Tuesday, April 20, 2021

महिनावारीले सिकाएको अन्धविश्वास

 चन्द्रा लक्ष्मी कार्की, कक्षा १०

श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा



एकदिनको कुरा हो, म सधैँझैँ विद्यालय गएकी थिएँ । मलाई अचानक पेट दुख्न थाल्यो । दुखाइ बढ्दै जाँदा मलाई कक्षा कोठामा बस्न पनि गाह्रो भइरहेको थियो । के गरौँ, कसो गरौँ भएपछि म चर्पी गएँ । चर्पी गएर हेर्दा पो बल्ल थाहा भयो, मेरो कट्टुमा त रगत लागेको रहेछ । रगत देख्दासाथ म अत्तालिएँ । अर्कै महसुस हुन थाल्यो । के भयो, कसरी भयो, किन भयो, मलाई केही थाहा थिएन । मनमा अनेकन कुराहरू खेल्न थाले । 

यत्तिकैमा महिनावारी बारे कक्षामा सरले पढाउनुभएको कुरा याद आयो । मलाई पक्कै महिनावारी भएको हुनुपर्छ भन्ने लख काटेँ । तर कसलाई भन्ने, के गर्ने, मैले निधो गर्न सकिनँ । कक्षाका साथीसँग बोल्न पनि मन लागेन । एकोहोरो भएर बसेँ । केहीबेरमा सर क्लासमा आउनुभयो । एक मनले त भन्यो, “सरलाई भनौँ कि क्या हो ?” तर सकिनँ । मेडमलाई भनम् कि, साथीहरूलाई भनम् कि भन्ने सोच पनि बारम्बार आइरह्यो । तरपनि कसैलाई भन्न सकिनँ ।

आफूलाई भइरहेको दुखाइ सहेरै बसिरहेँ । एकोहोरो टोलाइरहेँ । यत्तिकैमा स्कुल छुट्टी भयो । साथीहरू आआफ्नो घर जान हतारिए । मसँगै घर जाने साथीले पनि “घर जाम्” भन्दै बोलाई । तर, ऊसँग जान सकिनँ । “तिमी जाँदै गर, म आउँछु” भनेर साथीलाई पठाएँ । कक्षाकोठाबाट सबै साथीहरू बाहिरिए । त्यसपछि बल्ल म आफू बसिरहेको ठाउँबाट उठेँ र बेन्चमा हेरेँ । म बसेको ठाउँमा त रगत लागेको रहेछ । 

यसै त पेट दुखाइले आत्तिएकी म, बेन्चमा रगत देखेपछि झन् डराएँ । मनमा एउटै कुरा खेल्यो, “बेन्चमा लागेको रगतको टाटो कसरी हटाउने ?”

कक्षाकोठामा फालिएका कागजका केही टुक्रा थिए । तिनै कागजको सहायताले रगत पुछेँ । तर टाटो गएन । कक्षाकोठामा फोहोर फाल्न राखिएको डस्टबिन थियो । त्यसैमा धाराबाट पानी ल्याएँ र पखालेँ । रगतको टाटो गयो । पेट दुखिरहे पनि मन भने ढुक्क भयो । म खुसी हुँदै घरतिर गएँ । 

घर पुग्दा ममीहरू घर भित्रै हुनुहुन्थ्यो । तर, आफ्नै घर जान पनि त्यो दिन मलाई अप्ठेरो लाग्यो । आफू महिनावारी भएको कुरा ममीलाई कसरी भन्ने होला भनेर मनमनै कुराहरू बुन्न थालेँ । अनेक उपायहरू सोच्दै टोलाइरहेकी थिएँ, ममी त घर बाहिरै निस्किनुभएछ । म भित्र नगएको देखेर होला, ममीले “के भयो ?” भनेर सोध्नुभयो । डरले गर्दा आफुलाई भन्न मन लागिरहेको कुरा पनि भन्न सकिँन । तर नभनेर पनि त उपाय थिएन । डराईडराई भनेँ, “ममी म...महिनावारी भएँ ।”


