एण्ड ह्वाइट टीभीमा रितेशले डेक जोडिसकेको थियो । हाम्रो लागि त्यो बडो अनौठो जिनिस थियो । रितेशले सानो स्वरमा भन्यो, “केटा हो तिमीहरूलाई आज म अर्कै दुनियाँ देखाइदिन्छु ।” 

मैले बडो जिज्ञासु भएर सोधेँ, “कस्तो अर्को दुनियाँ ? अर्को ग्रह ?” 

मेरो कुरा सुनेर रितेशभन्दा दुई वर्ष कान्छो भाइ विकेश खिसी गरेझैँ गरेर हाँस्यो । रितेशले सानका साथ भन्यो, “तिमेरु गाउँलेलाई यस्ता कुरा के था ? पहिले चुपचाप हेर अनि पानी पानी हुन्छौ ।”

रितेशले रहस्यको पोकोलाई थप कसिलो बनायो । हामी केही बोलेनौँ । हाम्रो अनुहारमा त जिज्ञासाको बाक्लो रंग मात्रै पोतिएको थियो । 

विकेशले एकैछिनमा घरको झ्याल ढोका सबै लगायो । अँध्यारो भएपछि रितेशले ब्ल्याक एन्ड ह्वाइट टीभीमा डेक जोड्यो । डेकमा चक्का हाल्यो । 

हामी अब के देख्न पाइने हो भन्ने भावमा ध्यानमग्न थियौँ । 

टीभीमा जे देखियो त्यो हाम्रो कल्पना बाहिरको कुरा थियो । पूरै निर्वस्त्र केटा र केटी बडेमानको बेडमा पल्टिएका थिए । तिनीहरूले सुरुमा एक अर्काको ओठ जोडे । एकले अर्काको नांगो शरीर मुसारे । 

यो सब देख्दा हामी सबै चकित भयौँ । रितेश र विकेश भने सधैँ हेरिरहेको कुनै सिनेमाको दृश्य हेरिरहेझैँ सामान्य देखिन्थे । तर हाम्रा निम्ति त्यो कल्पना बाहिरको कुरा थियो । त्यस्तो कुरा टीभीमा देखिएला भनेर सोचेका पनि थिएनौँ । 

आफूभन्दा उपल्ला दाइहरूबाट सुन्न त सुनेका थियौँ ब्लु फिल्म हुन्छ रे भन्ने । तर, त्यो कस्तो हुन्छ ? कहाँ बन्छ ? कसले देखाउँछ भन्नेबारे यकिन कुरा सुनेका थिएनौँ । तर, त्यतिबेला त हाम्रै आँखाअघि ब्लु फिल्म चलिरहेको थियो ! 

मेरो छेवैमा रहेको राम घरिघरि टीभीको स्क्रिनमा आँखा पु¥याउँथ्यो घरि भुइँमा औँलाले केही कोतरेजस्तो गथ्र्यो । मेरो हालत पनि रामको भन्दा फरक थिएन । निर्वस्त्र भएका केटाकेटीले टीभीमा धेरैबेरसम्म के गरे भनेर हामीले राम्ररी हेर्न सकेनौँ । 

२० मिनेटको त्यस्तो दृश्य हेरेर फर्किएको कैयन दिनसम्म मेरो मनमा अनौठा कुराहरू मात्रै खेलिरहे । नांगै अनेकन क्रियाकलपा गरिरहेका केटा र केटी मेरो सपनामा पनि बेलाबखत आउँथे । त्यस्तो बेला म पानीपानी भएजस्तो अनुभूति गर्थेँ । 

मेरो एकजना मामाको छोरा थिए । उमेरले ५ वर्ष जेठा । म हरि दाइ भन्थेँ । जेठो भएपनि उनी केटौले र चन्चल स्वभावका थिए । आफूभन्दा साना उमेरका भाईबैनीसँग निजिकिन्थे । अरू दाइहरूले जस्तो अर्ती उपदेश दिने, जतिबेला पनि अनुशासनको पाठ पढाउने, पढ्न पर्दैन ? भनेर किचकिच गरीराख्ने उनको स्वभाव थिएन । त्यही भएर जेठा भएपनि म हरि दाइसँग धक नमानी बोल्न सक्थेँ ।

एकदिन हरि दाइ मलाई जिस्क्याएझैँ गरेर सोध्नुभयो, “केटा गर्लफ्रेन्ड त बनाको छैनस् नि ?”

