Tuesday, July 27, 2021

डरै डरले बितेको त्यो दिन...




-सुनिता कुमारी रोकाय 

श्री सरस्वती माध्यमिक विद्यालय ठूली भेरी नगरपालिका, दुनै, डोल्पा



म १५ वर्षको उमेरमा हिँड्दै थिएँ । एक दिन बिहानैदेखि मलाई पेट दुख्ने, ढाड दुख्ने, किन सन्चो नभएको होला भनेजस्तो महसुस भइरहेको थियो । दिउँसो स्कुलमा त पढ्दा पढ्दै पेट दुख्न थालेको थियो । तीन घन्टीपछि म ट्वाइलेट गएँ । सुरुमा त झट्ट अचानक रगत कहाँबाट आयो भन्ने भयो । तर, एकैछिनमा मैले अनुमान गरिहालेँ । त्यसपछि आफ्नै रगत देखेर फरक महसुस भयो । 

त्यो मेरो पहिलो महिनावारी थियो । मेरो मनमा अनेक कुरा खेल्न थाले । त्यसो त पेट पनि दुखिरहेको थियो । मनका कुरा साथीलाई त भनिहाल्न गाह्रो हुन्छ झन् सर म्यामलाई कसरी भन्नु ? कसरी बताउनु कि म महिनावारी भएँ । मेरो मनमा अनेक कुरा खेलेको, चिन्ताले सताइराखेको कुरा म कसरी बताउँ ?

त्यो दिन मलाई अरू बेलाजस्तो बोल्न, हाँस्न खेल्न हिँड्न मन लागेन । टोलाएरै बस्न मन लाग्यो । घरबाट स्कुल आउने बेला पनि मलाई खासै खान मन लागेको थिएन । शरीर अल्छी भएजस्तो भएको थियो । दिउसो त झनै अरूसँग बोल्न पनि गाह्रो भएजस्तो भयो ।

त्यसो त कक्षामा स्वास्थ्य विषयका शिक्षकले बेला बेला महिनावारी बारे हल्का फुल्का भन्नुहुन्थ्यो । मैले पनि महिनावारीबारे केही कुरा पढेकी थिएँ । किताबमा यस्ता कुरा पढेपनि महिनावारीका बेला हुने अनेकन अप्ठ्याराको समाधान गर्न भने सकिन । 

भन्न त दिदीहरुले महिनावारी हुँदा टालो अथवा प्याडको प्रयोग गर्नुपर्छ भन्नुभएको थियो । एकदिन मैले छिमेकी दिदीलाई सोधेकी थिएँ, “महिनावारी कति वर्षमा हुन्छ ?”

दिदीले भन्नुभएको थियो, “१३ वा १४ अथवा १५ वर्षमा पनि हुनसक्छ ।”

त्यो दिन म स्कुल आएर साथीहरूसँगै बेन्चमा बसेकी थिएँ । घरबाट हिँड्दा नै मलाई मनमा कता कता लागेको थियो, आज म पक्का महिनावारी हुन्छु । किनभने, बिहानैदेखि मेरो शरीरमा अनेकन परिवर्तन देखिएका थिए । ढाड र पेट अनौठो तरिकाले दुखिरहेको थियो । म दायाँ बायाँ गरेर छटपटाइरहेकी थिएँ ।

पाँचौँ घन्टी चलिरहेका बेला मेरो दुखाइको घन्टी पनि अनौठोसँग बज्यो ।

कक्षाकोठामा सरले के भयो भनेर सोध्दा पनि मैले पेट दुख्यो, ढाड दुख्यो भनेर भन्न सकिनँ । बरु, टाउको दुखेको छ भनेर ढाँटेँ ।

सरले भन्नुभयो, “धेरै गाह्रो भएको भए घर जाऊ र टाउको दुखेको उपचार गराऊ ।” 

मैले भनेँ, “हैन सर म सात घन्टी नै सक्काएर मात्रै घर जान्छु ।”

छैटौ घन्टीमा असह्य दुखाइ भएपछि म फेरि ट्वाइलेट गएँ । धेरै रगत बगेको रहेछ ।

फर्केर कक्षाभित्र बसिरहँदा मेरो ध्यान किताब र कापीमा थिएन । न छेउछाउका साथीभाइ, न अगाडि उभिनुभएको शिक्षकमा नै मेरो ध्यान थियो । महिनावारी भएको कुरा घर पुगेर आमालाई कसरी भन्ने होला भनेर मेरो मनमा अनेकन कुरा खेलेका थिए ।