“त्यत्ति कुरा भन्न पनि डराउनुपर्छ र ?”, म महिनावारी भएको कुरालाई ममीले सहज रुपमा लिनुभयो । “यो त सबै छोरीहरूलाई हुने कुरा हो ।”

मलाई अझ सहज बनाउन ममीले सफा कपडा दिनुभयो । “यी यो सुतिको कपडालाई च्यातेर चारपाटे बनाएर पट्टाउने, अनि प्याडजस्तो बनाएर हाल्ने”, ममीले त त्यो कपडा प्रयोग गर्ने तरिका पनि सिकाउनुभयो । “रगत सोस्ने कपडा चाहिन्छ, नत्र जताततै रगत लाग्न सक्छ । पछि रगत लागेर डराउने, लजाउने भन्दा पहिल्यै राम्रोसँग कपडा लगाउने ।”

महिनावारी हुँदा सिक्नुपर्ने कुराहरू त कत्ति धेरै रहेछन् । प्याड मात्र लगाउन जानेर नहुने रहेछ । 

“तिमीले अब ६ दिनसम्म बाबालाई, अंकल, दाइ, भाइहरूलाई छुन र हेर्न हुन्न । अनि भान्सामा, पूजा गर्ने ठाउँमा, मन्दिरहरूमा पनि जान हुँदैन ।” ममीले भन्दै हुनुहुन्थ्यो, “अबको ६ दिनसम्म गौमातालाई पनि नछुनू । दूध, दही, मही, घ्यू पनि नखानू नि । हामी हिन्दु धर्मावलम्बी हौँ । त्यसो गरेमा पाप लाग्छ । देउता रिसाउँछन् । ६ दिनपछि खरानी पानीले नुहाएपछि बल्ल तिमी चोखो हुन्छौ ।”

महिनावारी भइसकेपछि अपनाउन पर्ने कत्ति धेरै नियमहरू रहेछन् । तर, ममीले भन्नुभएका पछिल्ला कुरा त अन्धविश्वास हुन् । महिनावारीमा गरिने भेदभाव र अन्धविश्वास बारे, मैले स्कुलमा पढेकी थिएँ । सायद ममीलाई पनि उहाँको आमाले यहि कुराहरू सिकाउनु भएर त होला, मलाई यी कुरा अन्धविश्वास हुन् भनेर उहाँले सिकाउन सक्नुभएन ।

तर उहाँलाई भेदभाव गरिरहेछु भनेर चाहिँ थाहा रहेछ । ममीले भन्नुभयो, “महिनावारीमा हुने भेदभावलाई छुटाउन अझै सकिएको छैन ।”

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, April 6, 2021

भाइ तर्केको दिन

प्रशन्नता जोशी



                                                                                                                     

सायद मेरो र अरूको महिनावारी अनुभवमा खासै फरक छैन । तर, अहिले पनि जब म पहिलोपटक महिनावारी हुँदाको क्षण सम्झन्छु, कस्तो अनौठो महसुस हुन्छ । हाँसो लाग्छ । घरिघरि इमोसनल फिल पनि हुन्छ ।

म काठमाडाँैमा नै जन्मेहुर्केकी किशोरी हुँ । आज तपाईँलाई मेरो पहिलो महिनावारीको कुरा सुनाउँदै छु । मलाई राम्रोसँग आफ्नो कुरा व्यक्त गर्न त आइरहेको छैन तर पनि प्रयास गर्नेछु ।

म पहिलो पटक महिनावारी हुँदा सात कक्षामा पढ्थेँ । मलाई त्यो समयसम्म कसैले पनि महिनावारी हुँदा के हुन्छ ? कति समयमा महिनावारी हुन सुरु हुन्छ भन्ने बारेमा जानकारी दिएको थिएन । र, मैले पनि महिनावारीको बारेमा कसैलाई सोधेकी थिइनँ । त्यतिबेला म स्कुलमा थिएँ । मलाई अझै याद छ, स्कुल छुट्टी हुने बेला भएको थियो । ट्वाइलेट जान मन लागेको थियो । क्लास सकिने बित्तिकै म ट्वाइलेट गएँ । जब ट्वाइलेट पुगेर मैले मेरो अन्डरवेयरमा कालो दाग देखेँ, मलाई अनौठो खाले डर लाग्यो । कसरी त्यस्तो भयो, मलाई केही थाहा थिएन । साथीलाई पनि भन्न सकिनँ । बस्, मन भित्रभित्रै डराइरहेँ ।

