Tuesday, December 29, 2020

आस्थाको डर

गरीमा पौडेल


जब मैले मेरो योनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ, म स्तब्ध भएँ । म केही बोल्नै सकिनँ !

मनमा अनेकौँ कुराहरू खेल्न थाले । मलाई यो के भइरहेको थियो थाहै थिएन । 

मम्मीलाई भन्छु भन्ने सोचले म कोठा बाहिर निस्किएँ । तर त्यहाँ मम्मी होइन, बाबा हुनुहुन्थ्यो । मलाई यस्तो कुरा बाबालाई भन्ने आँट आएन । म मम्मी खोज्दै यता र उता गरिरहेकी थिएँ । त्यतिबेलै मलाई मेरो कपडा भिजेको महसुस भयो अनि म रुन थालेँ ।

यत्तिकैमा सायद बाबाले अनुमान लगाउनु भएछ क्यार । बाबाले भन्नुभयो, “छोरी तिमी नआत्तिय, ममी एकछिनमा आउँछिन् । म एकछिन बजारतिर जान्छु ।” यति भनेर बाबा घरबाट निस्किनुभयो । घरमा म एक्लै थिएँ । हजुरआमा पनि हुनुहुन्थेन । मेरो योनाङ्गबाट रगत बग्न रोकिएकै थिएन । त्यत्तिकैमा बाबा बजारबाट आउनुभयो । उहाँले झोलाबाट केही झिकेर म बसेको ठाउँमा फ्यालिदिनुभयो । मलाई बाबाको यो व्यवहार देखेर अचम्म लाग्यो । बाबा किन टाढैबाट जानुभयो ? किन बाबा मेरो नजिक बस्नुभएन ? किन सामान परैबाट फ्यालिदिनुभयो ? 

मलाई धेरै नराम्रो लाग्यो । सधैँ मेरो वरिपरि बस्ने, मसँगै चल्ने खेल्ने बाबाले आज किन मसँग यस्तो गर्नुभएको होला ? बाबाले फालिदिनु भएको सामान के हो ? यो कसरी र केमा प्रयोग गर्छन् ? त्यो पनि थाहा थिएन मलाई । 

त्यतिबेला मम्मी गोठतिरबाट आउनुभयो, सायद भैँसी बाँधेर । मैले मम्मीलाई देखेपछि उहाँको नजिक गएर रोएँ । अँगालो हालेर रोएँ र सबै कुरा भने । मम्मीले मेरो कुरा सुन्नुभयो र मलाई नआत्तिन भन्नुभयो । मैले उहाँलाई बाबाले ल्याइदिएको सामान देखाएँ र किन ल्याइदिएको भनेर प्रश्न गरेँ । मम्मीले मेरो यो प्रश्न सुनेर मलाई छेउमा लगेर यसको आवश्यकता, फाइदा र यसलाई कसरी प्रयोग गर्ने भनेर सिकाउनुभयो । त्यसपछि म बाथरुम गएर मम्मीले सिकाएको अनुसार प्याड लगाएँ । त्यो प्याड लगाएपछि बल्ल मलाई सजिलो भएजस्तो भयो ।

म बाथरुमबाट निस्किँदा देखेँ, मम्मीले मलाई निन्याउरो मुख लगाएर हेरिराख्नभुएको रैछ । मम्मीलाई मैले यस्तो निन्याउरिएको कहिल्यै देखेकी थिइनँ । मलाई मम्मीको मुख देखेर डर लाग्यो । मैले मनमनै सोचेँ – मैले केही गलत काम त गरेकी छैन ! तर मलाई त्यस्तो गरेकी छुजस्तो केही लागेन । मम्मीले मलाई आफूसँग बोलाउनुभयो र यो समयमा हुने अनेकौँ कठिनाइका बारे सम्झाउनुभयो । 

मम्मीले भन्नुभयो, “यो प्राकृतिक नियम हो छोरी । यो तिमीलाई मात्रै होइन, हरेक छोरी मान्छेलाई हुने कुरा हो । यो प्रकृतिको सुरुआतदेखि छोरीलाई भइआएको कुरा हो । यो जीवनको निश्चित उमेरसम्म भइरहन्छ । यो बेला योनाङ्गबाट रगत बग्छ, पाँच, छ दिनसम्म । यो बेला तिमीलाई तल्लो पेट दुख्ला र त्यसरी पेट दुख्यो भन्दैमा आत्तिने, डराउने होइन । त्यस्तो हुँदा मनलाई शान्त राखेर आराम गरेर बस ।” 


Photo source : https://www.news24.com/health24

यति भनेर मम्मीले मलाई कोठामा छाडेर जानुभयो । केहिबेरमा, पल्लो कोठामा बाबा र मम्मी बसेर गुनगुन गरिरहेको सुनेँ । केही समयपछि मम्मी मेरो दुई चार जोर लुगा झोलामा राखेर बाहिर निस्कनुभयो । अनि मैले मम्मीलाई सोधेँ, “मम्मी हजुर यो झोला बोकेर कहाँ जान लाग्नुभएको ? कसको झोला हो यो ? को कता जान लागेको छ र ?” मम्मीले भन्नुभयो, “नानी तेरो सामान हो यो । अब केही दिन घर बस्न मिल्दैन बाबा र दादालाई देख्न हुँदैन तैँले ।”

त्यसपछि, मम्मीले ठूलीफुपूसँग कुरा गर्नुभयो, “नानी मिन्स भइ अब के गर्ने कता राख्ने होला ?” फुपूले आफ्नो घरमा राख्ने कुरा गर्नुभयो । त्यसपछि मम्मी बाबा अलि ढुक्क देखिनुभयो । अनि म केही दिनका लागि फुपूको घरमा बस्ने भएँ, परिवारबाट अलग भएर ।

म फुपूको घरमा त गएँ तर मलाई असाध्यै नरमाइलो लागीरहेको थियो । मलाई कताकता डाँको छोडेर रुन मन लागेको थियो तर पनि रुन सकिरहेको थिइन । त्यहाँ मेरो फुपूको छोरा अर्थात दादा पनि हुनुहुन्थ्यो । उहाँबाट पनि म टाढा हुनपर्दो रहेछ । यताउता गर्दा राती भैसकेको थियो अनि सुत्ने बेला आयो । सबै जना आफ्नो कोठामा थियौँ । जब बिहान भयो बाहिरबाट आवाज आयो, “नानी बाहिर नआउनू । घाम हेर्न हुँदैन, बाहिर दादा छ उसलाई पनि हेर्नु हुँदैन ।” मलाई लाग्यो, मैले त यो के पाप गरेँ ? घाम पनि हेर्न नपाउने, बाबालाई दादालाई पनि देख्न नपाउने । म अचम्ममा परेँ । यो कस्तो खाले चलन हो ? कसले चलायो यस्तो चलन ? यो त मात्र एउटा प्राकृतिक नियम थियो, म शारीरिक रूपमा स्वस्थ छु, र म प्रजनन क्षमताको लागि योग्य हुँदैछु भन्ने संकेत थियो ।

महिनावारी सुरु भएदेखी हरेक महिना त्यहि क्रम दोहोरिने भएकाले, यसलाई मासिक धर्म भनेको धेरैपटक सुनेकी थिएँ । तर यहाँ त, धर्मको नाममा अनेकौँ अन्धविश्वास जोडेर मलाई सजाय दिइराखिएको थियो । त्यसपछिको प्रत्येक महिना म त्यो सजायको भागीदार भइरहेकी छु । करले त हो नै, त्योसँगै जोडिएको धर्मप्रतिको आस्थाको डरले । 


यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

Tuesday, December 15, 2020

वी आर सो सरी !


बाटुलो अनुहार ।केटाको जस्तै छोटो, तर सिल्की कपाल । ठूला आँखा ।किताबमा घोत्लिरहने लजालु स्वभावकी उनी ।

अरू सबै केटीहरू फ्रकमा स्कुल आउँथे । तर,उनी पेन्ट लगाएर आउँथिन् । छोटो कपाल, पेन्ट अनि मेकअप नगर्ने उनको बानी । यति नै काफी थिए हामीलाई जिस्क्याउन । 

हामी सबैलाई थाहा थियो,उनी म्याथ पढाउने सरकी छोरी थिइन् । त्यही भएर साथीहरू र म मिलेर उनलाई संकेतमा र अंकमा गाली गथ्र्यौं ।

जस्तो कि, 

छ छक्का छत्तिस 

जिरो वानजिरो 

पुरुष र महिलाभन्दा फरक लैङ्गिक पहिचान भएकालाई हेलाहोचो गर्नुपर्छ भन्ने गलत सोचाई हामीसँग थियो । अनि हस्तमैथुन गर्ने कामलाई साथीहरू संकेतमा ३६ भन्थे । यसरी हामी दोहोरो अर्थ लाग्ने शैलीमा उनलाई जिस्काउँथ्यौँ ।

जिरो वानजिरोको संकेत त तपाईंहरूले बुझ्नु नै भयो होला । बुझ्नु भएको छैनभने म भन्छु नि !जिरो वानजिरो भन्नाले केटा मान्छेको यौनाङ्ग । अब त बुझ्नु भयोे नि?हाँस्नु भयो?भनेपछि बुझ्नु भयो ।

मेरो एकजना साथीले उसलाई मन पराउँथ्यो । तर,भन्न सक्दैनथ्यो । भन्ने कोसिस गथ्र्यो, तर डर र लाजले पानी–पानी हुन्थ्यो ।

एकदिन हामीले उसलाई आँटदियौँ । सबै मिलेर लभ लेटर लेखिदियौँ ।

उसले हाफ छुट्टीमा केटीको किताबको बीचमा लभ लेटर राखिदियो ।

भोलिपल्ट ती केटी साथी स्कुल आइनन् । हामीले लभ लेटर दिने साथीलाई जिस्काउँदै भन्याँै, ‘तेरो लभ लेटरको वाणले घाइते भएकी छे । जा मायाको मल्हम लगाएर आइज!’