मैले लाज मानेजसरी छैनको भावमा टाउको हल्लाएँ । 

दाइले सम्झाएजसरी भन्नुभो, “गर्लफ्रेन्ड बनाउने पनि उमेर आउँछ । अहिले त भर्खर त ११ वर्ष पुगिस् । तैँले माया प्रेम भनेको के हो ? प्रेम किन गर्ने ? कोसँग गर्ने भन्ने बुझेकै छैनस् नि त ।”

मैले लाज मानेजसरी टाउको हल्लाइराखेँ । 

दाइले थप्नुभयो, “कम्तिमा पनि आफ्नै खुट्टामा उभिन सक्ने भएपछि यस्ता कुरा सोच्ने हो । त्यतिबेला पो बल्ल तैँले तँलाई कस्तो केटी चाहिन्छ ? केटीको कस्तो स्वभाव, आनी बानी मनपर्छ भन्नेबारे बुझ्न सक्छस् ।”

त्यतिबेला दाइ अरू बेला जस्तै जिस्किँदै बोलिराख्नुभएको थियो । दाइले लाजै नमाने जसरी मलाई फ्याट्टै सोध्नुभयो, “तैँले त ब्लु फिल्म पनि हेरिस् अरे त ।”

कुरा सुनेर मात्रै पनि म लाजले भुतुक्कै भएँ । त्यो भन्दा पनि दाईले यो कुरा कसरी थाहा पाउनुभयो भनेर चकित भएँ । 

धेरै पछि मैले थाह पाएँ, दाइले दिनुभएको चकलेटको लोभमा परेर रामले फिल्म हेरेको कुरा सबै बताइदिएको रहेछ । 

म धेरैबेरसम्म नबोली बसिराखेँ । तर दाइले मलाई गाली गर्नुभएन । न त बाले जसरी नै पिट्नुभयो । 

दाइले मेरो कपाल मुसार्दै सम्झाएजसरी भन्नुभयो, “त्यस्ता फिल्म हेर्ने पनि तेरो उमेर पुगेको छैन ।”

मैले कुरा बुझेझैँ गरेर टाउको हल्लाएँ ।  

दाइले भन्नुभयो, “हेर् केटा ब्लु फिल्ममा देखाएजस्तो जीवनमा हुँदैन । त्यो त घन्टौ लगाएर सुटिङ गरिएको कुरा हो । तैँले पछि बुझ्छस् ।” 

दाइले त्यो दिन मलाई ब्लु फिल्म किन हेर्नु हुँदैन, त्यसले कसरी बालबालिकाको मस्तिष्कमा असर पार्छ भनेर पनि बताउनुभयो । दाइले भन्नुभएको थियो, “हरेक कुराको बुझ्ने उमेर हुन्छ । तँ ठूलो भएपछि के ठीक के बेठीक भनेर छुट्याउन सक्ने भएपछि आफैँ बुझ्छस् । तर ख्याल राख्, जे कुरा घरका सबैजना बसेर हेर्न मिल्छ त्यही कुरा मात्रै हेर् । बाँकी कुरा कहिल्यै नहेर् ।’

ब्लु फिल्म हेरेको कुरा थाहा पाएर दाइले बेस्सरी गाली गर्दै भकुर्नुहोला भन्ने डर लागेको थियो । डरले म लुगलुग कामीसकेको थिएँ । तर दाइले त बडो मायाले मुर्सार्दै मलाई सम्झाउनुभयो । 

अहिले त म ब्याचलर्स पढ्दैछु । बल्ल मैले बुझ्दैछु, ब्लु फिल्म किन हेर्नु हुँदैन भनेर । कसरी त्यसले बालबालिकाको कलिलो दिमागमा असर पार्छ भनेर । 

काठमाडौँको एक कलेजमा ब्याचलर्स पढ्दै गरेका एक युवाले नाम गोप्य राख्ने सर्तमा पठाएको अनुभूति

