Tuesday, May 18, 2021

तिमी छुइ भयौ छोरी


                                                                                                                             गरिमा पाण्डेय

                                                                       

बढ्दो उमेरसँगै शारीरिक परिवर्तन हुनु स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार्नु पर्छ किनभने कोही पनि व्यक्ति यो प्राकृतिक नियमबाट उम्किन सक्दैन । विशेषगरी किशोरावस्थामा अर्थात् १२÷१३ वर्षदेखि १९ वर्षको उमेरमा किशोरकिशोरीमा शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक परिवर्तनहरू देखापर्छन्। बाल्यकालीन विशेषतालाई वयश्क उमेरमा हुने विशेषताले प्रतिस्थापन गर्ने अवस्थालाई नै किशोरावस्था भनिन्छ । यस अवस्थामा विशेषगरी किशोरीहरूमा शारीरिक परिवर्तनका रूपमा देखा पर्ने रजस्वला पनि एक हो । यो महिनै पिच्छे हुने भएकाले यसलाई मासिक धर्म तथा महिनावारी पनि भन्ने गरिन्छ ।


मासिक धर्मलाई सामान्यतया नेपाली समाजको सन्दर्भमा अशुद्ध मानिने चलन छ । पहिलो रजस्वला हुँदा किशोरीहरूले करिब १२ दिनसम्म पूरै एक्लै कोठाभित्र बस्ने, सूर्यको किरण हेर्न नहुने, आफ्ना बुबा, दाइ भाइ र समाजका अन्य पुरुष सदस्यहरूलाई हेर्न हुन्न, कसैलाई छुनु हुन्न भन्ने जस्ता सामाजिक मूल्य मान्यताले उनीहरूमा मानसिक द्वन्द्व सिर्जना हुन्छ । यस सँगसँगै रजस्वला हुँदाको समयमा अध्ययन स्थगित गर्दा भावनात्मक असन्तुलन सिर्जना हुन्छ जसले गर्दा आफू एक्लो भएको हिनताबोध हुन्छ जुन वास्तवमा एकदम चुनौतीपूर्ण छ । मेरो किशोरावस्थामा मैले पनि केही हदसम्म यस्तै चुनौतीको सामना गरेँ ।

स्वर्गकै एउटा टुक्रा मेरो जन्मभूमि दैलेखमा मेरो बाल्यावस्था बिते पनि मेरो किशोरावस्थाको सुरुआत भने तराईमा भयो । मेरो पढाइ पनि उतै भएकाले जनकपुरमा बस्थेँ । मलाई आज पनि त्यो दिन याद छ जुन दिन मेरो शरीरमा केही नयाँ परिवर्तन भएको महसुस भएको थियो । म १२ वर्षकी थिएँ । स्कुलमा हुँदै केही असहज महसुस भएको थियो मलाई । स्कुल बिदा भएपछि कोठामा फर्कें । तल्लो पेट दुखेर हैरान भएकी थिएँ म । लगाएको लुगा पनि चिसो भएजस्तो भयो । अचानक के भयो भनेर म अन्योलमा परे अनि हतार हतार शौचालय गएँ । जब मैले आफूले लगाएको लुगामा रगतको टाटो र यौनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ तब म स्तब्ध भएँ ! मनमा अनेक कुरा खेल्न थाले । के भइरहेको छ भन्ने मलाई केही ज्ञान थिएन अनि रुन थालेँ ।

मम्मीलाई आफूलाई भएको कुरा भन्छु भन्ने सोचले म कोठामा गएँ तर कसैलाई पनि भन्न सकिनँ । मेरो यौनाङ्गबाट निरन्तर रगत बगिरहेको नै थियो । एकातिर रगत बग्न रोकिएको थिएन अनि अर्कोतिर तल्लो पेटको दुखाइ सहन सकेकी थिइनँ । त्यसपछि आफ्नो खाटमा गएर पल्टिएँ । साँझ बाबा आएर, “के भयो ? किन सुतेको ?” भनेर सोध्नुभयो तर म के भनुँ भनेर अन्योलमा परेकी थिएँ । बाबाले फेरि सोध्नुभयो, “तल्लो पेट दुखिरहेको छ” भनेर मात्र भनेँ तर बाबाले, “अरू के के भएको छ नढाँटी भन् त” भनेर सोधेपछि यौनाङ्गबाट रगत पनि बगेको कुरा हिच्किचाउँदै भनेँ । त्यसपछि डराउनु पर्दैन । यो उमेर पुगेपछि सबै छोरी मान्छेलाई हुन्छ । “तिमी छुई भयौ छोरी” भन्नुभयो । अनि मैले आफूभन्दा अगाडिका दिदीहरू अनि गाउँका अन्य छोरी मान्छेले पहिलोपटक महिनावारी हुँदा भोगेको र आफूले गाउँमा देख्दै आएको कुरा सम्झेँ । सानै हुँदा कतै मैले पनि यस्तो अवस्था भोग्नुपर्ने त होइन भनेर डर लाग्थ्यो ।