अर्को दिन उनी स्कुल आइन् । उनी आएको हामीले परैबाट देख्यौँ । हाम्रो साथी मायालु शैलीमा मुस्कुरायो र भन्यो, ‘उसलाई देख्नमात्रै पाउँदा पनि मन चङ्गा हुन्छ यार ।’

तर,केही बेरमै उसको शान्त मनमा तुफान आयो ।

प्रिन्सिपल सरले साथीलाई बोलाउनुभयो । हामी पछिपछि दर्गुर्दै प्रिन्सिपल सरको कोठाको झ्याल बाहिर लुकेर बस्यौँ । त्यो साथीलाई त्यही केटीको नजिकै राखेर हेडसरले साथीलाई रामधुलाई गर्नुभयो । छेवैमा उभिनु भएको म्याथ पढाउने सरले साथीको मुखैमा पर्ने गरी थुक्नु भयो । म्याथ सरकी छोरी, अर्थात पिटाइ खाइरहेको हाम्रो साथीकी‘मायालु’ले पनि उसलाई जोडले गालामा थप्पड हानी ।

सब खेल खत्तम भयो ।

त्यो दिनभर साथी टाउको पनि माथि नउठाई डेक्समा घोप्टिएर बस्यो । उसका आँखामा आँसु त थिएन, तर बदलाको भाव भने प्रष्टै थियो ।

भोलिपल्ट उसले हामीलाई जोस्याउँदै र केही फोहोरी शब्द मिसाएर भन्यो, ‘बुझिस् केटाहो, अब त्यो केटीको बेइज्जत हान्नुपर्छ ।’

‘कसरी ?’ मैले सोधेँ ।

त्यसपछि उसले फिल्मी शैलीमा बतायो र ङिच्च हाँस्यो । साथीहरू जोस्सिए ।

एउटाले भन्यो, ‘बाउ म्याथको टिचर भएर त्यसको सान बढेको ।’

अर्कोले भन्यो, ‘हाम्रो ह्यान्डसम साथीलाई बाल हान्ने त्यसको त्यत्रो हिम्मत?’

मैले पनि जोशै जोशमा यस्तै के–के भनेर साथीलाई उकासेँ । अझभन्दा, उक्सिएँ नि !मायालु भनेर लभ लेटर लेख्दा‘नाइँ’भन्ने केटीको त्यत्रो आँट, त्यत्रो हिम्मत भन्ने बुझाइ हामीमा थियो ।

भोलिपल्ट एउटा हर्कत गरियो । स्कुलभर हल्ला फैलिन समय लागेन । त्यही केटीको मात्रै चर्चा थियो । तर, नराम्रो चर्चा ।

‘त्यसको ब्यागाँ त कन्डम भेटिएको रे !’

‘छ्या कस्ती लाज सरम नभाकी केटी रैछे ।’

‘त्यसले त केटाहरूसँग के के गर्छे रे ।’

‘कन्डम किन्न लाज नि लागेन त्यसलाई ?’

कसैले हाँसोको भावमा खिस्याउँदै भनिरहेका थिए, ‘कन्डम बोक्न सक्ने आँटभएसी, अरू के के बोक्ने आँट छ होला ।’

कसैले भने ठोकुवाका साथ भन्दै थिए, ‘त्यो केटी त बेश्याहो । अस्ति......सँग मस्केर बोलिराथी!’




                                    Photo : yourstory.com


हाम्रो स्कुलमा दुई घन्टीपछि १०मिनेटको मिनी ब्रेक हुन्थ्यो । ट्वाइलेट जान ।त्यही बेला साथीहरूले उसको ब्यागको साइड पकेटमा दुइटा कन्डम खुसुक्क हाल्द्याथे । उसले थाहा पाइन । केटाहरूले त्यसैको फाइदा उठाए । योजना अनुसार,हाफटाइममा कक्षाका सबै साथीलाई जम्मा पारेर एउटाले भन्यो,  ‘यो कोठाबाट बनाना फ्लेवरको कन्डम बास्ना आइराछ ।’ अर्कोले हो मा हो मिलायो । अनि एकैछिनमा केटाहरूले एकै स्वर पारेर भने, ‘सबको झोला चेक गरम् ।’

एकै छिनमा कक्षा भरका सबको ब्याग चेक भयो ।

अनि त ?

केटाहरूले बनाएको योजना सफल बनाउन कत्ति पनि बेर लागेन !

केटाहरूले केटीको झोलामा कन्डम फेला पारेको हल्ला स्कुलभर फैलाए ।बुझेर हो वा नबुझेर, मलाई पनि रमाइलो नै लाग्यो । कन्डम भेटिएको हल्लामा अरू हल्ला पनि मिसिन थाल्यो । हो झैँ लाग्नेगरी अन्य धेरै गलत किस्सा जोडेर त्यो केटीको बदनाम गर्न थाले ।

अन्ततःहल्ला केटीले पनि थाहा पाइ । ऊ डाँको छोडेर रुँदै क्लासमा आइ अनि ब्याग च्यापेर घरतिर दगुरी ।

त्यसको भोलिपल्टबाट त्यो केटी स्कुल आइन । स्कुलमा अनेकन हल्ला फैलिरह्यो । हल्ला सुनेर यो सबै घटनाको योजना बनाएको मेरो साथीले मनोरञ्जन लिइरह्यो ।

ऊ भन्थ्यो, ‘बल्ल देखि त्यसले मेरो पावर । मलाई मन नपराउने ?त्यसको त्यत्रो हिम्मत ।’

पछि हामीले थाहा पायौँ, म्याथ सरले त्यो केटीलाई अर्कै स्कुलमा भर्ना गरिदिएछन् ।

अहिले त्यो घटना सम्झिँदा मात्रै पनि लाज लाग्छ । लाजभन्दा धेरै आफैँसँग रिस उठ्छ । मैले मात्रै त्यो केटी साथीलाई साथदिएको भए, सायद उसले दुव्र्यवहार भोग्नु पर्दैनथ्यो कि? वा आफ्ना साथीहरूलाई ती सबै काम गर्न रोकेको भए? कन्डम राख्ने योजना म्याथ सर वा प्रिन्सिपल सरलाई मैले पहिल्यै सुनाइदिएको भए?

तर,त्यतिबेला मैले रमाइलो मात्रै मानिरहेँ । कुनै केटीले केटाको प्रस्तावलाई अस्वीकार गर्नु भनेको, केटालाई हेप्नु हो भन्ने ठानेँ । आफ्नो केटा साथीको प्रेम प्रस्तावलाई त्यो केटीले अस्वीकार गरेर सबै केटाहरूलाई अपमान गरेको महसुस गरेँ ।

बल्ल आजकल बुझ्दै छु, कुनै केटीको ‘नाइँ’लाई स्वीकार नगर्नु भनेको त्यो केटीको अपमान गर्नु रहेछ । 

आफूले मन पराउने बित्तिकै केटीले मन पराउनै पर्छ भन्ने हुँदैन भनेर मलाई र मेरा केटा साथीलाई कसैले सिकाएन ।केटीका पनि आफ्नै रोजाइ, रहर र रुचि हुन्छन् भनेर बताएन । केटीले मन पराउँदिन भन्दैमा केटाको इज्जतनै जाने, सम्मान नै गुम्ने पनि त होईन रहेछ भनेर कसैले सिकाएन ! अहँ सिकाएन !

ती केटी साथीको हृदयमा चोट पु¥याउने मध्येको म पनि एक थिएँ । उनलाई कति चोट पुग्यो होला?

के उनले त्यो घटना बिर्सिइन् ?

तर,मान्छेले कसरी बिर्सन सक्छ र ?