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, August 24, 2021

महिनावारी छिटो भयो त के भयो

 -मीरा श्रेष्ठ

       


स्यानिटरी प्याडको समय नआइसकेको त होइन तर खर्चको भार या भनौँ बजारको पहुँचले पनि हुनसक्छ, मम्मीले आफू महिनावारी हुँदा समयसमयमा कपडाको टालो पेन्टीभित्र राखेर लाउने गर्नुहुन्थ्यो । अनि, बिस्तारै दिदीले पनि कहिले कपडा त कहिले सेतो रंगको प्याड त्यसैगरी प्रयोग गर्नुहुन्थ्यो । यो सब देखिरहँदा मेरी मम्मी अनि दिदीको महिनावारीको पालो भएछ भन्ने जान्दथेँ । कारण, म सानैदेखि उहाँहरूको छायामा थिएँ ।

एकदिन, मेरी दिदीले मलाई प्याड देखाउँदै भन्नुभयो, “हामी यदि घरमा नभएको बेलामा तिमीलाई महिनावारी भयो भने यसरी लगाउनू” । मलाई प्याड लगाउने तरिका सिकाउनुभयो । म केही लजाएँ । किनभने, म भर्खरजसो यौन तथा प्रजनन स्वास्थ्य शिक्षाबारे पढ्न पाइने कक्षामा अध्ययन गर्दै थिएँ । म लजाएको देखेर दिदीले भन्नुभयो, “त्यसरी लाज मान्ने होइन बरु ध्यान दिएर हेर” भन्दै सिकाउनुभयो । अनि मम्मीले पनि, “अँ हामी घरमा भएपनि नभएपनि महिनावारी भएपछि हामीलाई भन्नू । अझ, हामी घरमा भएनौँ भने दिदीले भनेजसरी पट्याएर लगाउनु, यहाँ सुतीका कपडा नयाँ नयाँ राखिदिएका हुन्छौँ तिम्रा लागि” भन्नुभयो ।

यसरी मलाई मेरी मम्मी र दिदीले एक हिसाबले पहिले नै महिनावारी भएको बखत के गर्ने ? सुतीको कपडा या प्याड कसरी प्रयोग गर्ने भनेर मानसिक रूपमा तयार गराउनुभएको थियो । र, भयो पनि त्यस्तै । त्यसबेला दिदीको बिहे भइसकेको थियो । तिहारको दिन मम्मी मामाघर जानुभयो । अनि दिदीको त्यस वर्ष आउन नमिल्ने थियो । त्यसकारण म एक्लैले निनीहरूसँग मिलेर दाइभाइलाई टिका लगाइदिएँ । दाइहरू त्यसपछि भोज खान लाग्नुभयो मलाई भने पेन्टी चिसो भएको महसुस भयो । केही समयका लागि सायद सेतो पानी बगेको होला लाग्यो तर पछि अझ चिसो महसुस भएपछि पक्का मलाई महिनावारी भयो भन्ने भयो । ट्वाइलेट गएँ र हेरेँ, हो रहेछ ।  

त्यसपछि मम्मी र दिदीले सिकाउनु भएअनुसार सुतीको कपडा लाम्चो गरी पट्याएँ र पेन्टीमा राखी लगाएँ । अप्ठेरो भयो, केही भुक्क फुलेको जस्तो भयो । कतै अरूले थाहा पाउँछन् कि भन्ने पनि भयो । कारण, महिनावारी मेरो गोप्यताको विषय पनि हो जुन म आफूले चाहेको मान्छेसँग मात्र भन्न पाउँछु भन्ने लाग्थ्यो । र, मभन्दा १ वर्ष ठूली माइला बुवाको छोरीलाई महिनावारी भएको थिएन । त्यसैले न कतै मलाई लज्जाबोध गराउँछ कि भन्ने पनि भयो र त्यो समयमा हुन्थ्यो पनि त्यस्तै । एउटै उमेरजसो उनको त के माइली मम्मी अरू दिदीहरूले पछिपछि थाहा पाउँदा पनि यसलाई त कति चाँडै भएको हाम्रो कान्छीलाई अझै भएको छैन पनि भन्नुहुन्थ्यो जुन कुराले मलाई निकै नराम्रो महसुस पनि हुन्थ्यो । तर, मेरी मम्मी दिदीले सबको आफ्नै प्रकृति अुनसार हुन्छ यो ठूलो ऊ सानो भनेर हुने होइन भनेर सम्झाउनुहुन्थ्यो ।  

