Tuesday, October 6, 2020

पिलो

 ‘दाइ हेर न यहाँ पिलो आयो मेरो, निचोर्दे न ।’

‘कहाँ पिलो आयो भन्छे…’

‘यी याँ के,छातीमा।’

‘जा आमालाई भन् ।’

‘ह्या जान्नँ।आमाले हल्दार्नी बजैकोमा पठाउनुहुन्छ । ती बजैले एकदमै दुखाइदिन्छिन् । जान्नँ म त ।’

दाइले यति भन्दा मेरो आँखाबाट पिलित्त आँशु खस्यो । मलाई यसरी दुख्न थालेको केही दिन भैसकेको थियो ।

‘नगए नजा, मलाई दुख्ने हो र?’

सायद दाइले मेरो आँखाबाट आँशु झरेको देख्यो होला,‘खै यताआ…मै निचोर्दिन्छु तेरो पिलो’, भन्दै ऊ पिलो निचोर्न तयार भयो ।

दुखाइको रन्कोले, मैले केही देखेको थिइनँ । दाइको मुखबाट बोली नखस्दै, मैले सर्लक्क आफ्नो जामामाथि सारेर दुवैतिरको छातीमा आएको पिलो दाइलाई देखाएँ ।

उसले तुरुन्तै मेरो छातीको पिलो निचोर्न थाल्यो ।

‘कस्तो कस्तो ठाँउमा पिलो आउँछ यस्को ।’दाइ मुर्मुरिँदै थियो । तर, निर्चोन छोडेन ।

दाइले जति निचोथ्र्यो, मेरो दुखाइ झन्झन् बढ्दै जान्थ्यो ।

तर,दुवै पिलोबाट एक थोपा पनि पिप निस्केन । न त मेरो दुखाइ नै कमभयो ।

गान्निएको छातीको पिलोबाट पिप नआएपछि दाइ झोक्किन थाल्यो,‘सक्दिनँ म तेरो पिलो निचोर्न । भोलि हल्दार्नी बजैकोमा जा ।’ऊ झोक्किँदै कोठाबाट निस्कियो ।

एक त पहिल्यैदेखि दुखाइले रन्केको छाती, त्यसमाथि दाइले निचोरिदिँदाको असह्य पिडा । शरीर फतक्क गलेको थियो ।सकिनसकी बोतलमा तातो पानी भरेँ अनि छातीमा टाँसेर खाटमा पल्टिएँ । दुखाइको सुरमा कतिबेला भुसुक्क निदाएँ,पत्तै पाइनँ ।

जब आमाले रातीको ८ बजेतिर खाना खान उठाउनु भयो, तबमात्रै म झल्याँस्स बिम्झे । त्यतिबेला पनि मेरो दुखाइ उस्तै नै थियो ।खाना खाने जाँगर रत्तिभर थिएन ।ननिको मान्दै खाना खान गएँ ।कसैसँग कुरा गर्न मन पनि लागेन । कपाकप भात खाएँ, र कोठामा फर्केर खाटमा घुप्लुक्क सुतेँ ।

दुखाइ बीसको उन्नाइस पनि भएको थिएन । त्यसैले बोल्ने जाँगर पनि हराएको थियो ।

त्यही बेला, खाने बित्तिकै सुतेको देखेर आमा कराउन थाल्नुभयो ।

‘खानी बित्तिकै सुत्न हुन्न भनेर कतिपटक भन्नु हँ तँलाई?जतिभने पनि टेर्ने हैन?’आमा कराउँदै हुनुहुन्थ्यो ।

म चुपचाप बसिरहेँ । आमा झन् कराउन थाल्नुभयो ।

अलिक बेरमा मन नलागी–नलागी रुन्चे स्वर बनाउँदै भनेँ, ‘पिलो आएर हन्हन्ती ज्वरो आको छ मलाई ।’

‘कहाँ आयो पिलो ?भन्न पर्दैन पहिले नै । खै देखा त ।’

‘यी ह्याँ, छातीमा ।अघि दाइले निचोर्देको थियो । तर,कत्ति पनि पिप आएन ।बरु उल्टै झन्झन् दुखिराछ ।’

यति भनिसक्दा मेरो आँखाबाट आँशु झर्न सुरु भैसकेको थियो ।

आमा मेरो पिलो आएको ठाँउमा छामछुम गर्दै हुनुहुुन्थ्यो ।

‘आमा मलाई हल्दार्नी बजैकोमा नलैजानु है, बरु तपाईंले निचोर्दिनु । ती बुढीले एकदम दुखाउँछिन् ।’डर र दुखाइ मिसाउँदै भनेँ ।

‘कतै जान पर्दैन पिलो–सिलो केही आएको हैन ।’अलिटर्रो स्वरमा आमाले भन्नुभयो ।

‘के भएको हो त? यसैको पीरले मलाई ज्वरो निआ’छ ।’

