Tuesday, December 28, 2021

चुपचाप सहेका दुर्व्यवहार

 

श्री खड्गेश्वरी माध्यमिक विद्यालय

प्यूठान

 

       Photo Source: florinroebig.com

केही समय पहिलेको कुरा हो, स्कुल छुट्टी भएकाले म मेरो मामाघर जान लागेकी थिएँ । सानैदेखि एक्लै मामाघर जाने आउने गर्थेँ । त्यसैले, यसपालि पनि एक्लै नै जाँदै थिएँ । मेरो घरबाट बस आउने बाटोसम्म पुग्न आधा घण्टा हिँड्नु पर्छ । बाटोसम्म पुऱ्याउन आमा आउनुभयो । अनि, “यहीँ बसेर बस कुरिराख म अलिअलि किनमेल गर्नुछ”, भन्दै मलाई त्यहीँ छोडेर पसलतिर लाग्नुभयो । सधैँ आइराख्ने बजार भएकाले मलाई केही नयाँ लाग्दैनथ्यो । त्यसमाथि, सँगै पढ्ने केही साथीको घर पनि त्यही बजारमा नै थियो । केही बेर कुरेपछि बस आयो । मैले आमालाई यताउता हेरेँ । तर, आमालाई देखिनँ । अनि म बसभित्र पसेँ ।

म बस चढेको केहीबेरमा एक हुल केटा बसमा चढे । उनीहरूले एकदमै नराम्रो शब्दहरू बोलिरहेका थिए । उनीहरूलाई कसैको केही मतलब थिएन, कसैले केही भन्छ कि भन्ने कुरामा पनि रत्तिभर डर थिएन । मुखमा जे मन लाग्यो त्यही बोल्ने गरेका थिए । उनीहरूलाई देखेर मलाई अलि कस्तो कस्तो लागेको थियो । त्यत्तिकैमा त्यही समूहको एकजना केटाले मलाई धकेल्दै जिस्काउन खोजिरहेको थियो । मैले उसलाई वास्तै गरिनँ । किनभने, बसमा मैले चिनेका कोही पनि थिएनन् । उनीहरू घरि के भनिरहेका थिए घरि के । मलाई पहिलोपटक मामाघर एक्लै जाँदा त्यति धेरै डर लाग्यो । म मामाघर पुग्नुभन्दा केही वर नै बसबाट ओर्लेँ । अनि हिँड्दै मामाघर गएँ । 

मामाघरमा केही दिन बसेपछि घर फर्किने तयारी गरेँ । मामाले मलाई बस चढ्ने ठाउँसम्म पुऱ्याउन जानुभयो । त्यहाँ पुग्दा स्करपियो लागिरहेको रहेछ । चढ्नै लागेकी थिएँ, काउन्टरको मान्छे आएर, “टिकट काट्नुपर्छ, टिकट काटेको मान्छेले मात्रै जान पाउँछ”, भन्यो । अनि मामाले मेरो टिकट काटिदिनुभयो । मलाई गाडीमा बसाएर मामा घर फर्किनुभयो । म पनि गाडी हिँड्ने समय कुरेर बसेँ । एकैछिनमा स्करपियो भरियो अनि गाडी हिँड्ने तयारी गऱ्यो । त्यत्तिकैमा एकजना मान्छे आएर, “तिम्रो सिट यो हैन, तिमी ड्राइभरको छेउको सिटमा बस्नुपर्ने यहाँ बसिछौ नानी” भनेर मलाई म बसिरहेको सिटबाट उठायो । अनि म अगाडि गएर ड्राइभरको छेउको सिटमा बसेँ । त्यसपछि गाडी हिँड्यो ।