अहिले म १ छोरी कि आमा भइसकेकी छु । बच्चा डेलिभरी भएको २ महिनापछि मलाई महिनावारी भयो । मेरी दिदीको झन्डै १ वर्ष पर गयो रे अनि मेरी मम्मीलाई त करिब २ वर्ष पछि मात्रै महिनावारी भएको रे । यसरी बच्चाको आमा हुँदासमेत मलाई केही महिला दिदीबहिनीले कति चाँडै महिनावारी भएको भनेर एक किसीमको ‘बुलीङ गरे । तर, आज मैले यौन तथा प्रजनन स्वास्थ्य शिक्षा राम्ररी बुझेकाले पनि यस्तो ‘बुलीङले छुन भने सकेन । मेरो महिनावारी तालीका रगतको सम्बन्ध भएकी मेरी दिदी र मम्मीसँग त मिलेन भने अरू महिलासँग किन मिलेन भनेर टाउको घोप्टाउनु, दुखाउनु के जरुरी ! खैर ! मेरी छोरीलाई पनि म मम्मी र दिदीले मलाई तयार गराउनुभए जसरी नै आफूले जानेका सिकाएर बुझाएर उनलाई उनको जीवनको महत्वपूर्ण समयलाई आत्मसात गराउन तयार गराउनेछु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, July 27, 2021

डरै डरले बितेको त्यो दिन...




-सुनिता कुमारी रोकाय 

श्री सरस्वती माध्यमिक विद्यालय ठूली भेरी नगरपालिका, दुनै, डोल्पा



म १५ वर्षको उमेरमा हिँड्दै थिएँ । एक दिन बिहानैदेखि मलाई पेट दुख्ने, ढाड दुख्ने, किन सन्चो नभएको होला भनेजस्तो महसुस भइरहेको थियो । दिउँसो स्कुलमा त पढ्दा पढ्दै पेट दुख्न थालेको थियो । तीन घन्टीपछि म ट्वाइलेट गएँ । सुरुमा त झट्ट अचानक रगत कहाँबाट आयो भन्ने भयो । तर, एकैछिनमा मैले अनुमान गरिहालेँ । त्यसपछि आफ्नै रगत देखेर फरक महसुस भयो । 

त्यो मेरो पहिलो महिनावारी थियो । मेरो मनमा अनेक कुरा खेल्न थाले । त्यसो त पेट पनि दुखिरहेको थियो । मनका कुरा साथीलाई त भनिहाल्न गाह्रो हुन्छ झन् सर म्यामलाई कसरी भन्नु ? कसरी बताउनु कि म महिनावारी भएँ । मेरो मनमा अनेक कुरा खेलेको, चिन्ताले सताइराखेको कुरा म कसरी बताउँ ?

त्यो दिन मलाई अरू बेलाजस्तो बोल्न, हाँस्न खेल्न हिँड्न मन लागेन । टोलाएरै बस्न मन लाग्यो । घरबाट स्कुल आउने बेला पनि मलाई खासै खान मन लागेको थिएन । शरीर अल्छी भएजस्तो भएको थियो । दिउसो त झनै अरूसँग बोल्न पनि गाह्रो भएजस्तो भयो ।

त्यसो त कक्षामा स्वास्थ्य विषयका शिक्षकले बेला बेला महिनावारी बारे हल्का फुल्का भन्नुहुन्थ्यो । मैले पनि महिनावारीबारे केही कुरा पढेकी थिएँ । किताबमा यस्ता कुरा पढेपनि महिनावारीका बेला हुने अनेकन अप्ठ्याराको समाधान गर्न भने सकिन । 

भन्न त दिदीहरुले महिनावारी हुँदा टालो अथवा प्याडको प्रयोग गर्नुपर्छ भन्नुभएको थियो । एकदिन मैले छिमेकी दिदीलाई सोधेकी थिएँ, “महिनावारी कति वर्षमा हुन्छ ?”

