Showing posts with label Sex Education. Show all posts
Showing posts with label Sex Education. Show all posts

Tuesday, March 8, 2022

म एक छोरीकी आमा

 

-किरण गौतम



गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो ।

हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दुराचार, किशोरी वा किशोरमाथि हुने यौन हिंसा वा बलात्कारका कुरा धेरै सुनिन्छन् । कहाली लाग्छ त्यस्ता कुरा थाहा पाउँदा । अनि छोरीको अनुहार हेर्छु, यस्तो माहोलमा बालबालिकाको भविष्य सम्झिँदा रन्थनिन्छु पनि । यी सबै कुराबाट छोरीलाई जोगाउँदै सक्षम र इमानदार नागरिक बनाउनु पर्ने चुनौती सम्झन्छु ।

यी समाचारहरू पढ्दा म आफ्नै बाल्यकाल सम्झन्छु । अवाक लाग्छ । 

दुर्व्यवहार सधैँ नचिनेका मान्छेले गर्छन् भन्ने हुँदैन । नजिकका, विश्वास गरिएका मान्छेबाटै दुर्व्यवहारमा पर्न सकिन्छ ।

म आफैँ पनि सानो छँदा थुप्रै पटक दुर्व्यवहारमा परेकी छु । 

नातामा नजिकको हजुरबुवा पर्नेले जबर्जस्ती आफ्नो काखमा बसाउने, गाला मुुुसार्ने, दारी शरीरभरी दलिदिने, नितम्ब मुसार्ने गर्नुहुन्थ्यो । हजुरबुवाको त्यस्तो व्यवहार मलाई पटक्कै मन पर्दैनथ्यो । आजकल पनि जबजब मलाई ती घटना याद आउँछन्, भित्रभित्रै एकदमै रिस उठ्छ । हजुरबुवाको त्यस्तो व्यवहारबारे एकपटक त मैले मेरो ममीसँग पनि कुरा गरेकी थिएँ । “मलाई हजुरबुवाको काखमा जान मन लाग्दैन । हजुरबुवाले शरीरमा कता कता छुनुहुन्छ ।” मैले डराउँदै भनेकी थिएँ ।  

“त्यो त हजुरबाले तँ सानी भएर तँलाई माया गरेको हो नि ।” ममीले हजुरबुवाको व्यवहारलाई खासै वास्ता नगरी मलाई बुझाउन खोज्नुभयो । सायद, त्यतिबेला ममीको कुरा सुनेर मैले पनि बुझेजस्तो गरेँ कि । तर, मलाई हजुरबुवाको त्यस्तो माया कहिल्यै पनि मन परेन ।

हजुरबुवाले माया गरेजस्तै मन नपर्ने माया स्कुलमा सरहरूले पनि गर्थे । "स्याबास..." भन्दै ढाड मुसार्थे । माया गरेजस्तो देखाउन घुरेर अस्वाभाविक तरिकाले हेर्थे । हजुरबुवा र सरहरूको मायामा थोरै मात्र फरक थियो । घरमा हजुरबुवाले मलाई मात्रै माया गरेजस्तो गर्नुहुन्थ्यो भने स्कुलमा सरहरूले मेरा केटी साथीहरू सबैलाई गर्नुहुन्थ्यो । त्यस्तो माया मलाई मात्रै होइन, साथीहरूलाई पनि मन पर्दैनथ्यो ।  

हजुरबुवा र सरहरूले गरेजस्तो मन नपर्ने माया अरू धेरैले पनि गर्थे । कहिले बाटोमा हिँड्दा नचिनेका मान्छेले, कहिले घरभित्रै, घर वरपरका चिनेकै मान्छेले, कहिले साथी सोचेका केटाहरूले, कहिले आफ्ना सोचेका नजिकका आफन्तले । तर, त्यस्तो माया मलाई कहिल्यै मन परेन । मन पर्नका लागि त्यो माया पनि त थिएन । अहिले बल्ल बुझ्दैछु, ती त सबै दुर्व्यवहार रहेछन् । 

त्यो समयमा मलाई सिकाउने र मेरा बारेमा बोलिदिने कोही थिएन । जे परेपनि चुपचाप सहेर बस्थेँ । तर, सहनु पनि गलत रहेछ भन्ने कुरा बिस्तारै बुझ्दै छु ।

मेरी चार वर्षकी छोरी अहिले नर्सरीमा पढ्छिन् । मैले आफू हुर्किँदै गर्दा भोगेका दुर्व्यवहारका तीता घटना छोरीले भोग्नु नपरोस् भनेर अहिलेदेखि नै उसलाई सिकाउन थालेकी छु । कस्तो छुवाइ राम्रो, कस्तो छुवाइ नराम्रो भनेर उसलाई थाहा पाउन सजिलो हुनेगरी बुझाउन थालेकी छु । 

घरमा आउने जो कोहीसँग काखमा नबस्नू, कसैले तिमीलाई मन नपर्ने कुनैपनि व्यवहार गर्छ भने तुरुन्त मलाई वा बाबालाई बताउनू भनेर बारम्बार सिकाइरहन्छु ।

