Tuesday, February 23, 2021

ती पाँच घटना

प्रतिभा ढकाल



बाल्यकाल अनि किशोरावस्थाका तीता—मीठा याद सङ्गाल्दै अहिले म युवावस्थामा रमाइरहेकी छु । आफ्ना बितेका कतिपय दिन सम्झिँदा खुसीले मख्ख पर्छु भने कतिपय घटनाले बारम्बार झस्काइरहन्छन् । ती घटनामध्ये प्रायः घटना दुर्व्यवहारसँग जोडिएका छन् । 

घटना १

मेरो उमेर त्यस्तै ८/९ वर्षको थियो । म र मेरी बहिनी कपाल काट्न घरनजिकैको बारबर अङ्कलको पसलमा गयौँ । अंकलले बहिनीको कपाल काट्न थाल्नुभयो, अनि अंकलको छोराले मेरो । तर, त्यो बार्बर केटा कपाल काट्नुको सट्टा, मलाई यताउति मुसार्न व्यस्त भयो । उसले आफ्नो हात मेरो घाँटी हुँदै तल ल्याउँदै मात्रै थिएन, छेउको अँध्यारो सानो कोठातिर देखाउँदै भित्र जानसमेत कर गरिरहेको थियो । म डराइरहेकी थिएँ । मेरो डरमा उसले स्वीकारोक्ति आभास गरेको सम्झिँदा मलाई आजसम्म पनि ग्लानी हुन्छ । त्यो दिन चुप बस्नुको सट्टा एक झापड लगाउन सकेको भए, मलाई विगत यतिधेरै तीतो लाग्दैनथ्यो होला । 

घटना २

दुर्व्यवहारको अर्को अनुभव ट्युसन पढ्दा पनि भोगेकी छु । एकजना आफन्ती दाइसँग म घरमा नै ट्युसन पढ्थेँ । होमवर्क सिकाउने र चेक गर्ने बहानामा उहाँले मलाई पटकपटक काखमा राख्ने र अँठ्याएर बोक्ने गर्नुहुन्थ्यो । माया गरेजस्तो गरेर मलाई असहज हुँदाहुँदै पनि मेरो गालामा आफ्नो मुख जोड्ने गर्नुहुन्थ्यो । तर, उहाँको त्यस्तो व्यवहारबारे मैले घरका सदस्यलाई भन्न सकिनँ । घरमा भनेँ भने म एक्लो भएको मौका पारेर झन् नराम्रो व्यवहारको सामना गर्नुपर्ने डरले मैले आफ्नै घरभित्र पनि आवाज उठाउन सकिनँ ।

घटना ३

उमेर ठ्याक्कै सम्झना छैन । सायद १०/११ वर्षकी थिएँ । मेरो शारीरिक बनोट हेर्दा, उमेरभन्दा अलिक ठूलै देखिन्थेँ । त्यसैले होला, त्यो दिन बसमा भेटिएको एकजना अन्जान मान्छे “तिमीले एस.एल.सी दियौ नानी ?” भन्दै मेरो छेऊमा उभियो । उसको प्रश्नले मलाई मनमनै हाँसो लाग्यो । तर, मैले कुनै प्रतिक्रिया जनाइनँ । चुपचाप बसिरहेँ । केहीबेरमा कुनाको सिट खाली भयो । त्यो मान्छेले मलाई कुनामा सर्न आग्रह गर्दै म बसिरहेको सिटमा थचक्क बस्यो । ऊ मसँग बोल्न खोजिरहेजस्तो देखिन्थ्यो । नभन्दै मेरो प्रशंसा गर्दै उसले कुराको तान बुन्न थाल्यो । तर, उसका कुरा मलाई मन परिरहेका थिएनन् । “तिमी कति राम्री छ्यौ”, “तिमी राम्री छ्यौ भनेर अरूले भनेको छ कि छैन ?” उसका कुरा यस्तैयस्तै थिए । यो पटक पनि म केही नबोली बसिरहेँ । केहीबेर पछिको कुरा हो, मैले लगाएको गुलाबी कलरको फ्रक तानिएको महसुस भयो । उसले सिट मुनिबाट आफ्नो हात मेरो साँप्रामुन्तिर पु¥याइसकेको रहेछ । मेरो मुटु जोडले धड्कियो । सास नै रोकिएलाजस्तो भयो । बोल्न खोजेँ । तर, घाँटीमा केही अड्किएकोजस्तो भान भयो । आँखा टिलपिल–टिलपिल भए । सल्बलाएका हातलाई महसुस गर्न म चुपचाप बाध्य भएँ ।

