Tuesday, May 4, 2021

किशोरावस्था इन्जोए गरेँ

लक्ष्मी बलायर, कञ्चनपुर 



शारीरिक परिवर्तन स्वाभाविक हो । यसलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्ने कुरा पछि मात्रै ज्ञानमा आयो । योबारे सुरुआतमै थाहा पाएको भए किशोरावस्थामा आउने परिवर्तनको मीठो अनुभूति त्यै बेलादेखि गर्न पाउँथेँ होला । यसलाई खुसी खुसी स्वीकार गरेर अगाडि बढ्न सक्थेँ होला । आफ्नो परिवर्तित शरीरलाई देखेर, ऐना अगाडि, एक्लै लजाउँदै सन्तुष्टिले भरिएको मुस्कान पाउँथेँ होला ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा मेरो जन्म भयो । त्यहीँ पढेँ त्यही बढेँ । मलाई त्यहाँको माटो, हावा, पानीको छुट्टै सुगन्ध आउँछ । बाटोमा हिँड्दा कसैले कञ्चनपुर भन्यो भने पनि मैले त्यो व्यक्तिलाई पछाडी फर्केर हेर्छु । एकपटक हैन, पटकपटक । मलाई मेरो ठाउँको नाम लिने त्यो मान्छे मनपर्छ । किनभने, मलाई मेरो ठाँउप्रति धेरै लगाव छ । झन् किशोरावस्थामा किन नहोस् ! म त फुल्न आँटेको कोपिला थिएँ । सपनामाथि सपना, खुसीमाथि खुसी, अनि त्यस्तै धेरै कुराहरू ।

मलाई आज पनि त्यो दिन याद छ, जतिबेला मेरो शरीरमा केही परिवर्तन आउन थालेको महसुस गर्न थालेकी थिएँ । मेरो उमेर त्यस्तै १२ या १३ वर्षको थियो । मेरो छातीमा अनौठो किसिमको दुखाइ सुरु भएको थियो । एउटा मीठो दुखाइ । तर मैले त्यसलाई मीठो महसुस गर्नै पाइनँ । अहिले त्यो किशोरावस्थाको खुड्किलो सम्झिँदा एकदमै आनन्द आउँछ । किशोरावस्थामा शारीरिक परिर्वतन हुँदा स्तन बढेदेखि थाहा पाएकी हुँ । अरू त समय अनुसार बिस्तारै भएको थियो । तपाईँलाई थाहा छ ! सुरुमा मेरो स्तन बढ्दा म निकै डराएकी थिएँ । हुन त तपाईँलाई पनि डर लागेको हुनसक्छ । नि ?

जुन दिन मैले महसुस गर्न सुरु गरेकी थिएँ, त्यो दिन हामी लुगा किन्न बजार जाँदै थियौँ । अचानक स्तन दुख्न थाल्यो, म डरले रातो पीरो भएकी थिएँ । कसैलाई भन्न पनि सकिरहेकी थिइनँ । न त आफ्नो दुखाइ लुकाउनै सकेकी थिएँ । एकदमै गाह्रो हुँदाहुँदै मैले यसो मौका मिलाएर आफ्नो छाती नियालेँ । हेर्दा वरिपरी थोरै सुन्निएको थियो, अनि रातो–रातो भएको पनि थियो ।