माफीको लायक त छैन, तर पनि माफी चाहन्छु ।

प्यारी साथी, तिमीले यो पढ्दैछौ भने सबै साथीको तर्फबाट माफी चाहन्छु, ‘वि आर सो सरी !’

(लेखकको नाम गोप्य राख्ने सर्तमा प्रकाशित गरिएको)



यस लेख जुनसुकै माध्यमबाट प्रकाशन÷प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, December 1, 2020

त्यो हर्कत, त्यो सजाय

रितीका अधिकारी

टिनटिनटिन...घण्टी बज्यो । सबैजना घर जाने भनेर खुसी भए । मलाई भने कहिल्यै घर जान नपरे हुन्थ्यो झैँ भएको थियो । आँखैअघि हरबखत त्यही मान्छेको अनुहार आइरहन्थ्यो ।

टोलाइरहेकी थिएँ ।

उसैको हात बिस्तारै मेरो तिघ्रामा सल्बलाएको महशुस गरेँ ।

आस्था...ए आस्था...झसङ्ग भएँ ।

मधुले ढोकाबाट बोलाइरहेकी रहिछे, ‘तँ कता टोलाको के, सबैजना गइसके ।मधुले भनी ।

हामी कलेजबाट निस्कियौँ । मौन । मलाई हिजैको घटनाको झल्को बारम्बार आइरहेको थियो । जतिबेला पनि त्यो हात घरि मेरो तिघ्रामा सल्बलाइरहेको त घरि मेरो छातीसम्म पुग्न खोजेको महशुस गरिरहन्थेँ । भित्रभित्रै रुन्थेँ।कराउँथेँ ।

मनले त ठूलो स्वरमा हात हटा...भनिरहन्थ्यो । आँसुले भरिन्थे आँखा । तर झर्न भने सक्दैनथ्यो ।

कस्तो कस्तो हुन्छन् है केटा मान्छेहरु...छ्या !’ मधुले भनी ।

किन र ?’ मैले प्रश्न गरेँ । भर्खर भनेँ तउसले उत्तर दिइ । सरी यार, मैले त केही सुनिनँ, फेरि भन् न ।

पुल आइसक्यो । म भोलि भन्छु तँलाई ।यति भनेर ऊ पुलतिर उक्लिई । म गाडी चढ्नेतर्फ लागेँ । मलाई गाडी चढ्ने मनै थिएन । हिँडेरै घर जाऊँ जस्तो भइरहेको थियो । तर, त्यसो गर्नु सम्भव पनि थिएन । आज त त्यो मान्छे नपर्ला कि भन्ने आशमा गाडी कुरेर चढेँ । लास्ट सिट मात्रै खाली थियो । म त्यहीँ गएर बसेँ ।

एकैछिनमा गाडीको ढोका छेउमा मैले त्यही अनुहार देखेँ । त्यही अनुहार, जसले मलाई हिजोदेखि छाडेको थिएन । त्यही अनुहार, जसले गर्दा मेरो मन चिच्चाइरहेको थियो, रोइरहेको थियो । म डराएँ, आत्तिएँ ।


हिजोको घटना झल्झली याद आयो । म पसिना पसिना भएँ । ऊ लास्ट सिट अगाडि नै आएर उभियो । मेरो छेउमा बस्नुभएको आण्टी नओर्लिए हुन्थ्यो भनी मनमनै प्रार्थना गरिरहेँ । तर आण्टी ओर्लिनुभयो र त्यो मान्छे हिजोजस्तै मेरो छेऊमा आएर बस्यो । उसले मलाई हेरिरहेको थियो । मैले टाउको घुमाएर उसलाई हेर्नै सकिनँ । के गरौँ, कसो गरौँ भयो । एकैछिनमा मलाई मेरो काखीभन्दा अलि तल कसैको हात सल्बलाइरहेको भान भयो । म जुरुक्क उठेँ, सहचालकलाई भाडा दिएँ र रुँदैरुँदै ओर्लिएर अर्को गाडी चढेँ ।

                                             Photo: fairygodboss.com 

घर पुगेपछि बाथरुम पसेर निकैबेर रोएँ । अरूबेला एकपटक रोएर हल्का हुने मन, हिजो र आज भएन । बरु, झन्झन् भारी हुँदै गइरहेको थियो । होमवर्क गर्न त बसेँ, तर गरिनँ । गर्नै सकिनँ । बरु, घरमा कसैले थाहा नपाउने गरी रोइरहेँ । धेरैबेर । भोलिपल्ट बिहान छिट्टै आँखा खुलेपनि म सुतिरहेँ । ममीले हैन कति सुतेकी आजभोलि । कलेज जाने बेला भइसक्यो, अब त उठ्भनेपछि उठेँ । मलाई कलेज जान मन थिएन ।

ममी, आज म कलेज जाँदिन नि है ?’ ममीलाई सोधेँ । किन नजाने कलेज ? आज त झन् तेरो प्राक्टिकल छ ।ममीले भनेपछि पो बल्ल याद आयो । आज फिजिक्सको प्राक्टिकल हो भनेर । हतार हतार प्राक्टिकल बुक र कापी ब्यागमा हालेँ । निस्किएँ । मैले त प्राक्टिकल नै गरेको छैन भन्ने पिर मान्दै कलेज पुगेँ ।

दिमागमा कताकतिप्राक्टिकल र होमवर्कको चिन्ता थियो भने कताकति हिजोअस्तिको घटनाको आघात । प्राक्टिकल क्लासमा खाली कापी बुझाउँदा सरले निकै गाली गर्नुभयो र भोलि गरेर आऊ भन्नुभयो । सधैँ होमवर्क गर्ने म त्यो दिन गरिनँ । साथीहरू पनि छक्क परे ।

किन नगरेकी ?’ मधुले सोधिरही ।तर मैले जवाफ दिन सकिनँ । बरु, सर र साथीहरूको अगाडि मौन बसिरहेँ । मेरो मनमा भएको त्रास मेरो आँखामा सजिलै छापिएको थियो । म जतिबेला पनि त्यो मान्छे गाडीमा नपरे हुन्थ्यो भन्ने सोचिरहन्थेँ ।

अन्तिम क्लास सकिएको घण्टी बज्यो ।त्यो दिन हामी कलेजबाट निस्कियौँ र गफ गर्दै पुलसम्म पुग्यौँ । त्यसपछि मधु आफ्नो बाटो लागी र म आफ्नो बाटो । गाडी कुर्ने ठाउँनेर पुगेपछि म झसङ्ग भएँ । मेरो मन एकदमै अत्तालियो । मानवरूपी दानव त त्यहीँ आइपुगेछ ।

डराउँदै सोचेँ, ‘त्यो मान्छे चढिसकेपछि मात्र म अर्को गाडीमा चढ्छु । एकैछिनमा गाडी पनि आयो । केही मान्छे चढे । र, गाडी हिँड्यो । अब त त्यो दानव पनि गयो होला भनेर यसो बायाँतिर हेरेको, ऊ त आफ्नो गिद्धे नजरले मलाई घुरेर त्यहीँ उभिएको रहेछ । त्यसपछि २, ३ वटा गाडी आए । तर, न ऊ चढ्यो, न त म । अबको गाडी पनि नचढे तघर पुग्न ढिलो हुन्छ भनेर म त्यसपछिको गाडी चढेँ । अबेर भएर होला, गाडी खाली खाली नै थियो । म ढोकापट्टिको चौथो सिटमा गएर बसेँ । महिला सिटमा बस्दा कहिले आण्टीहरूले त कहिले बिरामीहरूले सिट माग्दा छोडिदिनुपर्थ्यो । त्यही भएर म महिला सिटमा बस्दिनथेँ । त्यो मान्छे अरू सिट खाली हुँदाहुँदै पनि मेरै छेउको सिटमा आएर बस्यो ।

सधैँजस्तो गाडी फेर्नुभन्दा बरु आज सिट फेर्छु भन्ने सोचेँ । जुरुक्क उठेर वरपर हेरेँ । गाडी सहिदगेट पुगिसकेको रहेछ । बाँकी सिटमा पनि मान्छेहरू चढेर बसिसकेका रहेछन् । म फेरि त्यहीँ बस्न बाध्य भएँ । लाचार र असहाय । आफ्नै घर फर्किन पनि मलाई यस्तो अमानवीय र तुच्छ व्यवहार झेल्नुपर्ने !

