Tuesday, February 23, 2021

ती पाँच घटना

प्रतिभा ढकाल



बाल्यकाल अनि किशोरावस्थाका तीता—मीठा याद सङ्गाल्दै अहिले म युवावस्थामा रमाइरहेकी छु । आफ्ना बितेका कतिपय दिन सम्झिँदा खुसीले मख्ख पर्छु भने कतिपय घटनाले बारम्बार झस्काइरहन्छन् । ती घटनामध्ये प्रायः घटना दुर्व्यवहारसँग जोडिएका छन् । 

घटना १

मेरो उमेर त्यस्तै ८/९ वर्षको थियो । म र मेरी बहिनी कपाल काट्न घरनजिकैको बारबर अङ्कलको पसलमा गयौँ । अंकलले बहिनीको कपाल काट्न थाल्नुभयो, अनि अंकलको छोराले मेरो । तर, त्यो बार्बर केटा कपाल काट्नुको सट्टा, मलाई यताउति मुसार्न व्यस्त भयो । उसले आफ्नो हात मेरो घाँटी हुँदै तल ल्याउँदै मात्रै थिएन, छेउको अँध्यारो सानो कोठातिर देखाउँदै भित्र जानसमेत कर गरिरहेको थियो । म डराइरहेकी थिएँ । मेरो डरमा उसले स्वीकारोक्ति आभास गरेको सम्झिँदा मलाई आजसम्म पनि ग्लानी हुन्छ । त्यो दिन चुप बस्नुको सट्टा एक झापड लगाउन सकेको भए, मलाई विगत यतिधेरै तीतो लाग्दैनथ्यो होला । 

घटना २

दुर्व्यवहारको अर्को अनुभव ट्युसन पढ्दा पनि भोगेकी छु । एकजना आफन्ती दाइसँग म घरमा नै ट्युसन पढ्थेँ । होमवर्क सिकाउने र चेक गर्ने बहानामा उहाँले मलाई पटकपटक काखमा राख्ने र अँठ्याएर बोक्ने गर्नुहुन्थ्यो । माया गरेजस्तो गरेर मलाई असहज हुँदाहुँदै पनि मेरो गालामा आफ्नो मुख जोड्ने गर्नुहुन्थ्यो । तर, उहाँको त्यस्तो व्यवहारबारे मैले घरका सदस्यलाई भन्न सकिनँ । घरमा भनेँ भने म एक्लो भएको मौका पारेर झन् नराम्रो व्यवहारको सामना गर्नुपर्ने डरले मैले आफ्नै घरभित्र पनि आवाज उठाउन सकिनँ ।

घटना ३

उमेर ठ्याक्कै सम्झना छैन । सायद १०/११ वर्षकी थिएँ । मेरो शारीरिक बनोट हेर्दा, उमेरभन्दा अलिक ठूलै देखिन्थेँ । त्यसैले होला, त्यो दिन बसमा भेटिएको एकजना अन्जान मान्छे “तिमीले एस.एल.सी दियौ नानी ?” भन्दै मेरो छेऊमा उभियो । उसको प्रश्नले मलाई मनमनै हाँसो लाग्यो । तर, मैले कुनै प्रतिक्रिया जनाइनँ । चुपचाप बसिरहेँ । केहीबेरमा कुनाको सिट खाली भयो । त्यो मान्छेले मलाई कुनामा सर्न आग्रह गर्दै म बसिरहेको सिटमा थचक्क बस्यो । ऊ मसँग बोल्न खोजिरहेजस्तो देखिन्थ्यो । नभन्दै मेरो प्रशंसा गर्दै उसले कुराको तान बुन्न थाल्यो । तर, उसका कुरा मलाई मन परिरहेका थिएनन् । “तिमी कति राम्री छ्यौ”, “तिमी राम्री छ्यौ भनेर अरूले भनेको छ कि छैन ?” उसका कुरा यस्तैयस्तै थिए । यो पटक पनि म केही नबोली बसिरहेँ । केहीबेर पछिको कुरा हो, मैले लगाएको गुलाबी कलरको फ्रक तानिएको महसुस भयो । उसले सिट मुनिबाट आफ्नो हात मेरो साँप्रामुन्तिर पु¥याइसकेको रहेछ । मेरो मुटु जोडले धड्कियो । सास नै रोकिएलाजस्तो भयो । बोल्न खोजेँ । तर, घाँटीमा केही अड्किएकोजस्तो भान भयो । आँखा टिलपिल–टिलपिल भए । सल्बलाएका हातलाई महसुस गर्न म चुपचाप बाध्य भएँ ।

केहीबेरमा गाडी रोकियो । केही झर्ने मान्छे आआफ्नो सिटबाट उठे । म त्यही मौका छोपी जुरुक्क उठेँ । खुट्टा काँपिरहेका थिए । म ओर्लिनु पर्ने ठाउँ आउन झन्डै १५ मिनेटजति बाँकी थियो । तर, केही नबोली म बसबाट ओर्लें । गाडीमा बस्नुभन्दा हिँड्नु ठीक सम्झेँ । हिजोआज पनि जब म बसमा यात्रा गर्छु, त्यो घटना याद आइरहन्छ । आफूले त्यो घटनाको प्रतिकार गर्न नसकेको सम्झिँदा भने आफैसँग रिस पनि उठ्छ ।

घटना ४

कलेज पढ्दातिरको कुरा हो । आँखा जँचाउन भरतपुर आँखा हस्पिटल गएकी थिएँ । चस्माको पावर फेरिएर होकि भनेर जाँच्नका लागि अलि अँध्यारो कोठामा अक्षर चिन्न सिफारिस गरियो । त्यस्तै २५/२६ वर्षको युवकले सिफारिस गरिएको कोठामा मलाई हाँस्दै स्वागत ग¥यो । फरकफरक पावर भएका सिसा राख्दै अक्षर स्पष्ट भए नभएको सोध्यो । लेन्स चेन्ज गर्दागर्दै उसका हात बेलाबखत मेरा छातीमा ठोकिन्थे । १/२ पटक त झुक्किएर होला भनेर खासै वास्ता गरिनँ । तर, क्रम रोकिएन । म उठ्नै खोज्दा, “हो अब यो पावरमा हजुरलाई हिँड्न सजिलो हुन्छ कि हुन्न हिँडेर भन्नुस् है” भन्दै ऊ आफू बसिरहेको गुड्ने कुर्सीसँगै पछि हट्यो र बाटो छोड्यो । मलाई असहज हुँदाहुँदै म पाइला के चाल्न लागेकी थिएँ, उसको हात मेरो पछाडिको भागमा पुग्यो । म झस्किँदै पछाडि फर्किएँ, ऊ अर्को साइडतिर फर्कियो । मलाई उकुसमुकुस भयो । हतारहतार आफ्नो रिर्पोट कार्ड लिएँ र कुनै प्रतिक्रिया नजनाइ कोठाबाट बाहिरिएँ ।

त्यस दिन त्यति प्रतिष्ठित संस्थामा सेवा दिन खटिएका कर्मचारीबाट भएको दुव्र्यवहार सम्झिँदा मलाई अझै पनि गुम्साहट हुन्छ । मैले उसको हात समातेर तत्काल फाइट ब्याक गरेको भए, मेरो सपनामा त्यो घटना दोहोरिइरहने थिएन होला । 

घटना ५

मेरो बाबाको उमेरको व्यक्ति, जसलाई मैले सानो हुँदादेखि देखिरहेँ, भेटिरहेँ । रमाइलो स्वभावको उहाँ, मेरा लागि आदरणीय पनि हुनुहुन्थ्यो । मैले ब्याच्लर तहको अन्तिम परीक्षा दिने बेलाको कुरा हो, घरमा म एक्लै थिएँ । उहाँ अस्पताल गएर फर्किंदा हामीलाई भेटेर फर्किने उद्देश्यले हाम्रो घरमा आउनु भएको थियो । भोक नलागेको बताएपछि उहाँलाई मैले पानी दिएँ र एकछिन आराम गर्न आग्रह गर्दै परीक्षाको तयारी गर्न आफ्नो कोठातिर गएँ । केहीबेरपछि “तिमी पढ्दै रहेछौ, म निस्किन्छु, परीक्षाको राम्ररी तयारी गर” भन्दै त्यो अंकल मेरो कोठाभित्र पस्नुभयो । मैले उहाँलाई खाजा खाएर जान आग्रह गरेँ । उहाँले “होइन, पछि खाउँला । तिमीलाई देखेँ मन भरियो” भन्दै अंकमाल गर्नुभयो । त्यतिबेलासम्म मलाई खासै असहज लागेको थिएन । 