अहिले दुर्व्यवहारका स्वरूप फेरिएका छन् । त्यस्ता दुर्व्यवहारको जोखिममा सबैभन्दा धेरै बालबालिका छन् । माया गरेको देखाउन बच्चाबच्चीलाई देख्ना साथै बोकिहाल्ने, ओठमा, गालामा, निधारमा चुम्बन गर्ने, जस्ता गतिविधिहरू गर्छन् । तर, ती तरिका मलाई एकदम गलत लाग्छन् । कतिले त झन् चिन्दै नचिनेको बच्चालाई पनि “तिमी कति राम्रो, कति राम्री” भन्दै मुसार्ने, गाला तान्ने, आदि गर्छन् । 

त्यस्तो अवस्थामा कतिपय आमाहरूले त “मेरो बच्चालाई माया गरेको” भन्ने ठानेर मख्ख पर्नुहुन्छ । तर त्यस्तो सोच राख्नु हुँदैन भन्ने लाग्छ । किनभने, हामीले ख्याल नगर्ने र ससाना ठान्ने यस्तै यस्तै घटनाले बालबालिकालाई दुर्व्यवहारको जोखिममा धकेल्छ । त्यसैले आफ्ना बालबालिकाले नचिनेको वा चिनेकै व्यक्तिसँग पनि कस्तो महसुस गरिरहेका छन्, उनीहरूसँग बोल्न, खेल्न बालबालिकालाई सहज भइरहेको छ कि छैन वा थाहा नपाएरै उनीहरू दुर्व्यवहारमा त परिरहेका छैनन् भनेर आफैँ सचेत हुन एकदमै आवश्यक छ ।  

अहिले पनि कति विद्यालयमा किशोरीहरू आफनै शिक्षकको दुर्व्यवहारमा परेका थुप्रै समाचार सुन्नमा आउँछन् । समाज परिवर्तनको संवाहक शिक्षकहरूबाटै त्यस्ता दुर्व्यवहार हुनु एकदमै लाजको विषय हो । त्यसैले अभिभावकले आफ्ना बालबालिकाको ध्यान घरमा मात्रै दिनु पर्याप्त हुँदैन । विद्यालयमा पनि अभिभावकले बेलाबेलामा शिक्षकसँग आफ्नो बालबालिकाका बारेमा चासो राख्ने, उनीहरूको मनोभावना बुझिरहन शिक्षकहरूलाई अनुरोध गर्ने गर्नुपर्छ । 

आफूले स्कुलमा भोगेको दुर्व्यवहारबारे खुुलेर बोल्न पाउने बातावरण शिक्षकले विद्यार्थीका लागि सृजना गर्नुपर्छ । अनि सबैभन्दा मुख्य कुरा, हामीले आफ्ना बच्चालाई उनीहरूलाई मन नपरेको कुरा तथा व्यवहारलाई ‘नो’ अर्थात ‘नाइ’ भन्न सिकाउनुपर्छ । यस्तो सिकाइले बालबालिकालाई आत्मरक्षा गर्न सिकाउँछ । चाहे मनोवैज्ञानिक होस् वा शारीरिक नै किन नहोस् । 

आजभोली फेसबुक, इन्स्टाग्राममा धेरै बच्चाको पहुँच छ । आफनो बच्चाको साथीहरू कस्ता छन्, उनीहरूले कस्ता पोस्ट तथा भिडियो हेर्छन्, साथीहरूको कस्ता म्यासेज आउँछन् भन्ने जस्ता कुरामा सचेत हुनुपर्छ । यसैपनि हिजोआज धेरै बच्चाहरू आफनो अभिभावकसँग खुलेर कुरा गर्दैनन्, गर्न चाहँदैनन् । त्यसैले अभिभावक नै उनीहरूको मिल्ने साथी बन्नुपर्छ ।

आफू उनीहरूको उमेरमा हुँदाका घटनाहरू सेयर गर्ने, आफ्ना साथीहरू कस्ता थिए, आफूलाई कस्तो कुरा राम्रो लाग्छ, कस्तो लाग्दैन लगायतका अनुभवहरू बाँड्न सकिन्छ । मैले यसरी नै हरेक दिन मेरो छोरीसँग कुराकानीको प्रयास गर्छु र उसको सबैभन्दा मिल्ने साथी बन्ने प्रयास गर्छु । छोरीले पनि आफ्नो अनुभव, आफ्ना कुरा सबै मलाई सुनाउने गर्छिन् । हामी दुवैको यस्तो बानीले एकअर्कालाई बुझ्न सजिलो भएको छ । अझ भन्दा मेरो छोरीले भोग्न सक्ने सम्भावित जोखिमबारे सजग रहन मलाई प्रोत्साहन मिलिरहेको छ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, February 8, 2022

किशोरावस्थाको डर र उत्सुकता


–बबिता मैनाली

इलाम ६, बाह्रबस्ती



जब म मानसिक अनि शारीरिक रूपमा परिपक्व हुने क्रममा थिएँ, मेरो शरीरमा आउन थालेका परिवर्तन देखेर आफैँ छक्क पर्थेँ ।