गाडी हिँडेको केहीबेरमा ड्राइभरले मेरो नाम सोध्यो । मैले आफ्नो नाम भनेँ । उसले मसँग अनेक थरि कुरा गर्न थाल्यो । मलाई उसको कुरामा वास्तै लागेको थिएन । म त झ्यालबाट बाहिर हेर्दै गीतको मजा लिइरहेकी थिएँ । ऊ भने मलाई अनेक कुरामा अल्झाउन खोजिरहेको थियो । तर, मैले उसलाई वास्तै नगरी झ्यालबाट बाहिर हेरिरहेकी थिएँ । त्यतिकैमा मेरो कम्मरमा चिसो महसुस भयो । लाग्यो, कसैले पानी पिउन खोज्दा झुक्किएर पोखियो । तुरुन्तै पछि फर्केँ, म त झसङ्ग भएँ । ड्राइभरको हात पो मेरो कम्मरमा सलवलाइरहेको थियो । मलाई एकदमै डर लाग्यो । त्यही पनि, मैले हिम्मत गरेर, “दाइ यो के गर्नुभएको छोड्नुस् हात”, भनेर उसको हात निकालिदिएँ । तर, पनि उसले हर्कत दोहोऱ्याउन छोडेन । मैले बारम्बार भनिरहेँ तर पनि उसले मानेन । गाडीमा सबै मान्छे गीतको तालमा मस्त थिए । मेरो सानो स्वर कसैले पनि सुनेन । उसको हात कहिले कम्मरमा त कहिले भर्खरभर्खर बढ्दै गरेको मेरो स्तनमा बारम्बार पुगिरहेको थियो । मलाई एकदमै उकुसमुकुस भयो, वान्ता आउला जस्तो, ट्वाइलेट लागेको जस्तो भो । मनमा डर एकातिर थियो भने अर्कोतिर कसरी फुत्किने होला भन्ने पनि भइरहेको थियो । तर, म सहाराविहीन बनिरहेँ । उसले आफ्नो घिनलाग्दो हर्कत दोहोऱ्याइ नै रह्यो । मेरो आँखाबाट आँसु झरी नै रह्यो ।

घर फर्केपछि मलाई कसैसँग पनि बोल्न मन लागेन । म सीधै कोठामा गएर बेसरी रोएँ । आफ्नै शरीर पनि भारी भएको फिल भइरहेको थियो । उसैको हात सलबलाइरहेको जस्तो लागेको थियो । मेरो गल्ती केही थिएन । तर, पनि मनले भने म आफैँलाई दोषी मानिरहेकी थिएँ, आफैँलाई नराम्रो भनिरहेकी थिएँ ।

मैले आजसम्म पनि यो कुरा कसैलाई भन्न सकेकी थिइनँ । गुलाबी संवादको ब्लगमा दु्र्व्यवहारका बारेमा मजस्तै साथीहरूको लेख पढ्न मिसले क्लासमा सुझाउनुहुन्थ्यो । त्यही मौका आज मिलेको छ, त्यसैले मैले आफ्ना कुरा गुलाबी संवादलाई लेखेर पठाएँ ।

यो कुरा लेख्दै गर्दा मेरो मन हल्का भएको छ । महिनौँदेखि मनमा गडेर बसेको पीडा पखालिएजस्तो भएको छ । मिसले सुरुमा गुलाबी संवादको बारेमा भन्दैगर्दा मलाई पनि आफ्ना कुरा राख्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यो कार्यक्रमले मजस्तै किशोर किशोरीले भोगेका कुराहरू पनि अनलाइनमा छाप्छ रे भन्दा कता कता फेरि डर पनि लाग्यो । अनि मैले मिसलाई, “मेरो नाम नआउने भए त म पनि लेख्छु नि मिस”, भनेपछि मिसले, “नाम आउँदैन, खाली तिमीले भोगेका कुराहरू लेख”, भन्नुभयो । अनि आफूमाथि हुने यौन दुर्व्यवहारको बारेमा बोल्नुपर्ने कुरा गरेपछि मैले आफूले भोगेको दुर्व्यवहारको बारेमा लेखेँ र आफूलाई हल्का बनाएँ । मलाई दुर्व्यवहार गर्ने ड्राइभरलाई कारबाही त गर्न सकिनँ तर पनि आफूले भोगेका दुर्व्यवहारका बारेमा बोलेर अरूलाई बोल्नुपर्छ भन्ने कुरा सिकाउने मौका पनि पाएँ ।यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

 

 

No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...