Tuesday, December 29, 2020

आस्थाको डर

गरीमा पौडेल


जब मैले मेरो योनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ, म स्तब्ध भएँ । म केही बोल्नै सकिनँ !

मनमा अनेकौँ कुराहरू खेल्न थाले । मलाई यो के भइरहेको थियो थाहै थिएन । 

मम्मीलाई भन्छु भन्ने सोचले म कोठा बाहिर निस्किएँ । तर त्यहाँ मम्मी होइन, बाबा हुनुहुन्थ्यो । मलाई यस्तो कुरा बाबालाई भन्ने आँट आएन । म मम्मी खोज्दै यता र उता गरिरहेकी थिएँ । त्यतिबेलै मलाई मेरो कपडा भिजेको महसुस भयो अनि म रुन थालेँ ।

यत्तिकैमा सायद बाबाले अनुमान लगाउनु भएछ क्यार । बाबाले भन्नुभयो, “छोरी तिमी नआत्तिय, ममी एकछिनमा आउँछिन् । म एकछिन बजारतिर जान्छु ।” यति भनेर बाबा घरबाट निस्किनुभयो । घरमा म एक्लै थिएँ । हजुरआमा पनि हुनुहुन्थेन । मेरो योनाङ्गबाट रगत बग्न रोकिएकै थिएन । त्यत्तिकैमा बाबा बजारबाट आउनुभयो । उहाँले झोलाबाट केही झिकेर म बसेको ठाउँमा फ्यालिदिनुभयो । मलाई बाबाको यो व्यवहार देखेर अचम्म लाग्यो । बाबा किन टाढैबाट जानुभयो ? किन बाबा मेरो नजिक बस्नुभएन ? किन सामान परैबाट फ्यालिदिनुभयो ? 

मलाई धेरै नराम्रो लाग्यो । सधैँ मेरो वरिपरि बस्ने, मसँगै चल्ने खेल्ने बाबाले आज किन मसँग यस्तो गर्नुभएको होला ? बाबाले फालिदिनु भएको सामान के हो ? यो कसरी र केमा प्रयोग गर्छन् ? त्यो पनि थाहा थिएन मलाई । 

त्यतिबेला मम्मी गोठतिरबाट आउनुभयो, सायद भैँसी बाँधेर । मैले मम्मीलाई देखेपछि उहाँको नजिक गएर रोएँ । अँगालो हालेर रोएँ र सबै कुरा भने । मम्मीले मेरो कुरा सुन्नुभयो र मलाई नआत्तिन भन्नुभयो । मैले उहाँलाई बाबाले ल्याइदिएको सामान देखाएँ र किन ल्याइदिएको भनेर प्रश्न गरेँ । मम्मीले मेरो यो प्रश्न सुनेर मलाई छेउमा लगेर यसको आवश्यकता, फाइदा र यसलाई कसरी प्रयोग गर्ने भनेर सिकाउनुभयो । त्यसपछि म बाथरुम गएर मम्मीले सिकाएको अनुसार प्याड लगाएँ । त्यो प्याड लगाएपछि बल्ल मलाई सजिलो भएजस्तो भयो ।

म बाथरुमबाट निस्किँदा देखेँ, मम्मीले मलाई निन्याउरो मुख लगाएर हेरिराख्नभुएको रैछ । मम्मीलाई मैले यस्तो निन्याउरिएको कहिल्यै देखेकी थिइनँ । मलाई मम्मीको मुख देखेर डर लाग्यो । मैले मनमनै सोचेँ – मैले केही गलत काम त गरेकी छैन ! तर मलाई त्यस्तो गरेकी छुजस्तो केही लागेन । मम्मीले मलाई आफूसँग बोलाउनुभयो र यो समयमा हुने अनेकौँ कठिनाइका बारे सम्झाउनुभयो । 

मम्मीले भन्नुभयो, “यो प्राकृतिक नियम हो छोरी । यो तिमीलाई मात्रै होइन, हरेक छोरी मान्छेलाई हुने कुरा हो । यो प्रकृतिको सुरुआतदेखि छोरीलाई भइआएको कुरा हो । यो जीवनको निश्चित उमेरसम्म भइरहन्छ । यो बेला योनाङ्गबाट रगत बग्छ, पाँच, छ दिनसम्म । यो बेला तिमीलाई तल्लो पेट दुख्ला र त्यसरी पेट दुख्यो भन्दैमा आत्तिने, डराउने होइन । त्यस्तो हुँदा मनलाई शान्त राखेर आराम गरेर बस ।” 


