Tuesday, June 29, 2021

र, मैले बाबालाई कुटेँ...


-निकिता अधिकारी

Photo Source: shutterstock.com


घरेलु हिंसा भन्नाले एउटै घरमा बस्ने एक व्यक्तिले अर्काेलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना भन्ने बुझिन्छ । तर, जुन व्यक्तिले यातना दिएको हो त्यो व्यक्तिको मानसिक अवस्था ठीक छैन भने के त्यसलाई घरेलु हिंसा मानिन्छ ?

म छोरी । एउटा लाचार छोरी । लाचार किन छु, म भन्छु नि । मेरो आमाले बाबाको कुटाइ खान्छिन् । तर, समाजले त्यसलाई घरेलु हिंसा भन्दैन । मेरो घरमा रातदिन झगडा हुन्छ, घरको दराजबाट पैसा हराउँछ । तर, यो कुरा पुलिस थानासम्म पुग्नु हुँदैन । 

मेरो जीवन अरूले सोचेको भन्दा धेरै फरक छ । म बाहिरबाट खुसी देखिन्छु तर, भित्रबाट निकै दुःखी छु । ममाथि समाजले प्रश्न उठायो, “किन तैँले तेरो बाबालाई तँ भनिस् ?” भनेर, अनि मैले हाँस्दै जवाफ दिएँ, “म त्यो बाबालाई सम्मान दिन सक्दिनँ जो दिनभर दुःख गरेर कामबाट फर्किएकी मेरी आमालाई निलडाम हुने गरी कुट्छ ।” यो कुरा भन्ने मन त थिएन तर, म बाध्य थिएँ । जुन दुई हात बाबाको सम्मानको लागि जोडिनु पर्ने हो, ती दुई हात आज उनलाई कुट्नको लागि उठे । पहिलोपल्ट कसैलाई कुट्नको लागि हात उठेको भएर होला मन भित्रबाट चस्स दुखिरहेको छ । तर, म खुसी छु, किनकि, आज मैले पहिलो पल्ट मेरी आमालाई कुटाइ खानबाट बचाएँ ।

मेरो बाबा जसले बाबा र एउटा श्रीमान हुनुको कुनै कर्तव्य पूरा गर्नुभएको छैन । बाबाले विवाह अघिदेखि नै नसालु पदार्थको सेवन गर्नु हुन्थ्यो रे ! विवाह गरेपछि सुधार हुन्छ भन्ने समाजको गलत धारणाले गर्दा, बाबाको बिहे मेरी आमासँग भयो । बिहे गरेको एक वर्षपछि म जन्मिएँ र अर्काे वर्ष माइली बहिनी र त्यसपछिको वर्ष कान्छी बहिनी । 

बर्सेनि हामी तीन छोरी जन्मियौँ । तीन सन्तान नै छोरी जन्मिएर हो कि अरू नै कारणले हो, बाबाले जागिर छोड्नु भयो । दिनभर गाउँ डुल्ने र घरबाट पैसा चोरेर बेलुका रक्सी खाएर आउने । कामै यही । नसालु पदार्थको सेवनले यस्तो भएको भन्ने सोचेर हामीले बाबालाई ६–६ महिना गरेर दुईपटक सुधारगृहमा राख्यौँ । तर, केही सुधार भएन । त्यसपछि समाजले मेरो बाबालाई मानसिक सन्तुलन ठीक नभएको घोषणा गरिदियो । त्यसैकारण बाबा जस्तो भएपनि मेरी आमाले सहेर बस्नु भएको छ । उनले खाएको कुटाइलाई घरेलु हिंसामा गनिँदैन । घरमा भएको चोरीमा पुलिस केस हुँदैन । तर, यो गलत होइन र ?

म अहिले १९ वर्षे भएँ । धेरै कुरा बुझ्ने भएकी छु । बहिनीहरूलाई पनि बुझाउँछु । तर, के यस्तो वातावरणमा मेरो बाल्यकाल सामान्य रह्यो होला त ? मैले मागेको खेलौना, गुडिया, कपडा तथा मेरो सबै इच्छा मेरी आमाले पूरा गरिदिए पनि मनमा सधैँ एउटा डर रही रहन्थ्यो ।

कतै बाबाले कुटेर मेरी आमालाई केही भइहाल्यो भने म अनि मेरा बहिनीहरू अनाथ हुन्छन् भन्ने डर र आफू र आफ्ना बहिनीहरूलाई बाटोमा माग्दै हिँडेको कल्पना गर्दा मात्रै पनि आँखाबाट बररर आँसु झर्छन् । अहिले पनि डर लाग्छ कतै म घरमा नभएको बेला पारेर बाबाले आमालाई कुट्ने हो कि भनेर । 

के हामी जिन्दगीभर यही डरमा बाँच्नुपर्छ ? हामीलाई खुसी र ढुक्क भएर बाँच्न पाउने अधिकार छैन ? के मेरी आमाको ठाँउमा बाबा भएको भएपनि समाजले त्यही सहेरै बस्नुपर्छ भन्थ्यो होला त ? हाम्रो समस्याको हल आखिर कहिले हुन्छ ?