त्यतिबेला सरले अगाडि के पढाइराख्नुभएको छ भन्ने मैले थाहै पाइनँ । 

सातौं घन्टी टिन–टिन गरेर बजेपछि सर कक्षाबाट बाहिरिनुभयो । साथीहरू बिस्तारै कक्षाबाट बाहिर निस्कन थाले । मेरो छेवैमा बस्ने साथीलाई मेरो मनभित्र के कुरा खेल्दैछ, म कस्तो अवस्थाबाट गुज्रिरहेकी छु भन्ने पत्तो पाएकी थिइन् क्यार । उनले अरू बेला झैँ सामान्य तरिकाले सोधिन्, हिँड घर जाऊँ ।

प्रतिउत्तरमा मैले भने, तिमीहरू जाँदै गर । मेरो जरुरी काम छ ।

उनीहरू स्कुलबाट अलिक पर पुगेपछि मैले बिस्तारै उठेर बेन्चमा हेरेँ । म बसेको बेन्चमा रगतको दाग लागेको थियो । मेरो मेड्डीमा पनि रगत लागेको थियो ।

त्यतिबेला अब के गर्ने होला भनेर मैले सोच्न पनि सकिनँ । मेरा कैयन् साथी मभन्दा अगडि नै महिनावारी भइसकेका थिए । उनीहरूलाई मैले मेरो अवस्थाको बारेमा बताएको भए केही समाधान हुने थियो भन्ने विचार मेरो मनमा आयो । म केहीबेरसम्म रगत लत्पतिएको बेन्चमा हेर्दै अचम्म मानेजसरी उभिरहेँ ।

झट्ट मलाई सम्झना आयो, मेरो सल छ । यसैले बेन्चमा लागेको रगत पुछ्छु । तर, मम्मीले गाली गर्नुहुन्छ कि भन्ने डरले गरिनँ । झन्डै दस मिनेट जति त मैले सोचेरै बितँए ।

कक्षाको एउटा कुनामा फोहोर फाल्ने डस्टविन देखेँ । त्यही बोकेर धारामा गएँ । डस्टविनभर पानी भरेर ल्याएँ । बेन्चमा लागेको रगत पखालेँ ।

बेन्च त पखालियो । तर, मेड्डीमा लागेको रगतको टाटा के गर्नु  ? मैले कम्मरमा सल बेरेर मेड्डीको टाटो छोपेँ । सुस्तरी हिँडेदै घर फर्केँ । अरू दिन झैँ म सरासर घरभित्र छिरिनँ । बाहिरै बसेँ । मम्मी घरभित्र हुनुहुन्थ्यो ।

मम्मीलाई कसरी भन्ने होला भनेर मेरो मन त्यसै डराइरहेको थियो ।

मम्मीले बाहिर आएर मलाई हेर्नुभयो । मैले कुनै गल्ती गरेको विद्यार्थीले झैँ टाउको झुकाएँ ।

मम्मीले मेरो अनुहारमा हेरेर सोध्नुभयो, “छोरी के भयो ? तिमी त निराश देखिन्छौ नि ?” 

मैले मम्मीको प्रश्नको उत्तर दिइनँ । डरले मेरो मुखमा आएको उत्तर पनि मनभित्रै पठाइदियो । केहीबेर त्यत्तिकै बसेँ । कता कताबाट आँट बटुलेझैँ गरेर मैले डराउँदै र अकमकाउँदै भनेँ, “मम्मी म त महिनावारी भएँछु ।”

मम्मीले सामान्य विषय झैँ गरेर भन्नुभयो, “यत्ति कुरा भन्न पनि अकमकाउनुपर्छ त ! सबै चेलीलाई महिनावारी हुन्छ ।” मम्मीले एकैछिनमा मेरो मनको डर भगाइदिनुभयो ।

मेरो मन शान्त भयो । त्यही बेला मम्मीले भन्नुभयो, “हेर छोरी हाम्रो समाजमा यस्तो चलन छ कि महिनावारी हुँदा बाबा, बाजे, दाइ, भाइ, अकंलहरूलाई छुन हेर्न मिल्दैन । महिनावारी भएकालाई बाहिरै कोठा वा गोठमा बसाल्छन् । खाना त्यही पठाइदिन्छन् ।”

यसो भनेर मम्मीले धोतीको सफा टालो ल्याइदिनुभयो । त्यसलाई च्यातेर चारपाटे बनाएर पट्याउने र प्याड जस्तै बनाएर प्रयोग गर्न सकिन्छ भनेर सिकाउनुभयो । मम्मीले भन्नुभयो, “रगत लागेको टालो जहाँ पायो त्यहीँ फाल्नु हुँदैन । कुनै खाल्डोमा गाडीदिनुपर्छ ।”

मम्मीको कुराले मलाई महिनावारी भएका बेला छाउघरमा राख्ने चलनको याद आयो । सुदूरपश्चिम र मध्यपश्चिममा महिनावारी भएकालाई यस्तो गर्ने चलन मैले थाह पाएको छु । धन्न मेरो मम्मीले कुरा बुझ्नुभयो र मलाई अलिकति भएपनि सहज बनाइदिनुभयो ।