डर पनि लाग्थ्यो ।

मलाई के भएको होला, किन यस्तो भएको होला...यस्तै यस्तै प्रश्न मेरो मनमा खेलिरहन्थे । 

किशोरावस्थामा प्रवेश गर्दा मेरो स्तन बढ्न थाल्यो । स्तन विकास हुने प्रक्रिया जब सुरु भयो, तब मलाई भित्रैबाट दुखेजस्तो महसुस हुन थाल्यो । म केही बिरामी त भइनँ भन्ने कुरा सम्झेर मनमा एक किसिमको डर पनि लागेको थियो । त्यतिमात्रै होइन, शरीरका अन्य अंग पनि बिस्तारै विकास भइरहेका थिए । शरीरका विभिन्न भागमा रौँहरू देखा परिरहँदा मलाई एकदम डर लागेको थियो ।

अरूलाई पनि यस्तै हुन्छ कि हुन्न होला, कि मलाई मात्रै यस्तो भएको हो, यदि मलाई मात्रै यस्तो भएको रहेछ भने के गर्ने, यस्तैयस्तै प्रश्न मेरो मनमा बारम्बार आउँथे । ती प्रश्नले मलाई उत्सुकता त जगाउँथे नै, भित्रभित्रै डर पनि लाग्थ्यो । आफूमा भइरहेका परिवर्तन स्वाभाविक हुन् कि होइनन् भनेर थाहा पाउन मन लाग्थ्यो । आफू बिरामी भएको हो कि होइन भनेर कसैलाई सोध्न पाए पनि हुन्थ्यो भन्ने भाव पटकपटक आइरहन्थे । किशोरावस्थामा हुने यस्ता अनेक खुल्दुलीका कारण म धेरै आत्तिएकी थिएँ । 

तर जब ७, ८ मा पढ्दा किशोरावस्थामा आउने परिवर्तनका बारेमा थाहा पाउन थालेँ, मन बिस्तारै हल्का हुन थाल्यो । विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षिकाले किशोरावस्थामा आउने यस्ता परिवर्तन त सामान्य हुन्, स्वाभाविक हुन् भनेर पढाउनुभयो । यस्ता परिवर्तन हुनु भनेको आफू स्वस्थ छु भनेर थाहा पाउने तरिका हो भन्ने कुरा पनि उहाँले नै सिकाउनुभयो । अनि यस्ता परिवर्तनका बारेमा प्रश्न सोध्न, आफूमा आएका परिवर्तनलाई देखेर डराउनु हुँदैन भनेर पनि थाहा दिनुभयो । 

उहाँकै कारण मेरो मनमा भएको डर र लाज कम हुँदै गयो । हिजोआज त, आफूलाई केही स्वास्थ्य समस्या पर्‌‍यो, शरीरमा केही नयाँ अनुभव गरेँ भनेपनि म लाजडर नमानी सोध्न सक्छु । मभन्दा साना भाइबहिनी वा अरू कसैलाई किशोरावस्था सम्बन्धि त्यस्तै उत्सुकता वा डर छ भनेर अप्ठेरो नमानी आफ्ना आमा, दिदी, बहिनीहरूसँग सेयर गर्न सल्लाह दिन्छु । त्यतिमात्रै होइन, त्यस्ता किशोवास्थामा केही अन्य जटिल स्वास्थ्य समस्या देखियो भने, स्वास्थ्यसंस्थामा काम गर्ने स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोला भनेर पनि सुझाउँछु । 

किशोरावस्थामा आउने यस्ता परिवर्तनबारे हामीले खुलेर कुरा गर्न नसक्दा विभिन्न प्रकारको दुर्व्यवहार, हिंसा तथा जोखिममा पर्ने डर पनि हुन्छ । हामीले त्यस्ता परिवर्तनका बारेमा आफ्ना अभिभावकलाई वा भनौँ शिक्षकशिक्षिकालाई सेयर गर्न सकेनौँ भने गलत तरिकाबाट ज्ञान लिन खोज्ने जोखिम पनि हुन्छ । जसले गर्दा, आफूसँगसँगै अरूलाई पनि समस्यामा पार्न सक्छौँ । 

मैले कति जनाले आफ्नै दाइ अनि अरू मान्छेले दुर्व्यवहार गरेको, विभिन्न गलत क्रियाकलाप गरेको कुरा सुनेको छु । मेरै साथीहरूले पनि मलाई यस्ता कुरा बेलाबेलामा सेयर गरिरहेका हुन्छन् । कतिपय ठाउँमा नराम्रो घटना हुने गरेको पनि हामीले सुनिरहेका हुन्छौँ ।

त्यसैले यो विषयमा कुरा राख्नुपर्दा, आफ्नो नजिकैको साथी वा परिवारका सदस्य, आमा, दिदीहरूसँग बुझ्न आग्रह गर्छु । किनभने, हामीलाई अप्ठ्यारो परेको बेला कसैले दुर्व्यवहार गर्न नसकोस् । हामी आफैँ चनाखो भन्यौँ भने मात्रै पनि, हामीलाई आइपर्न सक्ने दुर्व्यवहारका विभिन्न घटनाबाट जोगिन सक्छौँ र अरूलाई पनि जोगाउन सक्छौँ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, December 14, 2021