दिदीले भन्नुभएको थियो, “१३ वा १४ अथवा १५ वर्षमा पनि हुनसक्छ ।”

त्यो दिन म स्कुल आएर साथीहरूसँगै बेन्चमा बसेकी थिएँ । घरबाट हिँड्दा नै मलाई मनमा कता कता लागेको थियो, आज म पक्का महिनावारी हुन्छु । किनभने, बिहानैदेखि मेरो शरीरमा अनेकन परिवर्तन देखिएका थिए । ढाड र पेट अनौठो तरिकाले दुखिरहेको थियो । म दायाँ बायाँ गरेर छटपटाइरहेकी थिएँ ।

पाँचौँ घन्टी चलिरहेका बेला मेरो दुखाइको घन्टी पनि अनौठोसँग बज्यो ।

कक्षाकोठामा सरले के भयो भनेर सोध्दा पनि मैले पेट दुख्यो, ढाड दुख्यो भनेर भन्न सकिनँ । बरु, टाउको दुखेको छ भनेर ढाँटेँ ।

सरले भन्नुभयो, “धेरै गाह्रो भएको भए घर जाऊ र टाउको दुखेको उपचार गराऊ ।” 

मैले भनेँ, “हैन सर म सात घन्टी नै सक्काएर मात्रै घर जान्छु ।”

छैटौ घन्टीमा असह्य दुखाइ भएपछि म फेरि ट्वाइलेट गएँ । धेरै रगत बगेको रहेछ ।

फर्केर कक्षाभित्र बसिरहँदा मेरो ध्यान किताब र कापीमा थिएन । न छेउछाउका साथीभाइ, न अगाडि उभिनुभएको शिक्षकमा नै मेरो ध्यान थियो । महिनावारी भएको कुरा घर पुगेर आमालाई कसरी भन्ने होला भनेर मेरो मनमा अनेकन कुरा खेलेका थिए ।

त्यतिबेला सरले अगाडि के पढाइराख्नुभएको छ भन्ने मैले थाहै पाइनँ । 

सातौं घन्टी टिन–टिन गरेर बजेपछि सर कक्षाबाट बाहिरिनुभयो । साथीहरू बिस्तारै कक्षाबाट बाहिर निस्कन थाले । मेरो छेवैमा बस्ने साथीलाई मेरो मनभित्र के कुरा खेल्दैछ, म कस्तो अवस्थाबाट गुज्रिरहेकी छु भन्ने पत्तो पाएकी थिइन् क्यार । उनले अरू बेला झैँ सामान्य तरिकाले सोधिन्, हिँड घर जाऊँ ।

प्रतिउत्तरमा मैले भने, तिमीहरू जाँदै गर । मेरो जरुरी काम छ ।

उनीहरू स्कुलबाट अलिक पर पुगेपछि मैले बिस्तारै उठेर बेन्चमा हेरेँ । म बसेको बेन्चमा रगतको दाग लागेको थियो । मेरो मेड्डीमा पनि रगत लागेको थियो ।

त्यतिबेला अब के गर्ने होला भनेर मैले सोच्न पनि सकिनँ । मेरा कैयन् साथी मभन्दा अगडि नै महिनावारी भइसकेका थिए । उनीहरूलाई मैले मेरो अवस्थाको बारेमा बताएको भए केही समाधान हुने थियो भन्ने विचार मेरो मनमा आयो । म केहीबेरसम्म रगत लत्पतिएको बेन्चमा हेर्दै अचम्म मानेजसरी उभिरहेँ ।

झट्ट मलाई सम्झना आयो, मेरो सल छ । यसैले बेन्चमा लागेको रगत पुछ्छु । तर, मम्मीले गाली गर्नुहुन्छ कि भन्ने डरले गरिनँ । झन्डै दस मिनेट जति त मैले सोचेरै बितँए ।

कक्षाको एउटा कुनामा फोहोर फाल्ने डस्टविन देखेँ । त्यही बोकेर धारामा गएँ । डस्टविनभर पानी भरेर ल्याएँ । बेन्चमा लागेको रगत पखालेँ ।

