Tuesday, February 22, 2022

मिसजस्ती ममी भए...

–पार्वता भण्डारी 



  Photo Source: bebodywise.com

पहिलो पटक महिनावारी हुँदा म १४ वर्षकी थिएँ । महिनावारी हुँदा के हुन्छ भनेर मलाई राम्रोसँग थाहा थिएन । हुन त, मसँगै पढ्ने मेरा धेरै साथी मभन्दा पहिले नै महिनावारी भइसकेका थिए । उनीहरूले, “मिन्स भएको छु, एकदम पेट दुखेको छ” भन्थे । कसैले, “धेरै गाह्रो भएकाले स्कुल आउन सकिनँ भनेर निवेदन पठाएका हुन्थे । कति जना त चार पाँच दिन नै स्कुल आउन नसकेर घरमा नै बसेका हुन्थे । मैले उनीहरूकै कुरा सुनेर जति जानेकी थिएँ, मेरा लागि त्यही नै सही थियो । किनभने, घरमा आमाले मलाई कहिल्यै पनि महिनावारीबारे केही कुरा पनि सिकाउनु भएको थिएन ।

जब म पहिलो पटक महिनावारी भएँ, तब मलाई मेरा साथीहरूले भनेजस्तो केही पनि भएन । सुरुको दिन न त मलाई बेस्सरी पेट दुख्यो, न धेरै रगत नै बग्यो । मैले थाहा पाएँ, म महिनावारी भएँ भन्ने । तर, कुनै पनि किसिमको अप्ठ्यारो भने भएन । यतिसम्म कि, मैले प्याड पनि लगाउन परेन । किनभने, मैले लगाएको भित्री लुगामा मात्रै थोरै रगत लागेको थियो । त्यही भएर पनि मैले घरमा केही भनिनँ । 

भोलिपल्ट, अलि धेरै रगत आएपछि बल्ल मलाई डर लाग्यो । घरमा भनौँ भने म पनि साथीहरूजस्तै सात दिनसम्म आफ्नो घर छोडेर अरूको घरमा जानु पर्छ, मेरो स्कुल छुट्छ भन्ने डर लाग्यो । तर, नभन्दा पनि मेरा लागि यो सबै कुरा नयाँ थियो । प्याड कसरी लगाउने रु कस्तो कपडा लगाउने रु भन्ने पनि थाहा थिएन । त्यही भएर दोस्रो दिन मैले ममीलाई आफू अघिल्लो दिन महिनावारी भएको कुरा बताएँ । मेरो कुराले ममीलाई रिस उठ्यो । उहाँ रिसाउँदै कराउनुभयो, “पहिल्यै भन्नु पर्दैन १ यतिका समयपछि बल्ल भन्ने हो रु अब के हुने हो १”

मलाई गाह्रो भएको बेला ममीले मायाले सम्झाउनु हुन्छ होला जस्तो लागेको थियो । तर, उहाँ त उल्टै रिसाउनुभयो । ममीको व्यवहार देखेर मलाई त्यतिबेला अचम्मै लाग्यो । मेरो कुरा बुझेर सहज वातावरण बनाउनुको सट्टा उहाँले मलाई गाली गर्न थाल्नुभयो । 

हाम्रो चालचलन अनुसार पहिलो पटक महिनावारी हुँदा घरको धुरी हेर्नु हुन्न भन्ने चलन रहेछ । परिवारका केटा मान्छेलाई पनि हेर्न नहुने भन्ने रहेछ । तर, मलाई ममीले यो कुरा पहिले कहिल्यै भन्नुभएको थिएन । यतिसम्म कि, “तिमी कुनै दिन महिनावारी हुन्छ्यौ, त्यतिबेला तिमीले यस्तो यस्तो गर्नुपर्छ” भन्ने सम्मपनि ममीले मलाई बताउनु भएन । तर, त्यतिबेला ममीले मलाई मायाले सम्झाउनुको सट्टा गाली गरेको, मलाई कहिल्यै नसिकाएको कुरा पहिल्यै थाहा पाउनुपर्छ भनेजसरी कुरा गरेको सुनेर नमज्जा लाग्यो । मलाई आफ्नै ममीसँग रिस उठ्यो । 

महिनावारी भएको तेस्रो दिनमा अलि(अलि पेट दुखेको थियो । अनि रगत पनि बगेको थियो । खै किन हो त्यो दिन मलाई बिहानैदेखि मान्छे बोलेको सुन्दा झ्याउ लागेको थियो । त्यसमाथि ममीको व्यवहारले खिन्न भइरहेकी थिएँ । केही बेरको गनगनपछि ममीले मलाई भन्नुभो, “अब यतिका दिनपछि भनिस् कतै जानु पर्दैन आफ्नै कोठामा ढोका लगाएर बस् ।’ मलाई यसरी कोठामा जान अर्डर दिनुभयो । म आफ्नो कोठामा गएँ । मेरो एउटा पुरानो सल थियो त्यही च्यातेर सानो सानो टुक्रा बनाएँ अनि त्यसैलाई पट्याएर कट्टुभित्र राखेँ । 