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, June 15, 2021

गोजी

 

–नाम प्रकाशित नगर्ने सर्तमा 



Photo Source: www.formpl.us/


भिजेको लुगा, भिजेको आफ्नै शरीर आफैँलाई ह्वास्स गन्हाइरहेको थियो । घाँस काटेर घर फर्किंदा सधैँ स्कुल जान हतारै हुन्थ्यो । बिहान घाँस नकाटी स्कुल जान पाइने कुरा सपनाजस्तै थियो ।

अहिलेजस्तो सजिलो त कहाँ थियो र ? घरको सबै काम आफैँले सक्नुपथ्र्यो । दलित समुदाय, त्यो पनि चरम गरीबीमा थियो मेरो परिवार । बुवाको आरन थियो । त्यही आरनबाट हाम्रो १३ जनाको परिवारको पेट भरिन्थ्यो ।

हतार मै घाँसको भारी बिसाएर, हुर्रिँदै घरभित्र पसेँ । स्कुलमा प्रार्थना गर्ने घण्टी बजेको सुनिरहेकी थिएँ । घरबाट स्कुलको दूरी मुस्किलले दुई मिनटको थियो । घाँस काट्न जाँदा पानीले छपक्कै भिजेको लुगा खोलेर बार्दलीमा मिल्काएर स्कुलको लुगा लगाएँ । किताब हातमा बोकेर तल ओर्लेँ ।

हावा झैँ बत्तिँदै बाहिर निस्कँदै थिएँ, आमा कराउनु भयो, “क्यार्न बतासिछस् आँटो खाएर जा । भोकै जानि हैन ।” भोकका कारण आमाको बोली मैलेभन्दा पहिले मेरो पेटमा कुदेका मुसाले चाल पाएछन् क्यारे, मेरा खुट्टा टक्क रोकिए । राम्रोसँग नपाकिसकेको आँटो खाएर म स्कुलतिर हान्निएँ ।

१४ वर्षकि भएपनि म पाँच कक्षामा पढ्थेँ । दलित समुदाय, त्यसमाथि एकदमै गरीब थियौँ हामी । हामीलाई हातमुख जोर्न निकै गाह्रो थियो त्यो बेला । त्यही भए पनि पढ्न पाएकोमा म एकदमै खुसी थिएँ ।

पहिलो घण्टी सुरु भैसकेको थियो । र, सधैँझैँ आज पनि म ढिला नै भएकी थिएँ । धनसरी मभन्दा पछि कक्षामा पसी, मलाई ढुक्क भयो । दुईजना भएपछि एक्लै गाली खानु पर्दैन भन्ने कुराले केही राहत दिएको थियो मलाई ।

तर, अचम्म भयो ! अंग्रेजी पढाउने सर एक वचन बोलेनन् । बरु उल्टै, “मन्कली तेरो रोल नम्बर कति रे ?” भन्दै हाजिर पो गरिदिए । ए आम्मा हो के जादू भयो आज ? अरू बेला, सिम्किनाले तिघ्रामा सुम्ला उठाउने हाम्रा अंग्रेजी सर आज बौलाएछन् कि जस्तो लाग्यो । मैले धनसरीको मुखमा पुलुक्क हेरेँ, उसले पनि मेरै मुखमा हेरिरहेकी रैछे । हामी एकछिन एकअर्कालाई हे¥यौँ तर केही बोलेनौँ ।

