Tuesday, November 3, 2020

इन्टरनेट : व्यवहार, दुर्व्यवहार

 


सबैलाई नमस्ते, मेरो नाम गरिमा हो । म अहिले १२ कक्षामा पढ्दै छु । कोरोना भाइरसका कारण हाम्रो ११ कक्षाको जाँच हुन सकेन । मैले पढिरहेको स्कुलले नै जाँच लियो । स्कुल जाने, पढ्ने भन्ने कुरा कोरोनाका कारण बन्द नै भयो भन्दापनि हुन्छ । किनकि, यतिका समय हँुदापनि म स्कुल जान पाएकी छैन । यस्तै भइराख्यो भने मेरो १२ कक्षाको जाँच पनि ११ कक्षाको जसरी नै हुन बेर छैन । 

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालका धेरैजसो शहरी क्षेत्रका विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थाले । मेरो स्कुलले पनि अनलाइन कक्षा सञ्चालन गर्ने भन्ने कुरा हुन थाल्यो । नभन्दै, कक्षा सुरु भयो ।

मैले १२ कक्षा नसक्दा सम्म मोबाइल फोन चलाउँदिन भनेर घरमा भनेकी थिएँ । मलाई खासै रुचि पनि थिएन । त्यसैले पनि मैले मोबाइल किनेकी थिइन । फेरि, मलाई आवश्यक पनि परेको थिएन । 

अनलाइन क्लास हुने भएपछि मलाई मोबाइल आवश्यक पर्न थाल्यो । मैले कहिले बाबाको त कहिले ममीको फोनबाट काम चलाउन थालेँ । तर, त्यो त्यति सम्भव भएन । बाबाममी कामका लागि यताउता जानुपर्दा मेरो क्लास छुट्न थाल्यो । त्यसपछि बाबाले मलाई मोबाइल किनिदिनुभयो । घरमा नेटपनि जोडिदिनु भयो । घरमा नेट अनि मोबाइल भएपछि जति नै चलाउँदिन भनेपनि चलाउन मन लागिहाल्दो रहेछ । मोबाइल र नेट भएपछि मैले फेसबुक चलाउन थालेँ । मैले फेसबुक अकाउन्ट पहिले नै बनाएकी थिएँ । तर, चलाएकी थिइन । 

मैले फेसबुक अकाउन्ट बनाएर, रिक्वेस्ट पठाउने बित्तिकै मेरो सानीममीले फोन गरेर फेसबुक लगायतका सामाजिक सञ्जाल कसरी चलाउने, कस्ता मान्छेलाई साथी बनाउने, कस्ता मान्छेसँग कुरा गर्ने, फोटो अरुले हेर्न मिल्ने र नमिल्ने, अरुले ट्याग गर्न मिल्ने र नमिल्ने कसरी बनाउन मिल्छ भन्ने बारेमा सबै सिकाउनु भएको थियो । अनि, अनलाइनबाट पनि किशोरकिशोरी दुव्र्यवहारमा पर्न सक्छन् भन्नेबारे पनि उहाँले धेरै कुरा सिकाउनु भएको थियो । 

Photo : edtechreview.in 

तर, खै किन हो, सानीममीले त्यतिबेला मलाई अनि मेरो बहिनी (माइली सानीममीको छोरी)लाई यी कुरा सिकाइरहँदा खासै मन परेको थिएन । ह्या कस्ले गर्छ हामीलाई त्यस्तो जस्तो लागेको थियो । सानीममीले यी कुरा सिकाइरहँदा पनि उहाँको कुरामा मैले चासो दिइरहेकी थिइन । तर, हामीले उहाँको कुरालाई बेवास्ता गरे पनि, उहाँले सिकाउन भने छोड्नु भएन । 

जब मैले फेसबुक चलाउन थालेँ, तब बल्ल मलाई महसुस भयो कि, सानीममीले भनेको कुरा एकदम सही रहेछ । फेसबुक चलाउन थालेपछि मलाई धेरै रिक्वेस्ट आयो, अनि म्यासेज पनि । चिन्दै नचिनेको मान्छे पनि अनलाइन देखेपछि बोल्न आउने, मैले वास्ता नगर्दा पनि म्यासेज गरिरहने गर्न थाले । कहिलेकाहीँ त नचिनेकै मान्छेले पनि अप्ठ्यारो लाग्ने खालका चित्र, भिडियो पनि पठाएका हुन्थे । तर, मलाई ती मान्छेलाई कसरी पाठ सिकाउनु पर्छ भन्ने कुरा थाहा थियो । 

उनीहरूले गरेको व्यवहार गलत भएकोले यस्तो व्यवहार नगर्न आग्रह गरेँ । अनि, त्यसरी म्यासेज पठाउने मान्छेलाई ब्लक पनि गरेँ । जसले गर्दा अनलाइनबाट हुन सक्ने दुव्र्यवहारको जोखिमबाट म केही हदसम्म बचेँ । यदि मलाई समयमै यसका बारेमा थाहा नभएको भए, अनलाइनबाट हुने दुव्र्यवहार तथा सामाजिक सञ्जालको सही प्रयोगको बारेमा जानकारी नभएको भए सायद म पनि दुव्र्यवहारमा पर्न सक्थेँ । जसले मेरो मानसिक स्वास्थ्यमा पनि असर पर्न सक्थ्यो, मेरो पढाइ पनि बिग्रिन सक्थ्यो । तर, समयमा नै जानकारी पाएका कारण मैले राम्रोसँग सामाजिक सञ्जालको प्रयोग गरिरहेकी छु । अनि मेरो अनलाइन क्लास पनि राम्र्रोसँग नै भइरहेको छ । 

कुनै पनि समस्या बाजा बजाएर आउँदैन, त्यसैले पूर्वतयारी गर्नुपर्छ भन्ने कुरा मलाई अहिले एकदमै ठीक लागेको छ । सामाजिक सञ्जालको सही प्रयोगको बारेमा पूर्वजानकारी पाएका कारण मैले आज यसको सही प्रयोग गर्न जानेको छु । साथै, आफूले जानेका कुरा मेरा साना भाइबहिनीलाई पनि सिकाउँछु, जसरी मलाई मेरी सानीममीले सिकाउनु भएको थियो ।

No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...