एउटी मिसको बयान

संगीता आचार्य

श्री खड्गेश्वरी माध्यमिक विद्यालय, प्यूठान


किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकालाई स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा अध्यापन गर्दा समस्या र चुनौती पहाड जस्तै बनेर खडा भएको नमीठो अनुभव छ मसँग । मैले कक्षा सात र आठमा स्वास्थ्य शिक्षा पढाउँदा सुरुका एकदुई वर्ष म आफैँमा पनि केही कमी कमजोरी रह्यो होला जस्तो लाग्छ मलाई । किनभने, म आफैँ पनि विद्यार्थीहरूसँग सजिलो गरी खुल्न सकिनँ या भनौँ यौन तथा प्रजनन स्वास्थ्यको विषय लाजको विषय होइन भन्ने जान्दा जान्दै पनि कहीँ कतै मेरो मनले हिच्किचाहट मानिरह्यो । अप्ठ्यारो महसुस भइनै रह्यो । 

स्वास्थ्य तथा शारीरिक शिक्षा पढाउने शिक्षक म, मैले नै अप्ठ्यारो मानेपछि, म नै खुल्न नसकेपछि पाठ पढाउने बाहेकको अन्य छलफल विद्यार्थीहरू र म बीच हुने कुरै भएन । अनि विद्यार्थीले सिक्ने र व्यवहारमा उतार्ने भन्दा पनि परीक्षामा कसरी पास हुने गरी लेख्न सकिन्छ भन्ने बारेमा मात्रै ध्यान भयो र मेरो पनि विद्यार्थी कसरी पास हुन सक्छन् भन्ने कुरामा मात्रै बढी केन्द्रित भयो । 

त्यसपछि भने मलाई, मैले पढाउँदै गरेको राम्रो भइरहेको छैन, यसरी त स्वास्थ्य तथा शारीरिक शिक्षाको बारेमा विद्यार्थीमा रहेको जिज्ञासा कम गर्न सकिँदैन, उनीहरूमा गलत कुराको सिकाइ पो हुने हो कि भन्ने लाग्न थाल्यो । मलाई बिस्तारै आफ्नो कमजोरी छ, मैले यसलाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेँ । फलस्वरूप विद्यार्थीहरूसँग छलफल गर्ने प्रयास गरेँ । तर, अन्य विषयमा मजाले मसँग छलफल र अन्तरक्रिया गर्ने, केही समस्या भएमा, अलमल भएमा उठेर प्रश्न गर्ने, कक्षामा सबैका अगाडि निर्धक्क छलफल गर्ने विद्यार्थीहरू यौन तथा प्रजनन स्वास्थ्यका कुरा आयो भने कक्षामा एकदमै शान्त बस्ने, मुन्टो निहुराउने गर्न थाले, मानौँ त्यो छुट्टिको दिनको विद्यार्थी बिनाको कक्षा कोठा हो, जहाँ कुनै विद्यार्थी छैनन् ! मैले केही भन्न खोज्दा सबैका टाउका झुकेका, आँखामा लाज, मौनता र चुपचाप हुन्थे । एक जना विद्यार्थी पनि बोल्दै नबोल्ने ! यस्तो अवस्थामा कसरी सिकाउनु विद्यार्थीलाई !

तर, सिकाउन एकदमै जरुरी थियो । उनीहरूमा भएका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अनेक सवाल, अनेक जिज्ञासा र कौतुहल त मेटाउनु जरुरी नै थियो । तर, उनीहरू एक शब्द नबोलिदिँदा उनीहरूले केही सिके वा सिकेनन् ? केही जाने कि जानेनन् कसरी थाहा पाउने मैले ? कसरी उनीहरूलाई बुझाउने ? यौन रोग, शारीरिक परिवर्तन, यौन इच्छा र यसले पार्ने प्रभाव अनि त्यसको व्यवस्थापनका बारेमा पढाउन, उनीहरूलाई सिकाउन चुनौती नै बन्यो । त्यसपछि म अझ गम्भीर भएर सोच्न बाध्य भएँ । यिनीहरूलाई कसरी बुझाऊँ र खुलेर कुरा गर्न सक्ने बनाऊँ भन्ने कुराले पिरोल्न थाल्यो । 

त्यसपछि, मैले वैयक्तिक भिन्नता अनुसार विद्यार्थीको रुचिलाई ख्याल गर्न थालेँ, विद्यार्थीहरूलाई नियाल्न थालेँ, विद्यार्थीको पारिवारिक पृष्ठभूमि पत्ता लगाउन थालेँ । त्यसपछि कक्षामा पढाउन पर्ने विषयवस्तु पढाउँदै गर्दा आफूमा आएका जिज्ञासा र समस्याबारे म जहाँ भए पनि, जुन सुकै अवस्थामा भए पनि कुरा गर्न सक्छौ भनेँ । त्यसपछि विद्यार्थी मसँग कुरा गर्न आउन थाले । कसैका केही समस्या कसैका केही । उनीहरूले आफूमा भएका जिज्ञासा एकान्तमा मलाई बोलाएर पोख्न थाले । तर, त्योभन्दा पहिले आफूले भनेका कुराहरू अरूलाई नभन्ने सर्त उनीहरूको हुन्थ्यो । मैले कसैलाई नभन्ने बाचा पनि गरेँ । त्यसपछि भने उनीहरूले आफ्ना कुरा निर्धक्क भन्न थाले ।