उहाँले परीक्षा सकिएपछि के गर्ने विचार छ भन्दै जागिर खाँदा राम्रो हुने सल्लाह दिनुभयो । म उहाँको सल्लाह सुन्दै “विचार गर्दैछु के गर्ने” भन्ने भावमा स्वाभाविक हाँसो हाँसेँ । तर, उहाँले मेरो हाँसोमा कसरी लाज देख्नुभयो थाहा छैन । उहाँले “किन लजाएकी छोरी” भन्दै मेरो नजिकै सरेर आफ्नो मुख मेरो गालामा टाँस्न ल्याउनुभयो । यो पटक मलाई सहनै नसक्नेगरी असहज भइसकेको थियो । उहाँका हात पनि मेरो घाँटी वरपर सल्बलाउन थालिसकेका थिए । म उहाँबाट अलि झट्किएर पर उभिएँ । अरू केही बोल्नै सकिनँ । मेरो अवस्था देखेर उहाँले के सोच्नुभयो थाहा छैन, उहाँ कोठाबाट बाहिरिनुभयो । त्यो दिनदेखी आजसम्म उहाँसँग मेरो भेट भएको छैन । तर उहाँको त्यो व्यवहारलाई प्रतिकार गर्न नसकेकोमा भने सधैँ पछुतो त लाग्छ नै आफ्नैहरूसँग डर पनि उत्तिकै लागिरहन्छ । 

⁺⁺⁺

मैले फरकफरक ठाउँमा फरकफरक व्यक्तिबाट फरकफरक शैलीका दुर्व्यवहार भोगेँ । यस्ता व्यवहारलाई दुर्व्यवहार भन्छन् भन्ने सम्म ज्ञान नहुँदैदेखि म दुर्व्यवहारमा परिसकेकी रहेछु । कतिपय घटनामा त मैले म दुर्व्यवहारमा परिरहेछु भन्ने पनि थाहा पाइनँ । आवाज उठाउनु गल्ती नभएर आत्मरक्षा नै आत्मसम्मानको गतिलो बलियो हतियार रहेछ भन्ने पनि मलाई थाहा थिएन ।

जतिपटक दुर्व्यवहारमा परेँ, म मानसिक रूपमा विक्षिप्त भएँ । मलाई दुर्व्यवहार गर्नेहरूले मेरो विक्षिप्त रूप महसुस गर्नु त परको कुरा, उनीहरूलाई सामान्य हिनताबोधसम्म पनि भएन । बरु, उल्टै उनीहरूको मनोबल बढ्यो होला । म चुप बसेरै आफूलाई दुर्व्यवहार गरिरहेको व्यक्ति टाढा जाओस् भन्ने चाहन्थेँ । दुर्व्यवहार गर्ने व्यक्तिहरू आफ्नो वरिपरी देख्न नपरोस् भनेर मनमनै कामना गर्थें । तर, उनीहरू भने मौनताको फाइदा उठाउँदै मजस्ता धेरैको नजिक पुग्दा रहेछन् । त्यसैले हिजोआज कसैले मलाई दुर्व्यवहार वा दुर्व्यवहारको प्रयास मात्रै गर्दा तुरुन्तै प्रतिकार गरिहाल्छु ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, February 9, 2021

प्याड चाहियो मिस !


साल्विया आचार्य 




मेरो नाम साल्विया आचार्य हो । म लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्यूठानस्थित श्री खड्गेश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा हुँ । ३ कक्षादेखि म यस विद्यालयमा पढिरहेकी छु ।

मेरो विद्यालयलाई हरियाली वनजंगल र विद्यालयको केही तल कलकल बग्ने खोलाले शोभायमान पारेको छ । प्रकृतिले सिँगारेपनि मजस्तै छात्राहरूलाई सुरुआतका दिनमा स्कुल रमाइलो लाग्दैनथ्यो । किनभने, प्रशस्त पानी नभएकाले महिनावारीका बेला छात्राहरूले खुबै दुःख पाउँथे । ट्वाइलेट पर्याप्त संख्यामा थिएन । भएका ट्वाइलेटमा पानी हुन्थेन । विद्यालयमा महिनावारी भइहाल्यो भने पनि ट्वाइलेट गएर सरसफाइ गर्ने सुविधा थिएन । त्यस्तो बेला हामी छात्राहरूलाई धेरै अप्ठेरो हुन्थ्यो । लाज, संकोच र डर लाग्थ्यो । रगत लागेको कपडा देखेर अरूले गिज्याउलान् भन्ने हुन्थ्यो । “प्याड चाहियो मिस” भनेर माग्ने आँट पनि हामी कोहीसँग थिएन ।

कसै कसैले झोलामा प्याड बोकेर स्कुल आउँथे । ट्वाइलेट गएर जेनतेन प्याड चेन्ज गरियो भने पनि प्रयोग भइसकेको प्याड फाल्ने ठाउ“ थिएन । ट्वाइलेटभित्र राखिएको भाँडोमा धारामा गएर पानी ल्याउनुपथ्र्यो । त्यसरी सानो भाँडोमा ल्याएको पानी सकिएला कि भनेझैँ गरेर जतन गरेर प्रयोग गर्नुपथ्र्यो । फ्रकमा वा अन्यत्र रगत लागेको रहेछ भने राम्ररी पानीले पखाल्न पनि पुग्थेन । फेरि ढोका खोेलेर दोस्रोपटक पानी ल्याएर आउन पनि आपतै हुन्थ्यो ।

ट्वाइलेटभित्र प्याड फेरेपछि प्रयोग भइसकेको फोहोर प्याड कागजले बेरेर गोजीमै बोक्नुपथ्र्यो । गोजीको प्याड कसै कसैले झोलाको कुनामा लुकाएर राख्थे । त्यसै त महिनावरीको दुःखाइ त्यसमाथि विद्यालयमा हुने अनेकन सास्ती । मलाई ती दिन सम्झिँदा अहिले पनि नरमाइलो लाग्छ ।

तर, उहिलेका कुरा खुइले भनेजस्तै अहिले विद्यालयमा पुरानो अवस्था छैन । हरियाली, चराचुरुङ्गीको चिरबिर अनि पानीको कलकलले विद्यालय सुन्दर मात्रै भएको छैन, छात्राहरूले महिनावारीका बेला दुःख झेल्नुपर्ने अवस्था अन्त्य भएकाले विद्यालय झनै सुन्दर भएको छ । अहिले विद्यालयमा आवश्यक ट्वाइलेट बनेका छन् । ट्वाइलेट बहिर धेरैबेरसम्म पालो पनि खासै पर्खिनुपर्दैन । ट्वाइलेटभित्रै पानी आउने व्यवस्था मिलाइएको छ । प्याड चेन्ज गरेपछि कता लुकाउने होला भनेर चिन्ता मान्नु पर्दैन । ट्वाइलेटकै एउटा कुनामा प्याड फाल्ने व्यवस्था पनि छ ।

त्यतिमात्र कहाँ हो र ? महिनावारीमा छात्राहरूले घरबाटै प्याड पनि ल्याउनु नपर्ने भएको छ । विद्यालयले महिनावारीमा दुई प्याकेट प्याड निःशुल्क दिने गरेको छ । त्यतिले पुगेन भने मिसहरूसँग थप प्याड पनि माग्न पाइन्छ ।

पहिले पहिले महिनावारी संकोचको, डर र लाजको विषय थियो । तर, अहिले यसका बारेमा धेरैले कुरा बुझ्न थालेका छन् जस्तो लाग्छ । त्यसैले प्याड माग्न लजाउनुपर्ने, कसैले केही भनेर जिस्काउँछ कि भनेर अप्ठ्यारो मान्नु नपर्ने भएको छ । 

महिनावारी प्राकृतिक कुरा भएकाले यसमा लजाउनु पर्दैन । कोही कोही त पहिलोपटक महिनावारी हु“दा डराउने पनि गर्छन् । तर यो डराउने कुरा होइन । बरु, महिनावारीका बेला हामीले हरियो सागपात, झोलीलो खानेकुरा र फलफूलहरू धेरै खानुपर्छ । यस्ता खानेकुराले हामीलाई तागत मिल्छ ।

महिनावारी हुँदा तल्लो पेट दुख्छ । यस्तो दुःखाई कसैलाई थोरै हुन्छ भने कसैलाई धेरै हुने गर्छ । मलाई पनि महिनावारीमा असाध्यै दुख्यो भने मिसले पेटको दुखाइ कम गर्ने औषधि दिनुहुन्छ । यस्तो औषधि खाँदा पनि काम गरेन र दुःखाइ धेरै नै भयो भने मिसले नजिकैको मेडिकलमा लगेर दुःखाइ सन्चो पारेर हामीलाई घरमै पु¥याइदिनुहुन्छ ।

हाम्रो विद्यालयले छात्राहरूलाई दिएको यस्तो सुविधा सबै विद्यालयले दिएका छन् कि छैनन् होला ? मलाई अरू विद्यालयको कुरा त थाहा छैन । तर यति कुरा भने थाहा छ कि, विद्यालयले दिने यस्तो सुविधाले गर्दा म जस्ता छात्राहरू महिनावारीका दिनमा विद्यालय आउनै लजाउने वा संकोच मान्ने र पढाइ नै छाड्नुपर्ने अवस्था धेरै कम भएको छ । धन्यवाद मेरो विद्यालयलाई अनि, विद्यालयका सर मिसहरूलाई । जसले हामीलाई महिनावारीको अप्ठ्यारोमा साथ दिनुहुन्छ र यो संकोच मान्ने विषय होइन आफूलाई परेको समस्या हामीलाई भन्न अप्ठ्यारो नमान्नु भनेर बारम्बार बुझाउनुहुन्छ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला । 

Tuesday, January 26, 2021

दुर्व्यवहारलाई फाइटब्याक !