हाम्रो गाउँमा कोही छोरी मान्छे पहिलोपटक महिनावारी हुँदा घर नगइ कोही जङ्गलतिर पस्थे अनि कोही गोठमा । पहिलोपटक महिनावारी हुँदा केही दिनसम्म कसैलाई छुन हुन्न, अँध्यारो कोठामा एक्लै बस्नुपर्छ, सूर्यको प्रकाश हेर्न हुन्न, आफ्ना परिवार लगायतका अन्य पुरुष सदस्यलाई हेर्नु हुन्न भनेको सुनेकी थिएँ र आफ्नै दिदीहरूले भोगेको पनि देखेकी थिएँ । रजस्वला हुँदा दही, दूध केही खान हुन्न भन्थे । त्यसबेला आफू सानै भएकाले वास्तविक कुरा बुझेकी थिइन । आफू पहिलोपटक महिनावारी भएको थाहा पाएपछि उक्त कुराहरू मनमा खेल्न थाले ।

बाबाले बजारबाट प्याड किनेर ल्याएर दिनुभयो । तर, मलाई त्यो कसरी प्रयोग गर्ने भन्ने कुुरा थाहा थिएन । जानी नजानी भएपनि त्यो प्याड लगाएँ र अलिकति भएपनि सहज महसुस भयो । फरक यति थियो म आफ्नो गाउँमा थिइनँ तर मैले पनि भोगेँ । सबैजना एउटै कोठामा बसे पनि म सुत्ने खाटको वरिपरि ठूला कपडाले ढाकिदिनुभयो ताकि मैले कसैलाई हेर्न नसकूँ । रजस्वला हुँदाको समयमा १२ दिनसम्म कसैलाई हेर्नुहुन्न, दिनदिनै राती अरू नउठ्दै नुहाइसक्नुपर्छ, आफूले प्रयोग गरेका सबै कपडा धुनुपर्छ, छुट्टै खानुपर्छ भनेर मम्मीले भन्नुभयो तर बाबाले भनेर मैले सात दिनसम्म मात्र बार्नुप¥यो । तरपनि, त्यो समयमा मनमा अनेकथरी कुरा उथलपुथल हुन थालेका थिए । त्यस्तो व्यवहार देखेर अचम्म मान्नुपर्ने कुरा थिएन मेरा लागि तर पनि मेरो मनमा अनेक प्रश्नले डेरा जमाएका थिए । त्यसरी एउटै कोठामा बसेर पनि म एक्लै थिएँ । बाबा, दाइ, भाइहरूलाई हेर्न नपाउँदा चित्त दुखेको थियो । एकदम नराम्रो लाग्यो ।