कुनै कुराले यति धेरै समस्यामा पार्न सक्छ, मैले कहिले कल्पना पनि गर्न सकेकी थिइन । विद्यार्थीले मसँग सेयर गर्ने कुराहरू मेरो सोच भन्दा बाहिरको कुराहरू हुन्थे । उनीहरूमा यौन तथा प्रजनन स्वास्थ्यलाई लिएर हुने जिज्ञासा, कौतुहलहरू सुनेर म अचम्मित हुन्थेँ । शारीरिक परिवर्तनलाई हामीले सामान्य ठानेका कतिपय कुराहरूले विद्यार्थीहरूलाई दिएको पीडा मैले बुझ्न थालेँ । एक जना विद्यार्थी बारम्बार स्पप्नदोषको कारण नै विद्यालय आउन मन नलाग्ने, पढाइमा ध्यान नगएको र समस्याको समाधान नभए आफू आत्महत्या गर्न पनि पछि नपर्ने कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ । मलाई उसको माया लाग्न थाल्यो । हामी कस्तो समाजमा छौँ ? कस्तो शिक्षा लिइरहेका छौँ ? हामीले कस्तो शिक्षा दिइरहेका छौँ भन्ने कुराले मलाई पिरोल्न थाल्यो । 

मैले उसलाई कसरी स्वप्नदोषको बारेमा सजिलो गरी बुझाउन सक्छु भन्ने बारेमा सोच्न थालेँ । एकैपटक सबै कुरा बुझाउन सम्भव थिएन, किनभने ऊ एकदमै विचलित भएको थियो स्वप्नदोषका कारण । त्यसपछि मैले बिस्तारै बिस्तारै स्वप्नदोषको बारेमा बुझाउन थालेँ । किशोरावस्थामा प्रवेश गर्दा सबैलाई हुने कुरा पनि बताएँ । तिमीले जस्तै मैले पनि यो सबै भोगेर आएकी हुँ । ढिलो चाँडो तिम्रो साथीहरूले पनि यो कुरा भोग्छन् । यो एउटा सामान्य प्रक्रिया हो भनेर विभिन्न उदाहरण दिँदै सम्झाउँदै गरेपछि बिस्तारै उसको मनको डर हट्दै गयो । त्यसको केही समयपछि कक्षामा उसलाई एक्टिभ देख्न थालेँ, आफूले नजानेको कुरा मसँग सोध्ने र जानेको कुरा साथीलाई सिकाउँदै गरेको देखेपछि मेरो मन शान्त भयो । 

यसरी यस्ता धेरै विद्यार्थीबाट मैले सिकाउन भन्दा पनि धेरै कुरा सिकेँ । आफूलाई निखार्दै विद्यार्थीलाई सहज बनाउँदै  सिकाउन थालेँ । यौन तथा प्रजनन स्वास्थ्यको विभिन्न विषय पनि सामान्य विषयवस्तु सरह नै कक्षामा सबैका सामु मजाले छलफल गरी पढ्न पढाउन थालेँ । विद्यार्थीलाई एक्लै एक्लै राखेर उनीहरूको समस्या, जिज्ञासा र कौतुहलमा छलफल गरिसकेपछि तिनै विद्यार्थी माझ कक्षामा प्रश्नोत्तर तयार गरेर छलफलमा सहभागी गराउन थालेँ । 

त्यसपछि भने पहिले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठमा भएका कुरा पढाउँदा मुन्टो निहुराउने, आँखा लुकाउने परीक्षामा पास हुनको लागि मात्रै पढ्ने विद्यार्थी छलफलमा सहभागी हुन थाले, आफूमा आएका परिवर्तन र समस्यालाई व्यवस्थापन गर्न र आफूलाई सिर्जनात्मक बनाउन, परिवर्तनलाई सामान्यीकरण गर्न थाले । व्यक्तिगत सरसफाइमा सतर्क र चनाखो बन्न थाले । मैले पनि उनीहरूलाई परीक्षामा पास हुने भन्दा पनि मेरो विद्यार्थीको व्यवहार परिवर्तनको फड्कोलाई आफ्नो सफलता ठान्न थालेँ । र, आज म मेरा विद्यार्थीमा आएको परिवर्तनलाई देखेर खुसी छु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, September 7, 2021

ओहो ! त्यो ब्लु फिल्म !