गौरव पौडेल



नमस्ते, मेरो नाम गौरव पौडेल हो ।

म एसईईपछि प्लस टु पढ्न काठमाडौँ आएँ । म बस्ने ठाँउ र मेरो कलेज भएको ठाउँको दूरी, बसमा यात्रा गर्दा, लगभग एक घण्टाको थियो । हरेक दिन म बसबाट कलेज र घर आउने जाने गर्थेँ । काठमाडौँको जाम, अनि बसभित्रको भिडभाडको त कुरै नगरौँ ! सिट पाउन सधैँ मुस्किल हुन्थ्यो ।

मेरो कलेज सुरु भएको केही दिनमा अन्टी (मेरो ममिको बहिनी)ले कलेज जाँदा आउँदा केके हुन्छ भनेर सोध्नु भयो । मैले जे जे देखेको थिएँ सबै कुरा भनेँ । त्यत्तिकैमा उहाँले मलाई भन्नुभयो, “बसमा भिड भएको मौकामा कसैले दुर्व्यवहार गर्न सक्छ, अलि ख्याल गरेर हिँड्नू । कसैले तँलाई मन नपर्ने गरी हेरे पनि त्यो दुर्व्यवहार नै हो” । अन्टीले धेरै यस्ता कुरा सिकाउनु भयो ।

तर, म त केटा मान्छे थिएँ । मलाई कसरी दुर्व्यवहार हुन्छ ? मलाई त दुर्व्यवहार हुँदै हुँदैन नि ! म यो कुरामा ढुक्क थिएँ । त्यही भएर मैले अन्टीलाई, “आ....मलाई कल्ले गर्न सक्छ दुर्व्यवहार ! म त केटा मान्छे हो अन्टी मलाई केही हुन्न ढुक्क हुनुस्,” भनेँ । तर, अन्टी यो कुरा मान्न तयार हुनु भएन । उहाँले केटा मान्छे पनि दुर्व्यवहारमा पर्न सक्छन् भनेर मलाई विभिन्न उदाहरण दिएर सिकाउनु भयो । तर, मैले उहाँको कुरालाई एउटा कानले सुनेर अर्काे कानले उडाइदिएँ । 

सधैँझैँ म कलेजबाट निस्केर बस चढ्न बस स्टपमा गएँ । करिब १० मिनेट कुरेपछि जनता यातायात आयो । यो बस मेरो घरसम्मै जान्थ्यो । यसो हेरेको बस प्याक नै थियो । म सरासर पछाडि गएँ । अगाडि मान्छेहरू उभिएको भए पनि पछाडि एउटा सिट रित्तो रैछ । सिट पाएँ भन्दै मख्ख परेर म त्यही सिटमा बसेँ । बस सहिदगेट पुगेर फेरि रोकिएको थियो, त्यहाँबाट टनाटन मान्छे भरिए । म भएछेउमा एकजना आइपुग्नु भयो अनि बसको डन्डी समातेर उभिनु भयो । मलाई उहाँ त्यसरी उभिनु भएको देखेर नरमाइलो लाग्न थाल्यो अनि मैले आफू बसेको सिट छोड्दै उहाँलाई बस्न अनुरोध गरेँ । अनि म उहाँ उभिनु भएको ठाँउमा गएर उभिएँ ।


Photo Source: https://totonepal.com


एकैछिनमा, मलाई अलि कता कता शरीरमा कस्तो कस्तो अप्ठ्यारो महसुस हुन थाल्यो । कसैले जानीजानी मेरो हात मुसारिरहेको थियो । सुरुमा त लाग्यो बस भिड छ छोइहाल्छ नि । नजानेर छोइयो होला । तर, त्यो छुवाइ मलाई मन परिरहेको थिएन । मैले मेरो अर्काे हातले उसको हात हटाइदिएँ । त्यो हात एकजना महिलाको थियो । केही बेरमा फेरि त्यो हात मेरो हातमाथि आइपुग्यो । अहिले हात मात्रै होइन उनको शरीर नै मेरो शरीरमा पूरै टाँस्सिएको थियो । यो पटक मैले बोलेरै भनेँ, “अलि पर सर्नुस् न ! कस्तो टाँस्सिनु भएको मलाई अप्ठ्यारो भैसक्यो ।” यति भनेपछि ती महिला थोरै पर सरेजस्तो गरिन् । म पनि अलि सजिलो गरी बसेँ ।

तर, केही बेरमै फेरि त्यसरी नै उनका हात मेरो हातमाथि सल्बलाउन थाले । उनको एउटा हात मेरो पछाडि थियो भने अर्काे हात मेरो हातमाथि सल्बलाइरहेको थियो । उनको त्यस्तो हर्कतले मलाई डर लाग्न थाल्यो । ला के गर्ने होला ? कसैलाई भन्यो भने पनि मेरो कुरा पत्याउँदैनन् कि जस्तो लाग्यो । भन्न पनि सकिनँ । ती महिला आफूलाई मन लागेको ठाँउमा आफ्ना हात लैजाँदै थिइन् । ममाथि दुर्व्यवहार भैरहेको छ भन्ने कुरामा प्रस्ट भैसकेको थिएँ । अन्टीले भनेका कुराहरू अब चलचित्र जस्तै दिमागमा घुमिरहेका थिए । एकमनले सोेचेँ बसबाट ओर्लिन्छु र अर्काे बस चढ्छु । तर, अर्काे मनमा झट्ट कुरा आइहाल्यो, मैले के गरेको छु र म ओर्लिने बसबाट ? अनि भएभरको बल सञ्चित गरेर डन्डी समातेको हात विस्तारै तल झारेँ, अनि दुइटा हातको कुइनाले जोडसँग भ्वाक्क हानेँ । आया ! भन्दै ती महिला अर्काेपट्टिको मान्छेमाथि लडिन् । मेरो मन शान्त भयो । सायद अब उनले मजस्तो अरूलाई दुर्व्यवहार गर्ने हिम्मत गर्दिनन् ।

मैले त्यो दिन मेरो अन्टीले भन्दा म त केटा मान्छे मलाई कस्ले के गर्छ भन्ने सोच नराखेर, यदि त्यस्तो भैहाल्यो भने के गर्ने भन्ने बारेमा सोधेको भए, अथवा दुर्व्यवहारमा पर्नुभन्दा पहिले नै कसरी सतर्क हुने भन्ने कुरामा चासो राखेको भए सायद मैले त्यसरी दुर्व्यवहार भोग्नु पर्दैनथ्यो होला । त्यो दिनदेखि, केटा मान्छेलाई कस्ले के गर्न सक्छ भन्ने सोच मेरो दिमागबाट हराएर गएको छ । केटी जत्तिकै म (केटा) पनि दुर्व्यवहारमा पर्न सक्छौँ भन्ने कुरा मैले बुझिसकेको छु । हामी पनि दुर्व्यवहारको उत्तिकै जोखिममा छौँ । मलाई यति कुरा महसुस गर्न धेरै समय लाग्यो ।

मैले यो कुरा धेरै दिनपछि अन्टीलाई सुनाएँ । मलाई त्यो घटनाले धेरै समयसम्म आफूलाई दुःख दिइरहेको र पढाइमा समेत असर गरेको थियो । अन्टीलाई भनेपछि हल्का महसुस भयो । आफूलाई कसैले मन नपर्ने गरी छोएको छ, हेरेको छ भने पनि त्यो दुर्व्यवहार हो र त्यसको लागि हामी चुप लाग्नु हुँदैन फाइटब्याक गर्नु पर्छ भन्ने कुरा मैले राम्रोसँग बुझेँ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

Tuesday, January 12, 2021

फेसबुकले सम्झाउने त्यो दुर्व्यवहार

गुलाबी संवादः अ टिनएज टक (सत्य घटनामा आधारित प्रतिनिधिमूलक लेख) 


२०६७ सालको कुरा हो । म १० कक्षामा पढ्थेँ । त्यतिबेला मेरो फेसबुक थिएन । तर, मेरा केही साथीको फेसबुक थियो । बेलाबखत उनीहरूले फेसबुकबारे अनेकन कुरा सुनाउँथे । फेसबुकमा नचिनेको मान्छेलाई पनि साथी बनाएको, तीसँग गफ गरेको, राम्राराम्रा फोटा अपलोड गरेको । फोटोमा नचिनेका मान्छेले पनि अनेकन कमेन्ट गरेको, यस्तै, यस्तै । 

उनीहरूको कुरा सुन्दा रमाइलो लाग्थ्यो । चिन्दै नचिनेको मान्छेसँग कसरी साथी बन्न सकेका होलान् ? कसरी बात मार्न जानेका होलान् ? सम्झेर पनि मलाई अनौठो लाग्थ्यो । बेलाबखत म आफैँलाई प्रश्न गर्थें, ‘के साँच्चै त्यस्तो पनि हुन्छ र ?’