स्कुल छुट्टी भयो । घर गएँ । घरमा सबैजना हुनुहुन्थ्यो, बाबा, ममी, हजुरबुवा, हजुरआमा, दादा अनि भाइ । तर, उहाँहरू कसैसँग पनि आफूलाई भइरहेको डरको बारेमा बताउन सकिनँ । बेलुकाको खाना खाने बेला भयो । खाना खाएँ । त्यसपछि हजुरबुवाको कोठामा बसेर सँगै टिभी हेर्न थालेँ । त्यत्तिकैमा मलाई कस्तो कस्तो महसुस भयो । मलाई के भएको होला भन्ने सोच्दै ट्वाइलेट गएँ । ट्वाइलेट गएर हेर्दा मलाई फेरि पनि त्यस्तै भएको थियो ।

अलि मत्थर भएको डर फेरि सल्बलायो । के गरौँ, कसलाई भनौँ भन्ने छटपटी हुन थाल्यो । यत्तिकैमा म सरासर ममीको कोठामा गएँ र आफूलाई दिउँसोदेखि भइरहेको कुरा भनेँ ।


फोटो: www.alamy.com


अनि ममीले, “ल...ल...नानी तिमी त पिरियड भएछौ, ल...ल..हिँड हिँड” भनेर तल लैजानुभयो । अनि प्याड दिँदै प्रयोग गर्ने तरिका सिकाउनु भयो । र, कोठाको ढोका लगाउँदै भन्नुभयो, “अब तिमी यो कोठाबाट १०/१२ दिनसम्म बाहिर निस्किुन हुन्न । बाबा, भाइ, दाइ हजुरबुवा कसैलाई पनि हेर्नु हुन्न ।” यति भनेर मलाई कोठामा थुनेर ममी जानुभयो ।

त्यतिबेला मलाई ममीले भन्नुभएका कुरा, ममीले गर्नुभएको व्यवहार देखेर अचम्म लाग्यो । एक त मलाई के भैरहेको छ भन्ने कुरा राम्रोसँग थाहा थिएन । अर्को भनेको, ममीले भन्नुभएका जति केटा मान्छेलाई मैले किन हेर्नु हुँदैन ? त्यो पनि मलाई थाहा थिएन । यी दुई कुराले मलाई एकदमै नराम्रो फिल भइरहेको थियो ।

त्यही १०/१२ दिन कोठाभित्रै थुनिएर बस्दाको कुरा हो, मेरो कोठाको ढोका थोरै खुल्ला थियो । त्यत्तिकैमा मैले मेरो ढोका बाहिर भाइलाई देखेँ । मलाई एकदमै खुसी लाग्यो । चौबीस घण्टा मसँग खेल्ने भाइलाई यत्तिका दिनसम्म नदेख्दा मलाई एकदम न्यास्रो लागिरहेको थियो ।

ढोकाको चरबाट भाइलाई देख्दा म खुसीले तीन वित्ता उफ्रिएँ । तर, भाइले भने मसँग कुरा गरेन । बरु, उल्टै ममीलाई कुरा लगाएछ, “मामु, दिदुले मलाई हेरी ।” भाइको त्यस्तो व्यवहारले मलाई झन् नरमाइलो लाग्यो । आखिर किन मैले भाइलाई हेर्नु हुँदैन ? मैले भाइलाई हेर्दा, भाइसँग खेल्दा के हुन्छ भन्ने प्रश्न मनमा आइरह्यो ।