–नाम प्रकाशित नगर्ने सर्तमा

रितेशका दाजुभाइ नै जाडो बिदा मनाउन काठमाडौँबाट गाउँ फर्किएका थिए । प्रत्येक साल बिदामा गाउँ आउँदा उनीहरू अनेकन नयाँ नयाँ कुरा ल्याएर आएका हुन्थे । गाउँमा खेल्न उतिसाह्रो नमिले पनि कहिलेकसो स्केटिङ ल्याएर आएका हुन्थे । कहिले भिडियो गेम त कहिले चेस । यसपाला भने उनीहरूले भिडियो हेर्न मिल्ने डेक नै ल्याएका थिए । 

त्यो बिहान रितेशका बाआमा, हजुरबा र हजुरआमालाई लिएर मन्दिर जानुभएको थियो । रितेशले बोलाएपछि हामी तीन जना उनको घर गयौँ । ब्ल्याक एण्ड ह्वाइट टीभीमा रितेशले डेक जोडिसकेको थियो । हाम्रो लागि त्यो बडो अनौठो जिनिस थियो । रितेशले सानो स्वरमा भन्यो, “केटा हो तिमीहरूलाई आज म अर्कै दुनियाँ देखाइदिन्छु ।” 

मैले बडो जिज्ञासु भएर सोधेँ, “कस्तो अर्को दुनियाँ ? अर्को ग्रह ?” 

मेरो कुरा सुनेर रितेशभन्दा दुई वर्ष कान्छो भाइ विकेश खिसी गरेझैँ गरेर हाँस्यो । रितेशले सानका साथ भन्यो, “तिमेरु गाउँलेलाई यस्ता कुरा के था ? पहिले चुपचाप हेर अनि पानी पानी हुन्छौ ।”

रितेशले रहस्यको पोकोलाई थप कसिलो बनायो । हामी केही बोलेनौँ । हाम्रो अनुहारमा त जिज्ञासाको बाक्लो रंग मात्रै पोतिएको थियो । 

विकेशले एकैछिनमा घरको झ्याल ढोका सबै लगायो । अँध्यारो भएपछि रितेशले ब्ल्याक एन्ड ह्वाइट टीभीमा डेक जोड्यो । डेकमा चक्का हाल्यो । 

हामी अब के देख्न पाइने हो भन्ने भावमा ध्यानमग्न थियौँ । 

टीभीमा जे देखियो त्यो हाम्रो कल्पना बाहिरको कुरा थियो । पूरै निर्वस्त्र केटा र केटी बडेमानको बेडमा पल्टिएका थिए । तिनीहरूले सुरुमा एक अर्काको ओठ जोडे । एकले अर्काको नांगो शरीर मुसारे । 

यो सब देख्दा हामी सबै चकित भयौँ । रितेश र विकेश भने सधैँ हेरिरहेको कुनै सिनेमाको दृश्य हेरिरहेझैँ सामान्य देखिन्थे । तर हाम्रा निम्ति त्यो कल्पना बाहिरको कुरा थियो । त्यस्तो कुरा टीभीमा देखिएला भनेर सोचेका पनि थिएनौँ । 

आफूभन्दा उपल्ला दाइहरूबाट सुन्न त सुनेका थियौँ ब्लु फिल्म हुन्छ रे भन्ने । तर, त्यो कस्तो हुन्छ ? कहाँ बन्छ ? कसले देखाउँछ भन्नेबारे यकिन कुरा सुनेका थिएनौँ । तर, त्यतिबेला त हाम्रै आँखाअघि ब्लु फिल्म चलिरहेको थियो ! 

मेरो छेवैमा रहेको राम घरिघरि टीभीको स्क्रिनमा आँखा पु¥याउँथ्यो घरि भुइँमा औँलाले केही कोतरेजस्तो गथ्र्यो । मेरो हालत पनि रामको भन्दा फरक थिएन । निर्वस्त्र भएका केटाकेटीले टीभीमा धेरैबेरसम्म के गरे भनेर हामीले राम्ररी हेर्न सकेनौँ । 

२० मिनेटको त्यस्तो दृश्य हेरेर फर्किएको कैयन दिनसम्म मेरो मनमा अनौठा कुराहरू मात्रै खेलिरहे । नांगै अनेकन क्रियाकलपा गरिरहेका केटा र केटी मेरो सपनामा पनि बेलाबखत आउँथे । त्यस्तो बेला म पानीपानी भएजस्तो अनुभूति गर्थेँ । 

मेरो एकजना मामाको छोरा थिए । उमेरले ५ वर्ष जेठा । म हरि दाइ भन्थेँ । जेठो भएपनि उनी केटौले र चन्चल स्वभावका थिए । आफूभन्दा साना उमेरका भाईबैनीसँग निजिकिन्थे । अरू दाइहरूले जस्तो अर्ती उपदेश दिने, जतिबेला पनि अनुशासनको पाठ पढाउने, पढ्न पर्दैन ? भनेर किचकिच गरीराख्ने उनको स्वभाव थिएन । त्यही भएर जेठा भएपनि म हरि दाइसँग धक नमानी बोल्न सक्थेँ ।

एकदिन हरि दाइ मलाई जिस्क्याएझैँ गरेर सोध्नुभयो, “केटा गर्लफ्रेन्ड त बनाको छैनस् नि ?”