कहिलेकहिले त साथीहरूले नचाहिने कुरा गरेर मलाई ‘पङ्गु’ त बनाएका छैनन् ? भनेर पनि शंका नगरेको होइन ।

साथीहरूका यस्ता कुरा सुन्दासुन्दै एकदिन स्कुलछेउ ‘साइबर क्याफे’ पसेर फेसबुक अकाउन्ट खोलेँ । सुरु सुरुमा त मलाई फेसबुक चलाउन पनि खासै आउँदैनथ्यो । तर, मेरो पनि फेसबुक छ है भनेर साथीहरूलाई सुनाउदा मख्ख पर्थेँ ।

धेरैजसोलाई ‘रिक्वेस्ट’ पठाइहाल्थेँ । ‘रिक्वेस्ट एसेप्टेड’ भनेर आएको ‘नोटिफिकेसन’ देख्दा दङ्ग पर्थेँ । लाग्थ्यो, यो गज्जपको दुनियाँ रहेछ ।

स्कुले पढाइको सिँढी उक्लेर कलेजको सिँढी चढेपछि माहौल फेरियो । नयाँनयाँ साथी थपिए । ती सबैलाई फेसबुकमा साथी बनाउने हुटहुटी बढ्यो । हल्काफुल्का कुरा भएकादेखि नाममात्र सुनेका, अझै कति त कलेजमा अनुहार मात्रै देखेका सबैलाई खोजी खोजी फ्रेन्ड रिक्वेस्ट पठाउन थालेँ । कलेजमा देखेका तर हेल्लो, हाइसम्म नभनेकाहरूबाट पनि ‘रिक्वेस्ट’ पाउन थालेँ । साथीको संख्या बढ्ने लोभले कुनै सोचविचार नगरी ‘रिक्वेस्ट एसेप्ट’ गर्न थालेँ ।

लाग्थ्यो, फेसबुकमा धेरै साथी हुनु भनेको सानको कुरा हो ।

त्यही सानलाई जोगाइराख्न, हरेक दिनजसो ‘साइबर क्याफे’ धाउँथेँ । अनेकका अनेक फोटो र स्टाटसमा लाइक र कमेन्ट गर्थेँ । ‘गफ गर्दैमा के नै बिग्रिन्छ र ?’ भन्ने सोचेर नचिनेका मान्छेसँग पनि कुरा गर्न तम्सिन्थेँ । यत्तिकैमा एकदिन फेसबुकमा ‘फ्रेन्ड’ भएको तर कहिल्यै नचिनेको मान्छेले म्यासेन्जरमा पठाएको फोटो देखेर मेरो सातो उड्यो ।

साइबरको क्याबिन प्लाइले बारेको बाक्साजस्तो थियो । क्याबिन हुन्थेन भने मैले म्यासेन्जरमा हेरेको फोटो छेउछाउकाले पनि देख्न सक्थे । धन्न अरूले देखेनन् । तर, एक झलक फोटो देख्दैमा म कामेजस्तो भएँ । त्यो मान्छेले आफ्नो नाङ्गै भएको फोहोरी फोटो पठाएको थियो । त्यो फोटो देखेर म आलसतालस भएँ ।

हत्तपत्त सबै म्यासेज डिलिट गरेर त्यो मान्छेलाई ‘ब्लक’ गरेँ । त्यसपछि पनि डर कम भएन । तर, नचिनेका मान्छेसँग फेसबुकमा नबोल्ने बानी भने विस्तारै कम हुँदै गयो ।

त्यो घटनाले मलाई नचिनेका व्यक्तिलाई फेसबुकमा साथी बनाउन नहुने रहेछ भनेर थाहा भयो । ‘फ्रेन्ड रिक्वेस्ट सेन्ड’ र ‘एसेप्ट’ गर्न मात्रै रमाउने मलाई, ‘अनफ्रेन्ड’ पनि गर्नुपर्छ भनेर सिकायो । त्यसपछि चिनेका र ‘म्युचुअल फ्रेन्ड’ देखाएकालाई मात्रै साथी बनाउने निर्णय गरेँ ।

लाग्थ्यो, चिनेकाले त त्यस्तो फोहोरी म्यासेज पठाउँदैनन् ।

तर म गलत रहेछु ।

म कक्षा १२ मा पढ्दाको कुरा हो । मेरै कलेजमा ब्याचलर पढ्ने, मभन्दा दुई ब्याच सिनियर दाइको अनौठो म्यासेज म्यासेन्जरमा आयो । तिहारको रमाइलो माहौललाई समेटेर मैले फेसबुकमा लेखेको स्टाटसलाई उनले कुन घृणित नजरले हेरे, मलाई थाहा छैन । यौन आशक्तिको भावसहित तुच्छ शब्द प्रयोग गरेर लेखेको म्यासेज, सुरुमा त उनैले पठाएका हुन् भनेर विश्वासै लागेन ।

                                         Photo Source: https://johnawen.com

उसैगरी हतारहतार ब्लक गरेर साइबर क्याफेबाट बाहिरिएँ ।

कलेजमा सबैको नजरमा राम्रो विद्यार्थी, मिलनसार र असल व्यवहारले चिनिएका, राजनीतिक रूपमा उत्तिकै सक्रिय व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट नीच चरित्र देखाउनसम्म पछि नपर्दो रहेछ भनेर झसङ्ग भएँ ।

त्यतिबेला मलाई त्यस्ता घटनाको सामना गर्नु भनेको दुर्व्यवहार भोग्नु हो भन्ने थाहा थिएन । त्यस्ता घटनाका विरुद्धमा साइबर अपराध अन्तगर्तको मुद्दा चलाइन्छ भन्नेसम्मको सामान्य ज्ञान नहुँदै म दुर्व्यवहारको सिकार भएँ । पछिपछि साथी सर्कलमा यस्ता दुर्व्यवहारका बारेमा कुरा सेयर गर्दा, साथीहरूले पनि आफ्ना त्यस्तै तिता अनुभव सुनाउथेँ ।

केटी साथी मात्रै होइन, केटा साथीहरूले पनि सामाजिक सञ्जालका माध्यमबाट त्यस्तै दुर्व्यवहार भोग्दा रहेछन् भनेको सुन्दा अचम्म लाग्थ्यो । केही घटना त कल्पनासम्म गर्न नसकिने खालका हुन्थे । तर, साइबर सुरक्षा, साइबर अपराध र यस्ता अपराधका विरुद्धमा बनेका कानुनका बारेमा जानकारी नहुँदा, मेरा साथीहरू पनि मैलेजस्तै दुर्व्यवहार भोग्न बाध्य थिए ।

हिजोआज म धेरै सचेत र सजग भएर फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग गर्छु । तर, विभिन्न समयमा समाचार र सामाजिक सञ्जालकै भित्तामा आइरहने साइबर अपराध सम्बन्धी घटना र पोस्टले भने मन अमिलो बनाउँछ । विशेषगरी, भर्खरभर्खर सामाजिक सञ्जालमा आफ्नो अकाउन्ट खोल्नुभएका किशोरकिशोरी भाइबहिनी यस्ता अपराधको सिकार भएका घटना सुन्दा, मलाई ती घटनाको याद आइहाल्छ । म त्यतिबेला कति धेरै डराएकी थिएँ । घटनाको भएको रात अबेरसम्म मनमा कति धेरै कुराहरू खेलेका थिए ।

सामाजिक सञ्जाल कसरी सुरक्षितसँग चलाउने, यसबाट कस्ताकस्ता अपराध पनि हुन सक्छन्, तीबाट कसरी बच्ने, खराब मनोवृत्ति भएकाहरूले मलाईजस्तै गरे भने कसलाई भन्ने, के गर्ने भन्नेबारे मलाई स्कुले जीवन र कलेजका सुरुआतका वर्षमा कसैले सिकाएन ।

हुन त त्यतिबेला सामाजिक सञ्जालबाट हुने अनेकन अपराधको श्रृंखला अहिलेजस्तो थिएन । तैपनि फेसबुक, इन्स्टाग्राम, लगायतका सामाजिक सञ्जालबाट हुने अपराधबारे अभिभावक र विद्यालयले सिकाउने हो भने मैलेजस्तो मानसिक यातना र डर सायदै अरूले खेप्नुपर्छ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।


Tuesday, December 29, 2020

आस्थाको डर

गरीमा पौडेल


जब मैले मेरो योनाङ्गबाट रगत बगिरहेको पहिलोपटक देखेँ, म स्तब्ध भएँ । म केही बोल्नै सकिनँ !