एकदमै अप्ठ्यारो भइरहेको थियो । उठ्न पनि मन लागेन । ममीले सिकाउनुभएको भए मलाई कति सजिलो हुन्थ्यो होला जस्तो भइरह्यो । तर, ममी त मलाई अर्डर दिएर कता जानुभयो थाहा पाइनँ । म दिनभर सुतिराखेँ । एकपटक पनि मलाई कस्तो छ भनेर ममी सोध्न आउनुभएन । त्यतिबेला मलाई पेट दुखेर भन्दापनि मन दुखेर गाह्रो भयो । मलाई पेट दुखेर गाह्रो हुँदा, कपडाको टालो लगाउन नजान्दा, के गर्ने र के नगर्नेमा छटपटिँदा, ममीले वास्ता नगर्दा, मन यसैयसै गह्रुङ्गो भयो । ममीले कस्तो छ भनेर छिनछिनमा आएर सोधेको भए सायद मेरो छटपटी कम हुन्थ्यो होला । तर के गर्ने, ममीले त हेर्नु पनि भएन । म सुतेको कोठामा आउनु पनि भएन । “कस्तो छ नानी तँलाई” भनेर सोध्नु पनि भएन । म छटपटिएरै बसिरहेँ । 
त्यसपछि मलाई हरेक महिना नियमित रूपमा महिनावारी हुन थाल्यो । पहिलोपटक महिनावारी हुँदादेखि नै मैले स्कुल छुटाइनँ । दोश्रोपटक महिनावारी हुँदा स्कुलमा मिसलाई भनेँ । मिसले मलाई कपडाको टालो कसरी प्रयोग गर्ने, स्यानिटरी प्याड कसरी प्रयोग गर्ने भन्ने बारेमा सबै कुरा राम्रोसँग सिकाउनुभयो । महिनावारी भएको बेला धक नमानी आफ्नो कुरा सेयर गर्न सुझाउनुभयो ।

“तिमीहरूको पढाइ नछूटोस्, तिमीहरूलाई असजिलो नहोस् भनेर स्कुलमा सित्तैमा स्यानिटरी प्याड दिन्छौँ । अप्ठ्यारो नमान है” मिसले बारम्बार भनिरहनुहुन्थ्यो ।  

त्यति मात्रै हैन, “महिनावारी प्राकृतिक प्रक्रिया हो, कहिलेकाहीँ रगत धेरै बग्छ, कहिलेकाहीँ धेरै पेट पनि दुख्छ । त्यस्तो अवस्थामा आत्तिनु हुँदैन, घरमा छौ भने आमा बुवालाई भन्नू । स्कुलमा छौ भने मलाई या अन्य सर मिसलाई भन्नू” सम्झाउनु भयो । मलाई मिसको कुराले एकदम आनन्द भयो । सायद मिसजस्तै मेरो ममी भएको भए पहिलोपटक महिनावारी हुँदा, म त्यसरी छटपटिएर बस्नु पर्दैनथ्यो होला । सायद त्यति फोहोर कपडाको टालो प्रयोग गर्नु पर्दैनथ्यो होला । 

तर, जे होस्, मैले अहिले महिनावारीको बारेमा धेरै कुरा बुझिसकेकी छु । ममीलाई पनि यसको बारेमा केही कुरा सिकाउन सक्ने भएकी छु । ममीलाई पनि मेरो पहिलो महिनावारीको बेला मलाई गाली गरेको, सहयोग नगरेको कुरामा नराम्रो लागेको रहेछ । ममीले पनि यो सबै कुरा नबुझेर गर्नुभएको हो । महिनावारीलाई लिएर हाम्रो समाजमा भएका नराम्रा कुरा, डर, भगवानको भयका कारण पनि यस्तो भएको हो भन्ने मैले बुझेकी छु । पहिले ममीसँग रिस उठे पनि अहिले ममीको कुरा बुझेकी छु । त्यही भएर पनि महिनावारीजस्तो सुन्दर कुरालाई नकारात्मक तरिकाले हैन, सकारात्मक तरिकाले स्वीकार गरेर मीठो अनुभूति गरिरहेकी छु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, February 8, 2022

किशोरावस्थाको डर र उत्सुकता


–बबिता मैनाली

इलाम ६, बाह्रबस्ती



जब म मानसिक अनि शारीरिक रूपमा परिपक्व हुने क्रममा थिएँ, मेरो शरीरमा आउन थालेका परिवर्तन देखेर आफैँ छक्क पर्थेँ ।

डर पनि लाग्थ्यो ।

मलाई के भएको होला, किन यस्तो भएको होला...यस्तै यस्तै प्रश्न मेरो मनमा खेलिरहन्थे । 