अस्तिको दिनको घटना मेरो दिमागमा स्लाइड सो जसरी आउन थाल्यो ।

अफिस जाँदो हो, त्यसैले ऊ सधैँ सुटमा हुन्थ्यो । अचानक मलाई छातीभन्दा तल चिसो महशुस भयो । झट्ट हेरेको त्यो राक्षसले हात आफूतिर लगेको देखिहालेँ । मेरो सर्टको एउटा टाँक खुल्लै थियो । म शून्य भएँ । दिमाग खाली भयो । शरीर पूरै चिसो भयो । मैले केही सोच्नै सकिनँ । हत्तपत्त ब्यागले छोपेर सर्टको टाँक लगाएँ र सहचालकलाई गाडी रोक्न भनेँ ।

एकछिन ल, पारि गएर रोक्छ गाडी ।सहचालकले भने । गाडी नरोकुन्जेल ढोकानेर उभिइरहेँ । आँखाबाट आँसु बगिरहेका थिए । सायद आँखा राता पनि भएका थिए । सहचालक दाइले सोधे, ‘बहिनी, के भयो ?किन रोएकी ?’ मैले दायाँबायाँ टाउको हल्लाएर केही होइनभन्ने इसारा गरेँ । गाडी कलङ्की पारि रोक्यो । म ओर्लिएँ र टुसुक्क बसेँ । मलाई अझैपनि छातीभन्दा तलतिर चिसो महशुस भइरहेको थियो । म त्यहीँ बसेर रोएँ । वरपरका मान्छेहरूले मलाई हेर्दै जाँदै गरिरहेका थिए । म निकैबेर रोएँ र अर्को गाडी चढेर घर गएँ ।

हिजोअस्तिको जस्तै घर पुगेर पनि म रोइरहेँ । बिहानपख उठ्दा ममीले भनिरहनुभएको थियो, ‘त्यस्तो बोल्ने मान्छे, तँलाई के भएको छ हँ आजभोलि? कलेज पठाइदिएको खाजा पनि नखाएरै फर्काएकी छेस् । कि मीठो भएन र ?’

होइन ममी । हिजो खाजा खाने बेलामा सरले बोलाउनुभयो । त्यही भएर खान भ्याइनँ ।बहाना बनाएँ । किन ममीलाई झुटो बोलेँ भनेर म आफैँलाई प्रश्न गरिरहेकी थिएँ । त्यसपछि म ड्रेस लगाउन गएँ । ड्रेस लगाउँदै ऐना हेरेँ । एकछिन त्यहीँ रोकिएँ । त्यही हात मेरो तिघ्रा र छातीमा हिँडिरहेको देखेँ । त्यो हात पन्छाउन खोजेँ । शरीरमा भए पो पन्छिन्थ्यो होला त ! मस्तिष्कमा छापिएको त्यो हात, त्यो राक्षसको अनुहार कहाँबाट पन्छिन्थ्यो र ?


Photo : record.horacemann.org


जसोतसो तयार भएर कलेज पुगेँ ।

कलेज पुगेपछि मधुसँग भेट भयो । भेट्न नपाउँदै उसले सोधी, ‘आज त गरेर ल्याइस् नि प्राक्टिकल?’ ला !मैले फेरि बिर्सिएछु । याद पनि कसरी होस् त ?

ला...छैन यारभनेँ, ‘हैन तँलाई के भइरहेको छ हँ ?न होमवर्क गर्छेस्, न प्राक्टिकल गर्छेस्...क्लासमा पनि ध्यान दिएर सुन्दिनस्, बोलाए पनि सुन्दिनस्...आखिर के चलिराछ तेरो दिमागमा ?’ उसले सोधी ।

अब मैले मेरो मनको भारी नबिसाउनुको धर थिएन । बिसाएँ । रुँदैरुँदै । ऊ अचम्म परी । र, भन्न थाली, ‘मसँग पनि यस्तै घटना भएको थियो । अस्ति तँलाई यही भनेकी थिएँ, तर तैँले सुनिनस् । अन्तै टोलाइराखेकी थिइस् । त्यसैले ।मैले सोधेँ, ‘के भएको थियो र ?’ ऊ बोल्न थाली, ‘अस्ति एकदिन मेरो छेऊमा एउटा मान्छे बसेको थियो । बसेको एकछिनपछि त्यसले आफ्नो हात मेरो छातीनेर ल्याउन थाल्यो । मैले उत्तिखेरै त्यसको हात च्पाप्प समातेर अगाडिको सिटमा ठोक्काइदिएँ । त्यसपछि तुरुन्तै उभिइरहेका मान्छेहरूले सहचालकलाई बोलाए र त्यो मान्छेलाई गाडीबाट निकाले । तँ यत्रो दिनदेखि किन सहेर बसेकी ? उत्तिबेलै त्यसलाई गाली गरेर त्यसलाई गाडीबाट निकाल्दिनुपर्छ नि ।

ऊ बोल्दाबोल्दै मैले बीचमै रोकेर भनेँ, ‘अनि पछि त्यो मान्छेले केही गर्यो भने नि ?’ मधुले निधारमा लगभग तीनवटा गाँठो पारेर भन्न थाली, ‘तैँले यस्तै सोचेर त्यसले तँलाई यत्रो दिनसम्म यातना दिइराख्यो । हाम्रो यस्तै डरले यस्ता मान्छेलाई प्रेरणा मिल्छ । पछि तँलाई केही गर्न खोजेपनि तँलाई सहयोग गर्ने कोही न कोही तेरो वरपर वा तँभित्रैमा हुन्छ । हामीसँग त कम्पास, पेनजस्ता चिजहरु पनि त हुन्छन् नि । एक्लै भएको बेला यस्तै चिजले घोचेपनि भइहाल्यो । बुझिस् नि ? आजदेखी चुप लाग्ने होइन । आवाज उठाउने हो, लड्ने हो । यस्तालाई सजाय दिलाउने हो ।

मुधको कुराले मलाई मनमा छोयो । म एकछिन अचम्मित भएँ । आफैलाई प्रश्न गर्न थालेँ, ‘किन चुप भएँ म यत्तिका दिन ?’ हिम्मत जागेर आयो ।

आजपनि हामी पुलसम्म गफ गर्दै पुग्यौँ र बाई भनेर छुट्टियौँ ।

आजभने त्यो मान्छे गाडी चढ्ने ठाउँनेर थिएन । एकछिनमा गाडी आयो र म चढेँ । सधैँजसो आजपनि लास्ट सिट मात्रै खाली थियो । त्यसैले त्यहीँ गएर बसेँ । कालिमाटी पुगेपछि त्यही राक्षसको अनुहार ढोकानेर देखेँ । त्यसले मलाई उही गिद्धे नजरले हेरिरहेको थियो । रविभवन आएपछि मेरो छेउमा बसेकी दिदी ओर्लिनुभयो र त्यो मान्छे मेरो छेऊमा बस्यो । उसले आफ्नो हात मेरो छातीतर्फ बढाइरहेको थियो । मैले तुरुन्तै त्यसको हात च्याप्प समातेर झट्कारेँ ।

तेरो हात काट्दिम्?’ म चिच्याएँ ।चर्को स्वर गरेँ,‘भन् तेरो हात काट्दिम्?’गल्लीमा उभिएका र सिटमा बसेका सबै मतिर हेर्दै लगभग एकै स्वरमा सोधे, ‘के भयो नानी ?’

म बोल्न थालेँ । रिसले दाँत किट्किटाएका थिए ।यसले २/४ दिनदेखि मलाई यस्तै गरिरहेको छ । चाल मारेर सधैँ आफ्नो हात मेरो शरीरमा ल्याउँछ । कता कता छुन खोज्छ ।

यसलाई पुलिसकोमा लैजाऊँ । बसका सबैजसो एकैस्वरमा कराए ।

नभन्दै सहचालक दाइले तुरुन्तै चालकलाई भनेर गाडी पुलिस चौकीनेर रोकाए ।

त्यो मान्छेलाई पुलिसको जिम्मा लगाइयो ।

मलाई ठूलै भारी बिसाएझैँ भयो । कैयौँ दिनदेखि हावाहुरी चलिरहेको मन शान्त भयो ।

भोलिपल्ट कलेज गएँ । सरलाई प्राक्टिकल पनि बुझाएँ र सबै पिरियडमा ध्यान दिएर पनि पढेँ । त्यो दिन,अन्तिम पिरियड सकिएको घण्टी पनि बज्यो ।

टिनटिनटिनटिन...