त्यसको केही दिनपछि मलाई मेरो ठूलीममीको छोरा, अर्थात मेरो दादाले म बसेको कोठामा खाना ल्याइदिनुभयो । अनि “ढोका खोल, म तिमीलाई हातमै खाना दिन्छु । ढोकामा खाना राखेर जान्न भन्नुभयो ।” मैले ममीले भन्नुभएको कुरा सम्झिएँ । त्यही भएर दादालाई भनेँ, “खाना ढोका मै राखेर जानू, मैले हजुरलाई हेर्नु हुँदैन रे” । तर, दादाले “केही पनि हुँदैन । यो एकदम न्याचुरल कुरा हो । मलाई हेरेर केही हुँदैन” भनेर सम्झाउनुभयो । दादाको कुरा सुनिसकेपछि मैले बिस्तारै ढोका खोलेँ र उहाँको हातबाट खाना लिएँ । त्यो दिन मलाई अति आनन्द फिल भयो ।

अहिले ती दिन सम्झिँदा हाँसो लाग्छ । त्यतिबेला ममीले भन्नुभएको एउटा कुराले त झन्, किन त्यस्तो भन्नुभएको होला भन्ने भावना मात्रै मनमा आइरहन्छ । ममीले मलाई पहिलोपल्ट महिनावारी भएको बेलामा जो केटा मान्छेलाई देख्यो त्यस्तै केटासँग बिहे हुन्छ भन्नुहुन्थ्यो । मलाई उहाँको कुरा अनौठो लाग्थ्यो, तर सोध्न भने सक्दिनथेँ ।

म १० दिनसम्म त्यही एउटा कोठाभित्र बसेँ । चार पर्खालभित्र त्यतिका दिन बिताउँदा मनमा अनेक कुरा खेल्थे । तर मसँग जवाफ भने केही हुँदैनथ्यो । घरिघरि एकदमै अनौठो लाग्थ्यो । अनि घरि घरि “आ...यस्तै हो” भनेर मन यताउता डुलाउँथेँ । त्यो १० दिन म स्कुल जान पनि पाइनँ । कहिलेकाँही स्कुलबाट साथीहरूले होमवर्क ल्याइदिन्थे, म त्यहीँ गर्थेँ । नभए, कोठाभित्रै दिन बिताउनको विकल्प मसँग थिएन ।

१० औँ दिनमा घरमा पूजा भयो । मामाघरबाट मामा माइजू, हजुरआमा हजुरबुवा आउनुभयो । पूजा सकिएपछि टिका लगाएर मलाई केही गिफ्टहरू दिनुभयो । अनि “तिमी अब ठूली भयौ” भन्नुभयो । मैले सोच्न सकिनँ कि, यो १० दिनमा म कसरी ठूली भएँ । आखिर के भयो ममा त्यस्तो ? मेरो मनमा यस्तै प्रश्न खेलिरहन्थे ।

त्यसको केही समयपछि क्यानडामा बस्ने काकीसँग कुरा भयो । उहाँले मलाई महिनावारी हुँदा के के हुन्छ ? प्याड कस्तो प्रयोग गर्ने ? पेट दुख्दा के गर्ने ? सरसफाइमा ध्यान दिन किन आवश्यक छ भन्ने जस्ता सबै कुरा सिकाउनुभयो । त्यसपछि भने बल्ल मलाई हल्का महसुस भयो ।

उहाँले नै सम्झाएपछि महिनावारी भनेको न्याचुरल रहेछ भन्ने कुरा राम्रोसँग बुझेँ ।

तर किनकिन, अझै पनि मैले मेरो भाइलाई हेर्न किन हुँदैन ? त्यो बेला मैले बोलाउँदा पनि भाइ किन तर्केर गयो ? महिनावारी बारे उसको बुझाइ के थियो ? उसको सिकाइ कस्तो थियो ? किन १० औँ दिनमा घरमा पूजा गरियो ? यस्ता कुराहरू मैले अझै पनि बुझ्न सकेकी छैन ।

त्यतिमात्रै होइन, यी प्रश्नको जवाफ कसैसँग माग्न पनि सकेकी छैन ।


यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...