केहीबेरमा गाडी रोकियो । केही झर्ने मान्छे आआफ्नो सिटबाट उठे । म त्यही मौका छोपी जुरुक्क उठेँ । खुट्टा काँपिरहेका थिए । म ओर्लिनु पर्ने ठाउँ आउन झन्डै १५ मिनेटजति बाँकी थियो । तर, केही नबोली म बसबाट ओर्लें । गाडीमा बस्नुभन्दा हिँड्नु ठीक सम्झेँ । हिजोआज पनि जब म बसमा यात्रा गर्छु, त्यो घटना याद आइरहन्छ । आफूले त्यो घटनाको प्रतिकार गर्न नसकेको सम्झिँदा भने आफैसँग रिस पनि उठ्छ ।

घटना ४

कलेज पढ्दातिरको कुरा हो । आँखा जँचाउन भरतपुर आँखा हस्पिटल गएकी थिएँ । चस्माको पावर फेरिएर होकि भनेर जाँच्नका लागि अलि अँध्यारो कोठामा अक्षर चिन्न सिफारिस गरियो । त्यस्तै २५/२६ वर्षको युवकले सिफारिस गरिएको कोठामा मलाई हाँस्दै स्वागत ग¥यो । फरकफरक पावर भएका सिसा राख्दै अक्षर स्पष्ट भए नभएको सोध्यो । लेन्स चेन्ज गर्दागर्दै उसका हात बेलाबखत मेरा छातीमा ठोकिन्थे । १/२ पटक त झुक्किएर होला भनेर खासै वास्ता गरिनँ । तर, क्रम रोकिएन । म उठ्नै खोज्दा, “हो अब यो पावरमा हजुरलाई हिँड्न सजिलो हुन्छ कि हुन्न हिँडेर भन्नुस् है” भन्दै ऊ आफू बसिरहेको गुड्ने कुर्सीसँगै पछि हट्यो र बाटो छोड्यो । मलाई असहज हुँदाहुँदै म पाइला के चाल्न लागेकी थिएँ, उसको हात मेरो पछाडिको भागमा पुग्यो । म झस्किँदै पछाडि फर्किएँ, ऊ अर्को साइडतिर फर्कियो । मलाई उकुसमुकुस भयो । हतारहतार आफ्नो रिर्पोट कार्ड लिएँ र कुनै प्रतिक्रिया नजनाइ कोठाबाट बाहिरिएँ ।

त्यस दिन त्यति प्रतिष्ठित संस्थामा सेवा दिन खटिएका कर्मचारीबाट भएको दुव्र्यवहार सम्झिँदा मलाई अझै पनि गुम्साहट हुन्छ । मैले उसको हात समातेर तत्काल फाइट ब्याक गरेको भए, मेरो सपनामा त्यो घटना दोहोरिइरहने थिएन होला । 

घटना ५

मेरो बाबाको उमेरको व्यक्ति, जसलाई मैले सानो हुँदादेखि देखिरहेँ, भेटिरहेँ । रमाइलो स्वभावको उहाँ, मेरा लागि आदरणीय पनि हुनुहुन्थ्यो । मैले ब्याच्लर तहको अन्तिम परीक्षा दिने बेलाको कुरा हो, घरमा म एक्लै थिएँ । उहाँ अस्पताल गएर फर्किंदा हामीलाई भेटेर फर्किने उद्देश्यले हाम्रो घरमा आउनु भएको थियो । भोक नलागेको बताएपछि उहाँलाई मैले पानी दिएँ र एकछिन आराम गर्न आग्रह गर्दै परीक्षाको तयारी गर्न आफ्नो कोठातिर गएँ । केहीबेरपछि “तिमी पढ्दै रहेछौ, म निस्किन्छु, परीक्षाको राम्ररी तयारी गर” भन्दै त्यो अंकल मेरो कोठाभित्र पस्नुभयो । मैले उहाँलाई खाजा खाएर जान आग्रह गरेँ । उहाँले “होइन, पछि खाउँला । तिमीलाई देखेँ मन भरियो” भन्दै अंकमाल गर्नुभयो । त्यतिबेलासम्म मलाई खासै असहज लागेको थिएन । 