बेन्च त पखालियो । तर, मेड्डीमा लागेको रगतको टाटा के गर्नु  ? मैले कम्मरमा सल बेरेर मेड्डीको टाटो छोपेँ । सुस्तरी हिँडेदै घर फर्केँ । अरू दिन झैँ म सरासर घरभित्र छिरिनँ । बाहिरै बसेँ । मम्मी घरभित्र हुनुहुन्थ्यो ।

मम्मीलाई कसरी भन्ने होला भनेर मेरो मन त्यसै डराइरहेको थियो ।

मम्मीले बाहिर आएर मलाई हेर्नुभयो । मैले कुनै गल्ती गरेको विद्यार्थीले झैँ टाउको झुकाएँ ।

मम्मीले मेरो अनुहारमा हेरेर सोध्नुभयो, “छोरी के भयो ? तिमी त निराश देखिन्छौ नि ?” 

मैले मम्मीको प्रश्नको उत्तर दिइनँ । डरले मेरो मुखमा आएको उत्तर पनि मनभित्रै पठाइदियो । केहीबेर त्यत्तिकै बसेँ । कता कताबाट आँट बटुलेझैँ गरेर मैले डराउँदै र अकमकाउँदै भनेँ, “मम्मी म त महिनावारी भएँछु ।”

मम्मीले सामान्य विषय झैँ गरेर भन्नुभयो, “यत्ति कुरा भन्न पनि अकमकाउनुपर्छ त ! सबै चेलीलाई महिनावारी हुन्छ ।” मम्मीले एकैछिनमा मेरो मनको डर भगाइदिनुभयो ।

मेरो मन शान्त भयो । त्यही बेला मम्मीले भन्नुभयो, “हेर छोरी हाम्रो समाजमा यस्तो चलन छ कि महिनावारी हुँदा बाबा, बाजे, दाइ, भाइ, अकंलहरूलाई छुन हेर्न मिल्दैन । महिनावारी भएकालाई बाहिरै कोठा वा गोठमा बसाल्छन् । खाना त्यही पठाइदिन्छन् ।”

यसो भनेर मम्मीले धोतीको सफा टालो ल्याइदिनुभयो । त्यसलाई च्यातेर चारपाटे बनाएर पट्याउने र प्याड जस्तै बनाएर प्रयोग गर्न सकिन्छ भनेर सिकाउनुभयो । मम्मीले भन्नुभयो, “रगत लागेको टालो जहाँ पायो त्यहीँ फाल्नु हुँदैन । कुनै खाल्डोमा गाडीदिनुपर्छ ।”

मम्मीको कुराले मलाई महिनावारी भएका बेला छाउघरमा राख्ने चलनको याद आयो । सुदूरपश्चिम र मध्यपश्चिममा महिनावारी भएकालाई यस्तो गर्ने चलन मैले थाह पाएको छु । धन्न मेरो मम्मीले कुरा बुझ्नुभयो र मलाई अलिकति भएपनि सहज बनाइदिनुभयो ।

हाम्रो समाजमा पनि महिनावारीको प्राकृतिक प्रक्रियालाई गलत व्याख्या गर्ने र अन्धविश्वासको पछि दगुर्ने चलन कायमै छ । अझै पनि महिनावारी भएपछि सात दिनसम्म गोठमा बस्नुपर्ने, देवी देवताको मन्दिर भएको ठाउँ वरपर पनि जान नहुने, गर्मी होस् कि जाडो प्रत्येक बिहान चिसो पानीले नुहाउनुपर्ने, गाईको दूध, दही, घ्यु र मह पनि खान नहुने चलन कायमै छ । हाम्रोतिर अझैपनि महिनावारीका सात दिनपछि नुहाउने, गौमुत्र सेवन गर्ने, घर पोत्ने अनि मात्रै घरभित्र पस्न हुने चलन छ । यस्तो चलनका कारण महिलाहरू विभिन्न शारीरिक र मानसिक तनाव झेल्न बाध्य छन् । गोठमा बस्दा जङ्गली जनावर, किटपतङ्ग देखि सर्पको डसाइमा पर्ने घटना पनि बारम्बार सुनिन्छन् ।

मनमनै कामना गरेँ, अब यस्तो कसैलाई नहोस् । कम्तिमा मेरो मम्मीले जस्तो कुरा बुझिदिऊन् । 

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, July 13, 2021

मोबाइलमा गेम खेल्दा...