स्तन बढ्दा दुख्छ अनि वरिपरीको भाग रातो हुन्छ भनेर सुनेको भएर म कन्फर्म भएँ कि, अब मेरो छाती बढेर ठूलो हुन्छ भन्ने कुरामा । सामान किन्न भनेर बजार गएकी म । सपिङ गर्ने रहर एकातिर थियो तर, मनमा निकै कुरा खेल्न थालिसकेका थिए । मेरो ध्यान नै, बढ्न थालेको मेरो छातीमा मात्रै थियो । मलाई लाग्न थाल्यो अब त म ठूली भएँ, ला के होला ? अब त म अरू भन्दा भिन्न भएँ, मेरो भाइले झैँ गरी नुहाउन सक्दिनँ, लुगा लगाएर नुहाउनु पर्छ । शारीरिक रूपमा आएको परिवर्तनले हरेक कुरामा रोक लगाइन्छ होला । पहिलाको जस्तो, जस्तो मन लाग्यो त्यस्तै लुगा लगाएर हिँड्न सक्दिनँ होला । यस्तै कुराले मेरो मन अशान्त बनाइरहेको थियो । बजारमा अरू रमाइलो गर्दै थिए, तर मेरो ध्यान भने अब म अरूभन्दा फरक भएँ, भन्ने कुरामा मात्रै थियो । आफूलाई भुलाउन अनेक यत्न गर्दा पनि सकेकी थिइनँ । तर, बिस्तारै आफूलाई शान्त बनाउने प्रयास भने गरिरहेँ ।

त्यसको धेरै समयपछि, जब मेरो स्तन पूर्ण रूपमा देखिन थालेको थियो । त्यसपछि झन मलाई अप्ठ्यारो लाग्न थाल्यो । अरूको मुखमा हेर्न पनि लाज लाग्न थालेको थियो । एकदमै अप्ठ्यारो महसुुस हुन्थ्यो । मेरो बढेको छाती कसैले नदेखे हुन्थ्यो जस्तो लाग्थ्यो । त्यही भएर म बढेको छाती लुकाउन कुप्रो परेर हिँड्न थालेँ । जसले गर्दा पछि मेरो काँध नै कुप्रो हुन थाल्यो ।  म त्यसरी कुप्रो परेर हिँडेको देखेर छिमेकी दिदीले गाली गर्नुभयो । “यसरी नहिँड, सानैमा कुप्रो परेर हिँडे पछि बुढेसकालमा के हालत होला ?” भनेर सम्झाउनुभयो । अनि मेरो छाती बढ्नु स्वाभाविक भएको र सबै केटी मान्छेको यस्तै हो भन्नुभयो ।  उहाँले भनेको कुरा राम्ररी सोचेँ । त्यसपछि बल्ल मलाई याद भयो, आमा, भाउजू, मभन्दा ठूला दिदीहरू सबैको पुक्क उठेको स्तन । अनि बल्ल मलाई केही समय अप्ठ्यारो लागे पनि बिस्तारै आफ्ना परिवर्तन सामान्य रहेछन् भन्ने बुझ्न सजिलो भयो ।

अनि आफूमा आएको परिवर्तन रमाइलो लाग्न थाल्यो । मलाई आफ्नो शरीरप्रति मोह जाग्न थाल्यो । आफूलाई घण्टौँ ऐनाअघि राखेर हेर्न अनि आफ्नै परिवर्तनसँग कुरा गर्न थालेँ । त्यसपछि मेरो डर कहाँ गयो गयो । म एकदमै खुसी हुन थालेँ । पहिलेजस्तो लजाउन छोडेँ । भित्रभित्रै मीठो अनुभूति गर्न थालेँ । तर, पहिले बढेको छाती अरूले देख्छन् कि भनेर कुप्रो परेर हिँड्दा कुप्रिएको मेरो काँध ठीक ठाँउमा आउन केही समय लाग्यो । त्यसलाई पनि परिवर्तनको एउटा हिस्सा मानेर सहर्ष स्वीकार गरेँ । त्यसपछि, ममा जति पनि परिवर्तन आए, ती सबैलाई हाँसी–हाँसी स्वीकार गरेँ । अनि मेरो किशोरावस्थामा मीठा अनुभूतिलाई संगाल्दै, आफूले जानेको र भोगेको कुरा साना बहिनीहरूलाई सिकाउँदै अघि बढेँ ।

अहिले पनि लाग्छ, ती दिदीले नभनेको भए, मैले मेरो किशोरावस्थालाई मज्जाले अनुभूत नै गर्न नपाउने रहेछु !

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।




No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...