Tuesday, March 23, 2021

डोल्पाली किशोरीको छाउपडी

 

रेशिका बुढा, कक्षा १०

श्री सरस्वती मावी, ठूलीभेरी नगरपाललिका, दुनै ३, डोल्पा



म सानैदेखि छात्रावासमा बसेर पढ्थेँ । मेरो रुमपार्टनर एकजना दिदी हुनुहुन्थ्यो । एकदिन दिदीले भन्नुभो, “ला...बहिनी, म त महिनावारी भएँ नि...च्व...कहिलेकाहीँ त नभए नि हुन्थ्यो नि...कस्तो अप्ठेरो हुन्छ !” त्यतिबेला मलाई लाग्थ्यो, महिनावारी भएका बेला यौनाङ्गबाट रगत मात्रै आउँछ होला । पिसाब आउँदैन होला । त्यतिबेला सम्म मलाई कसैले पनि रजस्वाला हुँदा के हुन्छ, किन हुन्छ भनेर डिटेलमा भनेको थिएन ।

विद्यालयमा महिनावारीबारे पढाइ नै नभएको चाहिँ होइन । तर, विस्तृतमा भने कहिल्यै बुझाउनु भएन ।

अलि ठूलो भएपछि बल्ल थाहा भयो, केटी मान्छेको यौनाङ्गमा दुइटा नली हुने रहेछ । पिसाब बग्ने छुट्टै, रगत बग्ने छुट्टै । रगत पनि मैले सोचेजस्तै धेरै नबग्ने रहेछ भनेर आफैँ महिनावारी भएपछि बल्ल थाहा पाएँ ।

म पहिलोपटक महिनावारी हुँदा स्कुल जाने तरखरमा साथीलाई पर्खिरहेको थिएँ । त्यतिबेला मलाई कताकता चिसो भएजस्तो, हिलो भएजस्तो महसुस भयो । हत्तपत्त शौचालय गएँ र हेरेँ । रगतका निशाना आफ्नो कपडामा देखेपछि एकछिन त आत्तिएँ ।

“ला...मलाई के भएको होला” भन्ने सोचेर डर लाग्यो । सायद पहिलोपटक अनुभव गरिरहेकाले होला । तर, दिदीले महिनावारी हुँदा रगत आउँछ भन्नुभएको कुरा सम्झेर आफू पनि महिनावारी भएछु भन्ने लाग्यो । तर, मलाई रगत कसरी आउँछ, कति दिनसम्म आइरहन्छ, यसलाई मैले कसरी ह्यान्डल गर्ने भन्नेबारे केही पनि थाहा थिएन ।

हतारहतार कोठामा गएँ र दिदीलाई भनेँ, “दिदी म त मिन्स भएँ । अब के गर्ने होला ? म कसरी स्कुल जाने होला ?” दिदीले सान्त्वना दिँदै भन्नुभयो, “नडराऊ । तिमीलाई केही पनि हुँदैन । बरु, प्याड वा केही नरम कपडाको टालो प्रयोग गर त ।” तर, मसँग प्याड वा टालो, केही पनि थिएन । त्यसमाथि त्यसको प्रयोग कसरी गर्छन् भन्ने ज्ञान पनि थिएन । दिदीलाई यही भनेँ ।

दिदीले मलाई सानो पातलो रुमाल दिएर प्याडका रूपमा प्रयोग गर्न सुझाउनुभयो । कसरी प्रयोग गर्ने पनि सिकाउनु भयो । मैले दिदीले भन्नुभए जस्तै गरी प्याड लगाएँ र दिदीसँगै स्कुल गएँ ।

त्यतिबेला मलाई बाटोमा हिँड्दा पनि अप्ठेरो महसुस भएको थियो । बाटो हिँड्ने मान्छेहरूले पनि मलाई नै हेरेका छन् कि भनेर एकदमै लाज लागेको थियो ।

कक्षामा पढ्ने बेलामा पनि रगत लाग्छ कि भनेर डर पनि लाग्यो । समय समयमा मसँगै एउटै बेन्चमा बस्ने साथीलाई भन्थेँ, “मेरो लुगामा पछाडि वा म बसेको ठाउँमा रगत लागेको छ कि छैन, हेरिदेऊ न है ।”

तर अर्को दिन भने साथीहरूसँग खेल्दा, गफ गर्दा, मलाई त्यसबारे केही ख्याल नै मनमा आएन । प्याड पनि राम्रोसँग प्रयोग गरिरहेकी थिएँ । तर, पछि त अलिअलि चिसो भएजस्तो भयो । पछाडि फर्केर हेर्दा बेन्चमा पनि रगत लागेको रहेछ । त्यसपछि त मेरो मुटु ढुकढुक गर्न थाल्यो । कसैले देख्छन् कि, कसैले हेरिरहेका छन् कि भन्ने सम्झेरै लाज र डर लाग्न थाल्यो । त्यत्तिकैमा कसैले नदेखोस् भनेर हतारहतार कपीको पाना च्यातेँ र रगत लागेको ठाउँमाथि ओच्छ्याएर बसेँ । त्यतिबेला समय अलि छिटो चलोस् र कोठामा गएर प्याड चेन्ज गर्न पाइयोस् भन्ने पनि लागेको थियो । तर, भनेजस्तो, सोचेजस्तो हुने भए पो ! बरु उल्टै, समय ढिला चलेजस्तो हुने रहेछ !

