Tuesday, September 7, 2021

ओहो ! त्यो ब्लु फिल्म !

–नाम प्रकाशित नगर्ने सर्तमा

रितेशका दाजुभाइ नै जाडो बिदा मनाउन काठमाडौँबाट गाउँ फर्किएका थिए । प्रत्येक साल बिदामा गाउँ आउँदा उनीहरू अनेकन नयाँ नयाँ कुरा ल्याएर आएका हुन्थे । गाउँमा खेल्न उतिसाह्रो नमिले पनि कहिलेकसो स्केटिङ ल्याएर आएका हुन्थे । कहिले भिडियो गेम त कहिले चेस । यसपाला भने उनीहरूले भिडियो हेर्न मिल्ने डेक नै ल्याएका थिए । 

त्यो बिहान रितेशका बाआमा, हजुरबा र हजुरआमालाई लिएर मन्दिर जानुभएको थियो । रितेशले बोलाएपछि हामी तीन जना उनको घर गयौँ । ब्ल्याक एण्ड ह्वाइट टीभीमा रितेशले डेक जोडिसकेको थियो । हाम्रो लागि त्यो बडो अनौठो जिनिस थियो । रितेशले सानो स्वरमा भन्यो, “केटा हो तिमीहरूलाई आज म अर्कै दुनियाँ देखाइदिन्छु ।” 

मैले बडो जिज्ञासु भएर सोधेँ, “कस्तो अर्को दुनियाँ ? अर्को ग्रह ?” 

मेरो कुरा सुनेर रितेशभन्दा दुई वर्ष कान्छो भाइ विकेश खिसी गरेझैँ गरेर हाँस्यो । रितेशले सानका साथ भन्यो, “तिमेरु गाउँलेलाई यस्ता कुरा के था ? पहिले चुपचाप हेर अनि पानी पानी हुन्छौ ।”

रितेशले रहस्यको पोकोलाई थप कसिलो बनायो । हामी केही बोलेनौँ । हाम्रो अनुहारमा त जिज्ञासाको बाक्लो रंग मात्रै पोतिएको थियो । 

विकेशले एकैछिनमा घरको झ्याल ढोका सबै लगायो । अँध्यारो भएपछि रितेशले ब्ल्याक एन्ड ह्वाइट टीभीमा डेक जोड्यो । डेकमा चक्का हाल्यो । 

हामी अब के देख्न पाइने हो भन्ने भावमा ध्यानमग्न थियौँ । 

टीभीमा जे देखियो त्यो हाम्रो कल्पना बाहिरको कुरा थियो । पूरै निर्वस्त्र केटा र केटी बडेमानको बेडमा पल्टिएका थिए । तिनीहरूले सुरुमा एक अर्काको ओठ जोडे । एकले अर्काको नांगो शरीर मुसारे । 

यो सब देख्दा हामी सबै चकित भयौँ । रितेश र विकेश भने सधैँ हेरिरहेको कुनै सिनेमाको दृश्य हेरिरहेझैँ सामान्य देखिन्थे । तर हाम्रा निम्ति त्यो कल्पना बाहिरको कुरा थियो । त्यस्तो कुरा टीभीमा देखिएला भनेर सोचेका पनि थिएनौँ । 

आफूभन्दा उपल्ला दाइहरूबाट सुन्न त सुनेका थियौँ ब्लु फिल्म हुन्छ रे भन्ने । तर, त्यो कस्तो हुन्छ ? कहाँ बन्छ ? कसले देखाउँछ भन्नेबारे यकिन कुरा सुनेका थिएनौँ । तर, त्यतिबेला त हाम्रै आँखाअघि ब्लु फिल्म चलिरहेको थियो ! 

मेरो छेवैमा रहेको राम घरिघरि टीभीको स्क्रिनमा आँखा पु¥याउँथ्यो घरि भुइँमा औँलाले केही कोतरेजस्तो गथ्र्यो । मेरो हालत पनि रामको भन्दा फरक थिएन । निर्वस्त्र भएका केटाकेटीले टीभीमा धेरैबेरसम्म के गरे भनेर हामीले राम्ररी हेर्न सकेनौँ । 

२० मिनेटको त्यस्तो दृश्य हेरेर फर्किएको कैयन दिनसम्म मेरो मनमा अनौठा कुराहरू मात्रै खेलिरहे । नांगै अनेकन क्रियाकलपा गरिरहेका केटा र केटी मेरो सपनामा पनि बेलाबखत आउँथे । त्यस्तो बेला म पानीपानी भएजस्तो अनुभूति गर्थेँ । 