म खुसी हुँदै घर फर्किएँ ।


यो लेख 
जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नु होला।

Tuesday, November 17, 2020

राम्रो छुवाइ, नराम्रो छुवाइ

 म गौरी हुँ । मेरी ७ वर्षकी प्यारी छोरी छन् । मसँग खेल्न, सँगै बसेर कथा सुन्न, टीभीमा कार्टुन हेर्न, अनि आफ्ना कुराहरू सेयर गर्न उनलाई एकदमै मन पर्छ । हरेक दिन उनी मलाई दिनभरका आफ्ना कुरा मन खोलेर सुनाउँछिन् । आफ्ना साथीहरूसँग दिनभरी खेलेका खेल, दिनभरका कुराकानी, उनीहरूबीचको रमाइलो झगडा, सबै कुराहरू सुनाउन पाउँदा छोरीलाई एकदमै खुसी लाग्छ । मलाई पनि छोरीका कुरा सुन्न पाउँदा रमाइलो लाग्छ ।

तर एक दिनको कुरा हो, उनको अनुहार सधैँको जस्तो खुसी थिएन । हत्तपत्त नरिसाउने मान्छे, त्यो दिन रिसाएर बसिरहेकी ! अनुहार पनि मलिन देखिन्थ्यो । उनलाई मन पर्ने मालपुवा पकाएर खान दिँदा, मन पर्ने परीको कथा सुनाउँदा पनि उनको मुहारमा कुनै खुसी देखिएन ।
राती सुत्ने बेलामा पनि ऊ नबोली बसिरहेकी थिई । मैले बारम्बार के भयो भनेर सोध्दा पनि कुनै जवाफ दिइनन् । भोलिपल्ट बिहानसम्म पनि उनको मलिन अनुहार देखेर फकाइ फकाइ सोधेपछि भने बल्ल डराइ डराइ आफ्नो कुरा भन्न थालिन् ।
अघिल्लो दिन ऊ आफ्ना साथीहरूसँग खेल्न उनीहरूको घरमा गएकी थिइन् । त्यतिबेला साथीको बाबाले नानीलाई माया गरे जसरी काखमा लिनुभएछ । ‘तर मलाई अङ्कलले काखमा लिएको कत्ति पनि मन परेन, मामु । अप्ठेरो लागेको थियो ।’ उनले रुन्चे मुख बनाउँदै सुनाइन् । मलाई एकाएक डर लाग्न थाल्यो । डराइ डराइ थप कुरा सोध्न थालेँ ।

Photo:pinterest.com 

‘मैले मलाई मन पर्दैन भन्दा पनि, अङ्कलले मेरो गाला चिमोटिरहनु भाथ्यो । झन् त्यो गन्हाएको मुखले गालामा माया गर्दै दारी नि दली दिनुभयो ।’ नाक खुम्चाउँदै उनले सबै कुरा बताइन् । उनले अघिल्लो दिन साथीको घरमा साथीकै बुवाले गर्नुभएको सबै गतिविधि सुनाउँदा मेरो मनमा चिसो पसिसकेको थियो ।
आफूसँग त्यत्ति धेरै कुरा गर्ने छोरी, कुरा गर्नै नसक्ने गरी डराउँदा पनि थाहा नपाएकोमा नमज्जा लागिरहेको थियो । अनि, छोरीसँग त्यति धेरै कुरा गर्ने मान्छेले उसलाई आफ्नै र अरूबाट हुन सक्ने दुव्र्यवहारका बारेमा थाहा दिन नसक्दा आफैँसँग रिस पनि उठ्यो । पछुतो पनि लाग्यो ।
हामी आफ्ना बालबच्चालाई धेरै कुरा सिकाउँछौँ । उनीहरू हरेक कुरामा, हरेक क्षेत्रमा जान्ने बुझ्ने होऊन् भन्ने चाहन्छौँ । तर, जब उनीहरूलाई व्यक्तिगत सुरक्षा, सतर्कताका बारेमा बुझाउनुपर्ने हुन्छ, तब हामी चासो राख्दैनौँ । उनीहरूसँग दुव्र्यवहार, राम्रो छुवाइ र गलत छुवाइका बारेमा जानकारी दिँदैनौँ । जसले गर्दा, मेरी छोरीजस्तै हाम्रा ससाना नानीबाबुहरू प्रत्यक्ष र अप्रत्यक्ष दुव्र्यवहारमा परिरहेका हुने रहेछन् ।

Photo : carnet.org.np

त्यो दिन जब छोरीले आफूले भोगेको दुव्र्यवहारका बारेमा बताइन्, तब मात्रै मैले उनलाई केके कुराहरू सिकाउन पर्ने रहेछ भनेर याद गरेँ । हामीले हाम्रा नानीबाबुलाई दुव्र्यवहारका बारेमा बताइ हाल्यौँ भने पनि आफ्नैहरूबाट दुव्र्यवहारमा परिन्छ भनेर कमै सिकाउँछौँ । जसले गर्दा हाम्रा बाबुनानीहरू घरभित्रै, गाउँ समाजकै मानिसबाट, आफ्नैहरूबाट दुव्र्यवहारमा परिरहन्छन् ।
मैले त्यो दिन छोरीलाई सोधेँ, ‘अंकलले त्यस्तो गर्दा तिमीले अंकललाई केही भनिनौ ?’
‘नगर्नून अंकल, मलाई अप्ठेरो भयो त भनेँ नि, तर अंकलले झन् कसेर समाउँदै मलाई नै गाली गर्न थाल्नुभयो ।’
छोरीले यी कुरा सुनाइ रहँदा मेरा आँखा रसाइरहेका थिए । तर, त्यो दिनदेखि उनले त्यस्ता दुव्र्यवहार भोग्नु नपरोस्, दुव्र्यवहारमा परिहाले कसरी प्रतिकार गर्ने भन्ने बारेमा बताउने प्रयास भने गरेँ । ‘छातीमा, सुसु गर्ने ठाउँमा छुनु वा छुन खोज्नु, गाला चिमोट्ने, दारी दलिदिने गर्छ भने त्यो नराम्रो छुवाइ हो । कसैले आफूलाई त्यसरी छुन्छ वा छुन खोज्छ भने नाइँ भन्नुपर्छ, आफ्नो ममी वा आफूलाई माया गर्ने नजिकको मानिसलाई आफूले भोगेको कुरा सेयर गर्नुपर्छ ।’
राम्रो छुवाइ, नराम्रो छुवाइका बारेमा बालबालिकालाई बुझाउनु हरेक अभिभावकको कर्तव्य हो । जबसम्म बालबालिकालाई हामीले यस्ता कुराहरु सिकाउँदैनौँ, तबसम्म उनीहरूले शारीरिक, मानसिक, यौनिक दुव्र्यवहार तथा हिंसाको सामना गर्नुपर्छ ।

Tuesday, November 3, 2020

इन्टरनेट : व्यवहार, दुर्व्यवहार

 


सबैलाई नमस्ते, मेरो नाम गरिमा हो । म अहिले १२ कक्षामा पढ्दै छु । कोरोना भाइरसका कारण हाम्रो ११ कक्षाको जाँच हुन सकेन । मैले पढिरहेको स्कुलले नै जाँच लियो । स्कुल जाने, पढ्ने भन्ने कुरा कोरोनाका कारण बन्द नै भयो भन्दापनि हुन्छ । किनकि, यतिका समय हँुदापनि म स्कुल जान पाएकी छैन । यस्तै भइराख्यो भने मेरो १२ कक्षाको जाँच पनि ११ कक्षाको जसरी नै हुन बेर छैन । 

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालका धेरैजसो शहरी क्षेत्रका विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थाले । मेरो स्कुलले पनि अनलाइन कक्षा सञ्चालन गर्ने भन्ने कुरा हुन थाल्यो । नभन्दै, कक्षा सुरु भयो ।

मैले १२ कक्षा नसक्दा सम्म मोबाइल फोन चलाउँदिन भनेर घरमा भनेकी थिएँ । मलाई खासै रुचि पनि थिएन । त्यसैले पनि मैले मोबाइल किनेकी थिइन । फेरि, मलाई आवश्यक पनि परेको थिएन । 

अनलाइन क्लास हुने भएपछि मलाई मोबाइल आवश्यक पर्न थाल्यो । मैले कहिले बाबाको त कहिले ममीको फोनबाट काम चलाउन थालेँ । तर, त्यो त्यति सम्भव भएन । बाबाममी कामका लागि यताउता जानुपर्दा मेरो क्लास छुट्न थाल्यो । त्यसपछि बाबाले मलाई मोबाइल किनिदिनुभयो । घरमा नेटपनि जोडिदिनु भयो । घरमा नेट अनि मोबाइल भएपछि जति नै चलाउँदिन भनेपनि चलाउन मन लागिहाल्दो रहेछ । मोबाइल र नेट भएपछि मैले फेसबुक चलाउन थालेँ । मैले फेसबुक अकाउन्ट पहिले नै बनाएकी थिएँ । तर, चलाएकी थिइन । 

मैले फेसबुक अकाउन्ट बनाएर, रिक्वेस्ट पठाउने बित्तिकै मेरो सानीममीले फोन गरेर फेसबुक लगायतका सामाजिक सञ्जाल कसरी चलाउने, कस्ता मान्छेलाई साथी बनाउने, कस्ता मान्छेसँग कुरा गर्ने, फोटो अरुले हेर्न मिल्ने र नमिल्ने, अरुले ट्याग गर्न मिल्ने र नमिल्ने कसरी बनाउन मिल्छ भन्ने बारेमा सबै सिकाउनु भएको थियो । अनि, अनलाइनबाट पनि किशोरकिशोरी दुव्र्यवहारमा पर्न सक्छन् भन्नेबारे पनि उहाँले धेरै कुरा सिकाउनु भएको थियो । 

