Tuesday, August 24, 2021

महिनावारी छिटो भयो त के भयो

 -मीरा श्रेष्ठ

       


स्यानिटरी प्याडको समय नआइसकेको त होइन तर खर्चको भार या भनौँ बजारको पहुँचले पनि हुनसक्छ, मम्मीले आफू महिनावारी हुँदा समयसमयमा कपडाको टालो पेन्टीभित्र राखेर लाउने गर्नुहुन्थ्यो । अनि, बिस्तारै दिदीले पनि कहिले कपडा त कहिले सेतो रंगको प्याड त्यसैगरी प्रयोग गर्नुहुन्थ्यो । यो सब देखिरहँदा मेरी मम्मी अनि दिदीको महिनावारीको पालो भएछ भन्ने जान्दथेँ । कारण, म सानैदेखि उहाँहरूको छायामा थिएँ ।

एकदिन, मेरी दिदीले मलाई प्याड देखाउँदै भन्नुभयो, “हामी यदि घरमा नभएको बेलामा तिमीलाई महिनावारी भयो भने यसरी लगाउनू” । मलाई प्याड लगाउने तरिका सिकाउनुभयो । म केही लजाएँ । किनभने, म भर्खरजसो यौन तथा प्रजनन स्वास्थ्य शिक्षाबारे पढ्न पाइने कक्षामा अध्ययन गर्दै थिएँ । म लजाएको देखेर दिदीले भन्नुभयो, “त्यसरी लाज मान्ने होइन बरु ध्यान दिएर हेर” भन्दै सिकाउनुभयो । अनि मम्मीले पनि, “अँ हामी घरमा भएपनि नभएपनि महिनावारी भएपछि हामीलाई भन्नू । अझ, हामी घरमा भएनौँ भने दिदीले भनेजसरी पट्याएर लगाउनु, यहाँ सुतीका कपडा नयाँ नयाँ राखिदिएका हुन्छौँ तिम्रा लागि” भन्नुभयो ।

यसरी मलाई मेरी मम्मी र दिदीले एक हिसाबले पहिले नै महिनावारी भएको बखत के गर्ने ? सुतीको कपडा या प्याड कसरी प्रयोग गर्ने भनेर मानसिक रूपमा तयार गराउनुभएको थियो । र, भयो पनि त्यस्तै । त्यसबेला दिदीको बिहे भइसकेको थियो । तिहारको दिन मम्मी मामाघर जानुभयो । अनि दिदीको त्यस वर्ष आउन नमिल्ने थियो । त्यसकारण म एक्लैले निनीहरूसँग मिलेर दाइभाइलाई टिका लगाइदिएँ । दाइहरू त्यसपछि भोज खान लाग्नुभयो मलाई भने पेन्टी चिसो भएको महसुस भयो । केही समयका लागि सायद सेतो पानी बगेको होला लाग्यो तर पछि अझ चिसो महसुस भएपछि पक्का मलाई महिनावारी भयो भन्ने भयो । ट्वाइलेट गएँ र हेरेँ, हो रहेछ ।  

त्यसपछि मम्मी र दिदीले सिकाउनु भएअनुसार सुतीको कपडा लाम्चो गरी पट्याएँ र पेन्टीमा राखी लगाएँ । अप्ठेरो भयो, केही भुक्क फुलेको जस्तो भयो । कतै अरूले थाहा पाउँछन् कि भन्ने पनि भयो । कारण, महिनावारी मेरो गोप्यताको विषय पनि हो जुन म आफूले चाहेको मान्छेसँग मात्र भन्न पाउँछु भन्ने लाग्थ्यो । र, मभन्दा १ वर्ष ठूली माइला बुवाको छोरीलाई महिनावारी भएको थिएन । त्यसैले न कतै मलाई लज्जाबोध गराउँछ कि भन्ने पनि भयो र त्यो समयमा हुन्थ्यो पनि त्यस्तै । एउटै उमेरजसो उनको त के माइली मम्मी अरू दिदीहरूले पछिपछि थाहा पाउँदा पनि यसलाई त कति चाँडै भएको हाम्रो कान्छीलाई अझै भएको छैन पनि भन्नुहुन्थ्यो जुन कुराले मलाई निकै नराम्रो महसुस पनि हुन्थ्यो । तर, मेरी मम्मी दिदीले सबको आफ्नै प्रकृति अुनसार हुन्छ यो ठूलो ऊ सानो भनेर हुने होइन भनेर सम्झाउनुहुन्थ्यो ।  

अहिले म १ छोरी कि आमा भइसकेकी छु । बच्चा डेलिभरी भएको २ महिनापछि मलाई महिनावारी भयो । मेरी दिदीको झन्डै १ वर्ष पर गयो रे अनि मेरी मम्मीलाई त करिब २ वर्ष पछि मात्रै महिनावारी भएको रे । यसरी बच्चाको आमा हुँदासमेत मलाई केही महिला दिदीबहिनीले कति चाँडै महिनावारी भएको भनेर एक किसीमको ‘बुलीङ गरे । तर, आज मैले यौन तथा प्रजनन स्वास्थ्य शिक्षा राम्ररी बुझेकाले पनि यस्तो ‘बुलीङले छुन भने सकेन । मेरो महिनावारी तालीका रगतको सम्बन्ध भएकी मेरी दिदी र मम्मीसँग त मिलेन भने अरू महिलासँग किन मिलेन भनेर टाउको घोप्टाउनु, दुखाउनु के जरुरी ! खैर ! मेरी छोरीलाई पनि म मम्मी र दिदीले मलाई तयार गराउनुभए जसरी नै आफूले जानेका सिकाएर बुझाएर उनलाई उनको जीवनको महत्वपूर्ण समयलाई आत्मसात गराउन तयार गराउनेछु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...