केही बेरमा सर मेरो नजिक आउनुभयो, अनि मलाई धेरै बेर हेर्नुभयो । कक्षाका सबै साथीले मलाई हेर्न थाले । चर्काे स्वरमा सरले सबैले हिजोको होमवर्क निकाल्न निर्देशन दिनुभयो । यति भनेर सरले, “मन्कली तैँले पनि होमवर्क गरेकी छैनस् होला हैन ?” भन्दै मेरो ढाडमा सुम्सुम्याउन थाल्नुभयो । आमाले अघिल्लो दिन मात्रै दिनुभएको खिपवाला ब्रा लगाएकी थिएँ । “तँ ठूली भइस् । अब यस्तो लाउनु पर्छ भनेर जिम्मालकी बुहारीले दिएकी थिइन्” यसो भनेर आमाले मलाई त्यो ब्रा दिनुभएको थियो । ब्रा पाएर मख्ख परेकी मैले, जानी–नजानी त्यसलाई लगाएकी थिएँ ।

सरले ढाडमा सुम्सुम्याउँदा मलाई कता कता डर लाग्यो, कतै आमाले जिम्माल कि बुहारीले दिएको भनेर मेडमको ब्रा नसोधी ल्याउनु भएको रैछ कि ? त्यही थाहा पाएर सरले मलाई यसरी ढाडमा सुम्सुमाइरहेका हुन् कि ? मेरो मनमा यस्तै तर्कना चल्दै गर्दा सरले मेरो ब्राको खिप फुस्काइदिनुभयो । त्यसपछि मलाई आफूले लगाएको ब्रा मेडमकै हो भन्ने लाग्यो । ब्राको खिप खोलेपछि सरले मेरो सर्टको गोजीमा हात हाल्नुभयो र भन्नु भयो, “खै खै के राखेकी छस् मन्कली तैँले गोजीमा ?”

मेरो गोजीमा केही पनि थिएन । मैले केही छैन सर भन्न नपाउँदैँ सरले गोजीभित्रै हात राखेर मेरा स्तन माड्न थाल्नु भयो ! १४ वर्ष पुगेकी भएपनि मलाई अंग्रेजी सरको हर्कतका बारेमा थाहा थिएन । साँच्चै सरले गोजीमा केही खोज्दा मेरा स्तन माडिएका होलान् जस्तो लाग्यो । अलिबेर मेरा स्तन माडेपछि सरले धनसरीको सर्टको गोजीमा पनि हात हाल्नुभयो । र, मेरै गोजीमा खोजे जस्तै गरी उसको गोजीमा पनि केहीबेर खोइ के हो खोजिरहनु भयो ।

++

झन्डै २२ वर्षपछि आज । मेरी छोरीको १४ औँ बर्थडेको दिन मैले स्कुलमा भोगेको त्यो घटना आज अनायश आँखामा आएका छन् । छोरी पनि त्यही स्कुलमा पढ्छे । अंग्रेजी पढाउने सर पनि उनै छन् । तर, म १४ वर्षकी हुँदा पाँच कक्षामा पढ्थेँ मेरी छोरी नौ कक्षामा पढ्छे । त्यतिबेला पाँच कक्षासम्म मात्रै पढाइ हुने स्कुलमा अहिले १० कक्षासम्म पढाइ हुन्छ ।

मैले पाँच कक्षाभन्दा माथि पढ्न पाइनँ । स्कुल छोडेको केही वर्षमा मेरो बिहे भयो । पहिलो सन्तानको रूपमा छोरी जन्मिई र त्यही स्कुलमा ऊ पढ्न थाली । हरेक दिन छोरी स्कुल गएपछि मेरो मुटु पोल्न थाल्थ्यो । कतै मेरी छोरीको गोजीमा पनि त्यसरी नै हात छिरेको छ कि भनेर ? म सधैँ डराउथेँ । श्रीमान्लाई भन्न सक्दिनथेँ । तर, समय समयमा छोरीलाई अंग्रेजी सरको बारेमा सोध्थेँ । सानो कक्षामा हुँदा छोरीले सरको नाम लिएर भन्थी, “अहिले उहाँले दाइ दिदीलाई पढाउनु हुन्छ ।”

अहिले भने ऊ त्यही दाइ दिदीले पढ्ने नौ कक्षामा पढ्छे । स्कुल त्यही छ, उसलाई अंग्रेजी पढाउने सर त्यही छन्, छैन त केवल मेरी छोरीको सर्टमा गोजी । र, यही कुराले मलाई ढुक्क बनाउँछ । मेरी छोरीको सर्टमा गोजी छैन, म यही कुरा बारम्बार दोहो¥याउँछु –– मेरी छोरीको सर्टमा गोजी छैन !