Photo : edtechreview.in 

तर, खै किन हो, सानीममीले त्यतिबेला मलाई अनि मेरो बहिनी (माइली सानीममीको छोरी)लाई यी कुरा सिकाइरहँदा खासै मन परेको थिएन । ह्या कस्ले गर्छ हामीलाई त्यस्तो जस्तो लागेको थियो । सानीममीले यी कुरा सिकाइरहँदा पनि उहाँको कुरामा मैले चासो दिइरहेकी थिइन । तर, हामीले उहाँको कुरालाई बेवास्ता गरे पनि, उहाँले सिकाउन भने छोड्नु भएन । 

जब मैले फेसबुक चलाउन थालेँ, तब बल्ल मलाई महसुस भयो कि, सानीममीले भनेको कुरा एकदम सही रहेछ । फेसबुक चलाउन थालेपछि मलाई धेरै रिक्वेस्ट आयो, अनि म्यासेज पनि । चिन्दै नचिनेको मान्छे पनि अनलाइन देखेपछि बोल्न आउने, मैले वास्ता नगर्दा पनि म्यासेज गरिरहने गर्न थाले । कहिलेकाहीँ त नचिनेकै मान्छेले पनि अप्ठ्यारो लाग्ने खालका चित्र, भिडियो पनि पठाएका हुन्थे । तर, मलाई ती मान्छेलाई कसरी पाठ सिकाउनु पर्छ भन्ने कुरा थाहा थियो । 

उनीहरूले गरेको व्यवहार गलत भएकोले यस्तो व्यवहार नगर्न आग्रह गरेँ । अनि, त्यसरी म्यासेज पठाउने मान्छेलाई ब्लक पनि गरेँ । जसले गर्दा अनलाइनबाट हुन सक्ने दुव्र्यवहारको जोखिमबाट म केही हदसम्म बचेँ । यदि मलाई समयमै यसका बारेमा थाहा नभएको भए, अनलाइनबाट हुने दुव्र्यवहार तथा सामाजिक सञ्जालको सही प्रयोगको बारेमा जानकारी नभएको भए सायद म पनि दुव्र्यवहारमा पर्न सक्थेँ । जसले मेरो मानसिक स्वास्थ्यमा पनि असर पर्न सक्थ्यो, मेरो पढाइ पनि बिग्रिन सक्थ्यो । तर, समयमा नै जानकारी पाएका कारण मैले राम्रोसँग सामाजिक सञ्जालको प्रयोग गरिरहेकी छु । अनि मेरो अनलाइन क्लास पनि राम्र्रोसँग नै भइरहेको छ । 

कुनै पनि समस्या बाजा बजाएर आउँदैन, त्यसैले पूर्वतयारी गर्नुपर्छ भन्ने कुरा मलाई अहिले एकदमै ठीक लागेको छ । सामाजिक सञ्जालको सही प्रयोगको बारेमा पूर्वजानकारी पाएका कारण मैले आज यसको सही प्रयोग गर्न जानेको छु । साथै, आफूले जानेका कुरा मेरा साना भाइबहिनीलाई पनि सिकाउँछु, जसरी मलाई मेरी सानीममीले सिकाउनु भएको थियो ।

Tuesday, October 20, 2020

लुकेर हेर्दाको खुसी

त्यो दिन म पहिलोपटक महिनावारी भएँ । त्यतिबेला म, स्कुलमा थिएँ । मेरो कक्षाका सबै केटी साथीहरु मभन्दा पहिल्यै महिनावारी भइसकेका थिए । त्यसैले महिनावारी हुनु मेरो लागि नौलो कुरा थिएन । बरु साथीहरु भन्दा ढिला गरेरै सहि, मलाई पनि महिनावारी भएको थियो । त्यसैमा खुसी थिएँ । तर, खुसीसँगसँगै मेरो मनमा डरले पनि डेरा जमाइसकेको थियो । 

एक त मसँग प्याड थिएन । प्याड पनि के भन्नु । टालो थिएन । त्यसमाथी स्कुल विदा हुन अझै २ घण्टी कुर्नुप¥थ्र्यो । आफ्नो मिल्ने साथीलाई पनि भन्न मन लागेन । किनकिन मलाई साथीहरुले कहिलेकाहिँ साउती मार्दै महिनावारीका कुरा गर्दा, पहिल्यैदेखी अप्ठेरो लाग्थ्यो । उनीहरु पहिलोपटक महिनावारी हुँदा घरभन्दा टाढा लुकेको, पेट दुखेको, राति ओच्छ्यानमा रगत लागेर एकाबिहानै आमाले गाली गरेको कुरा गर्थे । 

अझ कोहि साथीले झुक्किएर महिनावारी हुँदा घामलाई हेरेको, पुजाथानको दर्शन गरेको, बुवा र दाजुभाईलाई हेरेको कुरा सुनाईहाली भने, ऊ साथीहरुको भिडमा नै एक्लो हुन्थी । उसलाई एक्लै पारेर, सबैले पाप र धर्मको, घरको लच्छिनको, बुवा र दाजुभाईको बिरामी र मृत्युसम्मको डर देखाउन थाल्थे । 

त्यसैले आफु महिनावारी भएँ भन्न आँट जुटाइन । आँट जुटाउनु अगाबै मलाई डरले गाँज्यो । उनीहरुले लगाउने आरोपहरु र देखाउने डर सम्झेरै, मन अमिलो भयो । अब आफ्नै तँ तँ म म गर्ने साथीलाई त भन्न नसकेको कुरा, सर म्याडमलाई झन् कसरी भन्नु । 

साथीहरुले पनि त महिनावारी भएको कुरा, महिनावारीमा मर्नेगरी पेट र ढाड दुखेको कुरा, सरमिसलाई कहिल्यै भन्दैनथे । भनेपनि मिसलाई चाहिँ भन्थे कि, तर मैले थाहा पाइन । धत्, सरलाई यस्तो कुरा त भन्नु पनि कसरी ? स्कुलमै मुख देखाउन लाज हुन्छ । आफ्नै साथीले पनि गिज्याउन थाल्छन् । 

बिस्तारै पेटको दुखाई पनि सुरु भयो । तर टाउको दुखेको बाहाना पारेँ । अनि बाँकी दुवै घण्टी नबज्दासम्म घोप्टे परेर ढेक्समा टाउको अढ्ढाएँ । घर जान्छु पनि कसरी भन्नु । अघिनै ट्वाइलेट जाँदा कट्टुभरी रगत लागेको थियो । अहिले त मेड्डीमा पनि लाग्यो होला । त्यसैले चुपचाप बसेँ । 

घर जाने घण्टी बज्यो । सबै पालैपालो निस्किए । मसँगै बसेकी साथीले मलाई पनि घर जान घच्घचाई । तर मलाई ऊसँग जानु थिएन । घर जानु अगाडि मेड्डीमा अनि आफु बसेको ठाउँमा रगत लागे नलागेको हेर्नु थियो । लागेको भए रगत लुकाउने उपाय खोज्नु थियो । उफ † ऊ गएपछि मैले कत्ति धेरै काम सक्नु थियो । 

उसले सँगै जान कर गरिरही । मैले पनि अस्वीकार गरिरहेँ । मेरो अस्वीकारको अगाडि उसको करले हा¥र्यो । ऊ गई । ऊ पर पुगेपछि हत्तपत्त उठेर आफु बसिरहेको ठाउँमा हेरेँ । नभन्दै रगत लागिसकेको रहेछ । टाउको बटारेर मेड्डी हेरेँ । मेड्डीमा त यसैपनि लाग्ने भयो । 

हत्तपत्त कापीको पाना च्यातेँ । अनि बेन्चमा लागेको रगत पुछ्न थालेँ । तर, कहाँ पाएर पुछिनु । कापीको पानाले अलिअलि रातोभन्दा बढी केहि सोसेन । स्कुलको धाराबाट पानी ल्याएर सफा गर्ने उपाय नआएको पनि होइन । तर पानी थाप्नलाई मसँग केही थिएन । 

अकस्मात दिमागमा आइडिया आयो । स्कुलमा लेख्दा लेख्दै मसी सकियो भने भर्नुपर्छ भनेर, मसीको बट्टा नै स्कुल लिएर आउथेँ । त्यही सिसाको इंक पट निकालेँ र निलो मसी रगत लागेको ठाउँमा दलेँ । भोलिपल्ट साथीहरुले रगत लागेको अनुमान नलगाउन् भनेर अलिअलि मसी जानीजानी भुईँमा पोखेँ । अनि अलिअलि चाहिँ साथीहरु बसेको ठाउँ तिर पनि । 

मसीले रगतलाई केहि हदसम्म छोप्यो । रगत नै होकी भनेर अनुमान लगाउने ठाउँलाई भने फाउन्टेन पेनको बिर्कोले कोतरेर काठका मसिना चोइटा चोइटा निकालेँ । मन अलि शान्त भयो । तर मेड्डीमा लागेको रगतको टाटो लुकाउने उपाय खोज्न बाँकी नै थियो । 