आखिर के गल्ती गरेँ मैले ? मसँग आज किन यस्तो व्यवहार गर्नुभएको होला ? सधैँ मेरै वरिपरि बस्ने, मसँगै चल्ने, खेल्ने बाबा म महिनावारी भएको थाहा पाउँदा किन नजिक बस्नुभएन ? बाबा, दाइ, भाइहरू मेरो नजरबाट किन टाढा भए ? महिनावारी हुँदा सूर्यलाई हेर्न पनि नहुने यो कस्तो पाप हो र ? यो कस्तो चलन हो ? आखिर यस्तो चलन कसले बनायो ? आदि इत्यादि अनुत्तरित प्रश्नहरूले मन विचलित भयो । यो त एउटा प्राकृतिक नियम थियो र हो पनि । रजस्वला हुनु भनेको म शारीरिक रूपमा स्वस्थ छु र प्रजनन क्षमताको लागि योग्य हुँदैछु भन्ने एउटा राम्रो संकेत थियो । रजस्वलालाई मासिक धर्मको रूपमा पनि लिइन्छ । तर, धर्मको नाममा अनेकौँ अन्धविश्वास जोडेर मलाई पनि अरूजस्तै सजाए दिइरहेको महसुस भयो । हुन त मासिक धर्मको अर्थ अर्को पनि लगाउन सकिन्छ । धर्म भन्नाले आफ्नो नियमित कामको अर्थमा बुझ्ने हो भने शरीरले प्राकृतिक रूपमा हरेक महिना आफ्नो धर्म निभाउने अर्थात् काम गर्ने अर्थमा पनि रजस्वलालाई लिन सकिन्छ । यो अझ वैज्ञानिक तर्क भयो । यद्यपि, यसमा त हिन्दु धर्मको निषेधको सोच बढी छ । रजस्वलासँग जोडिएको धर्मप्रतिको आस्थाको डरले त्यस दिनदेखि आजसम्म प्रत्येक महिना म त्यो सजायको भागीदार भइरहेकी छु भन्ने महसुस गर्दै आएकी थिएँ र सबै किशोरीले पनि यस्तै चुनौतीको सामना गरिरहेका छन् भन्ने लाग्थ्यो ।

अधिकांश केटीहरूले मासिक धर्मको बारेमा आफ्नी आमा, दिदीबहिनी र महिला मित्रबाट सिक्छन् तर मैले भनेँ पहिलोपटक यसबारे केही जानकारी मेरो बाबाबाट पाएँ । बाबाले गाउँमा फुपू पहिलोपटक महिनावारी हुँदा घर बाहिर पुष–माघको महिना चिसो भुइँमा सुतेकी फुपूलाई देखेर यसरी राख्नुहुन्न भन्दै घरकै एउटा छुट्टै कोठामा राखेर क्रान्तिकारी कदम उठाउनुभएको थियो रे । जुन कदमले गर्दा अहिले हामीलाई अलिकति भएपनि सहज महसुस भएको छ । पहिले सात दिनसम्म बार्नुपथ्र्यो र पछि बाबाले नै चार दिनसम्म बार्ने र पाँचौँ दिनमा चोखिने बनाउनुभयो । हाम्रो शास्त्रअनुसार रजस्वला भएको चार दिनमा शुद्ध मानिन्छ । त्यसपछि गाउँका सबैले चार दिनसम्म बार्न सुरु गरे । अहिले सहरमा बसेर पनि केही परिवारमा छोरी मान्छेलाई महिनावारी हुँदाको समयमा खाटमा सुत्न नदिने र उनीहरू भुइँमा छुट्टै ओच्छ्यान बनाएर चार दिनसम्म त्यसमै सुत्ने गरेको पाइन्छ । विद्यालयमा पनि पाठ्यक्रममा समावेश शारीरिक शिक्षा सम्बन्धी मुद्दाहरूको बारेमा सोध्दा धेरै पटक यो विषयमा पढाउनु आवश्यक पर्दैन, तिमीहरूले घरमा स्व–अध्ययन गर्न सक्छौ भनेर टार्ने समेत गरिन्छ ।

सुरु सुरुमा मलाई पनि प्याड किन्न बजार जान एकदम लाज लाग्थ्यो र गइहाले पनि पसलमा कोही केटा मान्छे नहोस् केटी मान्छे नै भइदिए अलि सजिलो हुन्थ्यो भनेर मनमनै सोच्दै डराउँदै जान्थेँ । प्याड किनेको कुनै केटा मान्छेले कतैबाट हेरेको छ कि भनेर आफ्ना आँखा यताउता डुलाउँथँे अनि कोही देख्दा मन ढुकढुक हुन्थ्यो; नदेख्दा अलि ढुक्क हुन्थ्यो । पसलबाट प्याड पेपरले ¥याप गरेर लुकाएर ल्याउँथे । अझै पनि किशोरीहरूले यसो गरेको देखेसुनेकी छु । यदि समयमै महिनावारी वा रजस्वला हुनु भनेको कुनै लाजको विषय होइन भनेर सिकाएको भए त्यस्तो अवस्थाको सिर्जना हुने थिएन । निश्चित शिक्षित वर्गले आफ्ना छोरीहरूलाई छाउगोठमा नराखे पनि एउटै घरभित्रको कोठामा एक्लै राख्ने र परिवारजनबाट टाढा राख्ने गरिएको पाइन्छ ।