हाम्रो समाजमा पनि महिनावारीको प्राकृतिक प्रक्रियालाई गलत व्याख्या गर्ने र अन्धविश्वासको पछि दगुर्ने चलन कायमै छ । अझै पनि महिनावारी भएपछि सात दिनसम्म गोठमा बस्नुपर्ने, देवी देवताको मन्दिर भएको ठाउँ वरपर पनि जान नहुने, गर्मी होस् कि जाडो प्रत्येक बिहान चिसो पानीले नुहाउनुपर्ने, गाईको दूध, दही, घ्यु र मह पनि खान नहुने चलन कायमै छ । हाम्रोतिर अझैपनि महिनावारीका सात दिनपछि नुहाउने, गौमुत्र सेवन गर्ने, घर पोत्ने अनि मात्रै घरभित्र पस्न हुने चलन छ । यस्तो चलनका कारण महिलाहरू विभिन्न शारीरिक र मानसिक तनाव झेल्न बाध्य छन् । गोठमा बस्दा जङ्गली जनावर, किटपतङ्ग देखि सर्पको डसाइमा पर्ने घटना पनि बारम्बार सुनिन्छन् ।

मनमनै कामना गरेँ, अब यस्तो कसैलाई नहोस् । कम्तिमा मेरो मम्मीले जस्तो कुरा बुझिदिऊन् । 

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, July 13, 2021

मोबाइलमा गेम खेल्दा...


–नाम प्रकाशित नगर्ने सर्तमा 



Photo Source: dnaindia.com


म सानैदेखि आमा बाबाबाट छुट्टिएर हजुरआमा र हजुरबाबासँग बस्थेँ । म हुर्कँदै जाँदा, मलाई मेरो हजुरआमा नै आमा हो जस्तो लाग्थ्यो । म सोच्थेँ, उहाँले नै मलाई जन्म दिनुभएको हो । तर जब म ठूली हुँदै गएँ, जब मेरो उमेर बढ्न थाल्यो, अनि बल्ल मैले थाहा पाएँ, हजुरआमाले त मलाई कर्म दिनुभएको रहेछ । मेरो जन्म दिने आमा अर्कै हुनुहुँदो रहेछ । त्यो दिनबाट मलाई लाग्यो, उमेर बढ्दै जाँदा धेरै कुराको अनुभव लिन सक्ने रहेछौँ । उमेरले पनि धेरै कुरा सिकाउने रहेछ ।

मेरो परिवारमा म, मेरो हजुरआमा र हजुरबाबा गरी तीन जना बस्थ्यौँ । हाम्रो घरभन्दा अलि पर मेरो ठूलोममीको घर थियो । ठूलोममीको श्रीमान् सधैँझैँ केही काम पर्दा वा पूजाआजामा हाम्रो घरमा आउनुहुन्थ्यो । उहाँ हाम्रोमा प्रायजसो आउने भएर होला, आफ्नै लाग्ने गथ्र्यो । हजुरआमाले मैले उहाँलाई ठूलोबाबा भनेर बोलाउनुपर्छ भनेपछि मैले उहाँलाई ठूलोबाबा भनेर बोलाउँथेँ । उहाँसँग विस्तारै चिनजान हुँदै जाँदा उहाँले मलाई छोरीलाई जस्तै माया गर्नुहुन्थ्यो र व्यवहार पनि छोरीलाई गर्नेजस्तै थियो ।

मलाई याद छ, म त्यतिबेला नौ वर्षकी थिएँ । मलाई टिभी हेर्न, नयाँनयाँ कुराहरू सिक्न एकदमै मन पथ्र्यो । तर, हाम्रो घरमा टिभी थिएन । त्यसैले म ठूलोममीको घरमा टिभी हेर्न जान्थेँ । ठूलोममीको घरमा ठूलोबाबा र उहाँहरूको दुईजना छोरा, अनि मभन्दा सानो उमेरकी छोरी थिए ।

एकदिनको कुरा हो, सधैँझैँ आउनु हुने ठूलोबाबाले ठूलोममीको छोरा र छोरीलाई आफ्नो छेउमा राखेर मोबाइलमा गेम खेल्न सिकाउनुभयो । उहाँले आफ्नै मोबाइलमा गेम खेल्न पनि दिनुभएको थियो । मलाई पनि मोबाइलमा गेम खेलेको देख्दा खेल्न मन लाग्थ्यो । म बहिनीको छेउमा बसेर खेलेको हेरिरहन्थेँ । त्यो दिन, उहाँले मलाई “तिमी पनि गेम खेल्छौ र नानी ?” भन्नुभयो । म खुसी हुँदै भनेँ, “खेल्छु” । उहाँले मलाई आफ्नो मोबाइलमा गेम खेल्न दिनुभयो । पहिलोपटक मोबाइलमा गेम खेल्न पाएर म एकदमै खुसी भएँ । मलाई एकदमै रमाइलो लाग्दै थियो ।