रगत लागेको मेड्डीको भागलाई देब्रे साँप्रातिर पारेँ । झोलाको फित्ता पनि सारेर लामो बनाएँ । अनि देब्रेपटोमा मात्रै भार पर्ने गरेर बोँके । यति गर्दा पनि देखिन्छ कि भनेर, ऐच्छिक गणितको हिसाब गर्न किनेको रजिस्टरजस्तो ठूलो खाता कापी झोला मुन्तिरबाट हातमा लिएँ । 

Photo : archetypeintuitive.com

एकपटक फेरी आफैलाई हेरेँ, त्यसपछि बेन्चमा । रगतको टाटा कतै देखिएन । मन ढुक्क भयो । खुसी हुँदै घर तिर गएँ । आकाशमा घाम बाँकी नै थियो । पहिलोपटक महिनावारी हुँदा घाम हेर्न हुन्न भनिथ्यो । मैले घाम हेरेँ । टाउको उठाई उठाई हेरेँ । पहिलोपटक घाम हेर्दा त्यतिधेरै खुसी लाग्यो । बाटामा केटा मान्छेहरु पनि देखिए । केटा मान्छे देख्दा पनि पहिलोपटक धेरै खुसी लाग्यो । 

किनकी महिनावारी हुँदा जेजे गर्न, हेर्न हुँदैन भनिएको थियो, मैले ति गरिरहेको थिएँ, हेरिरहेको थिएँ । घर नपुग्दै बा र भाई आँगनमा उभिएर उँदो खेततिर हेर्दै गफिइरहेका थिए । उनीहरुलाई देख्दा त झन् धेरै खुसी लाग्यो । तर साथीहरुले महिनावारी हुँदा दाईभाईलाई हेर्दा, वुवालाई हेर्दा पाप लाग्छ भनेको कुरा भने मनमै थियो । 

घर पुगेर आमालाई सामान्य तरिकाले आफु महिनावारी भएको कुरा सुनाएँ । एकछिन् त पत्याउनुभएन । तर मेड्डीमा लागेको रगतको टाटा देखेपछि, आमा हतारिँदै च्याँठिन थाल्नुभयो । 

‘लाज सरम केही छैन यो केटीलाई, आफ्नो डर नमाने नि बुवाको, भाईको डर त मान्नु । लाज पचेकी केटी ।’

आमाको बोलीले म झसंग भएँ । अघिसम्म पेट दुख्दादुख्दै पनि खुसी भएकी म, आमाको तितो बोलीले रुन थालेँ । आमाले मेरो रुवाई देख्नुभएन । सायद देखेर पनि वास्ता गर्नुभएन । मेरो दाहिने हातमा घिच्चाउँदै तानेर कर्सा पछाडि लैजानुभयो । रिस मिसिएको स्वरमा आफु नआउँदासम्म त्यहिँ बस्न निर्देशन दिएर आमा जानुभयो । 

म भने आमाको रुखो बोली सम्झिसम्झि झन्झन् ठूलो स्वरमा रोइरहेँ । 

आमा मलाई सरु काकीकोमा लुकाउनका लैजानका लागि पुराना डसना, च्यात्तिन लागेको तन्ना र ठुस्स गन्ध आएको पुरानो सिरक लिकाल्न जानुभएको रहेछ । साथैमा आमाको पुरानो धोतीको ५÷७ वटा लामा लामा टुक्रा पनि थिए । 

‘हिँड सरु काकी काँ । अब ७ दिनसम्म काकीहर्काे पुरानो गोठाँ बस्ने हो तँ । भातासात मै लिएर आम्छु । बाहिर निस्किरन पर्दैन । त्यहि गोठको कुनाँ पानीको धारो आउँछ । आकाशाँ घाम नदेखिँदै रगत लागेका टालाटुली धोएर, कसैले नदेख्ने ठाँ सुकाएस् ।’

मेरो रुवाईलाई वास्ता नगरी आमाले यति भनि भ्याइसक्नुभएको थियो । म झन् चर्को गरी रुन थालेँ । मलाई सरु काकीको गोठमा लुक्न मन थिएन । सरु काकीकोमा मात्रै होइन, मलाई कसैकोमा लुक्न मन थिएन । ‘म कसैकाँ जान्न आमा । घरैमा बस्छु ।’ डर, लाज र आक्रोस मिसिएको स्वर एकैपटक व्यक्त गरेँ । आमा भुतभुताउँदै हुनुन्थ्यो । 

यत्तिकैमा बुवाको आवाज सुनेँ । ‘अब जान्न भनेसी घरैँ बस्न दे न त । बालखै छे, त्यो सरुको गोठाँ क्यारी बस्ली एक्लै ।’

बुवाको बोली सुनेर मन एकाएक खुसी भयो । कत्ति माया गर्नुहुन्छ बुवाले मलाई । 

तर खुसी धेरैबेर टिक्न पाएन । आमा झन् बेसरी च्याँठिनुभयो, ‘तपैँले गर्दा हो छोरछोरी बिग्रेका । यो असत्तीले अघिनै कति बित्याँस पारिसकी । अब नि लुकिन भने घरको सअ नि जान्च ।’ आमाको रुखो बोलीले बुवा नि कड्किनु भयो । एकछिन दुवैको भनाभन भयो । 

अन्ततः आमाले हार्नुभयो । म घरै बस्ने भएँ । तर लकुेर । 

घामपनि मुश्लिकले छिर्ने पुरानो कोठामा, दुईओटा ढोका थियो । एउटा भित्रैबाट जान मिल्ने, एउटा बाहिरबाट मात्रै । बुवा र भाईलाई एकछिन तल्ला बारीतिर पठाएर, आमाले मलाई त्यो कोठामा लैजानुभयो । सुत्न ओच्छ्यान बनाईदिनुभयो । आफ्नो तरिकाले मलाई केहि हदसम्म सहज बनाइदिनुभयो । 

हुन त मलाई लुक्नै पनि मन थिएन । बुवालाई हेर्दै गणितका प्रश्नहरु सोध्न मन थियो । भाईसँग जिस्किँदै, झगडा गर्दै रमाउन मन थियो । आमासँगै भान्सामा मलाई मनपर्ने कालो दाल र रायोको साग पकाउने मन थियो । त्यहिपनि, आफ्नै घरमा बस्न पाउँदा मलाई खुसी लागेको थियो । 

आफ्ना साथीहरुभन्दा आफुलाई भाग्यमानी ठानेको थिएँ । लुकेरै सहि ढोकाको छेऊ थोरै उघारेर हरेक दिन घाम हेरेको थिएँ, भाईलाई स्कुल जानेबेला आमाले नदेख्नेगरी बाई गरेको थिएँ । बुवाले बोलेको, खोकेको, अनि नमिठो गरी गाएको ‘फुलमा भमरा’ गीत पनि मिठो मानेर सुनेको थिएँ । 

आज पहिलोपटक महिनावारी हुँदाको त्यो हप्ता दिन सम्झिँदा मनमा एकैपटक लाज, हाँसो, डर, उत्सुकता मिसिएर आउँछ । आमाले, साथीहरुले गलत कुरा सिकाएकोमा रिस पनि उठ्छ । आफुले बट्ठाईँ गरेको सम्झेर आफैदेखी गर्व महशुस पनि हुन्छ । अनि आमाले मलाई सरसफाईको बारेमा केहि नसिकाएको, महिनावारी हुँदा उहाँका आदेश पालना नगरेर गाली गरेको सम्झिँदा मनैदेखी नमज्जा लाग्छ । 

साँच्चै आमाले पनि महिनावारी बार्नु नपरेको भए कस्तो हुन्थ्यो होला ? 

महिनावारी हुँदा सरसफाईमा सबैभन्दा बढि ध्यान दिनुपर्छ भनेर आमालाई कसैले सिकाएको भए, सायद आमाको यौनीमा आजसम्म पनि विभिन्न समस्या देखिन्थ्यो होला । महिनावारी रोकिइसक्दा पनि महिनावारीमा सरसफाईको अभावले देखिएका रोगहरु देखिन्थेन होला । र आमाको शरीरलाई चाहिने पोषणपुर्ति गर्न औषधीका तिता चक्की र झोल पिउनु पर्थेन होला । 


Tuesday, October 6, 2020

पिलो

 ‘दाइ हेर न यहाँ पिलो आयो मेरो, निचोर्दे न ।’

‘कहाँ पिलो आयो भन्छे…’

‘यी याँ के,छातीमा।’

‘जा आमालाई भन् ।’

‘ह्या जान्नँ।आमाले हल्दार्नी बजैकोमा पठाउनुहुन्छ । ती बजैले एकदमै दुखाइदिन्छिन् । जान्नँ म त ।’

दाइले यति भन्दा मेरो आँखाबाट पिलित्त आँशु खस्यो । मलाई यसरी दुख्न थालेको केही दिन भैसकेको थियो ।

‘नगए नजा, मलाई दुख्ने हो र?’