मैले लाज मानेजसरी छैनको भावमा टाउको हल्लाएँ । 

दाइले सम्झाएजसरी भन्नुभो, “गर्लफ्रेन्ड बनाउने पनि उमेर आउँछ । अहिले त भर्खर त ११ वर्ष पुगिस् । तैँले माया प्रेम भनेको के हो ? प्रेम किन गर्ने ? कोसँग गर्ने भन्ने बुझेकै छैनस् नि त ।”

मैले लाज मानेजसरी टाउको हल्लाइराखेँ । 

दाइले थप्नुभयो, “कम्तिमा पनि आफ्नै खुट्टामा उभिन सक्ने भएपछि यस्ता कुरा सोच्ने हो । त्यतिबेला पो बल्ल तैँले तँलाई कस्तो केटी चाहिन्छ ? केटीको कस्तो स्वभाव, आनी बानी मनपर्छ भन्नेबारे बुझ्न सक्छस् ।”

त्यतिबेला दाइ अरू बेला जस्तै जिस्किँदै बोलिराख्नुभएको थियो । दाइले लाजै नमाने जसरी मलाई फ्याट्टै सोध्नुभयो, “तैँले त ब्लु फिल्म पनि हेरिस् अरे त ।”

कुरा सुनेर मात्रै पनि म लाजले भुतुक्कै भएँ । त्यो भन्दा पनि दाईले यो कुरा कसरी थाहा पाउनुभयो भनेर चकित भएँ । 

धेरै पछि मैले थाह पाएँ, दाइले दिनुभएको चकलेटको लोभमा परेर रामले फिल्म हेरेको कुरा सबै बताइदिएको रहेछ । 

म धेरैबेरसम्म नबोली बसिराखेँ । तर दाइले मलाई गाली गर्नुभएन । न त बाले जसरी नै पिट्नुभयो । 

दाइले मेरो कपाल मुसार्दै सम्झाएजसरी भन्नुभयो, “त्यस्ता फिल्म हेर्ने पनि तेरो उमेर पुगेको छैन ।”

मैले कुरा बुझेझैँ गरेर टाउको हल्लाएँ ।  

दाइले भन्नुभयो, “हेर् केटा ब्लु फिल्ममा देखाएजस्तो जीवनमा हुँदैन । त्यो त घन्टौ लगाएर सुटिङ गरिएको कुरा हो । तैँले पछि बुझ्छस् ।” 

दाइले त्यो दिन मलाई ब्लु फिल्म किन हेर्नु हुँदैन, त्यसले कसरी बालबालिकाको मस्तिष्कमा असर पार्छ भनेर पनि बताउनुभयो । दाइले भन्नुभएको थियो, “हरेक कुराको बुझ्ने उमेर हुन्छ । तँ ठूलो भएपछि के ठीक के बेठीक भनेर छुट्याउन सक्ने भएपछि आफैँ बुझ्छस् । तर ख्याल राख्, जे कुरा घरका सबैजना बसेर हेर्न मिल्छ त्यही कुरा मात्रै हेर् । बाँकी कुरा कहिल्यै नहेर् ।’

ब्लु फिल्म हेरेको कुरा थाहा पाएर दाइले बेस्सरी गाली गर्दै भकुर्नुहोला भन्ने डर लागेको थियो । डरले म लुगलुग कामीसकेको थिएँ । तर दाइले त बडो मायाले मुर्सार्दै मलाई सम्झाउनुभयो । 

अहिले त म ब्याचलर्स पढ्दैछु । बल्ल मैले बुझ्दैछु, ब्लु फिल्म किन हेर्नु हुँदैन भनेर । कसरी त्यसले बालबालिकाको कलिलो दिमागमा असर पार्छ भनेर । 

काठमाडौँको एक कलेजमा ब्याचलर्स पढ्दै गरेका एक युवाले नाम गोप्य राख्ने सर्तमा पठाएको अनुभूति

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, November 17, 2020

राम्रो छुवाइ, नराम्रो छुवाइ

 म गौरी हुँ । मेरी ७ वर्षकी प्यारी छोरी छन् । मसँग खेल्न, सँगै बसेर कथा सुन्न, टीभीमा कार्टुन हेर्न, अनि आफ्ना कुराहरू सेयर गर्न उनलाई एकदमै मन पर्छ । हरेक दिन उनी मलाई दिनभरका आफ्ना कुरा मन खोलेर सुनाउँछिन् । आफ्ना साथीहरूसँग दिनभरी खेलेका खेल, दिनभरका कुराकानी, उनीहरूबीचको रमाइलो झगडा, सबै कुराहरू सुनाउन पाउँदा छोरीलाई एकदमै खुसी लाग्छ । मलाई पनि छोरीका कुरा सुन्न पाउँदा रमाइलो लाग्छ ।