‘छाती बढ्न थालेको हो तेरो । सुरु–सुरुमा यस्तै हुन्छ । बरु,अबदेखि नुहाउँदा ख्याल गरेस् । पेटीकोट लगाएर नुहाउने गर् ।अनि सुन्, त्याँ दाइलाई पिलो आयो भन्दै छाम्न दिने–अर्ने होइन ।दुईचार दिनमा आफैँ ठीक हुन्छ ।’

ओ हो आमाले कति धेरै कुरा गर्नुभयो । मेरो दिमागमा केही पनि घुसेन । त्यही पनि डराइ–डराइ आमालाई सोधेँ ।

‘किन आमा?’

‘तेरो छाती बढ्न थालेको हो, अब मेरो जस्तै हुन्छ । यस्तो कुरा केटा मान्छेलाई भन्न हुन्न ।’

यति भनेर आमा जानुभयो । धेरै बेरपछि बल्ल बुझेँ, मेरो त स्तन बढ्न थालेको रहेछ । त्यही भएर पो मलाई त्यसरी दुखेको रहेछ । सायद, दाइलाई पनि थाहा नभएर होला, मैले पिलो आएको छ भन्दा, होला त नि भनेर पत्याएको । अनि मलाई हल्दार्नी बजैकोमा पठाउन नपरोस् भनेर दुखाएरै भए पनि निचोरिदिन खोजेको । तर, मभन्दा अलिकतिले मात्रै ठूलो दाइलाई पनि यी कुरा त कसरी थाहा होस् ।



Photo : time.com

छोरी मान्छेको छाती बढ्ने बारे मलाई त कसैले सिकाएनन्, दाइको त मेरोजस्तो छाती पनि बढ्दैन । झन् उसलाई त कसले सिकाओस्, किन सिकाओस् । त्यतिनै बेला मेरो मनमा कुरा खेल्यो, ‘साँच्चै कोहीकोही केटा मान्छेको त अलिअलि छाती देखिन्छ । उनीहरूको छाती बढ्दा दुख्छ कि दुख्दैन होला?’

मलाई यो कुरा पहिले नै थाहा भएको भए दाइलाई किन निचोर्न दिन्थेँ र ?किन उसलाई पिलो आयो दाइ, निचोर्दे न भन्थेँ होला र !मलाई सम्झेर आफैँदेखि एकदमै ग्लानी भयो । बेकारमा भनेछु भन्ने लाग्यो । अरू त अरू, त्यत्ति धेरै माया गर्ने दाइको मुख मात्रै हेर्न पनि लाज लाग्न थाल्यो ।

मैले कैयौँ दिनसम्म दाइको अनुहार राम्रोसँग हेर्न सकिनँ । कति दिन त, स्कुल जाँदा पनि अघिपछि भएर जान थालँे । जबजब त्यो दिन सम्झिन्छु, अझै पनि एकदमै नराम्रो लाग्छ । धेरै पछिमात्र थाहा पाएँ, त्यति बेलाको मेरो भोगाइ त एउटा सामान्य शारीरिक प्रक्रिया पो रहेछ! जबकि,यहीकुरा मैले समयमै थाहा पाएको भए, शारीरिक पीडामात्रै सहेपुग्थ्यो । यत्ति थाहा नपाउँदा, शरीरलाई भन्दा मनलाई बढी पीडा भयो ।

मलाई अहिले आफ्नो पुष्ट छाती देख्दा खुसी लाग्छ । मन परेको लुगा लगाएर ऐना अगाडि उभिँदा आफैँ देखेर मीठो लाज लाग्छ । तर त्यतिबेला? त्यतिबेला डरसँगै नमीठो लाज लाग्यो । आफ्नै शरीरको परिवर्तनलाई चिन्न नसक्दा पछिसम्म पनि ग्लानी भयो । बेक्कारमा मलाई किन यस्तो भयो भन्ने कुराले मनमा नराम्रो हलचल ल्यायो ।

यसबारे मलाई समयमा नै आमाले भन्नुभएको भए, सरमिसले पढाउनु भएको भए, वा अरू कसैले उमेरसँगै आउने शारीरिक परिवर्तन र त्यसको महत्वका बारेमा सिकाएको भए, मलाई कत्ति सहज हुन्थ्यो होला । मैले मानसिक तनाव झेल्नै पर्दैनथ्यो । अझ बढी त, दुखाइ सहेरै भएपनि आउँदै गरेको किशोरावस्थालाई लाज मिसिएको मेरो मीठो मुस्कानले दिल खोलेर स्वागत गर्ने थिएँ ।

आफू दुखेरै भए पनि खुसी हुने थिएँ ।

No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...