मनमा अनेकौँ कुराहरू खेल्न थाले । मलाई यो के भइरहेको थियो थाहै थिएन । 

मम्मीलाई भन्छु भन्ने सोचले म कोठा बाहिर निस्किएँ । तर त्यहाँ मम्मी होइन, बाबा हुनुहुन्थ्यो । मलाई यस्तो कुरा बाबालाई भन्ने आँट आएन । म मम्मी खोज्दै यता र उता गरिरहेकी थिएँ । त्यतिबेलै मलाई मेरो कपडा भिजेको महसुस भयो अनि म रुन थालेँ ।

यत्तिकैमा सायद बाबाले अनुमान लगाउनु भएछ क्यार । बाबाले भन्नुभयो, “छोरी तिमी नआत्तिय, ममी एकछिनमा आउँछिन् । म एकछिन बजारतिर जान्छु ।” यति भनेर बाबा घरबाट निस्किनुभयो । घरमा म एक्लै थिएँ । हजुरआमा पनि हुनुहुन्थेन । मेरो योनाङ्गबाट रगत बग्न रोकिएकै थिएन । त्यत्तिकैमा बाबा बजारबाट आउनुभयो । उहाँले झोलाबाट केही झिकेर म बसेको ठाउँमा फ्यालिदिनुभयो । मलाई बाबाको यो व्यवहार देखेर अचम्म लाग्यो । बाबा किन टाढैबाट जानुभयो ? किन बाबा मेरो नजिक बस्नुभएन ? किन सामान परैबाट फ्यालिदिनुभयो ? 

मलाई धेरै नराम्रो लाग्यो । सधैँ मेरो वरिपरि बस्ने, मसँगै चल्ने खेल्ने बाबाले आज किन मसँग यस्तो गर्नुभएको होला ? बाबाले फालिदिनु भएको सामान के हो ? यो कसरी र केमा प्रयोग गर्छन् ? त्यो पनि थाहा थिएन मलाई । 

त्यतिबेला मम्मी गोठतिरबाट आउनुभयो, सायद भैँसी बाँधेर । मैले मम्मीलाई देखेपछि उहाँको नजिक गएर रोएँ । अँगालो हालेर रोएँ र सबै कुरा भने । मम्मीले मेरो कुरा सुन्नुभयो र मलाई नआत्तिन भन्नुभयो । मैले उहाँलाई बाबाले ल्याइदिएको सामान देखाएँ र किन ल्याइदिएको भनेर प्रश्न गरेँ । मम्मीले मेरो यो प्रश्न सुनेर मलाई छेउमा लगेर यसको आवश्यकता, फाइदा र यसलाई कसरी प्रयोग गर्ने भनेर सिकाउनुभयो । त्यसपछि म बाथरुम गएर मम्मीले सिकाएको अनुसार प्याड लगाएँ । त्यो प्याड लगाएपछि बल्ल मलाई सजिलो भएजस्तो भयो ।

म बाथरुमबाट निस्किँदा देखेँ, मम्मीले मलाई निन्याउरो मुख लगाएर हेरिराख्नभुएको रैछ । मम्मीलाई मैले यस्तो निन्याउरिएको कहिल्यै देखेकी थिइनँ । मलाई मम्मीको मुख देखेर डर लाग्यो । मैले मनमनै सोचेँ – मैले केही गलत काम त गरेकी छैन ! तर मलाई त्यस्तो गरेकी छुजस्तो केही लागेन । मम्मीले मलाई आफूसँग बोलाउनुभयो र यो समयमा हुने अनेकौँ कठिनाइका बारे सम्झाउनुभयो । 

मम्मीले भन्नुभयो, “यो प्राकृतिक नियम हो छोरी । यो तिमीलाई मात्रै होइन, हरेक छोरी मान्छेलाई हुने कुरा हो । यो प्रकृतिको सुरुआतदेखि छोरीलाई भइआएको कुरा हो । यो जीवनको निश्चित उमेरसम्म भइरहन्छ । यो बेला योनाङ्गबाट रगत बग्छ, पाँच, छ दिनसम्म । यो बेला तिमीलाई तल्लो पेट दुख्ला र त्यसरी पेट दुख्यो भन्दैमा आत्तिने, डराउने होइन । त्यस्तो हुँदा मनलाई शान्त राखेर आराम गरेर बस ।” 


Photo source : https://www.news24.com/health24

यति भनेर मम्मीले मलाई कोठामा छाडेर जानुभयो । केहिबेरमा, पल्लो कोठामा बाबा र मम्मी बसेर गुनगुन गरिरहेको सुनेँ । केही समयपछि मम्मी मेरो दुई चार जोर लुगा झोलामा राखेर बाहिर निस्कनुभयो । अनि मैले मम्मीलाई सोधेँ, “मम्मी हजुर यो झोला बोकेर कहाँ जान लाग्नुभएको ? कसको झोला हो यो ? को कता जान लागेको छ र ?” मम्मीले भन्नुभयो, “नानी तेरो सामान हो यो । अब केही दिन घर बस्न मिल्दैन बाबा र दादालाई देख्न हुँदैन तैँले ।”

त्यसपछि, मम्मीले ठूलीफुपूसँग कुरा गर्नुभयो, “नानी मिन्स भइ अब के गर्ने कता राख्ने होला ?” फुपूले आफ्नो घरमा राख्ने कुरा गर्नुभयो । त्यसपछि मम्मी बाबा अलि ढुक्क देखिनुभयो । अनि म केही दिनका लागि फुपूको घरमा बस्ने भएँ, परिवारबाट अलग भएर ।

म फुपूको घरमा त गएँ तर मलाई असाध्यै नरमाइलो लागीरहेको थियो । मलाई कताकता डाँको छोडेर रुन मन लागेको थियो तर पनि रुन सकिरहेको थिइन । त्यहाँ मेरो फुपूको छोरा अर्थात दादा पनि हुनुहुन्थ्यो । उहाँबाट पनि म टाढा हुनपर्दो रहेछ । यताउता गर्दा राती भैसकेको थियो अनि सुत्ने बेला आयो । सबै जना आफ्नो कोठामा थियौँ । जब बिहान भयो बाहिरबाट आवाज आयो, “नानी बाहिर नआउनू । घाम हेर्न हुँदैन, बाहिर दादा छ उसलाई पनि हेर्नु हुँदैन ।” मलाई लाग्यो, मैले त यो के पाप गरेँ ? घाम पनि हेर्न नपाउने, बाबालाई दादालाई पनि देख्न नपाउने । म अचम्ममा परेँ । यो कस्तो खाले चलन हो ? कसले चलायो यस्तो चलन ? यो त मात्र एउटा प्राकृतिक नियम थियो, म शारीरिक रूपमा स्वस्थ छु, र म प्रजनन क्षमताको लागि योग्य हुँदैछु भन्ने संकेत थियो ।

महिनावारी सुरु भएदेखी हरेक महिना त्यहि क्रम दोहोरिने भएकाले, यसलाई मासिक धर्म भनेको धेरैपटक सुनेकी थिएँ । तर यहाँ त, धर्मको नाममा अनेकौँ अन्धविश्वास जोडेर मलाई सजाय दिइराखिएको थियो । त्यसपछिको प्रत्येक महिना म त्यो सजायको भागीदार भइरहेकी छु । करले त हो नै, त्योसँगै जोडिएको धर्मप्रतिको आस्थाको डरले । 


यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।

Tuesday, December 15, 2020

वी आर सो सरी !