नेपाली सामाजिक तथा धार्मिक परम्पराले केटीहरूलाई रजस्वला, शारीरिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्यबारे खुलस्त रूपमा कुरा गर्न, बोल्न बन्देज गरेको छ । अहिले पनि महिनावारी तथा यौनका कुरा गर्न, बुझ्न खोज्दा केटी मान्छे भएर यस्तो कुरा गर्ने भनेर प्रश्न गर्छ हाम्रो समाजले । शारीरिक परिवर्तनको बारेमा कुनै प्रश्न सोध्दा हाम्रो परिवार र समाजमा लाजमर्दो कुरा भएको छ । मासिक धर्मको जानकारीका स्रोत विशेषगरी आमा भएता पनि उनीहरूले दिएको जानकारी प्रायः अपूर्ण र सांस्कृतिक मिथकको आधारमा हुन्छ । अर्कोतर्फ केटीहरूले पनि शारीरिक विषयका मुद्दाहरूको बारेमा सिक्ने प्रयास गर्दैनन् । त्यस्तै स्कूलका केही शिक्षक शिक्षिकाहरू पनि आत्मविश्वासका साथ स्वास्थ्य शिक्षाको कक्षा सञ्चालन गर्न हिच्किचाउँछन् ।

अतः यदि मलाई पनि किशोरावस्थामा आउने विविध शारीरिक, मानसिक परिवर्तनको बारेमा रजस्वला हुनुभन्दा अगाडि राम्रोसँग थाहा भएको भए अझ बढी रमाउँथेँ । आफ्नो किशोरावस्थाको सुरुआतमै म आफ्नो शरीरमा आएको परिवर्तनलाई खुसीका साथ स्वीकार गरेर किशोरावस्थाको मीठो अनुभूति गर्थें किनकि रजस्वला हुनु भनेको आफू स्वस्थ हुनुका साथै प्रजनन क्षमताका लागि योग्य छु भन्ने एउटा राम्रो संकेत हो ।

हरेक छोरी मान्छेलाई रजस्वला हुन्छ, यौनाङ्गबाट रगत बग्छ, तल्लो पेट दुख्छ । अनेक दुःख र पीडा सहनुपर्छ । रजस्वला हुनु भनेको पाठेघरमा जम्मा भएको फोहोर रगत बाहिर निस्केर आफू स्वस्थ हुनुका साथै प्रजनन क्षमताको लागि योग्य भएको राम्रो संकेत हो । यसैगरी अहिले म रजस्वला हुँदा प्याड किन्न लजाउँदिन अनि आफ्ना परिवार तथा केटा, केटी सबै साथीहरूसँग खुलस्त रूपमा आफू महिनावारी हुँदा केही समस्या भए सेयर गर्न सक्ने भएकी छु किनकि रजस्वला हुनु कुनै अपराध होइन । रजस्वला त एउटा प्राकृतिक नियम हो, कुनै लाजको विषय होइन।



यो लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नु होला।

 

2 comments:

  1. जस्वला एक प्राकृतिक प्रक्रिया हो ।
    सबै महिला मा हुने गर्दछ ।।
    वास्तवमा रजस्वला लाई सामान्य रुपमा लिएर
    वा खुलेर बुझाउन सक्नु एक सकारात्मक पक्ष नै छ।

    ReplyDelete
  2. गलत वुझाई र अभ्यासलाई चरितार्थ चित्रण गरेकोमा वैनीलाई धन्यवाद ! मासिकधर्म जस्तो पवित्र शब्दलाई छुई र शारीरिक विश्राम र सरसफाइ र संक्रमणको जोखिमबाट जोगाउन अपनाइएको आइसोलेसनको आभ्यासलाई छुवाछूतमा परिणत हुनु निकै दुखद!

    ReplyDelete

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...