उहाँले परीक्षा सकिएपछि के गर्ने विचार छ भन्दै जागिर खाँदा राम्रो हुने सल्लाह दिनुभयो । म उहाँको सल्लाह सुन्दै “विचार गर्दैछु के गर्ने” भन्ने भावमा स्वाभाविक हाँसो हाँसेँ । तर, उहाँले मेरो हाँसोमा कसरी लाज देख्नुभयो थाहा छैन । उहाँले “किन लजाएकी छोरी” भन्दै मेरो नजिकै सरेर आफ्नो मुख मेरो गालामा टाँस्न ल्याउनुभयो । यो पटक मलाई सहनै नसक्नेगरी असहज भइसकेको थियो । उहाँका हात पनि मेरो घाँटी वरपर सल्बलाउन थालिसकेका थिए । म उहाँबाट अलि झट्किएर पर उभिएँ । अरू केही बोल्नै सकिनँ । मेरो अवस्था देखेर उहाँले के सोच्नुभयो थाहा छैन, उहाँ कोठाबाट बाहिरिनुभयो । त्यो दिनदेखी आजसम्म उहाँसँग मेरो भेट भएको छैन । तर उहाँको त्यो व्यवहारलाई प्रतिकार गर्न नसकेकोमा भने सधैँ पछुतो त लाग्छ नै आफ्नैहरूसँग डर पनि उत्तिकै लागिरहन्छ । 

⁺⁺⁺

मैले फरकफरक ठाउँमा फरकफरक व्यक्तिबाट फरकफरक शैलीका दुर्व्यवहार भोगेँ । यस्ता व्यवहारलाई दुर्व्यवहार भन्छन् भन्ने सम्म ज्ञान नहुँदैदेखि म दुर्व्यवहारमा परिसकेकी रहेछु । कतिपय घटनामा त मैले म दुर्व्यवहारमा परिरहेछु भन्ने पनि थाहा पाइनँ । आवाज उठाउनु गल्ती नभएर आत्मरक्षा नै आत्मसम्मानको गतिलो बलियो हतियार रहेछ भन्ने पनि मलाई थाहा थिएन ।

जतिपटक दुर्व्यवहारमा परेँ, म मानसिक रूपमा विक्षिप्त भएँ । मलाई दुर्व्यवहार गर्नेहरूले मेरो विक्षिप्त रूप महसुस गर्नु त परको कुरा, उनीहरूलाई सामान्य हिनताबोधसम्म पनि भएन । बरु, उल्टै उनीहरूको मनोबल बढ्यो होला । म चुप बसेरै आफूलाई दुर्व्यवहार गरिरहेको व्यक्ति टाढा जाओस् भन्ने चाहन्थेँ । दुर्व्यवहार गर्ने व्यक्तिहरू आफ्नो वरिपरी देख्न नपरोस् भनेर मनमनै कामना गर्थें । तर, उनीहरू भने मौनताको फाइदा उठाउँदै मजस्ता धेरैको नजिक पुग्दा रहेछन् । त्यसैले हिजोआज कसैले मलाई दुर्व्यवहार वा दुर्व्यवहारको प्रयास मात्रै गर्दा तुरुन्तै प्रतिकार गरिहाल्छु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, February 9, 2021

प्याड चाहियो मिस !


साल्विया आचार्य 




मेरो नाम साल्विया आचार्य हो । म लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्यूठानस्थित श्री खड्गेश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा हुँ । ३ कक्षादेखि म यस विद्यालयमा पढिरहेकी छु ।

मेरो विद्यालयलाई हरियाली वनजंगल र विद्यालयको केही तल कलकल बग्ने खोलाले शोभायमान पारेको छ । प्रकृतिले सिँगारेपनि मजस्तै छात्राहरूलाई सुरुआतका दिनमा स्कुल रमाइलो लाग्दैनथ्यो । किनभने, प्रशस्त पानी नभएकाले महिनावारीका बेला छात्राहरूले खुबै दुःख पाउँथे । ट्वाइलेट पर्याप्त संख्यामा थिएन । भएका ट्वाइलेटमा पानी हुन्थेन । विद्यालयमा महिनावारी भइहाल्यो भने पनि ट्वाइलेट गएर सरसफाइ गर्ने सुविधा थिएन । त्यस्तो बेला हामी छात्राहरूलाई धेरै अप्ठेरो हुन्थ्यो । लाज, संकोच र डर लाग्थ्यो । रगत लागेको कपडा देखेर अरूले गिज्याउलान् भन्ने हुन्थ्यो । “प्याड चाहियो मिस” भनेर माग्ने आँट पनि हामी कोहीसँग थिएन ।

कसै कसैले झोलामा प्याड बोकेर स्कुल आउँथे । ट्वाइलेट गएर जेनतेन प्याड चेन्ज गरियो भने पनि प्रयोग भइसकेको प्याड फाल्ने ठाउ“ थिएन । ट्वाइलेटभित्र राखिएको भाँडोमा धारामा गएर पानी ल्याउनुपथ्र्यो । त्यसरी सानो भाँडोमा ल्याएको पानी सकिएला कि भनेझैँ गरेर जतन गरेर प्रयोग गर्नुपथ्र्यो । फ्रकमा वा अन्यत्र रगत लागेको रहेछ भने राम्ररी पानीले पखाल्न पनि पुग्थेन । फेरि ढोका खोेलेर दोस्रोपटक पानी ल्याएर आउन पनि आपतै हुन्थ्यो ।