बाटुलो अनुहार ।केटाको जस्तै छोटो, तर सिल्की कपाल । ठूला आँखा ।किताबमा घोत्लिरहने लजालु स्वभावकी उनी ।

अरू सबै केटीहरू फ्रकमा स्कुल आउँथे । तर,उनी पेन्ट लगाएर आउँथिन् । छोटो कपाल, पेन्ट अनि मेकअप नगर्ने उनको बानी । यति नै काफी थिए हामीलाई जिस्क्याउन । 

हामी सबैलाई थाहा थियो,उनी म्याथ पढाउने सरकी छोरी थिइन् । त्यही भएर साथीहरू र म मिलेर उनलाई संकेतमा र अंकमा गाली गथ्र्यौं ।

जस्तो कि, 

छ छक्का छत्तिस 

जिरो वानजिरो 

पुरुष र महिलाभन्दा फरक लैङ्गिक पहिचान भएकालाई हेलाहोचो गर्नुपर्छ भन्ने गलत सोचाई हामीसँग थियो । अनि हस्तमैथुन गर्ने कामलाई साथीहरू संकेतमा ३६ भन्थे । यसरी हामी दोहोरो अर्थ लाग्ने शैलीमा उनलाई जिस्काउँथ्यौँ ।

जिरो वानजिरोको संकेत त तपाईंहरूले बुझ्नु नै भयो होला । बुझ्नु भएको छैनभने म भन्छु नि !जिरो वानजिरो भन्नाले केटा मान्छेको यौनाङ्ग । अब त बुझ्नु भयोे नि?हाँस्नु भयो?भनेपछि बुझ्नु भयो ।

मेरो एकजना साथीले उसलाई मन पराउँथ्यो । तर,भन्न सक्दैनथ्यो । भन्ने कोसिस गथ्र्यो, तर डर र लाजले पानी–पानी हुन्थ्यो ।

एकदिन हामीले उसलाई आँटदियौँ । सबै मिलेर लभ लेटर लेखिदियौँ ।

उसले हाफ छुट्टीमा केटीको किताबको बीचमा लभ लेटर राखिदियो ।

भोलिपल्ट ती केटी साथी स्कुल आइनन् । हामीले लभ लेटर दिने साथीलाई जिस्काउँदै भन्याँै, ‘तेरो लभ लेटरको वाणले घाइते भएकी छे । जा मायाको मल्हम लगाएर आइज!’

अर्को दिन उनी स्कुल आइन् । उनी आएको हामीले परैबाट देख्यौँ । हाम्रो साथी मायालु शैलीमा मुस्कुरायो र भन्यो, ‘उसलाई देख्नमात्रै पाउँदा पनि मन चङ्गा हुन्छ यार ।’

तर,केही बेरमै उसको शान्त मनमा तुफान आयो ।

प्रिन्सिपल सरले साथीलाई बोलाउनुभयो । हामी पछिपछि दर्गुर्दै प्रिन्सिपल सरको कोठाको झ्याल बाहिर लुकेर बस्यौँ । त्यो साथीलाई त्यही केटीको नजिकै राखेर हेडसरले साथीलाई रामधुलाई गर्नुभयो । छेवैमा उभिनु भएको म्याथ पढाउने सरले साथीको मुखैमा पर्ने गरी थुक्नु भयो । म्याथ सरकी छोरी, अर्थात पिटाइ खाइरहेको हाम्रो साथीकी‘मायालु’ले पनि उसलाई जोडले गालामा थप्पड हानी ।

सब खेल खत्तम भयो ।

त्यो दिनभर साथी टाउको पनि माथि नउठाई डेक्समा घोप्टिएर बस्यो । उसका आँखामा आँसु त थिएन, तर बदलाको भाव भने प्रष्टै थियो ।

भोलिपल्ट उसले हामीलाई जोस्याउँदै र केही फोहोरी शब्द मिसाएर भन्यो, ‘बुझिस् केटाहो, अब त्यो केटीको बेइज्जत हान्नुपर्छ ।’

‘कसरी ?’ मैले सोधेँ ।

त्यसपछि उसले फिल्मी शैलीमा बतायो र ङिच्च हाँस्यो । साथीहरू जोस्सिए ।

एउटाले भन्यो, ‘बाउ म्याथको टिचर भएर त्यसको सान बढेको ।’

अर्कोले भन्यो, ‘हाम्रो ह्यान्डसम साथीलाई बाल हान्ने त्यसको त्यत्रो हिम्मत?’

मैले पनि जोशै जोशमा यस्तै के–के भनेर साथीलाई उकासेँ । अझभन्दा, उक्सिएँ नि !मायालु भनेर लभ लेटर लेख्दा‘नाइँ’भन्ने केटीको त्यत्रो आँट, त्यत्रो हिम्मत भन्ने बुझाइ हामीमा थियो ।

भोलिपल्ट एउटा हर्कत गरियो । स्कुलभर हल्ला फैलिन समय लागेन । त्यही केटीको मात्रै चर्चा थियो । तर, नराम्रो चर्चा ।

‘त्यसको ब्यागाँ त कन्डम भेटिएको रे !’

‘छ्या कस्ती लाज सरम नभाकी केटी रैछे ।’

‘त्यसले त केटाहरूसँग के के गर्छे रे ।’

‘कन्डम किन्न लाज नि लागेन त्यसलाई ?’

कसैले हाँसोको भावमा खिस्याउँदै भनिरहेका थिए, ‘कन्डम बोक्न सक्ने आँटभएसी, अरू के के बोक्ने आँट छ होला ।’

कसैले भने ठोकुवाका साथ भन्दै थिए, ‘त्यो केटी त बेश्याहो । अस्ति......सँग मस्केर बोलिराथी!’




                                    Photo : yourstory.com


हाम्रो स्कुलमा दुई घन्टीपछि १०मिनेटको मिनी ब्रेक हुन्थ्यो । ट्वाइलेट जान ।त्यही बेला साथीहरूले उसको ब्यागको साइड पकेटमा दुइटा कन्डम खुसुक्क हाल्द्याथे । उसले थाहा पाइन । केटाहरूले त्यसैको फाइदा उठाए । योजना अनुसार,हाफटाइममा कक्षाका सबै साथीलाई जम्मा पारेर एउटाले भन्यो,  ‘यो कोठाबाट बनाना फ्लेवरको कन्डम बास्ना आइराछ ।’ अर्कोले हो मा हो मिलायो । अनि एकैछिनमा केटाहरूले एकै स्वर पारेर भने, ‘सबको झोला चेक गरम् ।’

एकै छिनमा कक्षा भरका सबको ब्याग चेक भयो ।

अनि त ?

केटाहरूले बनाएको योजना सफल बनाउन कत्ति पनि बेर लागेन !

केटाहरूले केटीको झोलामा कन्डम फेला पारेको हल्ला स्कुलभर फैलाए ।बुझेर हो वा नबुझेर, मलाई पनि रमाइलो नै लाग्यो । कन्डम भेटिएको हल्लामा अरू हल्ला पनि मिसिन थाल्यो । हो झैँ लाग्नेगरी अन्य धेरै गलत किस्सा जोडेर त्यो केटीको बदनाम गर्न थाले ।

अन्ततःहल्ला केटीले पनि थाहा पाइ । ऊ डाँको छोडेर रुँदै क्लासमा आइ अनि ब्याग च्यापेर घरतिर दगुरी ।

त्यसको भोलिपल्टबाट त्यो केटी स्कुल आइन । स्कुलमा अनेकन हल्ला फैलिरह्यो । हल्ला सुनेर यो सबै घटनाको योजना बनाएको मेरो साथीले मनोरञ्जन लिइरह्यो ।

ऊ भन्थ्यो, ‘बल्ल देखि त्यसले मेरो पावर । मलाई मन नपराउने ?त्यसको त्यत्रो हिम्मत ।’

पछि हामीले थाहा पायौँ, म्याथ सरले त्यो केटीलाई अर्कै स्कुलमा भर्ना गरिदिएछन् ।

अहिले त्यो घटना सम्झिँदा मात्रै पनि लाज लाग्छ । लाजभन्दा धेरै आफैँसँग रिस उठ्छ । मैले मात्रै त्यो केटी साथीलाई साथदिएको भए, सायद उसले दुव्र्यवहार भोग्नु पर्दैनथ्यो कि? वा आफ्ना साथीहरूलाई ती सबै काम गर्न रोकेको भए? कन्डम राख्ने योजना म्याथ सर वा प्रिन्सिपल सरलाई मैले पहिल्यै सुनाइदिएको भए?

तर,त्यतिबेला मैले रमाइलो मात्रै मानिरहेँ । कुनै केटीले केटाको प्रस्तावलाई अस्वीकार गर्नु भनेको, केटालाई हेप्नु हो भन्ने ठानेँ । आफ्नो केटा साथीको प्रेम प्रस्तावलाई त्यो केटीले अस्वीकार गरेर सबै केटाहरूलाई अपमान गरेको महसुस गरेँ ।

बल्ल आजकल बुझ्दै छु, कुनै केटीको ‘नाइँ’लाई स्वीकार नगर्नु भनेको त्यो केटीको अपमान गर्नु रहेछ । 

आफूले मन पराउने बित्तिकै केटीले मन पराउनै पर्छ भन्ने हुँदैन भनेर मलाई र मेरा केटा साथीलाई कसैले सिकाएन ।केटीका पनि आफ्नै रोजाइ, रहर र रुचि हुन्छन् भनेर बताएन । केटीले मन पराउँदिन भन्दैमा केटाको इज्जतनै जाने, सम्मान नै गुम्ने पनि त होईन रहेछ भनेर कसैले सिकाएन ! अहँ सिकाएन !