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।




Tuesday, June 1, 2021

काउकुती लगाउने त्यो सपना

–नाम प्रकाशित नगर्ने सर्तमा 



Photo Source: yahoo.com


सुनसान जंगल थियो । बडेमानको रूखमुनि हामी टुसुक्क बसेका थियौँ । अनि हाम्रो सामुन्ने अग्लो झरना थियो । झरनाको पानीलाई छुँदै अगाडि बढेको हावाको बेगले हामीलाई चिसो बनाइरहेको थियो । तर, हाम्रो शरीर भने एक अर्काको स्पर्शले बिस्तारै तात्दै थियो । चिसोबाट बच्न हो कि एक अर्काको मायामा डुबेर हो, हामी टाँसिदै टाँसिदै गइरहेका थियौँ । यस्तो लाग्थ्यो, केही बेरमा हामी दुईबाट विलीन भएर एक मान्छे बन्नेछौँ ।

एक मान्छे बन्ने प्रक्रियामा सामेल भएको केही बेरमै म झल्याँस्स ब्युँझे । म नबिउँझिनु पथ्र्यो । कोही मान्छे पनि यति मीठो सपनाबाट ब्युँझिन चाहँदैन । मैले वरिपरि हेरेँ, म मेरै खाटमा थिएँ । चकमन्न अँध्यारोमा पनि खाट छेउमा स्कुलका किताब र एक छेउमा मैलै साँझ गर्दागर्दै अल्छी लागेर छाडेको होमवर्क गर्ने कपी खुल्ला हालतमा देखियो ।

त्यसो भए म एकैछिन अघि कहाँ थिएँ ? कसको अंगालोमा थिएँ ? किन त्यसरी जोडले टाँस्सिएको थिएँ ? त्यो झरना कहाँको थियो ? त्यो वन कसको थियो ?

दिमागमा एकपछि अर्का प्रश्न आइरहेका थिए । म फेरि झसंग भएँ । जतिबेला मेरो हात कट्टुमा प¥यो । पिसाब फेर्ने ठाउँको भाग चिसो थियो ।

के मैले पिसाब फेरेँ ?

के झरना झरिरहेको देख्दादेख्दै मैले कट्टुभित्र झरना बगाएँ ?

मैले कट्टुभित्र हात छिराएर चिसो लागेको भाग छामे । त्यो चिसो त थियो तर अर्कै खालको । पातलो सिगान जस्तो, च्यापच्यापे केही लतपतिएको थियो ।

मलाई कस्तोकस्तो भयो । डर जस्तो पनि, सङ्कोच जस्तो पनि ! लौन यो के भयो ?

उठेर बत्ती बाल्न मन थियो । उज्यालोमा हेर्न मन थियो, मेरो कट्टुभित्र के लागेको रहेछ भनेर । तर, त्यो कोठामा म एक्लै थिइन । छेवैको अर्को खाटमा भाइ सुतेको थियो । फेरि उठेर स्विचबोर्ड प्याट्ट पार्दै बत्ती बाल्दा अर्को कोठामा सुत्नुभएको बाबाममीले थाहा पाउनुभयो भने ? यति राती किन बत्ती बालेको ? के भयो भनेर सोध्नुभयो भने ? सोध्दैसोध्दै कोठाभित्रै छिर्नुभयो भने ? छिरेर मेरो हात किन कट्टुभित्र राखेको भनेर सोध्नुभयो भने ? कट्टुभित्र सिगानजस्तो चिप्लो पदार्थ टाँसिएको थाहा पाउनुभयो भने ?

चिप्लो पर्दाथ कहाँबाट आयो ? मैले पत्तो पाउन सकिनँ । मलाई शरीरको कुनै पनि भागमा कुनै दुखाइ भएको थिएन । मात्र शरीर चङ्गाजस्तै भएको थियो । तर, त्यो चिप्लो पदार्थ कसरी आयो ? सुसु गर्ने ठाउँबाट आयो भनौँ भने त्यो सुसु नै गर्ने ठाउँ हो । मेरो हातमै लागेको चिप्लो पदार्थ त्यहाँ टाँसियो भनौँ भने मैले हात छिराएर त्यहाँ पु¥याएकै छैन । पु¥याएकै भएपनि मेरो हातमा त्यस्तो चिप्लो कहाँबाट टाँसियोस ? नाकबाट सिगान बगेको छ भनौँ भने, मेरो नाक पनि सुख्खा नै छ ।

हैन कट्टुभित्र सुसु गर्ने ठाउँनेर चिप्लो कहाँबाट टाँसियो ?