ट्वाइलेटभित्र प्याड फेरेपछि प्रयोग भइसकेको फोहोर प्याड कागजले बेरेर गोजीमै बोक्नुपथ्र्यो । गोजीको प्याड कसै कसैले झोलाको कुनामा लुकाएर राख्थे । त्यसै त महिनावरीको दुःखाइ त्यसमाथि विद्यालयमा हुने अनेकन सास्ती । मलाई ती दिन सम्झिँदा अहिले पनि नरमाइलो लाग्छ ।

तर, उहिलेका कुरा खुइले भनेजस्तै अहिले विद्यालयमा पुरानो अवस्था छैन । हरियाली, चराचुरुङ्गीको चिरबिर अनि पानीको कलकलले विद्यालय सुन्दर मात्रै भएको छैन, छात्राहरूले महिनावारीका बेला दुःख झेल्नुपर्ने अवस्था अन्त्य भएकाले विद्यालय झनै सुन्दर भएको छ । अहिले विद्यालयमा आवश्यक ट्वाइलेट बनेका छन् । ट्वाइलेट बहिर धेरैबेरसम्म पालो पनि खासै पर्खिनुपर्दैन । ट्वाइलेटभित्रै पानी आउने व्यवस्था मिलाइएको छ । प्याड चेन्ज गरेपछि कता लुकाउने होला भनेर चिन्ता मान्नु पर्दैन । ट्वाइलेटकै एउटा कुनामा प्याड फाल्ने व्यवस्था पनि छ ।

त्यतिमात्र कहाँ हो र ? महिनावारीमा छात्राहरूले घरबाटै प्याड पनि ल्याउनु नपर्ने भएको छ । विद्यालयले महिनावारीमा दुई प्याकेट प्याड निःशुल्क दिने गरेको छ । त्यतिले पुगेन भने मिसहरूसँग थप प्याड पनि माग्न पाइन्छ ।

पहिले पहिले महिनावारी संकोचको, डर र लाजको विषय थियो । तर, अहिले यसका बारेमा धेरैले कुरा बुझ्न थालेका छन् जस्तो लाग्छ । त्यसैले प्याड माग्न लजाउनुपर्ने, कसैले केही भनेर जिस्काउँछ कि भनेर अप्ठ्यारो मान्नु नपर्ने भएको छ । 

महिनावारी प्राकृतिक कुरा भएकाले यसमा लजाउनु पर्दैन । कोही कोही त पहिलोपटक महिनावारी हु“दा डराउने पनि गर्छन् । तर यो डराउने कुरा होइन । बरु, महिनावारीका बेला हामीले हरियो सागपात, झोलीलो खानेकुरा र फलफूलहरू धेरै खानुपर्छ । यस्ता खानेकुराले हामीलाई तागत मिल्छ ।

महिनावारी हुँदा तल्लो पेट दुख्छ । यस्तो दुःखाई कसैलाई थोरै हुन्छ भने कसैलाई धेरै हुने गर्छ । मलाई पनि महिनावारीमा असाध्यै दुख्यो भने मिसले पेटको दुखाइ कम गर्ने औषधि दिनुहुन्छ । यस्तो औषधि खाँदा पनि काम गरेन र दुःखाइ धेरै नै भयो भने मिसले नजिकैको मेडिकलमा लगेर दुःखाइ सन्चो पारेर हामीलाई घरमै पु¥याइदिनुहुन्छ ।

हाम्रो विद्यालयले छात्राहरूलाई दिएको यस्तो सुविधा सबै विद्यालयले दिएका छन् कि छैनन् होला ? मलाई अरू विद्यालयको कुरा त थाहा छैन । तर यति कुरा भने थाहा छ कि, विद्यालयले दिने यस्तो सुविधाले गर्दा म जस्ता छात्राहरू महिनावारीका दिनमा विद्यालय आउनै लजाउने वा संकोच मान्ने र पढाइ नै छाड्नुपर्ने अवस्था धेरै कम भएको छ । धन्यवाद मेरो विद्यालयलाई अनि, विद्यालयका सर मिसहरूलाई । जसले हामीलाई महिनावारीको अप्ठ्यारोमा साथ दिनुहुन्छ र यो संकोच मान्ने विषय होइन आफूलाई परेको समस्या हामीलाई भन्न अप्ठ्यारो नमान्नु भनेर बारम्बार बुझाउनुहुन्छ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला । 

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...