ती केटी साथीको हृदयमा चोट पु¥याउने मध्येको म पनि एक थिएँ । उनलाई कति चोट पुग्यो होला?

के उनले त्यो घटना बिर्सिइन् ?

तर,मान्छेले कसरी बिर्सन सक्छ र ?

माफीको लायक त छैन, तर पनि माफी चाहन्छु ।

प्यारी साथी, तिमीले यो पढ्दैछौ भने सबै साथीको तर्फबाट माफी चाहन्छु, ‘वि आर सो सरी !’

(लेखकको नाम गोप्य राख्ने सर्तमा प्रकाशित गरिएको)



यस लेख जुनसुकै माध्यमबाट प्रकाशन÷प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



Tuesday, December 1, 2020

त्यो हर्कत, त्यो सजाय

रितीका अधिकारी

टिनटिनटिन...घण्टी बज्यो । सबैजना घर जाने भनेर खुसी भए । मलाई भने कहिल्यै घर जान नपरे हुन्थ्यो झैँ भएको थियो । आँखैअघि हरबखत त्यही मान्छेको अनुहार आइरहन्थ्यो ।

टोलाइरहेकी थिएँ ।

उसैको हात बिस्तारै मेरो तिघ्रामा सल्बलाएको महशुस गरेँ ।

आस्था...ए आस्था...झसङ्ग भएँ ।

मधुले ढोकाबाट बोलाइरहेकी रहिछे, ‘तँ कता टोलाको के, सबैजना गइसके ।मधुले भनी ।

हामी कलेजबाट निस्कियौँ । मौन । मलाई हिजैको घटनाको झल्को बारम्बार आइरहेको थियो । जतिबेला पनि त्यो हात घरि मेरो तिघ्रामा सल्बलाइरहेको त घरि मेरो छातीसम्म पुग्न खोजेको महशुस गरिरहन्थेँ । भित्रभित्रै रुन्थेँ।कराउँथेँ ।

मनले त ठूलो स्वरमा हात हटा...भनिरहन्थ्यो । आँसुले भरिन्थे आँखा । तर झर्न भने सक्दैनथ्यो ।

कस्तो कस्तो हुन्छन् है केटा मान्छेहरु...छ्या !’ मधुले भनी ।

किन र ?’ मैले प्रश्न गरेँ । भर्खर भनेँ तउसले उत्तर दिइ । सरी यार, मैले त केही सुनिनँ, फेरि भन् न ।

पुल आइसक्यो । म भोलि भन्छु तँलाई ।यति भनेर ऊ पुलतिर उक्लिई । म गाडी चढ्नेतर्फ लागेँ । मलाई गाडी चढ्ने मनै थिएन । हिँडेरै घर जाऊँ जस्तो भइरहेको थियो । तर, त्यसो गर्नु सम्भव पनि थिएन । आज त त्यो मान्छे नपर्ला कि भन्ने आशमा गाडी कुरेर चढेँ । लास्ट सिट मात्रै खाली थियो । म त्यहीँ गएर बसेँ ।

एकैछिनमा गाडीको ढोका छेउमा मैले त्यही अनुहार देखेँ । त्यही अनुहार, जसले मलाई हिजोदेखि छाडेको थिएन । त्यही अनुहार, जसले गर्दा मेरो मन चिच्चाइरहेको थियो, रोइरहेको थियो । म डराएँ, आत्तिएँ ।


हिजोको घटना झल्झली याद आयो । म पसिना पसिना भएँ । ऊ लास्ट सिट अगाडि नै आएर उभियो । मेरो छेउमा बस्नुभएको आण्टी नओर्लिए हुन्थ्यो भनी मनमनै प्रार्थना गरिरहेँ । तर आण्टी ओर्लिनुभयो र त्यो मान्छे हिजोजस्तै मेरो छेऊमा आएर बस्यो । उसले मलाई हेरिरहेको थियो । मैले टाउको घुमाएर उसलाई हेर्नै सकिनँ । के गरौँ, कसो गरौँ भयो । एकैछिनमा मलाई मेरो काखीभन्दा अलि तल कसैको हात सल्बलाइरहेको भान भयो । म जुरुक्क उठेँ, सहचालकलाई भाडा दिएँ र रुँदैरुँदै ओर्लिएर अर्को गाडी चढेँ ।

                                             Photo: fairygodboss.com 

घर पुगेपछि बाथरुम पसेर निकैबेर रोएँ । अरूबेला एकपटक रोएर हल्का हुने मन, हिजो र आज भएन । बरु, झन्झन् भारी हुँदै गइरहेको थियो । होमवर्क गर्न त बसेँ, तर गरिनँ । गर्नै सकिनँ । बरु, घरमा कसैले थाहा नपाउने गरी रोइरहेँ । धेरैबेर । भोलिपल्ट बिहान छिट्टै आँखा खुलेपनि म सुतिरहेँ । ममीले हैन कति सुतेकी आजभोलि । कलेज जाने बेला भइसक्यो, अब त उठ्भनेपछि उठेँ । मलाई कलेज जान मन थिएन ।

ममी, आज म कलेज जाँदिन नि है ?’ ममीलाई सोधेँ । किन नजाने कलेज ? आज त झन् तेरो प्राक्टिकल छ ।ममीले भनेपछि पो बल्ल याद आयो । आज फिजिक्सको प्राक्टिकल हो भनेर । हतार हतार प्राक्टिकल बुक र कापी ब्यागमा हालेँ । निस्किएँ । मैले त प्राक्टिकल नै गरेको छैन भन्ने पिर मान्दै कलेज पुगेँ ।

दिमागमा कताकतिप्राक्टिकल र होमवर्कको चिन्ता थियो भने कताकति हिजोअस्तिको घटनाको आघात । प्राक्टिकल क्लासमा खाली कापी बुझाउँदा सरले निकै गाली गर्नुभयो र भोलि गरेर आऊ भन्नुभयो । सधैँ होमवर्क गर्ने म त्यो दिन गरिनँ । साथीहरू पनि छक्क परे ।

किन नगरेकी ?’ मधुले सोधिरही ।तर मैले जवाफ दिन सकिनँ । बरु, सर र साथीहरूको अगाडि मौन बसिरहेँ । मेरो मनमा भएको त्रास मेरो आँखामा सजिलै छापिएको थियो । म जतिबेला पनि त्यो मान्छे गाडीमा नपरे हुन्थ्यो भन्ने सोचिरहन्थेँ ।

अन्तिम क्लास सकिएको घण्टी बज्यो ।त्यो दिन हामी कलेजबाट निस्कियौँ र गफ गर्दै पुलसम्म पुग्यौँ । त्यसपछि मधु आफ्नो बाटो लागी र म आफ्नो बाटो । गाडी कुर्ने ठाउँनेर पुगेपछि म झसङ्ग भएँ । मेरो मन एकदमै अत्तालियो । मानवरूपी दानव त त्यहीँ आइपुगेछ ।

डराउँदै सोचेँ, ‘त्यो मान्छे चढिसकेपछि मात्र म अर्को गाडीमा चढ्छु । एकैछिनमा गाडी पनि आयो । केही मान्छे चढे । र, गाडी हिँड्यो । अब त त्यो दानव पनि गयो होला भनेर यसो बायाँतिर हेरेको, ऊ त आफ्नो गिद्धे नजरले मलाई घुरेर त्यहीँ उभिएको रहेछ । त्यसपछि २, ३ वटा गाडी आए । तर, न ऊ चढ्यो, न त म । अबको गाडी पनि नचढे तघर पुग्न ढिलो हुन्छ भनेर म त्यसपछिको गाडी चढेँ । अबेर भएर होला, गाडी खाली खाली नै थियो । म ढोकापट्टिको चौथो सिटमा गएर बसेँ । महिला सिटमा बस्दा कहिले आण्टीहरूले त कहिले बिरामीहरूले सिट माग्दा छोडिदिनुपर्थ्यो । त्यही भएर म महिला सिटमा बस्दिनथेँ । त्यो मान्छे अरू सिट खाली हुँदाहुँदै पनि मेरै छेउको सिटमा आएर बस्यो ।

सधैँजस्तो गाडी फेर्नुभन्दा बरु आज सिट फेर्छु भन्ने सोचेँ । जुरुक्क उठेर वरपर हेरेँ । गाडी सहिदगेट पुगिसकेको रहेछ । बाँकी सिटमा पनि मान्छेहरू चढेर बसिसकेका रहेछन् । म फेरि त्यहीँ बस्न बाध्य भएँ । लाचार र असहाय । आफ्नै घर फर्किन पनि मलाई यस्तो अमानवीय र तुच्छ व्यवहार झेल्नुपर्ने !

