Tuesday, February 9, 2021

प्याड चाहियो मिस !


साल्विया आचार्य 




मेरो नाम साल्विया आचार्य हो । म लुम्बिनी प्रदेशको पहाडी जिल्ला प्यूठानस्थित श्री खड्गेश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा हुँ । ३ कक्षादेखि म यस विद्यालयमा पढिरहेकी छु ।

मेरो विद्यालयलाई हरियाली वनजंगल र विद्यालयको केही तल कलकल बग्ने खोलाले शोभायमान पारेको छ । प्रकृतिले सिँगारेपनि मजस्तै छात्राहरूलाई सुरुआतका दिनमा स्कुल रमाइलो लाग्दैनथ्यो । किनभने, प्रशस्त पानी नभएकाले महिनावारीका बेला छात्राहरूले खुबै दुःख पाउँथे । ट्वाइलेट पर्याप्त संख्यामा थिएन । भएका ट्वाइलेटमा पानी हुन्थेन । विद्यालयमा महिनावारी भइहाल्यो भने पनि ट्वाइलेट गएर सरसफाइ गर्ने सुविधा थिएन । त्यस्तो बेला हामी छात्राहरूलाई धेरै अप्ठेरो हुन्थ्यो । लाज, संकोच र डर लाग्थ्यो । रगत लागेको कपडा देखेर अरूले गिज्याउलान् भन्ने हुन्थ्यो । “प्याड चाहियो मिस” भनेर माग्ने आँट पनि हामी कोहीसँग थिएन ।

कसै कसैले झोलामा प्याड बोकेर स्कुल आउँथे । ट्वाइलेट गएर जेनतेन प्याड चेन्ज गरियो भने पनि प्रयोग भइसकेको प्याड फाल्ने ठाउ“ थिएन । ट्वाइलेटभित्र राखिएको भाँडोमा धारामा गएर पानी ल्याउनुपथ्र्यो । त्यसरी सानो भाँडोमा ल्याएको पानी सकिएला कि भनेझैँ गरेर जतन गरेर प्रयोग गर्नुपथ्र्यो । फ्रकमा वा अन्यत्र रगत लागेको रहेछ भने राम्ररी पानीले पखाल्न पनि पुग्थेन । फेरि ढोका खोेलेर दोस्रोपटक पानी ल्याएर आउन पनि आपतै हुन्थ्यो ।

ट्वाइलेटभित्र प्याड फेरेपछि प्रयोग भइसकेको फोहोर प्याड कागजले बेरेर गोजीमै बोक्नुपथ्र्यो । गोजीको प्याड कसै कसैले झोलाको कुनामा लुकाएर राख्थे । त्यसै त महिनावरीको दुःखाइ त्यसमाथि विद्यालयमा हुने अनेकन सास्ती । मलाई ती दिन सम्झिँदा अहिले पनि नरमाइलो लाग्छ ।

तर, उहिलेका कुरा खुइले भनेजस्तै अहिले विद्यालयमा पुरानो अवस्था छैन । हरियाली, चराचुरुङ्गीको चिरबिर अनि पानीको कलकलले विद्यालय सुन्दर मात्रै भएको छैन, छात्राहरूले महिनावारीका बेला दुःख झेल्नुपर्ने अवस्था अन्त्य भएकाले विद्यालय झनै सुन्दर भएको छ । अहिले विद्यालयमा आवश्यक ट्वाइलेट बनेका छन् । ट्वाइलेट बहिर धेरैबेरसम्म पालो पनि खासै पर्खिनुपर्दैन । ट्वाइलेटभित्रै पानी आउने व्यवस्था मिलाइएको छ । प्याड चेन्ज गरेपछि कता लुकाउने होला भनेर चिन्ता मान्नु पर्दैन । ट्वाइलेटकै एउटा कुनामा प्याड फाल्ने व्यवस्था पनि छ ।

त्यतिमात्र कहाँ हो र ? महिनावारीमा छात्राहरूले घरबाटै प्याड पनि ल्याउनु नपर्ने भएको छ । विद्यालयले महिनावारीमा दुई प्याकेट प्याड निःशुल्क दिने गरेको छ । त्यतिले पुगेन भने मिसहरूसँग थप प्याड पनि माग्न पाइन्छ ।

पहिले पहिले महिनावारी संकोचको, डर र लाजको विषय थियो । तर, अहिले यसका बारेमा धेरैले कुरा बुझ्न थालेका छन् जस्तो लाग्छ । त्यसैले प्याड माग्न लजाउनुपर्ने, कसैले केही भनेर जिस्काउँछ कि भनेर अप्ठ्यारो मान्नु नपर्ने भएको छ । 

महिनावारी प्राकृतिक कुरा भएकाले यसमा लजाउनु पर्दैन । कोही कोही त पहिलोपटक महिनावारी हु“दा डराउने पनि गर्छन् । तर यो डराउने कुरा होइन । बरु, महिनावारीका बेला हामीले हरियो सागपात, झोलीलो खानेकुरा र फलफूलहरू धेरै खानुपर्छ । यस्ता खानेकुराले हामीलाई तागत मिल्छ ।

महिनावारी हुँदा तल्लो पेट दुख्छ । यस्तो दुःखाई कसैलाई थोरै हुन्छ भने कसैलाई धेरै हुने गर्छ । मलाई पनि महिनावारीमा असाध्यै दुख्यो भने मिसले पेटको दुखाइ कम गर्ने औषधि दिनुहुन्छ । यस्तो औषधि खाँदा पनि काम गरेन र दुःखाइ धेरै नै भयो भने मिसले नजिकैको मेडिकलमा लगेर दुःखाइ सन्चो पारेर हामीलाई घरमै पु¥याइदिनुहुन्छ ।

हाम्रो विद्यालयले छात्राहरूलाई दिएको यस्तो सुविधा सबै विद्यालयले दिएका छन् कि छैनन् होला ? मलाई अरू विद्यालयको कुरा त थाहा छैन । तर यति कुरा भने थाहा छ कि, विद्यालयले दिने यस्तो सुविधाले गर्दा म जस्ता छात्राहरू महिनावारीका दिनमा विद्यालय आउनै लजाउने वा संकोच मान्ने र पढाइ नै छाड्नुपर्ने अवस्था धेरै कम भएको छ । धन्यवाद मेरो विद्यालयलाई अनि, विद्यालयका सर मिसहरूलाई । जसले हामीलाई महिनावारीको अप्ठ्यारोमा साथ दिनुहुन्छ र यो संकोच मान्ने विषय होइन आफूलाई परेको समस्या हामीलाई भन्न अप्ठ्यारो नमान्नु भनेर बारम्बार बुझाउनुहुन्छ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला । 

No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...