–नाम प्रकाशित नगर्ने सर्तमा 



Photo Source: dnaindia.com


म सानैदेखि आमा बाबाबाट छुट्टिएर हजुरआमा र हजुरबाबासँग बस्थेँ । म हुर्कँदै जाँदा, मलाई मेरो हजुरआमा नै आमा हो जस्तो लाग्थ्यो । म सोच्थेँ, उहाँले नै मलाई जन्म दिनुभएको हो । तर जब म ठूली हुँदै गएँ, जब मेरो उमेर बढ्न थाल्यो, अनि बल्ल मैले थाहा पाएँ, हजुरआमाले त मलाई कर्म दिनुभएको रहेछ । मेरो जन्म दिने आमा अर्कै हुनुहुँदो रहेछ । त्यो दिनबाट मलाई लाग्यो, उमेर बढ्दै जाँदा धेरै कुराको अनुभव लिन सक्ने रहेछौँ । उमेरले पनि धेरै कुरा सिकाउने रहेछ ।

मेरो परिवारमा म, मेरो हजुरआमा र हजुरबाबा गरी तीन जना बस्थ्यौँ । हाम्रो घरभन्दा अलि पर मेरो ठूलोममीको घर थियो । ठूलोममीको श्रीमान् सधैँझैँ केही काम पर्दा वा पूजाआजामा हाम्रो घरमा आउनुहुन्थ्यो । उहाँ हाम्रोमा प्रायजसो आउने भएर होला, आफ्नै लाग्ने गथ्र्यो । हजुरआमाले मैले उहाँलाई ठूलोबाबा भनेर बोलाउनुपर्छ भनेपछि मैले उहाँलाई ठूलोबाबा भनेर बोलाउँथेँ । उहाँसँग विस्तारै चिनजान हुँदै जाँदा उहाँले मलाई छोरीलाई जस्तै माया गर्नुहुन्थ्यो र व्यवहार पनि छोरीलाई गर्नेजस्तै थियो ।

मलाई याद छ, म त्यतिबेला नौ वर्षकी थिएँ । मलाई टिभी हेर्न, नयाँनयाँ कुराहरू सिक्न एकदमै मन पथ्र्यो । तर, हाम्रो घरमा टिभी थिएन । त्यसैले म ठूलोममीको घरमा टिभी हेर्न जान्थेँ । ठूलोममीको घरमा ठूलोबाबा र उहाँहरूको दुईजना छोरा, अनि मभन्दा सानो उमेरकी छोरी थिए ।

एकदिनको कुरा हो, सधैँझैँ आउनु हुने ठूलोबाबाले ठूलोममीको छोरा र छोरीलाई आफ्नो छेउमा राखेर मोबाइलमा गेम खेल्न सिकाउनुभयो । उहाँले आफ्नै मोबाइलमा गेम खेल्न पनि दिनुभएको थियो । मलाई पनि मोबाइलमा गेम खेलेको देख्दा खेल्न मन लाग्थ्यो । म बहिनीको छेउमा बसेर खेलेको हेरिरहन्थेँ । त्यो दिन, उहाँले मलाई “तिमी पनि गेम खेल्छौ र नानी ?” भन्नुभयो । म खुसी हुँदै भनेँ, “खेल्छु” । उहाँले मलाई आफ्नो मोबाइलमा गेम खेल्न दिनुभयो । पहिलोपटक मोबाइलमा गेम खेल्न पाएर म एकदमै खुसी भएँ । मलाई एकदमै रमाइलो लाग्दै थियो ।