त्यसपछि २/३ वटा विषयको पढाइ भएपछि बल्ल स्कुल छुट्टी भयो । सबै विद्यार्थी आआफ्नो घर गए । म र मेरी एकजना साथी मात्र अघि बेन्चमा लागेको रगत सफा गर्न कक्षाकोठामा नै बसिरह्यौँ । तर, रगत कसरी सफा गर्ने कुनै उपाय फुरेन । धन्न मैले स्कुलमा पानी खानका लागि लैजाने गरेको बोटलमा पानी थियो ! त्यही पानीले बेन्चमा लागेको रगत हामी मिलेर सफा ग¥यौँ । तर, रगतको दाग पूर्ण रूपमा गएन । के गर्ने, कसो गर्ने, हामीलाई उपाय नै आएन । अलिबेरमा साथीले कम्पासले केरेर बाँकी दाग मेटाउने उपाय सुझाई । उसले भनेअनुसार कम्पासले बेन्चमा लागेको दाग केर्न थालेँ । नभन्दै दाग त पूरै मेटियो । अनि साथी र म ढुक्क हुँदै आआफ्नो घरतिर गयौँ ।

त्यही दिनदेखि बेलुकातिर मेरो तल्लो पेट दुख्न थाल्यो । पोल्न थाल्यो । धेरै नुन खुर्सानी खाँदा जसरी पेट पोल्छ नि, हो त्यसैगरी पोलेको थियो ! त्यतिबेला दुखाइले गर्दा आँसु मात्रै झरिरहेको थियो । म रोइरहेकी थिएँ । यत्तिकैमा दिदी आउनुभयो । मलाई खाटमा नरमाइलो मानेर बसिरहेको देखेर दिदी पनि अचम्म मान्नुभयो र त्यसरी बस्नुको कारण सोध्नुभयो । दिदीलाई मैले आफूलाई पेट दुखेको कुरा भनेँ । दिदीले यस्तो बेला पेट पनि दुख्छ भन्दै मलाई दुखाइ कम हुने उपायहरू बताउनुभयो ।

म पहिलोपटक महिनावारी भएको करिब ७/८ महिना पछिको कुरा हो । माघको महिना जाडो भएकाले स्कुल विदा थियो । त्यसैले म छात्रावास छोडेर घर गएकी थिएँ । घरमा मसहित आमा र २ जना दाइहरू थियौँ । घर गएकै बेला म फेरि मिन्स भएँ । त्यतिबेला मलाई के लाग्यो भने, “ला...अब म यो कुरा कसरी आमालाई भनौँला ?” किनभने, मैले कहिल्यै पनि आमासँग महिनावारीको बारेमा कुरा गरेको थिइनँ । मेरो मनमा यो कुरा जसरी पनि आमालाई भन्नुपर्छ भन्ने लाग्यो । म रजस्वला भएको कुरा आमालाई सुनाउनुपर्छ भन्ने सोच आयो ।

हाम्रोतिरको चलन अनुसार महिनावारी भएपछि भान्सामा जान मिल्दैन । दाइभाइ र बाबाको मुख हेर्न हुँदैन । अनि कसैलाई छुन पनि हुँदैन । छुट्टै कोठा वा गोठमा अलग्गै बस्नुपर्छ । हरेक दिन चिसो पानीले नुहाउनुपर्छ । ७ दिनसम्म वा जति दिनसम्म रगत बगिरहन्छ त्यति दिनसम्म कोठा वा गोठमा बस्नुपर्छ । त्यसरी बस्दा बहुतै गाह्रो हुन्छ ।

हिउँदको चिसो होस् वा गर्मीको तातो, किरा वा लामखुट्टे जेले टोकेपनि कोठाभित्रै गुम्सेर बस्नुपर्छ । खाना पनि आफैँ पकाएर खानुपर्छ । मैले प्रयोग गरेका सामान अरूले छुन मिल्दैन । अरूका सामान पनि मैले छुन हुँदैन । रजस्वला बन्द भएको भोलिपल्ट खरानी पानीले राम्ररी नुहाएर, कपडा धोएर, घरका सबै कोठा गोबर र माटोले पोतेर मात्रै भान्सामा जान पाइन्छ ।

यो प्रक्रियालाई हाम्रो समाजले छाउपडी प्रथा पनि भन्ने गर्छ ।

यस्तो कुप्रथाभित्र पर्ने हरेक कुरालाई मैले आजसम्म पनि भोग्दै छु ।

समाजका प्रत्येक नारीले यस्तो कुप्रथाभित्रका अनेक दुख भोग्दै र सहँदै आएका छन् ।

आफ्नो धर्म, संस्कृति र रितीरिवाज हो भन्दैमा अन्धभक्त हुनपनि त हुँदैन !

हामीले धर्म संस्कृति मान्नुपर्छ तर के राम्रो हो र के नराम्रो हो भनेर छुट्टाउन सक्नुपर्छ ।

यस लेख जुनसुकै माध्यमबाट प्रकाशन/प्रसारण गर्नु परे www.gulabisambad.blogspot.com लाई स्रोत उल्लेख गर्नुहोला ।



No comments:

Post a Comment

म एक छोरीकी आमा

  -किरण गौतम गुलाबी संवाद सुनिरहँदा मलाई पनि आफनो अनुभव लेख्न मन लाग्यो । हाल मेरो एउटी प्यारी छोरी छ । पत्रपत्रिका, समाचार आदिमा बाल यौन दु...