किशोरावस्थामा प्रवेश गर्दा मेरो स्तन बढ्न थाल्यो । स्तन विकास हुने प्रक्रिया जब सुरु भयो, तब मलाई भित्रैबाट दुखेजस्तो महसुस हुन थाल्यो । म केही बिरामी त भइनँ भन्ने कुरा सम्झेर मनमा एक किसिमको डर पनि लागेको थियो । त्यतिमात्रै होइन, शरीरका अन्य अंग पनि बिस्तारै विकास भइरहेका थिए । शरीरका विभिन्न भागमा रौँहरू देखा परिरहँदा मलाई एकदम डर लागेको थियो ।

अरूलाई पनि यस्तै हुन्छ कि हुन्न होला, कि मलाई मात्रै यस्तो भएको हो, यदि मलाई मात्रै यस्तो भएको रहेछ भने के गर्ने, यस्तैयस्तै प्रश्न मेरो मनमा बारम्बार आउँथे । ती प्रश्नले मलाई उत्सुकता त जगाउँथे नै, भित्रभित्रै डर पनि लाग्थ्यो । आफूमा भइरहेका परिवर्तन स्वाभाविक हुन् कि होइनन् भनेर थाहा पाउन मन लाग्थ्यो । आफू बिरामी भएको हो कि होइन भनेर कसैलाई सोध्न पाए पनि हुन्थ्यो भन्ने भाव पटकपटक आइरहन्थे । किशोरावस्थामा हुने यस्ता अनेक खुल्दुलीका कारण म धेरै आत्तिएकी थिएँ । 

तर जब ७, ८ मा पढ्दा किशोरावस्थामा आउने परिवर्तनका बारेमा थाहा पाउन थालेँ, मन बिस्तारै हल्का हुन थाल्यो । विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षिकाले किशोरावस्थामा आउने यस्ता परिवर्तन त सामान्य हुन्, स्वाभाविक हुन् भनेर पढाउनुभयो । यस्ता परिवर्तन हुनु भनेको आफू स्वस्थ छु भनेर थाहा पाउने तरिका हो भन्ने कुरा पनि उहाँले नै सिकाउनुभयो । अनि यस्ता परिवर्तनका बारेमा प्रश्न सोध्न, आफूमा आएका परिवर्तनलाई देखेर डराउनु हुँदैन भनेर पनि थाहा दिनुभयो । 

उहाँकै कारण मेरो मनमा भएको डर र लाज कम हुँदै गयो । हिजोआज त, आफूलाई केही स्वास्थ्य समस्या पर्‌‍यो, शरीरमा केही नयाँ अनुभव गरेँ भनेपनि म लाजडर नमानी सोध्न सक्छु । मभन्दा साना भाइबहिनी वा अरू कसैलाई किशोरावस्था सम्बन्धि त्यस्तै उत्सुकता वा डर छ भनेर अप्ठेरो नमानी आफ्ना आमा, दिदी, बहिनीहरूसँग सेयर गर्न सल्लाह दिन्छु । त्यतिमात्रै होइन, त्यस्ता किशोवास्थामा केही अन्य जटिल स्वास्थ्य समस्या देखियो भने, स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोला भनेर पनि सुझाउँछु । 

किशोरावस्थामा आउने यस्ता परिवर्तनबारे हामीले खुलेर कुरा गर्न नसक्दा विभिन्न प्रकारको दुर्व्यवहार, हिंसा तथा जोखिममा पर्ने डर पनि हुन्छ । हामीले त्यस्ता परिवर्तनका बारेमा आफ्ना अभिभावकलाई वा भनौँ शिक्षकशिक्षिकालाई सेयर गर्न सकेनौँ भने गलत तरिकाबाट ज्ञान लिन खोज्ने जोखिम पनि हुन्छ । जसले गर्दा, आफूसँगसँगै अरूलाई पनि समस्यामा पार्न सक्छौँ । 

मैले कति जनाले आफ्नै दाइ अनि अरू मान्छेले दुर्व्यवहार गरेको, विभिन्न गलत क्रियाकलाप गरेको कुरा सुनेको छु । मेरै साथीहरूले पनि मलाई यस्ता कुरा बेलाबेलामा सेयर गरिरहेका हुन्छन् । कतिपय ठाउँमा नराम्रो घटना हुने गरेको पनि हामीले सुनिरहेका हुन्छौँ ।

त्यसैले यो विषयमा कुरा राख्नुपर्दा, आफ्नो नजिकैको साथी वा परिवारका सदस्य, आमा, दिदीहरूसँग बुझ्न आग्रह गर्छु । किनभने, हामीलाई अप्ठ्यारो परेको बेला कसैले दुर्व्यवहार गर्न नसकोस् । हामी आफैँ चनाखो भन्यौँ भने मात्रै पनि, हामीलाई आइपर्न सक्ने दुर्व्यवहारका विभिन्न घटनाबाट जोगिन सक्छौँ र अरूलाई पनि जोगाउन सक्छौँ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...