Photo source : https://www.news24.com/health24

यति भनेर मम्मीले मलाई कोठामा छाडेर जानुभयो । केहिबेरमा, पल्लो कोठामा बाबा र मम्मी बसेर गुनगुन गरिरहेको सुनेँ । केही समयपछि मम्मी मेरो दुई चार जोर लुगा झोलामा राखेर बाहिर निस्कनुभयो । अनि मैले मम्मीलाई सोधेँ, “मम्मी हजुर यो झोला बोकेर कहाँ जान लाग्नुभएको ? कसको झोला हो यो ? को कता जान लागेको छ र ?” मम्मीले भन्नुभयो, “नानी तेरो सामान हो यो । अब केही दिन घर बस्न मिल्दैन बाबा र दादालाई देख्न हुँदैन तैँले ।”

त्यसपछि, मम्मीले ठूलीफुपूसँग कुरा गर्नुभयो, “नानी मिन्स भइ अब के गर्ने कता राख्ने होला ?” फुपूले आफ्नो घरमा राख्ने कुरा गर्नुभयो । त्यसपछि मम्मी बाबा अलि ढुक्क देखिनुभयो । अनि म केही दिनका लागि फुपूको घरमा बस्ने भएँ, परिवारबाट अलग भएर ।

म फुपूको घरमा त गएँ तर मलाई असाध्यै नरमाइलो लागीरहेको थियो । मलाई कताकता डाँको छोडेर रुन मन लागेको थियो तर पनि रुन सकिरहेको थिइन । त्यहाँ मेरो फुपूको छोरा अर्थात दादा पनि हुनुहुन्थ्यो । उहाँबाट पनि म टाढा हुनपर्दो रहेछ । यताउता गर्दा राती भैसकेको थियो अनि सुत्ने बेला आयो । सबै जना आफ्नो कोठामा थियौँ । जब बिहान भयो बाहिरबाट आवाज आयो, “नानी बाहिर नआउनू । घाम हेर्न हुँदैन, बाहिर दादा छ उसलाई पनि हेर्नु हुँदैन ।” मलाई लाग्यो, मैले त यो के पाप गरेँ ? घाम पनि हेर्न नपाउने, बाबालाई दादालाई पनि देख्न नपाउने । म अचम्ममा परेँ । यो कस्तो खाले चलन हो ? कसले चलायो यस्तो चलन ? यो त मात्र एउटा प्राकृतिक नियम थियो, म शारीरिक रूपमा स्वस्थ छु, र म प्रजनन क्षमताको लागि योग्य हुँदैछु भन्ने संकेत थियो ।

महिनावारी सुरु भएदेखी हरेक महिना त्यहि क्रम दोहोरिने भएकाले, यसलाई मासिक धर्म भनेको धेरैपटक सुनेकी थिएँ । तर यहाँ त, धर्मको नाममा अनेकौँ अन्धविश्वास जोडेर मलाई सजाय दिइराखिएको थियो । त्यसपछिको प्रत्येक महिना म त्यो सजायको भागीदार भइरहेकी छु । करले त हो नै, त्योसँगै जोडिएको धर्मप्रतिको आस्थाको डरले । 


यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

Tuesday, December 15, 2020

वी आर सो सरी !


बाटुलो अनुहार ।केटाको जस्तै छोटो, तर सिल्की कपाल । ठूला आँखा ।किताबमा घोत्लिरहने लजालु स्वभावकी उनी ।

अरू सबै केटीहरू फ्रकमा स्कुल आउँथे । तर,उनी पेन्ट लगाएर आउँथिन् । छोटो कपाल, पेन्ट अनि मेकअप नगर्ने उनको बानी । यति नै काफी थिए हामीलाई जिस्क्याउन । 

हामी सबैलाई थाहा थियो,उनी म्याथ पढाउने सरकी छोरी थिइन् । त्यही भएर साथीहरू र म मिलेर उनलाई संकेतमा र अंकमा गाली गथ्र्यौं ।

जस्तो कि, 

छ छक्का छत्तिस 

जिरो वानजिरो 

पुरुष र महिलाभन्दा फरक लैङ्गिक पहिचान भएकालाई हेलाहोचो गर्नुपर्छ भन्ने गलत सोचाई हामीसँग थियो । अनि हस्तमैथुन गर्ने कामलाई साथीहरू संकेतमा ३६ भन्थे । यसरी हामी दोहोरो अर्थ लाग्ने शैलीमा उनलाई जिस्काउँथ्यौँ ।

