Tuesday, November 17, 2020

राम्रो छुवाइ, नराम्रो छुवाइ

 म गौरी हुँ । मेरी ७ वर्षकी प्यारी छोरी छन् । मसँग खेल्न, सँगै बसेर कथा सुन्न, टीभीमा कार्टुन हेर्न, अनि आफ्ना कुराहरू सेयर गर्न उनलाई एकदमै मन पर्छ । हरेक दिन उनी मलाई दिनभरका आफ्ना कुरा मन खोलेर सुनाउँछिन् । आफ्ना साथीहरूसँग दिनभरी खेलेका खेल, दिनभरका कुराकानी, उनीहरूबीचको रमाइलो झगडा, सबै कुराहरू सुनाउन पाउँदा छोरीलाई एकदमै खुसी लाग्छ । मलाई पनि छोरीका कुरा सुन्न पाउँदा रमाइलो लाग्छ ।

तर एक दिनको कुरा हो, उनको अनुहार सधैँको जस्तो खुसी थिएन । हत्तपत्त नरिसाउने मान्छे, त्यो दिन रिसाएर बसिरहेकी ! अनुहार पनि मलिन देखिन्थ्यो । उनलाई मन पर्ने मालपुवा पकाएर खान दिँदा, मन पर्ने परीको कथा सुनाउँदा पनि उनको मुहारमा कुनै खुसी देखिएन ।
राती सुत्ने बेलामा पनि ऊ नबोली बसिरहेकी थिई । मैले बारम्बार के भयो भनेर सोध्दा पनि कुनै जवाफ दिइनन् । भोलिपल्ट बिहानसम्म पनि उनको मलिन अनुहार देखेर फकाइ फकाइ सोधेपछि भने बल्ल डराइ डराइ आफ्नो कुरा भन्न थालिन् ।
अघिल्लो दिन ऊ आफ्ना साथीहरूसँग खेल्न उनीहरूको घरमा गएकी थिइन् । त्यतिबेला साथीको बाबाले नानीलाई माया गरे जसरी काखमा लिनुभएछ । ‘तर मलाई अङ्कलले काखमा लिएको कत्ति पनि मन परेन, मामु । अप्ठेरो लागेको थियो ।’ उनले रुन्चे मुख बनाउँदै सुनाइन् । मलाई एकाएक डर लाग्न थाल्यो । डराइ डराइ थप कुरा सोध्न थालेँ ।

Photo:pinterest.com 

‘मैले मलाई मन पर्दैन भन्दा पनि, अङ्कलले मेरो गाला चिमोटिरहनु भाथ्यो । झन् त्यो गन्हाएको मुखले गालामा माया गर्दै दारी नि दली दिनुभयो ।’ नाक खुम्चाउँदै उनले सबै कुरा बताइन् । उनले अघिल्लो दिन साथीको घरमा साथीकै बुवाले गर्नुभएको सबै गतिविधि सुनाउँदा मेरो मनमा चिसो पसिसकेको थियो ।
आफूसँग त्यत्ति धेरै कुरा गर्ने छोरी, कुरा गर्नै नसक्ने गरी डराउँदा पनि थाहा नपाएकोमा नमज्जा लागिरहेको थियो । अनि, छोरीसँग त्यति धेरै कुरा गर्ने मान्छेले उसलाई आफ्नै र अरूबाट हुन सक्ने दुव्र्यवहारका बारेमा थाहा दिन नसक्दा आफैँसँग रिस पनि उठ्यो । पछुतो पनि लाग्यो ।
हामी आफ्ना बालबच्चालाई धेरै कुरा सिकाउँछौँ । उनीहरू हरेक कुरामा, हरेक क्षेत्रमा जान्ने बुझ्ने होऊन् भन्ने चाहन्छौँ । तर, जब उनीहरूलाई व्यक्तिगत सुरक्षा, सतर्कताका बारेमा बुझाउनुपर्ने हुन्छ, तब हामी चासो राख्दैनौँ । उनीहरूसँग दुव्र्यवहार, राम्रो छुवाइ र गलत छुवाइका बारेमा जानकारी दिँदैनौँ । जसले गर्दा, मेरी छोरीजस्तै हाम्रा ससाना नानीबाबुहरू प्रत्यक्ष र अप्रत्यक्ष दुव्र्यवहारमा परिरहेका हुने रहेछन् ।

Photo : carnet.org.np

त्यो दिन जब छोरीले आफूले भोगेको दुव्र्यवहारका बारेमा बताइन्, तब मात्रै मैले उनलाई केके कुराहरू सिकाउन पर्ने रहेछ भनेर याद गरेँ । हामीले हाम्रा नानीबाबुलाई दुव्र्यवहारका बारेमा बताइ हाल्यौँ भने पनि आफ्नैहरूबाट दुव्र्यवहारमा परिन्छ भनेर कमै सिकाउँछौँ । जसले गर्दा हाम्रा बाबुनानीहरू घरभित्रै, गाउँ समाजकै मानिसबाट, आफ्नैहरूबाट दुव्र्यवहारमा परिरहन्छन् ।
मैले त्यो दिन छोरीलाई सोधेँ, ‘अंकलले त्यस्तो गर्दा तिमीले अंकललाई केही भनिनौ ?’
‘नगर्नून अंकल, मलाई अप्ठेरो भयो त भनेँ नि, तर अंकलले झन् कसेर समाउँदै मलाई नै गाली गर्न थाल्नुभयो ।’
छोरीले यी कुरा सुनाइ रहँदा मेरा आँखा रसाइरहेका थिए । तर, त्यो दिनदेखि उनले त्यस्ता दुव्र्यवहार भोग्नु नपरोस्, दुव्र्यवहारमा परिहाले कसरी प्रतिकार गर्ने भन्ने बारेमा बताउने प्रयास भने गरेँ । ‘छातीमा, सुसु गर्ने ठाउँमा छुनु वा छुन खोज्नु, गाला चिमोट्ने, दारी दलिदिने गर्छ भने त्यो नराम्रो छुवाइ हो । कसैले आफूलाई त्यसरी छुन्छ वा छुन खोज्छ भने नाइँ भन्नुपर्छ, आफ्नो ममी वा आफूलाई माया गर्ने नजिकको मानिसलाई आफूले भोगेको कुरा सेयर गर्नुपर्छ ।’
राम्रो छुवाइ, नराम्रो छुवाइका बारेमा बालबालिकालाई बुझाउनु हरेक अभिभावकको कर्तव्य हो । जबसम्म बालबालिकालाई हामीले यस्ता कुराहरु सिकाउँदैनौँ, तबसम्म उनीहरूले शारीरिक, मानसिक, यौनिक दुव्र्यवहार तथा हिंसाको सामना गर्नुपर्छ ।

No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...