त्यो दिनदेखि ठूलोबाबाले मलाई सधैँ मोबाइलमा गेम खेल्न दिनुभयो । भाइ, बहिनी र म पालैपालो खेल्थ्यौँ । एकदिन ठूलोममी बारीमा तरकारी खोज्न जानुभएको थियो । घरमा सानो भाइ, म, बहिनी ठूलोबाबा थियौँ । त्यो दिन पनि ठूलोबाबाले गेम खेल्न भनेर हामीलाई मोबाइल दिनुभयो । भाइ, बहिनी र मैले खेल्ने पालो बाँडेका थियौँ । भाइ र बहिनीको पालो सकिएपछि ठूलोबाबाले भाइ र बहिनीलाई, “तिम्रो पालो सकियो तिमी अलि पर जाऊ, अब दिदीको पालो हो गेम खेल्नी, तिमी मेरो नजिक आऊ” भनेर मलाई उहाँको छेउमा बोलाउनुभयो । म उहाँको नजिक गएर बसेँ र गेम खेल्न थालेँ ।

ठूलोबाबा मेरो नजिक एकदमै टाँसिएर बस्नुभएको थियो । उहाँ त्यसरी बस्दा मलाई अप्ठ्यारो भइरहेको थियो । तर, पनि मैले उहाँले माया गर्नुहुन्छ भन्ने ठानेँ । तर, केही समयपछि मलाई मेरो शरीरको पछाडीको भागमा केही कुराले छोएको अनुभव भयो । यसो पछाडि फर्केर हेरेको ठूलोबाबाको हात मेरो शरिरमा रहेछ । मैले सोचेँ, उहाँले माया गर्नु भएको छ, मैले खेलेको गेम हेर्नुभएको छ । 

त्यति सोचेर मेरो ध्यान फेरि गेमतिरै भयो । तर, त्यसको केही बेरमा नै उहाँले आफ्ना हातलाई मेरो कम्मर पछाडिबाट तलतल लगेर सुम्सुम्याउदै हुनुहुन्थ्यो । मलाई एकदमै नराम्रो लाग्यो । डर पनि लाग्यो । मलाई उहाँले त्यसरी छोइरहँदा, सुम्सुम्याउँदा नराम्रो लागिरह्यो । मैले उहाँको फोन उहाँलाई दिएर केही पनि नबोली बाहिर निस्केँ । त्यहाँबाट निस्केपछि मलाई निकै बेरसम्म मेरै गल्ती पो हो कि जस्तो अनुभव भयो । मैले केही सोच्नै सकिनँ । मलाई डर मात्रै लागिरहेको थियो ।

मलाई थाहा थियो, त्यो गलत छुवाइ हो भनेर । मलाई यो पनि अनुभव भयो कि, छोरीको साथमा आमाको कमी भयो भने पनि धेरै समस्याहरू भोग्नुपर्ने रहेछ । सायद, त्यो बेला मेरो आमा मसँगै हुनुभएको भए म उहाँलाई आफूमाथि भएको दुर्व्यवहारको बारेमा भन्थेँ होला र आफूलाई हलुका बनाउथेँ होला । तर, मलाई यस्तो भयो भनेर अरूलाई सुनाउने आँट नै थिएन । अरू कसैलाई भन्न पनि सकिनँ । त्यो दिनपछि पनि मैले यस्ता धेरै दुर्व्यवहार भोग्ने र सहने क्रम चलिरह्यो । 

आजभोली लाग्छ, दुर्व्यवहार, हिँसा घरबाहिर मात्रै हुँदैन रहेछ । घरभित्रै पनि कसले, कसरी र कहाँबाट गर्छ भनेर थाहा नै नहुने रहेछ । यो कुरा मैले मेरै भोगाइबाट सिकेँ । यो तितो अनुभव सुनाउँदा मलाई नराम्रो लागिरहेको छ । यसको सट्टा, त्यो ठूलोबाबालाई ममाथि दुर्व्यवहार गर्न लाग्दा आफूले फाइटब्याक गर्न सकेको कुरा, उहाँलाई सजाय दिन सकेको कुरा सुनाउन पाएको भए कत्ति आनन्द आउँथ्यो होला ।

कतिपय ठाँउमा म जस्ता छोरीहरूले सानै उमेरमा धेरै किसिमको दुर्व्यवहार भोग्नु परेको होला । त्यसैले के भन्न मन लाग्यो भने, आफ्ना छोरीहरूलाई आफुसँगै राखौँ । उनिहरूलाई कसैले नराम्रो व्यवहार पो गरेको छ कि, ख्याल गरौँ । ताकी, मैले जस्तो अरु कसैले भोग्न नपरोस् । 

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...