जिरो वानजिरोको संकेत त तपाईंहरूले बुझ्नु नै भयो होला । बुझ्नु भएको छैनभने म भन्छु नि !जिरो वानजिरो भन्नाले केटा मान्छेको यौनाङ्ग । अब त बुझ्नु भयोे नि?हाँस्नु भयो?भनेपछि बुझ्नु भयो ।

मेरो एकजना साथीले उसलाई मन पराउँथ्यो । तर,भन्न सक्दैनथ्यो । भन्ने कोसिस गथ्र्यो, तर डर र लाजले पानी–पानी हुन्थ्यो ।

एकदिन हामीले उसलाई आँटदियौँ । सबै मिलेर लभ लेटर लेखिदियौँ ।

उसले हाफ छुट्टीमा केटीको किताबको बीचमा लभ लेटर राखिदियो ।

भोलिपल्ट ती केटी साथी स्कुल आइनन् । हामीले लभ लेटर दिने साथीलाई जिस्काउँदै भन्याँै, ‘तेरो लभ लेटरको वाणले घाइते भएकी छे । जा मायाको मल्हम लगाएर आइज!’

अर्को दिन उनी स्कुल आइन् । उनी आएको हामीले परैबाट देख्यौँ । हाम्रो साथी मायालु शैलीमा मुस्कुरायो र भन्यो, ‘उसलाई देख्नमात्रै पाउँदा पनि मन चङ्गा हुन्छ यार ।’

तर,केही बेरमै उसको शान्त मनमा तुफान आयो ।

प्रिन्सिपल सरले साथीलाई बोलाउनुभयो । हामी पछिपछि दर्गुर्दै प्रिन्सिपल सरको कोठाको झ्याल बाहिर लुकेर बस्यौँ । त्यो साथीलाई त्यही केटीको नजिकै राखेर हेडसरले साथीलाई रामधुलाई गर्नुभयो । छेवैमा उभिनु भएको म्याथ पढाउने सरले साथीको मुखैमा पर्ने गरी थुक्नु भयो । म्याथ सरकी छोरी, अर्थात पिटाइ खाइरहेको हाम्रो साथीकी‘मायालु’ले पनि उसलाई जोडले गालामा थप्पड हानी ।

सब खेल खत्तम भयो ।

त्यो दिनभर साथी टाउको पनि माथि नउठाई डेक्समा घोप्टिएर बस्यो । उसका आँखामा आँसु त थिएन, तर बदलाको भाव भने प्रष्टै थियो ।

भोलिपल्ट उसले हामीलाई जोस्याउँदै र केही फोहोरी शब्द मिसाएर भन्यो, ‘बुझिस् केटाहो, अब त्यो केटीको बेइज्जत हान्नुपर्छ ।’

‘कसरी ?’ मैले सोधेँ ।

त्यसपछि उसले फिल्मी शैलीमा बतायो र ङिच्च हाँस्यो । साथीहरू जोस्सिए ।

एउटाले भन्यो, ‘बाउ म्याथको टिचर भएर त्यसको सान बढेको ।’

अर्कोले भन्यो, ‘हाम्रो ह्यान्डसम साथीलाई बाल हान्ने त्यसको त्यत्रो हिम्मत?’

मैले पनि जोशै जोशमा यस्तै के–के भनेर साथीलाई उकासेँ । अझभन्दा, उक्सिएँ नि !मायालु भनेर लभ लेटर लेख्दा‘नाइँ’भन्ने केटीको त्यत्रो आँट, त्यत्रो हिम्मत भन्ने बुझाइ हामीमा थियो ।

भोलिपल्ट एउटा हर्कत गरियो । स्कुलभर हल्ला फैलिन समय लागेन । त्यही केटीको मात्रै चर्चा थियो । तर, नराम्रो चर्चा ।

‘त्यसको ब्यागाँ त कन्डम भेटिएको रे !’

‘छ्या कस्ती लाज सरम नभाकी केटी रैछे ।’

‘त्यसले त केटाहरूसँग के के गर्छे रे ।’

‘कन्डम किन्न लाज नि लागेन त्यसलाई ?’