अस्तिको दिनको घटना मेरो दिमागमा स्लाइड सो जसरी आउन थाल्यो ।

अफिस जाँदो हो, त्यसैले ऊ सधैँ सुटमा हुन्थ्यो । अचानक मलाई छातीभन्दा तल चिसो महशुस भयो । झट्ट हेरेको त्यो राक्षसले हात आफूतिर लगेको देखिहालेँ । मेरो सर्टको एउटा टाँक खुल्लै थियो । म शून्य भएँ । दिमाग खाली भयो । शरीर पूरै चिसो भयो । मैले केही सोच्नै सकिनँ । हत्तपत्त ब्यागले छोपेर सर्टको टाँक लगाएँ र सहचालकलाई गाडी रोक्न भनेँ ।

एकछिन ल, पारि गएर रोक्छ गाडी ।सहचालकले भने । गाडी नरोकुन्जेल ढोकानेर उभिइरहेँ । आँखाबाट आँसु बगिरहेका थिए । सायद आँखा राता पनि भएका थिए । सहचालक दाइले सोधे, ‘बहिनी, के भयो ?किन रोएकी ?’ मैले दायाँबायाँ टाउको हल्लाएर केही होइनभन्ने इसारा गरेँ । गाडी कलङ्की पारि रोक्यो । म ओर्लिएँ र टुसुक्क बसेँ । मलाई अझैपनि छातीभन्दा तलतिर चिसो महशुस भइरहेको थियो । म त्यहीँ बसेर रोएँ । वरपरका मान्छेहरूले मलाई हेर्दै जाँदै गरिरहेका थिए । म निकैबेर रोएँ र अर्को गाडी चढेर घर गएँ ।

हिजोअस्तिको जस्तै घर पुगेर पनि म रोइरहेँ । बिहानपख उठ्दा ममीले भनिरहनुभएको थियो, ‘त्यस्तो बोल्ने मान्छे, तँलाई के भएको छ हँ आजभोलि? कलेज पठाइदिएको खाजा पनि नखाएरै फर्काएकी छेस् । कि मीठो भएन र ?’

होइन ममी । हिजो खाजा खाने बेलामा सरले बोलाउनुभयो । त्यही भएर खान भ्याइनँ ।बहाना बनाएँ । किन ममीलाई झुटो बोलेँ भनेर म आफैँलाई प्रश्न गरिरहेकी थिएँ । त्यसपछि म ड्रेस लगाउन गएँ । ड्रेस लगाउँदै ऐना हेरेँ । एकछिन त्यहीँ रोकिएँ । त्यही हात मेरो तिघ्रा र छातीमा हिँडिरहेको देखेँ । त्यो हात पन्छाउन खोजेँ । शरीरमा भए पो पन्छिन्थ्यो होला त ! मस्तिष्कमा छापिएको त्यो हात, त्यो राक्षसको अनुहार कहाँबाट पन्छिन्थ्यो र ?


Photo : record.horacemann.org


जसोतसो तयार भएर कलेज पुगेँ ।

कलेज पुगेपछि मधुसँग भेट भयो । भेट्न नपाउँदै उसले सोधी, ‘आज त गरेर ल्याइस् नि प्राक्टिकल?’ ला !मैले फेरि बिर्सिएछु । याद पनि कसरी होस् त ?

ला...छैन यारभनेँ, ‘हैन तँलाई के भइरहेको छ हँ ?न होमवर्क गर्छेस्, न प्राक्टिकल गर्छेस्...क्लासमा पनि ध्यान दिएर सुन्दिनस्, बोलाए पनि सुन्दिनस्...आखिर के चलिराछ तेरो दिमागमा ?’ उसले सोधी ।

अब मैले मेरो मनको भारी नबिसाउनुको धर थिएन । बिसाएँ । रुँदैरुँदै । ऊ अचम्म परी । र, भन्न थाली, ‘मसँग पनि यस्तै घटना भएको थियो । अस्ति तँलाई यही भनेकी थिएँ, तर तैँले सुनिनस् । अन्तै टोलाइराखेकी थिइस् । त्यसैले ।मैले सोधेँ, ‘के भएको थियो र ?’ ऊ बोल्न थाली, ‘अस्ति एकदिन मेरो छेऊमा एउटा मान्छे बसेको थियो । बसेको एकछिनपछि त्यसले आफ्नो हात मेरो छातीनेर ल्याउन थाल्यो । मैले उत्तिखेरै त्यसको हात च्पाप्प समातेर अगाडिको सिटमा ठोक्काइदिएँ । त्यसपछि तुरुन्तै उभिइरहेका मान्छेहरूले सहचालकलाई बोलाए र त्यो मान्छेलाई गाडीबाट निकाले । तँ यत्रो दिनदेखि किन सहेर बसेकी ? उत्तिबेलै त्यसलाई गाली गरेर त्यसलाई गाडीबाट निकाल्दिनुपर्छ नि ।

ऊ बोल्दाबोल्दै मैले बीचमै रोकेर भनेँ, ‘अनि पछि त्यो मान्छेले केही गर्यो भने नि ?’ मधुले निधारमा लगभग तीनवटा गाँठो पारेर भन्न थाली, ‘तैँले यस्तै सोचेर त्यसले तँलाई यत्रो दिनसम्म यातना दिइराख्यो । हाम्रो यस्तै डरले यस्ता मान्छेलाई प्रेरणा मिल्छ । पछि तँलाई केही गर्न खोजेपनि तँलाई सहयोग गर्ने कोही न कोही तेरो वरपर वा तँभित्रैमा हुन्छ । हामीसँग त कम्पास, पेनजस्ता चिजहरु पनि त हुन्छन् नि । एक्लै भएको बेला यस्तै चिजले घोचेपनि भइहाल्यो । बुझिस् नि ? आजदेखी चुप लाग्ने होइन । आवाज उठाउने हो, लड्ने हो । यस्तालाई सजाय दिलाउने हो ।

मुधको कुराले मलाई मनमा छोयो । म एकछिन अचम्मित भएँ । आफैलाई प्रश्न गर्न थालेँ, ‘किन चुप भएँ म यत्तिका दिन ?’ हिम्मत जागेर आयो ।

आजपनि हामी पुलसम्म गफ गर्दै पुग्यौँ र बाई भनेर छुट्टियौँ ।

आजभने त्यो मान्छे गाडी चढ्ने ठाउँनेर थिएन । एकछिनमा गाडी आयो र म चढेँ । सधैँजसो आजपनि लास्ट सिट मात्रै खाली थियो । त्यसैले त्यहीँ गएर बसेँ । कालिमाटी पुगेपछि त्यही राक्षसको अनुहार ढोकानेर देखेँ । त्यसले मलाई उही गिद्धे नजरले हेरिरहेको थियो । रविभवन आएपछि मेरो छेउमा बसेकी दिदी ओर्लिनुभयो र त्यो मान्छे मेरो छेऊमा बस्यो । उसले आफ्नो हात मेरो छातीतर्फ बढाइरहेको थियो । मैले तुरुन्तै त्यसको हात च्याप्प समातेर झट्कारेँ ।

तेरो हात काट्दिम्?’ म चिच्याएँ ।चर्को स्वर गरेँ,‘भन् तेरो हात काट्दिम्?’गल्लीमा उभिएका र सिटमा बसेका सबै मतिर हेर्दै लगभग एकै स्वरमा सोधे, ‘के भयो नानी ?’

म बोल्न थालेँ । रिसले दाँत किट्किटाएका थिए ।यसले २/४ दिनदेखि मलाई यस्तै गरिरहेको छ । चाल मारेर सधैँ आफ्नो हात मेरो शरीरमा ल्याउँछ । कता कता छुन खोज्छ ।

यसलाई पुलिसकोमा लैजाऊँ । बसका सबैजसो एकैस्वरमा कराए ।

नभन्दै सहचालक दाइले तुरुन्तै चालकलाई भनेर गाडी पुलिस चौकीनेर रोकाए ।

त्यो मान्छेलाई पुलिसको जिम्मा लगाइयो ।

मलाई ठूलै भारी बिसाएझैँ भयो । कैयौँ दिनदेखि हावाहुरी चलिरहेको मन शान्त भयो ।

भोलिपल्ट कलेज गएँ । सरलाई प्राक्टिकल पनि बुझाएँ र सबै पिरियडमा ध्यान दिएर पनि पढेँ । त्यो दिन,अन्तिम पिरियड सकिएको घण्टी पनि बज्यो ।

टिनटिनटिनटिन...

म खुसी हुँदै घर फर्किएँ ।


यो लेख 
जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नु होला।

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...