त्यो दिनदेखि ठूलोबाबाले मलाई सधैँ मोबाइलमा गेम खेल्न दिनुभयो । भाइ, बहिनी र म पालैपालो खेल्थ्यौँ । एकदिन ठूलोममी बारीमा तरकारी खोज्न जानुभएको थियो । घरमा सानो भाइ, म, बहिनी ठूलोबाबा थियौँ । त्यो दिन पनि ठूलोबाबाले गेम खेल्न भनेर हामीलाई मोबाइल दिनुभयो । भाइ, बहिनी र मैले खेल्ने पालो बाँडेका थियौँ । भाइ र बहिनीको पालो सकिएपछि ठूलोबाबाले भाइ र बहिनीलाई, “तिम्रो पालो सकियो तिमी अलि पर जाऊ, अब दिदीको पालो हो गेम खेल्नी, तिमी मेरो नजिक आऊ” भनेर मलाई उहाँको छेउमा बोलाउनुभयो । म उहाँको नजिक गएर बसेँ र गेम खेल्न थालेँ ।

ठूलोबाबा मेरो नजिक एकदमै टाँसिएर बस्नुभएको थियो । उहाँ त्यसरी बस्दा मलाई अप्ठ्यारो भइरहेको थियो । तर, पनि मैले उहाँले माया गर्नुहुन्छ भन्ने ठानेँ । तर, केही समयपछि मलाई मेरो शरीरको पछाडीको भागमा केही कुराले छोएको अनुभव भयो । यसो पछाडि फर्केर हेरेको ठूलोबाबाको हात मेरो शरिरमा रहेछ । मैले सोचेँ, उहाँले माया गर्नु भएको छ, मैले खेलेको गेम हेर्नुभएको छ । 

त्यति सोचेर मेरो ध्यान फेरि गेमतिरै भयो । तर, त्यसको केही बेरमा नै उहाँले आफ्ना हातलाई मेरो कम्मर पछाडिबाट तलतल लगेर सुम्सुम्याउदै हुनुहुन्थ्यो । मलाई एकदमै नराम्रो लाग्यो । डर पनि लाग्यो । मलाई उहाँले त्यसरी छोइरहँदा, सुम्सुम्याउँदा नराम्रो लागिरह्यो । मैले उहाँको फोन उहाँलाई दिएर केही पनि नबोली बाहिर निस्केँ । त्यहाँबाट निस्केपछि मलाई निकै बेरसम्म मेरै गल्ती पो हो कि जस्तो अनुभव भयो । मैले केही सोच्नै सकिनँ । मलाई डर मात्रै लागिरहेको थियो ।

मलाई थाहा थियो, त्यो गलत छुवाइ हो भनेर । मलाई यो पनि अनुभव भयो कि, छोरीको साथमा आमाको कमी भयो भने पनि धेरै समस्याहरू भोग्नुपर्ने रहेछ । सायद, त्यो बेला मेरो आमा मसँगै हुनुभएको भए म उहाँलाई आफूमाथि भएको दुर्व्यवहारको बारेमा भन्थेँ होला र आफूलाई हलुका बनाउथेँ होला । तर, मलाई यस्तो भयो भनेर अरूलाई सुनाउने आँट नै थिएन । अरू कसैलाई भन्न पनि सकिनँ । त्यो दिनपछि पनि मैले यस्ता धेरै दुर्व्यवहार भोग्ने र सहने क्रम चलिरह्यो । 

आजभोली लाग्छ, दुर्व्यवहार, हिँसा घरबाहिर मात्रै हुँदैन रहेछ । घरभित्रै पनि कसले, कसरी र कहाँबाट गर्छ भनेर थाहा नै नहुने रहेछ । यो कुरा मैले मेरै भोगाइबाट सिकेँ । यो तितो अनुभव सुनाउँदा मलाई नराम्रो लागिरहेको छ । यसको सट्टा, त्यो ठूलोबाबालाई ममाथि दुर्व्यवहार गर्न लाग्दा आफूले फाइटब्याक गर्न सकेको कुरा, उहाँलाई सजाय दिन सकेको कुरा सुनाउन पाएको भए कत्ति आनन्द आउँथ्यो होला ।

कतिपय ठाँउमा म जस्ता छोरीहरूले सानै उमेरमा धेरै किसिमको दुर्व्यवहार भोग्नु परेको होला । त्यसैले के भन्न मन लाग्यो भने, आफ्ना छोरीहरूलाई आफुसँगै राखौँ । उनिहरूलाई कसैले नराम्रो व्यवहार पो गरेको छ कि, ख्याल गरौँ । ताकी, मैले जस्तो अरु कसैले भोग्न नपरोस् । 

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...