कसैले हाँसोको भावमा खिस्याउँदै भनिरहेका थिए, ‘कन्डम बोक्न सक्ने आँटभएसी, अरू के के बोक्ने आँट छ होला ।’

कसैले भने ठोकुवाका साथ भन्दै थिए, ‘त्यो केटी त बेश्याहो । अस्ति......सँग मस्केर बोलिराथी!’




                                    Photo : yourstory.com


हाम्रो स्कुलमा दुई घन्टीपछि १०मिनेटको मिनी ब्रेक हुन्थ्यो । ट्वाइलेट जान ।त्यही बेला साथीहरूले उसको ब्यागको साइड पकेटमा दुइटा कन्डम खुसुक्क हाल्द्याथे । उसले थाहा पाइन । केटाहरूले त्यसैको फाइदा उठाए । योजना अनुसार,हाफटाइममा कक्षाका सबै साथीलाई जम्मा पारेर एउटाले भन्यो,  ‘यो कोठाबाट बनाना फ्लेवरको कन्डम बास्ना आइराछ ।’ अर्कोले हो मा हो मिलायो । अनि एकैछिनमा केटाहरूले एकै स्वर पारेर भने, ‘सबको झोला चेक गरम् ।’

एकै छिनमा कक्षा भरका सबको ब्याग चेक भयो ।

अनि त ?

केटाहरूले बनाएको योजना सफल बनाउन कत्ति पनि बेर लागेन !

केटाहरूले केटीको झोलामा कन्डम फेला पारेको हल्ला स्कुलभर फैलाए ।बुझेर हो वा नबुझेर, मलाई पनि रमाइलो नै लाग्यो । कन्डम भेटिएको हल्लामा अरू हल्ला पनि मिसिन थाल्यो । हो झैँ लाग्नेगरी अन्य धेरै गलत किस्सा जोडेर त्यो केटीको बदनाम गर्न थाले ।

अन्ततःहल्ला केटीले पनि थाहा पाइ । ऊ डाँको छोडेर रुँदै क्लासमा आइ अनि ब्याग च्यापेर घरतिर दगुरी ।

त्यसको भोलिपल्टबाट त्यो केटी स्कुल आइन । स्कुलमा अनेकन हल्ला फैलिरह्यो । हल्ला सुनेर यो सबै घटनाको योजना बनाएको मेरो साथीले मनोरञ्जन लिइरह्यो ।

ऊ भन्थ्यो, ‘बल्ल देखि त्यसले मेरो पावर । मलाई मन नपराउने ?त्यसको त्यत्रो हिम्मत ।’

पछि हामीले थाहा पायौँ, म्याथ सरले त्यो केटीलाई अर्कै स्कुलमा भर्ना गरिदिएछन् ।

अहिले त्यो घटना सम्झिँदा मात्रै पनि लाज लाग्छ । लाजभन्दा धेरै आफैँसँग रिस उठ्छ । मैले मात्रै त्यो केटी साथीलाई साथदिएको भए, सायद उसले दुव्र्यवहार भोग्नु पर्दैनथ्यो कि? वा आफ्ना साथीहरूलाई ती सबै काम गर्न रोकेको भए? कन्डम राख्ने योजना म्याथ सर वा प्रिन्सिपल सरलाई मैले पहिल्यै सुनाइदिएको भए?

तर,त्यतिबेला मैले रमाइलो मात्रै मानिरहेँ । कुनै केटीले केटाको प्रस्तावलाई अस्वीकार गर्नु भनेको, केटालाई हेप्नु हो भन्ने ठानेँ । आफ्नो केटा साथीको प्रेम प्रस्तावलाई त्यो केटीले अस्वीकार गरेर सबै केटाहरूलाई अपमान गरेको महसुस गरेँ ।

बल्ल आजकल बुझ्दै छु, कुनै केटीको ‘नाइँ’लाई स्वीकार नगर्नु भनेको त्यो केटीको अपमान गर्नु रहेछ । 

आफूले मन पराउने बित्तिकै केटीले मन पराउनै पर्छ भन्ने हुँदैन भनेर मलाई र मेरा केटा साथीलाई कसैले सिकाएन ।केटीका पनि आफ्नै रोजाइ, रहर र रुचि हुन्छन् भनेर बताएन । केटीले मन पराउँदिन भन्दैमा केटाको इज्जतनै जाने, सम्मान नै गुम्ने पनि त होईन रहेछ भनेर कसैले सिकाएन ! अहँ सिकाएन !