तर एक दिनको कुरा हो, उनको अनुहार सधैँको जस्तो खुसी थिएन । हत्तपत्त नरिसाउने मान्छे, त्यो दिन रिसाएर बसिरहेकी ! अनुहार पनि मलिन देखिन्थ्यो । उनलाई मन पर्ने मालपुवा पकाएर खान दिँदा, मन पर्ने परीको कथा सुनाउँदा पनि उनको मुहारमा कुनै खुसी देखिएन ।
राती सुत्ने बेलामा पनि ऊ नबोली बसिरहेकी थिई । मैले बारम्बार के भयो भनेर सोध्दा पनि कुनै जवाफ दिइनन् । भोलिपल्ट बिहानसम्म पनि उनको मलिन अनुहार देखेर फकाइ फकाइ सोधेपछि भने बल्ल डराइ डराइ आफ्नो कुरा भन्न थालिन् ।
अघिल्लो दिन ऊ आफ्ना साथीहरूसँग खेल्न उनीहरूको घरमा गएकी थिइन् । त्यतिबेला साथीको बाबाले नानीलाई माया गरे जसरी काखमा लिनुभएछ । ‘तर मलाई अङ्कलले काखमा लिएको कत्ति पनि मन परेन, मामु । अप्ठेरो लागेको थियो ।’ उनले रुन्चे मुख बनाउँदै सुनाइन् । मलाई एकाएक डर लाग्न थाल्यो । डराइ डराइ थप कुरा सोध्न थालेँ ।

Photo:pinterest.com 

‘मैले मलाई मन पर्दैन भन्दा पनि, अङ्कलले मेरो गाला चिमोटिरहनु भाथ्यो । झन् त्यो गन्हाएको मुखले गालामा माया गर्दै दारी नि दली दिनुभयो ।’ नाक खुम्चाउँदै उनले सबै कुरा बताइन् । उनले अघिल्लो दिन साथीको घरमा साथीकै बुवाले गर्नुभएको सबै गतिविधि सुनाउँदा मेरो मनमा चिसो पसिसकेको थियो ।
आफूसँग त्यत्ति धेरै कुरा गर्ने छोरी, कुरा गर्नै नसक्ने गरी डराउँदा पनि थाहा नपाएकोमा नमज्जा लागिरहेको थियो । अनि, छोरीसँग त्यति धेरै कुरा गर्ने मान्छेले उसलाई आफ्नै र अरूबाट हुन सक्ने दुव्र्यवहारका बारेमा थाहा दिन नसक्दा आफैँसँग रिस पनि उठ्यो । पछुतो पनि लाग्यो ।
हामी आफ्ना बालबच्चालाई धेरै कुरा सिकाउँछौँ । उनीहरू हरेक कुरामा, हरेक क्षेत्रमा जान्ने बुझ्ने होऊन् भन्ने चाहन्छौँ । तर, जब उनीहरूलाई व्यक्तिगत सुरक्षा, सतर्कताका बारेमा बुझाउनुपर्ने हुन्छ, तब हामी चासो राख्दैनौँ । उनीहरूसँग दुव्र्यवहार, राम्रो छुवाइ र गलत छुवाइका बारेमा जानकारी दिँदैनौँ । जसले गर्दा, मेरी छोरीजस्तै हाम्रा ससाना नानीबाबुहरू प्रत्यक्ष र अप्रत्यक्ष दुव्र्यवहारमा परिरहेका हुने रहेछन् ।

Photo : carnet.org.np

त्यो दिन जब छोरीले आफूले भोगेको दुव्र्यवहारका बारेमा बताइन्, तब मात्रै मैले उनलाई केके कुराहरू सिकाउन पर्ने रहेछ भनेर याद गरेँ । हामीले हाम्रा नानीबाबुलाई दुव्र्यवहारका बारेमा बताइ हाल्यौँ भने पनि आफ्नैहरूबाट दुव्र्यवहारमा परिन्छ भनेर कमै सिकाउँछौँ । जसले गर्दा हाम्रा बाबुनानीहरू घरभित्रै, गाउँ समाजकै मानिसबाट, आफ्नैहरूबाट दुव्र्यवहारमा परिरहन्छन् ।
मैले त्यो दिन छोरीलाई सोधेँ, ‘अंकलले त्यस्तो गर्दा तिमीले अंकललाई केही भनिनौ ?’
‘नगर्नून अंकल, मलाई अप्ठेरो भयो त भनेँ नि, तर अंकलले झन् कसेर समाउँदै मलाई नै गाली गर्न थाल्नुभयो ।’
छोरीले यी कुरा सुनाइ रहँदा मेरा आँखा रसाइरहेका थिए । तर, त्यो दिनदेखि उनले त्यस्ता दुव्र्यवहार भोग्नु नपरोस्, दुव्र्यवहारमा परिहाले कसरी प्रतिकार गर्ने भन्ने बारेमा बताउने प्रयास भने गरेँ । ‘छातीमा, सुसु गर्ने ठाउँमा छुनु वा छुन खोज्नु, गाला चिमोट्ने, दारी दलिदिने गर्छ भने त्यो नराम्रो छुवाइ हो । कसैले आफूलाई त्यसरी छुन्छ वा छुन खोज्छ भने नाइँ भन्नुपर्छ, आफ्नो ममी वा आफूलाई माया गर्ने नजिकको मानिसलाई आफूले भोगेको कुरा सेयर गर्नुपर्छ ।’
राम्रो छुवाइ, नराम्रो छुवाइका बारेमा बालबालिकालाई बुझाउनु हरेक अभिभावकको कर्तव्य हो । जबसम्म बालबालिकालाई हामीले यस्ता कुराहरु सिकाउँदैनौँ, तबसम्म उनीहरूले शारीरिक, मानसिक, यौनिक दुव्र्यवहार तथा हिंसाको सामना गर्नुपर्छ ।

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...