Tuesday, October 5, 2021

के इज्जत छोरीको योनिमा टाँसिएको हुन्छ ?


–नाम प्रकाशित नगर्ने शर्तमा


मलाई उड्न हौसला दिनेहरू किन मैले हिँडेको देख्न सक्दैनन् ?

म त हिँड्न जन्मिएकी, म त हिँड्न चाहन्छु । जमिन मेरो अस्तित्व हो, अनि आकाश मेरो कल्पना । मेरा आफ्नैहरू मेरो अस्तित्व मेटाउन खोज्छन् । कल्पनामा रमाऊ भन्छन् । तर, म कसरी रमाउन सक्छु र ! किन बुझ्दैनन् कल्पना त एक क्षणिक आनन्द मात्रै हो ! 

क्रान्तिकारी बनी उभिएको बाटोमा जब मेरा पैताला सुत्छन्, तब गिद्धहरूको नजरले मेरो शरीरको हरेक अङ्गलाई एक एक गरी नियाल्छन् ! घर फर्किएर जब ऐनामा आफैँलाई हेर्छु, तब शरीरभर भेट्छु गिद्धे डामहरू । म केही बोल्न सक्दिनँ । बस्, चुपचाप नियालिरहन्छु ती डाम । 

अब भन्नुहुन्छ होला, यस्तो विषय उठाउनुपर्छ, बोल्ने तिम्रो अधिकार हो, आफ्ना लागि आवाज आफैँ उठाउनु पर्छ । किन चुप छौ ? भनेर ।

म बोल्न नसक्ने होइन । अनि बोल्न नचाहेको पनि होइन । आवाज उठाउनु पर्छ, बोल्नुपर्छ, आवाज उठाउनुपर्छ, बोल्नुपर्छ भन्दै चर्को चर्को स्वरमा नारा मात्र लगाउने नारावादीहरूको भीडमा मेरो आवाज नसुनिएको मात्र हो । यहाँ समय बदलिरहन्छ । बदलिएको समयसँगै बदलिएको यो संसारमा, बदलिएका छन् पात्रहरू । अनि बदलिएको छ पात्रहरूको जीवन । यहाँ पात्रहरूको जीवनको पृष्ठभूमी बदलिएको छ, अनि बदलिएको छ अनेक आवरण । तर, कथा भने पुरानै दोहोरिइ रहेको छ । पीडा पुरानै, परिस्थिति पुरानै, अनि जीवनका कहानी, लय र ताल पुरानै । 

आज पनि मानिसहरू जीवनभर आफ्नो इज्जतका लागि मर्छन्, र इज्जतकै लागि मार्छन् पनि ।  आफूले भोगेका पीडा मनमा नै दबाएर, आफैँलाई आफूभित्र दबाएर, आफ्नो स्वतन्त्रताको इज्जत लुट्छन् । र अन्यमा बली चढाउँछन् आफैँले आफूलाई । 

इज्जत भनेको के हो ? इज्जत कहाँ कहाँ टाँस्न मिल्छ होला ? शरीरका कुन कुन अङ्ग इज्जत टाँस्नलाई योग्य छन् होला ? के इज्जत छोरी मान्छेको योनिमा टाँस्नलाई मात्र बनेको चिज हो ? आखिर के हो त इज्जत ?

मेरा प्रश्नहरूको उत्तर यहाँको सज्जन मानिसहरूको जमातसँग छैन । मैले बुझेको समाज र समाजले नबुझेको म उस्तै नै छौँ । मौन !

नारीहरू हिजो पनि इज्जतको आगोमा जलेकै थिए । र, आज पनि उनीहरू जलिरहेका छन् । यो जल्ने श्रृंखलामा सानो मात्रै फरक छ । त्यो फरक के हो भने, हिजो जल्नेहरू इतिहास बनेका छन् अनि आज जलिरहेका र अबका दिनमा जल्नेहरू इतिहास बन्न बाँकी छन् । 

तर, मलाई कदापी त्यस्तो इतिहास बन्नु छैन । मलाई त हिँड्नु छ । कुद्नु छ, मज्जाले उफ्रिनु छ, दिल खोलेर हाँस्नु छ अनि हँसाउनु छ । मलाई लड्न मन छ, लडेर आफै उठ्नु छ, अनि फेरि लडेर फेरि उठ्नु छ र त्यहि लडाईबाट धेरैकुरा सिक्न छ, सिकाउन छ । निरन्तर हिँडिरहनु छ । 

परिवर्तनका लागि मलाई चरा बन्नु छैन । तपाई मानिस बन्नूस् ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

 

No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...