ती केटी साथीको हृदयमा चोट पु¥याउने मध्येको म पनि एक थिएँ । उनलाई कति चोट पुग्यो होला?

के उनले त्यो घटना बिर्सिइन् ?

तर,मान्छेले कसरी बिर्सन सक्छ र ?

माफीको लायक त छैन, तर पनि माफी चाहन्छु ।

प्यारी साथी, तिमीले यो पढ्दैछौ भने सबै साथीको तर्फबाट माफी चाहन्छु, ‘वि आर सो सरी !’

(लेखकको नाम गोप्य राख्ने सर्तमा प्रकाशित गरिएको)



यस लेख जुनसुकै माध्यमबाट प्रकाशन÷प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, December 1, 2020

त्यो हर्कत, त्यो सजाय

रितीका अधिकारी

टिनटिनटिन...घण्टी बज्यो । सबैजना घर जाने भनेर खुसी भए । मलाई भने कहिल्यै घर जान नपरे हुन्थ्यो झैँ भएको थियो । आँखैअघि हरबखत त्यही मान्छेको अनुहार आइरहन्थ्यो ।

टोलाइरहेकी थिएँ ।

उसैको हात बिस्तारै मेरो तिघ्रामा सल्बलाएको महशुस गरेँ ।

आस्था...ए आस्था...झसङ्ग भएँ ।

मधुले ढोकाबाट बोलाइरहेकी रहिछे, ‘तँ कता टोलाको के, सबैजना गइसके ।मधुले भनी ।

हामी कलेजबाट निस्कियौँ । मौन । मलाई हिजैको घटनाको झल्को बारम्बार आइरहेको थियो । जतिबेला पनि त्यो हात घरि मेरो तिघ्रामा सल्बलाइरहेको त घरि मेरो छातीसम्म पुग्न खोजेको महशुस गरिरहन्थेँ । भित्रभित्रै रुन्थेँ।कराउँथेँ ।

मनले त ठूलो स्वरमा हात हटा...भनिरहन्थ्यो । आँसुले भरिन्थे आँखा । तर झर्न भने सक्दैनथ्यो ।

कस्तो कस्तो हुन्छन् है केटा मान्छेहरु...छ्या !’ मधुले भनी ।

किन र ?’ मैले प्रश्न गरेँ । भर्खर भनेँ तउसले उत्तर दिइ । सरी यार, मैले त केही सुनिनँ, फेरि भन् न ।

पुल आइसक्यो । म भोलि भन्छु तँलाई ।यति भनेर ऊ पुलतिर उक्लिई । म गाडी चढ्नेतर्फ लागेँ । मलाई गाडी चढ्ने मनै थिएन । हिँडेरै घर जाऊँ जस्तो भइरहेको थियो । तर, त्यसो गर्नु सम्भव पनि थिएन । आज त त्यो मान्छे नपर्ला कि भन्ने आशमा गाडी कुरेर चढेँ । लास्ट सिट मात्रै खाली थियो । म त्यहीँ गएर बसेँ ।

एकैछिनमा गाडीको ढोका छेउमा मैले त्यही अनुहार देखेँ । त्यही अनुहार, जसले मलाई हिजोदेखि छाडेको थिएन । त्यही अनुहार, जसले गर्दा मेरो मन चिच्चाइरहेको थियो, रोइरहेको थियो । म डराएँ, आत्तिएँ ।


हिजोको घटना झल्झली याद आयो । म पसिना पसिना भएँ । ऊ लास्ट सिट अगाडि नै आएर उभियो । मेरो छेउमा बस्नुभएको आण्टी नओर्लिए हुन्थ्यो भनी मनमनै प्रार्थना गरिरहेँ । तर आण्टी ओर्लिनुभयो र त्यो मान्छे हिजोजस्तै मेरो छेऊमा आएर बस्यो । उसले मलाई हेरिरहेको थियो । मैले टाउको घुमाएर उसलाई हेर्नै सकिनँ । के गरौँ, कसो गरौँ भयो । एकैछिनमा मलाई मेरो काखीभन्दा अलि तल कसैको हात सल्बलाइरहेको भान भयो । म जुरुक्क उठेँ, सहचालकलाई भाडा दिएँ र रुँदैरुँदै ओर्लिएर अर्को गाडी चढेँ ।