सायद दाइले मेरो आँखाबाट आँशु झरेको देख्यो होला,‘खै यताआ…मै निचोर्दिन्छु तेरो पिलो’, भन्दै ऊ पिलो निचोर्न तयार भयो ।

दुखाइको रन्कोले, मैले केही देखेको थिइनँ । दाइको मुखबाट बोली नखस्दै, मैले सर्लक्क आफ्नो जामामाथि सारेर दुवैतिरको छातीमा आएको पिलो दाइलाई देखाएँ ।

उसले तुरुन्तै मेरो छातीको पिलो निचोर्न थाल्यो ।

‘कस्तो कस्तो ठाँउमा पिलो आउँछ यस्को ।’दाइ मुर्मुरिँदै थियो । तर, निर्चोन छोडेन ।

दाइले जति निचोथ्र्यो, मेरो दुखाइ झन्झन् बढ्दै जान्थ्यो ।

तर,दुवै पिलोबाट एक थोपा पनि पिप निस्केन । न त मेरो दुखाइ नै कमभयो ।

गान्निएको छातीको पिलोबाट पिप नआएपछि दाइ झोक्किन थाल्यो,‘सक्दिनँ म तेरो पिलो निचोर्न । भोलि हल्दार्नी बजैकोमा जा ।’ऊ झोक्किँदै कोठाबाट निस्कियो ।

एक त पहिल्यैदेखि दुखाइले रन्केको छाती, त्यसमाथि दाइले निचोरिदिँदाको असह्य पिडा । शरीर फतक्क गलेको थियो ।सकिनसकी बोतलमा तातो पानी भरेँ अनि छातीमा टाँसेर खाटमा पल्टिएँ । दुखाइको सुरमा कतिबेला भुसुक्क निदाएँ,पत्तै पाइनँ ।

जब आमाले रातीको ८ बजेतिर खाना खान उठाउनु भयो, तबमात्रै म झल्याँस्स बिम्झे । त्यतिबेला पनि मेरो दुखाइ उस्तै नै थियो ।खाना खाने जाँगर रत्तिभर थिएन ।ननिको मान्दै खाना खान गएँ ।कसैसँग कुरा गर्न मन पनि लागेन । कपाकप भात खाएँ, र कोठामा फर्केर खाटमा घुप्लुक्क सुतेँ ।

दुखाइ बीसको उन्नाइस पनि भएको थिएन । त्यसैले बोल्ने जाँगर पनि हराएको थियो ।

त्यही बेला, खाने बित्तिकै सुतेको देखेर आमा कराउन थाल्नुभयो ।

‘खानी बित्तिकै सुत्न हुन्न भनेर कतिपटक भन्नु हँ तँलाई?जतिभने पनि टेर्ने हैन?’आमा कराउँदै हुनुहुन्थ्यो ।

म चुपचाप बसिरहेँ । आमा झन् कराउन थाल्नुभयो ।

अलिक बेरमा मन नलागी–नलागी रुन्चे स्वर बनाउँदै भनेँ, ‘पिलो आएर हन्हन्ती ज्वरो आको छ मलाई ।’

‘कहाँ आयो पिलो ?भन्न पर्दैन पहिले नै । खै देखा त ।’

‘यी ह्याँ, छातीमा ।अघि दाइले निचोर्देको थियो । तर,कत्ति पनि पिप आएन ।बरु उल्टै झन्झन् दुखिराछ ।’

यति भनिसक्दा मेरो आँखाबाट आँशु झर्न सुरु भैसकेको थियो ।

आमा मेरो पिलो आएको ठाँउमा छामछुम गर्दै हुनुहुुन्थ्यो ।

‘आमा मलाई हल्दार्नी बजैकोमा नलैजानु है, बरु तपाईंले निचोर्दिनु । ती बुढीले एकदम दुखाउँछिन् ।’डर र दुखाइ मिसाउँदै भनेँ ।

‘कतै जान पर्दैन पिलो–सिलो केही आएको हैन ।’अलिटर्रो स्वरमा आमाले भन्नुभयो ।

‘के भएको हो त? यसैको पीरले मलाई ज्वरो निआ’छ ।’

‘छाती बढ्न थालेको हो तेरो । सुरु–सुरुमा यस्तै हुन्छ । बरु,अबदेखि नुहाउँदा ख्याल गरेस् । पेटीकोट लगाएर नुहाउने गर् ।अनि सुन्, त्याँ दाइलाई पिलो आयो भन्दै छाम्न दिने–अर्ने होइन ।दुईचार दिनमा आफैँ ठीक हुन्छ ।’

ओ हो आमाले कति धेरै कुरा गर्नुभयो । मेरो दिमागमा केही पनि घुसेन । त्यही पनि डराइ–डराइ आमालाई सोधेँ ।

‘किन आमा?’

‘तेरो छाती बढ्न थालेको हो, अब मेरो जस्तै हुन्छ । यस्तो कुरा केटा मान्छेलाई भन्न हुन्न ।’

यति भनेर आमा जानुभयो । धेरै बेरपछि बल्ल बुझेँ, मेरो त स्तन बढ्न थालेको रहेछ । त्यही भएर पो मलाई त्यसरी दुखेको रहेछ । सायद, दाइलाई पनि थाहा नभएर होला, मैले पिलो आएको छ भन्दा, होला त नि भनेर पत्याएको । अनि मलाई हल्दार्नी बजैकोमा पठाउन नपरोस् भनेर दुखाएरै भए पनि निचोरिदिन खोजेको । तर, मभन्दा अलिकतिले मात्रै ठूलो दाइलाई पनि यी कुरा त कसरी थाहा होस् ।



Photo : time.com

छोरी मान्छेको छाती बढ्ने बारे मलाई त कसैले सिकाएनन्, दाइको त मेरोजस्तो छाती पनि बढ्दैन । झन् उसलाई त कसले सिकाओस्, किन सिकाओस् । त्यतिनै बेला मेरो मनमा कुरा खेल्यो, ‘साँच्चै कोहीकोही केटा मान्छेको त अलिअलि छाती देखिन्छ । उनीहरूको छाती बढ्दा दुख्छ कि दुख्दैन होला?’

मलाई यो कुरा पहिले नै थाहा भएको भए दाइलाई किन निचोर्न दिन्थेँ र ?किन उसलाई पिलो आयो दाइ, निचोर्दे न भन्थेँ होला र !मलाई सम्झेर आफैँदेखि एकदमै ग्लानी भयो । बेकारमा भनेछु भन्ने लाग्यो । अरू त अरू, त्यत्ति धेरै माया गर्ने दाइको मुख मात्रै हेर्न पनि लाज लाग्न थाल्यो ।

मैले कैयौँ दिनसम्म दाइको अनुहार राम्रोसँग हेर्न सकिनँ । कति दिन त, स्कुल जाँदा पनि अघिपछि भएर जान थालँे । जबजब त्यो दिन सम्झिन्छु, अझै पनि एकदमै नराम्रो लाग्छ । धेरै पछिमात्र थाहा पाएँ, त्यति बेलाको मेरो भोगाइ त एउटा सामान्य शारीरिक प्रक्रिया पो रहेछ! जबकि,यहीकुरा मैले समयमै थाहा पाएको भए, शारीरिक पीडामात्रै सहेपुग्थ्यो । यत्ति थाहा नपाउँदा, शरीरलाई भन्दा मनलाई बढी पीडा भयो ।

मलाई अहिले आफ्नो पुष्ट छाती देख्दा खुसी लाग्छ । मन परेको लुगा लगाएर ऐना अगाडि उभिँदा आफैँ देखेर मीठो लाज लाग्छ । तर त्यतिबेला? त्यतिबेला डरसँगै नमीठो लाज लाग्यो । आफ्नै शरीरको परिवर्तनलाई चिन्न नसक्दा पछिसम्म पनि ग्लानी भयो । बेक्कारमा मलाई किन यस्तो भयो भन्ने कुराले मनमा नराम्रो हलचल ल्यायो ।

यसबारे मलाई समयमा नै आमाले भन्नुभएको भए, सरमिसले पढाउनु भएको भए, वा अरू कसैले उमेरसँगै आउने शारीरिक परिवर्तन र त्यसको महत्वका बारेमा सिकाएको भए, मलाई कत्ति सहज हुन्थ्यो होला । मैले मानसिक तनाव झेल्नै पर्दैनथ्यो । अझ बढी त, दुखाइ सहेरै भएपनि आउँदै गरेको किशोरावस्थालाई लाज मिसिएको मेरो मीठो मुस्कानले दिल खोलेर स्वागत गर्ने थिएँ ।

आफू दुखेरै भए पनि खुसी हुने थिएँ ।

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...