Tuesday, February 8, 2022

किशोरावस्थाको डर र उत्सुकता


–बबिता मैनाली

इलाम ६, बाह्रबस्ती



जब म मानसिक अनि शारीरिक रूपमा परिपक्व हुने क्रममा थिएँ, मेरो शरीरमा आउन थालेका परिवर्तन देखेर आफैँ छक्क पर्थेँ ।

डर पनि लाग्थ्यो ।

मलाई के भएको होला, किन यस्तो भएको होला...यस्तै यस्तै प्रश्न मेरो मनमा खेलिरहन्थे । 

किशोरावस्थामा प्रवेश गर्दा मेरो स्तन बढ्न थाल्यो । स्तन विकास हुने प्रक्रिया जब सुरु भयो, तब मलाई भित्रैबाट दुखेजस्तो महसुस हुन थाल्यो । म केही बिरामी त भइनँ भन्ने कुरा सम्झेर मनमा एक किसिमको डर पनि लागेको थियो । त्यतिमात्रै होइन, शरीरका अन्य अंग पनि बिस्तारै विकास भइरहेका थिए । शरीरका विभिन्न भागमा रौँहरू देखा परिरहँदा मलाई एकदम डर लागेको थियो ।

अरूलाई पनि यस्तै हुन्छ कि हुन्न होला, कि मलाई मात्रै यस्तो भएको हो, यदि मलाई मात्रै यस्तो भएको रहेछ भने के गर्ने, यस्तैयस्तै प्रश्न मेरो मनमा बारम्बार आउँथे । ती प्रश्नले मलाई उत्सुकता त जगाउँथे नै, भित्रभित्रै डर पनि लाग्थ्यो । आफूमा भइरहेका परिवर्तन स्वाभाविक हुन् कि होइनन् भनेर थाहा पाउन मन लाग्थ्यो । आफू बिरामी भएको हो कि होइन भनेर कसैलाई सोध्न पाए पनि हुन्थ्यो भन्ने भाव पटकपटक आइरहन्थे । किशोरावस्थामा हुने यस्ता अनेक खुल्दुलीका कारण म धेरै आत्तिएकी थिएँ । 

तर जब ७, ८ मा पढ्दा किशोरावस्थामा आउने परिवर्तनका बारेमा थाहा पाउन थालेँ, मन बिस्तारै हल्का हुन थाल्यो । विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षिकाले किशोरावस्थामा आउने यस्ता परिवर्तन त सामान्य हुन्, स्वाभाविक हुन् भनेर पढाउनुभयो । यस्ता परिवर्तन हुनु भनेको आफू स्वस्थ छु भनेर थाहा पाउने तरिका हो भन्ने कुरा पनि उहाँले नै सिकाउनुभयो । अनि यस्ता परिवर्तनका बारेमा प्रश्न सोध्न, आफूमा आएका परिवर्तनलाई देखेर डराउनु हुँदैन भनेर पनि थाहा दिनुभयो । 

उहाँकै कारण मेरो मनमा भएको डर र लाज कम हुँदै गयो । हिजोआज त, आफूलाई केही स्वास्थ्य समस्या पर्‌‍यो, शरीरमा केही नयाँ अनुभव गरेँ भनेपनि म लाजडर नमानी सोध्न सक्छु । मभन्दा साना भाइबहिनी वा अरू कसैलाई किशोरावस्था सम्बन्धि त्यस्तै उत्सुकता वा डर छ भनेर अप्ठेरो नमानी आफ्ना आमा, दिदी, बहिनीहरूसँग सेयर गर्न सल्लाह दिन्छु । त्यतिमात्रै होइन, त्यस्ता किशोवास्थामा केही अन्य जटिल स्वास्थ्य समस्या देखियो भने, स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोला भनेर पनि सुझाउँछु । 

किशोरावस्थामा आउने यस्ता परिवर्तनबारे हामीले खुलेर कुरा गर्न नसक्दा विभिन्न प्रकारको दुर्व्यवहार, हिंसा तथा जोखिममा पर्ने डर पनि हुन्छ । हामीले त्यस्ता परिवर्तनका बारेमा आफ्ना अभिभावकलाई वा भनौँ शिक्षकशिक्षिकालाई सेयर गर्न सकेनौँ भने गलत तरिकाबाट ज्ञान लिन खोज्ने जोखिम पनि हुन्छ । जसले गर्दा, आफूसँगसँगै अरूलाई पनि समस्यामा पार्न सक्छौँ । 

मैले कति जनाले आफ्नै दाइ अनि अरू मान्छेले दुर्व्यवहार गरेको, विभिन्न गलत क्रियाकलाप गरेको कुरा सुनेको छु । मेरै साथीहरूले पनि मलाई यस्ता कुरा बेलाबेलामा सेयर गरिरहेका हुन्छन् । कतिपय ठाउँमा नराम्रो घटना हुने गरेको पनि हामीले सुनिरहेका हुन्छौँ ।

त्यसैले यो विषयमा कुरा राख्नुपर्दा, आफ्नो नजिकैको साथी वा परिवारका सदस्य, आमा, दिदीहरूसँग बुझ्न आग्रह गर्छु । किनभने, हामीलाई अप्ठ्यारो परेको बेला कसैले दुर्व्यवहार गर्न नसकोस् । हामी आफैँ चनाखो भन्यौँ भने मात्रै पनि, हामीलाई आइपर्न सक्ने दुर्व्यवहारका विभिन्न घटनाबाट जोगिन सक्छौँ र अरूलाई पनि जोगाउन सक्छौँ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...