मेरो एकजना मामाको छोरा थिए । उमेरले ५ वर्ष जेठा । म हरि दाइ भन्थेँ । जेठो भएपनि उनी केटौले र चन्चल स्वभावका थिए । आफूभन्दा साना उमेरका भाईबैनीसँग निजिकिन्थे । अरू दाइहरूले जस्तो अर्ती उपदेश दिने, जतिबेला पनि अनुशासनको पाठ पढाउने, पढ्न पर्दैन ? भनेर किचकिच गरीराख्ने उनको स्वभाव थिएन । त्यही भएर जेठा भएपनि म हरि दाइसँग धक नमानी बोल्न सक्थेँ ।

एकदिन हरि दाइ मलाई जिस्क्याएझैँ गरेर सोध्नुभयो, “केटा गर्लफ्रेन्ड त बनाको छैनस् नि ?”

मैले लाज मानेजसरी छैनको भावमा टाउको हल्लाएँ । 

दाइले सम्झाएजसरी भन्नुभो, “गर्लफ्रेन्ड बनाउने पनि उमेर आउँछ । अहिले त भर्खर त ११ वर्ष पुगिस् । तैँले माया प्रेम भनेको के हो ? प्रेम किन गर्ने ? कोसँग गर्ने भन्ने बुझेकै छैनस् नि त ।”

मैले लाज मानेजसरी टाउको हल्लाइराखेँ । 

दाइले थप्नुभयो, “कम्तिमा पनि आफ्नै खुट्टामा उभिन सक्ने भएपछि यस्ता कुरा सोच्ने हो । त्यतिबेला पो बल्ल तैँले तँलाई कस्तो केटी चाहिन्छ ? केटीको कस्तो स्वभाव, आनी बानी मनपर्छ भन्नेबारे बुझ्न सक्छस् ।”

त्यतिबेला दाइ अरू बेला जस्तै जिस्किँदै बोलिराख्नुभएको थियो । दाइले लाजै नमाने जसरी मलाई फ्याट्टै सोध्नुभयो, “तैँले त ब्लु फिल्म पनि हेरिस् अरे त ।”

कुरा सुनेर मात्रै पनि म लाजले भुतुक्कै भएँ । त्यो भन्दा पनि दाईले यो कुरा कसरी थाहा पाउनुभयो भनेर चकित भएँ । 

धेरै पछि मैले थाह पाएँ, दाइले दिनुभएको चकलेटको लोभमा परेर रामले फिल्म हेरेको कुरा सबै बताइदिएको रहेछ । 

म धेरैबेरसम्म नबोली बसिराखेँ । तर दाइले मलाई गाली गर्नुभएन । न त बाले जसरी नै पिट्नुभयो । 

दाइले मेरो कपाल मुसार्दै सम्झाएजसरी भन्नुभयो, “त्यस्ता फिल्म हेर्ने पनि तेरो उमेर पुगेको छैन ।”

मैले कुरा बुझेझैँ गरेर टाउको हल्लाएँ ।  

दाइले भन्नुभयो, “हेर् केटा ब्लु फिल्ममा देखाएजस्तो जीवनमा हुँदैन । त्यो त घन्टौ लगाएर सुटिङ गरिएको कुरा हो । तैँले पछि बुझ्छस् ।” 

दाइले त्यो दिन मलाई ब्लु फिल्म किन हेर्नु हुँदैन, त्यसले कसरी बालबालिकाको मस्तिष्कमा असर पार्छ भनेर पनि बताउनुभयो । दाइले भन्नुभएको थियो, “हरेक कुराको बुझ्ने उमेर हुन्छ । तँ ठूलो भएपछि के ठीक के बेठीक भनेर छुट्याउन सक्ने भएपछि आफैँ बुझ्छस् । तर ख्याल राख्, जे कुरा घरका सबैजना बसेर हेर्न मिल्छ त्यही कुरा मात्रै हेर् । बाँकी कुरा कहिल्यै नहेर् ।’

ब्लु फिल्म हेरेको कुरा थाहा पाएर दाइले बेस्सरी गाली गर्दै भकुर्नुहोला भन्ने डर लागेको थियो । डरले म लुगलुग कामीसकेको थिएँ । तर दाइले त बडो मायाले मुर्सार्दै मलाई सम्झाउनुभयो । 

अहिले त म ब्याचलर्स पढ्दैछु । बल्ल मैले बुझ्दैछु, ब्लु फिल्म किन हेर्नु हुँदैन भनेर । कसरी त्यसले बालबालिकाको कलिलो दिमागमा असर पार्छ भनेर । 

काठमाडौँको एक कलेजमा ब्याचलर्स पढ्दै गरेका एक युवाले नाम गोप्य राख्ने सर्तमा पठाएको अनुभूति

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...