                                             Photo: fairygodboss.com 

घर पुगेपछि बाथरुम पसेर निकैबेर रोएँ । अरूबेला एकपटक रोएर हल्का हुने मन, हिजो र आज भएन । बरु, झन्झन् भारी हुँदै गइरहेको थियो । होमवर्क गर्न त बसेँ, तर गरिनँ । गर्नै सकिनँ । बरु, घरमा कसैले थाहा नपाउने गरी रोइरहेँ । धेरैबेर । भोलिपल्ट बिहान छिट्टै आँखा खुलेपनि म सुतिरहेँ । ममीले हैन कति सुतेकी आजभोलि । कलेज जाने बेला भइसक्यो, अब त उठ्भनेपछि उठेँ । मलाई कलेज जान मन थिएन ।

ममी, आज म कलेज जाँदिन नि है ?’ ममीलाई सोधेँ । किन नजाने कलेज ? आज त झन् तेरो प्राक्टिकल छ ।ममीले भनेपछि पो बल्ल याद आयो । आज फिजिक्सको प्राक्टिकल हो भनेर । हतार हतार प्राक्टिकल बुक र कापी ब्यागमा हालेँ । निस्किएँ । मैले त प्राक्टिकल नै गरेको छैन भन्ने पिर मान्दै कलेज पुगेँ ।

दिमागमा कताकतिप्राक्टिकल र होमवर्कको चिन्ता थियो भने कताकति हिजोअस्तिको घटनाको आघात । प्राक्टिकल क्लासमा खाली कापी बुझाउँदा सरले निकै गाली गर्नुभयो र भोलि गरेर आऊ भन्नुभयो । सधैँ होमवर्क गर्ने म त्यो दिन गरिनँ । साथीहरू पनि छक्क परे ।

किन नगरेकी ?’ मधुले सोधिरही ।तर मैले जवाफ दिन सकिनँ । बरु, सर र साथीहरूको अगाडि मौन बसिरहेँ । मेरो मनमा भएको त्रास मेरो आँखामा सजिलै छापिएको थियो । म जतिबेला पनि त्यो मान्छे गाडीमा नपरे हुन्थ्यो भन्ने सोचिरहन्थेँ ।

अन्तिम क्लास सकिएको घण्टी बज्यो ।त्यो दिन हामी कलेजबाट निस्कियौँ र गफ गर्दै पुलसम्म पुग्यौँ । त्यसपछि मधु आफ्नो बाटो लागी र म आफ्नो बाटो । गाडी कुर्ने ठाउँनेर पुगेपछि म झसङ्ग भएँ । मेरो मन एकदमै अत्तालियो । मानवरूपी दानव त त्यहीँ आइपुगेछ ।

डराउँदै सोचेँ, ‘त्यो मान्छे चढिसकेपछि मात्र म अर्को गाडीमा चढ्छु । एकैछिनमा गाडी पनि आयो । केही मान्छे चढे । र, गाडी हिँड्यो । अब त त्यो दानव पनि गयो होला भनेर यसो बायाँतिर हेरेको, ऊ त आफ्नो गिद्धे नजरले मलाई घुरेर त्यहीँ उभिएको रहेछ । त्यसपछि २, ३ वटा गाडी आए । तर, न ऊ चढ्यो, न त म । अबको गाडी पनि नचढे तघर पुग्न ढिलो हुन्छ भनेर म त्यसपछिको गाडी चढेँ । अबेर भएर होला, गाडी खाली खाली नै थियो । म ढोकापट्टिको चौथो सिटमा गएर बसेँ । महिला सिटमा बस्दा कहिले आण्टीहरूले त कहिले बिरामीहरूले सिट माग्दा छोडिदिनुपर्थ्यो । त्यही भएर म महिला सिटमा बस्दिनथेँ । त्यो मान्छे अरू सिट खाली हुँदाहुँदै पनि मेरै छेउको सिटमा आएर बस्यो ।

सधैँजस्तो गाडी फेर्नुभन्दा बरु आज सिट फेर्छु भन्ने सोचेँ । जुरुक्क उठेर वरपर हेरेँ । गाडी सहिदगेट पुगिसकेको रहेछ । बाँकी सिटमा पनि मान्छेहरू चढेर बसिसकेका रहेछन् । म फेरि त्यहीँ बस्न बाध्य भएँ । लाचार र असहाय । आफ्नै घर फर्किन पनि मलाई यस्तो अमानवीय र तुच्छ व्यवहार झेल्नुपर्ने !