एकपछि अर्को गर्दै उब्जिएका प्रश्नले म आफैँसँग डराएँ । डराउँदा डराउँदै म कतिबेला निदाएँ पत्तो पाइनँ ।

भोलिपल्ट ट्वाइलेटमा मैले कट्टु उल्ट्याएर हेरेँ । हिजो रातीको चिप्लो टाँसिएको ठाउँमा सिगानको टाटा जमेजस्तै देखिन्थ्यो ।

मेरो मनको खसखस कत्तिपनि मेटिएको थिएन । बाबाममीसँग यस्तो कुरा सोध्न सक्ने, भन्न सक्ने आँट नै थिएन । भाइलाई सोधौँ भने त्यसलाई झन् के थाहा ? फेरि भाइसँग पनि यस्तो कुरा कसरी सोध्नु ? सोधिहाले पनि त्यसले मेरो कुरा बाबाममीलाई सुनाइदिन सक्छ ।

सरलाई सोधौँ ? कक्षाकोठात्रित्र किताबको विषयमा बाहेक अरू प्रश्नमा सवाल जवाफ नगर्ने सरहरूलाई व्यक्तिगत कुरा कसरी सोधौँ ?

कसलाई सोधौैँ ? 

मनको खुल्दुली कसरी मेटाऊँ ?

दिमागमा प्रवेशको नाम झट्ट आयो । उमेरले म भन्दा तीन वर्ष जेठो । टाइफाइड बिग्रेर दुई वर्ष उसले उपचारको दौडधुपमा बिताउन नपरेको भए मभन्दा तीन कक्षा माथि पुगिसक्थ्यो । बिमारले उसको पढाइ रोकिदियो । अनि ऊ कक्षाकै जेठो विद्यार्थी भयो ।

उमेरले जेठो भएपछि प्रवेशसँग म सबै कुरा साट्न सक्थेँ । हामी बारम्बार झगडा गथ्र्यौँ तर छुट्टिएर बस्न सक्दैनथ्यौं ।

खाजा खाने छुट्टीमा मैले प्रवेशलाई तानेर स्कुल पछाडी लगेँ । त्यहाँ एउटा समीको रूख थियो । त्यसैको फेदमा बसेपछि मैले भनेँ, “एउटा कुरा सोध्छु कसैलाई नभन है ?”

उसले ङिच्च हाँसेझैँ गरेर भन्यो, “अहँ, म त सप्पैलाई भन्दिन्छु । ढोल पिटाइदिन्छु ।”

म ठुस्केजस्तो गरेर मुन्टो बटारेपछि उसले मायालु पारामा जिस्काउँदै भन्यो, “तैँलै नभन भनेको कुरा पनि भन्छु त । बरु भन्, कुरा के हो ?”

मैले झरना छेउमा बसेको । एउटी केटीसँग कस्सिएर अंकमाल गरेको र त्यस लगत्तै कट्टु भिजेको कुराबारे सोधँे, “कतै मलाई कुनै रोगसोग लागेको त हैन नि ?”

मेरो कुरा सकिन नपाउँदै उसको अनुहारमा देखिएको हाँसो आवाज बनेर मुखबाट उछिट्टिसकेको थियो । म सिरियस भएर आफ्नो समस्या सेयर गरिरहँदा ऊ हाँस्न खोजेको मलाई मन परिरहेको थिएन ।

हाँसोको खित्का छाडेर उसले भन्यो, “तेरो बैंस चढ्यो अब ।”

म झन सिरियस भएँ । सोधेँ , “मजाक नगर् न । म बिहानदेखि मुड अफमा छु । के भाको मलाई ?”

प्रवेशले मलाई स्वप्नदोष भएको बताउँदै भन्यो, “नाइट फल भन्छ के यसलाई । स्वास्थ्य शिक्षा पढउँदा सरले पढाउनुभएको बिर्सिस् ? पढाइमा ध्यान दिन छोडेर अनेकतिर मन आँखा डुलाउन व्यस्त भएपछि कसरी थाहा पाउँथिस् त ?” 

यति भनेर उ फेरि खितखिताउँदै हाँस्यो ।

प्रवेशले यस्तै अनुभव आफूले दुई वर्षअघि नै गरेको र सबैलाई किशोरावस्थामा प्रवेश गर्दा यस्तो हुने बताएपछि मेरो मनको छटपटी शान्त भयो । 

तर आजपनि झरनाको सामुन्नेमा चिसो बतास खाँदै कसैको अंकमालमा कस्सिएर तातो अनुभव गरेको त्यो सपना सम्झिँदा मलाई काउकुती लागेजस्तो हुन्छ । त्यो सपना फेरि दोहोराएर देख्न पाएजस्तो हुन्छ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...