अस्तिको दिनको घटना मेरो दिमागमा स्लाइड सो जसरी आउन थाल्यो ।

अफिस जाँदो हो, त्यसैले ऊ सधैँ सुटमा हुन्थ्यो । अचानक मलाई छातीभन्दा तल चिसो महशुस भयो । झट्ट हेरेको त्यो राक्षसले हात आफूतिर लगेको देखिहालेँ । मेरो सर्टको एउटा टाँक खुल्लै थियो । म शून्य भएँ । दिमाग खाली भयो । शरीर पूरै चिसो भयो । मैले केही सोच्नै सकिनँ । हत्तपत्त ब्यागले छोपेर सर्टको टाँक लगाएँ र सहचालकलाई गाडी रोक्न भनेँ ।

एकछिन ल, पारि गएर रोक्छ गाडी ।सहचालकले भने । गाडी नरोकुन्जेल ढोकानेर उभिइरहेँ । आँखाबाट आँसु बगिरहेका थिए । सायद आँखा राता पनि भएका थिए । सहचालक दाइले सोधे, ‘बहिनी, के भयो ?किन रोएकी ?’ मैले दायाँबायाँ टाउको हल्लाएर केही होइनभन्ने इसारा गरेँ । गाडी कलङ्की पारि रोक्यो । म ओर्लिएँ र टुसुक्क बसेँ । मलाई अझैपनि छातीभन्दा तलतिर चिसो महशुस भइरहेको थियो । म त्यहीँ बसेर रोएँ । वरपरका मान्छेहरूले मलाई हेर्दै जाँदै गरिरहेका थिए । म निकैबेर रोएँ र अर्को गाडी चढेर घर गएँ ।

हिजोअस्तिको जस्तै घर पुगेर पनि म रोइरहेँ । बिहानपख उठ्दा ममीले भनिरहनुभएको थियो, ‘त्यस्तो बोल्ने मान्छे, तँलाई के भएको छ हँ आजभोलि? कलेज पठाइदिएको खाजा पनि नखाएरै फर्काएकी छेस् । कि मीठो भएन र ?’

होइन ममी । हिजो खाजा खाने बेलामा सरले बोलाउनुभयो । त्यही भएर खान भ्याइनँ ।बहाना बनाएँ । किन ममीलाई झुटो बोलेँ भनेर म आफैँलाई प्रश्न गरिरहेकी थिएँ । त्यसपछि म ड्रेस लगाउन गएँ । ड्रेस लगाउँदै ऐना हेरेँ । एकछिन त्यहीँ रोकिएँ । त्यही हात मेरो तिघ्रा र छातीमा हिँडिरहेको देखेँ । त्यो हात पन्छाउन खोजेँ । शरीरमा भए पो पन्छिन्थ्यो होला त ! मस्तिष्कमा छापिएको त्यो हात, त्यो राक्षसको अनुहार कहाँबाट पन्छिन्थ्यो र ?


Photo : record.horacemann.org


जसोतसो तयार भएर कलेज पुगेँ ।

कलेज पुगेपछि मधुसँग भेट भयो । भेट्न नपाउँदै उसले सोधी, ‘आज त गरेर ल्याइस् नि प्राक्टिकल?’ ला !मैले फेरि बिर्सिएछु । याद पनि कसरी होस् त ?

ला...छैन यारभनेँ, ‘हैन तँलाई के भइरहेको छ हँ ?न होमवर्क गर्छेस्, न प्राक्टिकल गर्छेस्...क्लासमा पनि ध्यान दिएर सुन्दिनस्, बोलाए पनि सुन्दिनस्...आखिर के चलिराछ तेरो दिमागमा ?’ उसले सोधी ।

अब मैले मेरो मनको भारी नबिसाउनुको धर थिएन । बिसाएँ । रुँदैरुँदै । ऊ अचम्म परी । र, भन्न थाली, ‘मसँग पनि यस्तै घटना भएको थियो । अस्ति तँलाई यही भनेकी थिएँ, तर तैँले सुनिनस् । अन्तै टोलाइराखेकी थिइस् । त्यसैले ।मैले सोधेँ, ‘के भएको थियो र ?’ ऊ बोल्न थाली, ‘अस्ति एकदिन मेरो छेऊमा एउटा मान्छे बसेको थियो । बसेको एकछिनपछि त्यसले आफ्नो हात मेरो छातीनेर ल्याउन थाल्यो । मैले उत्तिखेरै त्यसको हात च्पाप्प समातेर अगाडिको सिटमा ठोक्काइदिएँ । त्यसपछि तुरुन्तै उभिइरहेका मान्छेहरूले सहचालकलाई बोलाए र त्यो मान्छेलाई गाडीबाट निकाले । तँ यत्रो दिनदेखि किन सहेर बसेकी ? उत्तिबेलै त्यसलाई गाली गरेर त्यसलाई गाडीबाट निकाल्दिनुपर्छ नि ।

ऊ बोल्दाबोल्दै मैले बीचमै रोकेर भनेँ, ‘अनि पछि त्यो मान्छेले केही गर्यो भने नि ?’ मधुले निधारमा लगभग तीनवटा गाँठो पारेर भन्न थाली, ‘तैँले यस्तै सोचेर त्यसले तँलाई यत्रो दिनसम्म यातना दिइराख्यो । हाम्रो यस्तै डरले यस्ता मान्छेलाई प्रेरणा मिल्छ । पछि तँलाई केही गर्न खोजेपनि तँलाई सहयोग गर्ने कोही न कोही तेरो वरपर वा तँभित्रैमा हुन्छ । हामीसँग त कम्पास, पेनजस्ता चिजहरु पनि त हुन्छन् नि । एक्लै भएको बेला यस्तै चिजले घोचेपनि भइहाल्यो । बुझिस् नि ? आजदेखी चुप लाग्ने होइन । आवाज उठाउने हो, लड्ने हो । यस्तालाई सजाय दिलाउने हो ।

मुधको कुराले मलाई मनमा छोयो । म एकछिन अचम्मित भएँ । आफैलाई प्रश्न गर्न थालेँ, ‘किन चुप भएँ म यत्तिका दिन ?’ हिम्मत जागेर आयो ।

आजपनि हामी पुलसम्म गफ गर्दै पुग्यौँ र बाई भनेर छुट्टियौँ ।

आजभने त्यो मान्छे गाडी चढ्ने ठाउँनेर थिएन । एकछिनमा गाडी आयो र म चढेँ । सधैँजसो आजपनि लास्ट सिट मात्रै खाली थियो । त्यसैले त्यहीँ गएर बसेँ । कालिमाटी पुगेपछि त्यही राक्षसको अनुहार ढोकानेर देखेँ । त्यसले मलाई उही गिद्धे नजरले हेरिरहेको थियो । रविभवन आएपछि मेरो छेउमा बसेकी दिदी ओर्लिनुभयो र त्यो मान्छे मेरो छेऊमा बस्यो । उसले आफ्नो हात मेरो छातीतर्फ बढाइरहेको थियो । मैले तुरुन्तै त्यसको हात च्याप्प समातेर झट्कारेँ ।

तेरो हात काट्दिम्?’ म चिच्याएँ ।चर्को स्वर गरेँ,‘भन् तेरो हात काट्दिम्?’गल्लीमा उभिएका र सिटमा बसेका सबै मतिर हेर्दै लगभग एकै स्वरमा सोधे, ‘के भयो नानी ?’

म बोल्न थालेँ । रिसले दाँत किट्किटाएका थिए ।यसले २/४ दिनदेखि मलाई यस्तै गरिरहेको छ । चाल मारेर सधैँ आफ्नो हात मेरो शरीरमा ल्याउँछ । कता कता छुन खोज्छ ।

यसलाई पुलिसकोमा लैजाऊँ । बसका सबैजसो एकैस्वरमा कराए ।

नभन्दै सहचालक दाइले तुरुन्तै चालकलाई भनेर गाडी पुलिस चौकीनेर रोकाए ।

त्यो मान्छेलाई पुलिसको जिम्मा लगाइयो ।

मलाई ठूलै भारी बिसाएझैँ भयो । कैयौँ दिनदेखि हावाहुरी चलिरहेको मन शान्त भयो ।

भोलिपल्ट कलेज गएँ । सरलाई प्राक्टिकल पनि बुझाएँ र सबै पिरियडमा ध्यान दिएर पनि पढेँ । त्यो दिन,अन्तिम पिरियड सकिएको घण्टी पनि बज्यो ।

टिनटिनटिनटिन...

म खुसी हुँदै घर फर्किएँ ।


यो लेख 
जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नु होला।

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...